Skip to content


कोलाहल छ एकातिर,
मृत्युसँग लडिरहेकाहरूको,
कोचाकोचा छ अर्कोतिर,
पेट्रोल र इन्धनको अभावले,
नेताहरूमात्र आदर्शवानको कुरामा,
व्यस्त छन् आफ्नै पद र सम्मान बटुल्न ।

अर्कोतिर,
छिमेकी मौकाको खोजीमा,
हिंऊमा घर्षण हुन परे झैँ,
दैवको लीलाले पग्लेर झरे झैँ
त्यस्तै मौकामा छिमेकी
नुहाउँन रुचाउन्छं निथरुक्क स्वार्थमा,
डूबकि मार्न खोज्छन समुद्रमा झैँ,
तराई र पहाडको नाम लिई,
स्वार्थ सिद्ध गर्नकोलागि,
मार्न र मराउँन तलिन,
कहिल्यै बाहिर निस्कन नसक्ने,
त्यो कुटनीति चालले,
चिरा चिरा हुँदैछन
भाइचाराको मित्रता
लोभको भुमरीमा
फसिरहन्छन,धस्दै जान्छन
समुद्रमा डुबे झैँ गरी ।

पराई राष्ट्रले भन्छ अंहो !
कस्तो लुच्छाचुडी ?
कस्तो अत्याचार ?
अर्काको देशमापनि
शासन गर्न खोज्ने पराई राष्ट्र
कस्तो निर्लज अनि,
किन लाचार ती देशका नेताहरू,?
कस्तो पिडित त्यहाको जनताहरू,
सायद कुर्शीको कमाल,
लौन डलको कामल ।

जनताको,देशको भलो खै?
नेता मोटाएका छन,
खोलेले सुँगुर मोटाए झैँ
हसिल,रसिला देखिन्छन
रातारात खरबौंको कमाल,
ग्यास नपाएर के भयो?
पेट्रोल,डिजल नआएर के भयो?
गुडेकै देखिन्छन् पिजडाकारमा,
उडेकै छन् सरकारी हवाईजहाजमा ।

अनि के फरक पर्छ ?
जनताको पीडाले ?
खाउँन वा नखाउँन
रात निदाउँन वा न निदाउँन ?
वर्षातमा निथरुक्क भिजेर
कुक्रिरहेका ती गरिब
नांगै हुँन वा जो जस्तो अवस्थामा
गरिबी जनता मरे के असर गर्छ र?
अनि,
नेताहरूलाई के फरक पर्छ ?

राजनीति र नेताको भर
नाटकीय रंग मंच हो,
मिठा सपनाको महलमा सुताउने,
आदर्शका मिठा कुरामा अल्झाउने
खोक्रो लोभ र वाचाहरूमा,
तृष्णाका किरण बाँचिरहेका
ती झुपडी बनाउने आशहरू,
केवल आफैभित्र दिन गन्दै
बित्छ रात फेरि उस्तै..
ती विचार गरिबहरू ।

कठिन अवस्थाको पीडा
गरिबी र खान नपाउदा लाचारीपन
परदेशिनेलाई थाहा छ,
दिनरात परिवारको यादमा
औला भाच्दै दिन गन्नेलाई थाहा छ
तर मेरो देशमा
सम्बन्धको दायरा
खुकुलो भएको देख्छु,
अनि
त्यस्तै देख्छु सबै सबै
रेडियो,पत्रकार,परोपकारी संघसंस्था
मात्र दिन सक्नेलाई नमस्कार ।

मुख बीच्काउदै हिडेपनि
धेरै देख्छु अनगन्ती
हिसाब किताब नाफा र घाटा
मात्र औला भाचेको देख्छु
जसरी एउटा पागलले भाचेको देख्छु,
दिनरात उस्तै एकनास
सायद,
निद्रा नपरेको कारण त
बिदेशी डलर तान्ने सोचमा,
कयौ उपायकौशल्य,
दिमागमा खेलाउदै हो कि ?
तर
के थाहा उनीहरूलाई ?
बिदेशी भूमिमा काम गर्नेको हविगत ?
रातदिन दिशा र पिसाबमा
हातहरू गन्हाइरहँदा,
निथ्रुक्क भिजेको शारीरले
स्वाँ स्वाँ गर्दै राँगो जोतिए झैँ
अगलामा नब्बे किलोको
रोगीलाई चर्को धाममा घिसार्दाको पीडा,
अनि के थाहा ?मरभूमिमा
त्रिखाले फेन्ट हुँदाको पीडा ।

अनि के थाहा कुकुरलाई झैँ,
टाढावाट एउटा रोटी फ्याकेर,
खान दिदाको पीडा ?
कसले भन्छ कठै !
मात्र डलरको विटो गन्छन
फलानोले यति कमाउछ हेर त ?
कुनै महिनाको तलब यसो
हाम्रो समाजकल्याणमा लगाए हुन्थ्यो नि ?
तर,
रातदिन ननिदाएका पल,
थकित शरीरमा खुई खुई गर्दै,
भोको भएको पीडा,
माग्ने सम्झेर भनेको त्यो वचन ?
उनीहरूलाई के थाहा …?
मात्र पैसाको वीटोको इन्तिजार,
अनि
स्वास्नीहरू घरमा औला भाच्छ्न,
यो महिना यति अब यो गर्छु त्यो गर्छु
त्यस्तै
लोग्नेहरू दिन गन्छन,
यति पठाए यहा जान्छु,
आज रेड लेवल,ब्याल्क लेवल
यो रेष्टुरेन्ट र त्यो रेस्टुरेन्ट
आखिर उनीहरूलाई पनि,
ऊ चाहिएको हैन,उसको मायाँले हैन
पैसाको बिटो भए पुग्छ,
अब आऊभन्दा अहिले न आ भन्छन
आउछु निभन्दा
अँझै केही महिना कमा भन्छन
मात्र पैसाको चाहना र मायाँ
स्वार्थी आफन्त र संसार
मानवताको अस्तित्व भुल्ने,
समबन्धलाई फ्याकिदिने
सुख चयन आफ्नो खोज्ने
मानव रुपी दानव संसार,
मात्र रहेछ स्वार्थी संसार ।

निशा अर्याल
इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *