Skip to content

तिम्रो र मेरो लडाइँ


तिमीले ! सिंहदरबारबाट राष्ट्रको नाममा सम्बोधन गर्दै गर्दा,
पत्रकारको क्यामेरा र माइक्रोफोन सामु
नाकाबन्दीसँग नझुक्ने कसम खाँदै गर्दा
म ! आफ्नै झुपडीमा बालबच्चा र परिवारसँग
ग्याँस र तेल खोजी ल्याउने कसम खाँदै हुन्छु ।

तिमी! सबेरै व्यक्तिगत भेटघाटको लागि
शीतलनिवास र लाजिम्पाट छिर्दै गर्दा
म ! एउटी छोरीलाई ग्याँसको लाइनमा
अर्कीलाई तेलको लाइनमा
र म आफूँ चैं, मट्टीतेलको लाइनमा छिर्दै हुन्छु ।

मेरो थोत्रो टेलिभिजनमा घरिघरि तिमीले
राष्ट्रबादको कडा अभिव्यक्ति दिंदै गर्दा
खै ? के बुझेर हो कुन्नि
मेरो भोको पेट फिस्स हाँस्दै हुन्छ ।
तिमीले ! कर्मचारीहरूलाई पुरस्कृत गरेको खबर सुनेर,
भूकम्पपछि पाल मुनि बस्दै आएकी मेरी बुढी आमा
खै ? के बुझेर हो कुन्नि
फिस्स हाँस्दै हुन्छिन् ।

मेरा बराजुले एकिकरणको लडाइँ लडे
बाजेले राष्ट्रको सीमाना जोगाउन अंग्रेज बिरुद्ध लडे
अनि मेरा बाले राणा र राजा बिरुद्ध लडे
तर आज म ! ग्याँस र तेलको लाइनमा घन्टौं उभिएर
आफ्नै भोको पेट बिरुद्धको लडाइँ लडिरहेछु ।
आफ्नै भोको पेट बिरुद्धको लडाइँ लडिरहेछु ।
मेरो लडाइँ तबसम्म चलिरहन्छ,
जबसम्म तिमी नाकाबन्दी सामु लडिरहन्छौ
तर !
कुनै दिन मेरो थोत्रो टेलिभिजनमा
नाकाबन्द गर्ने नाइकेहरूसँग
तिम्रो राष्ट्रवाद लम्पसार परेको देखें भनें
त्यो दिनदेखि मेरो लडाइँ तिमी बिरुद्ध हुनेछ
तिमी जस्तै खोक्रो राष्ट्रवादीहरू बिरुद्ध हुनेछ
मेरो लडाइँ ।।

—-वसन्त दहाल—-

Leave a Reply

Your email address will not be published. Required fields are marked *