Skip to content

साहित्यकार दामोदर पुडासैनीलाई सर्बोत्कृष्ट अनेसास अन्तर्राष्ट्रिय पुरस्कार

20151202_BijayThapa_News


नमेटिएका चित्रहरू, नियात्रा कृतिका लागि अनेसास अन्तर्राष्ट्रिय सर्बोत्कृष्ट पुस्तक पुरस्कार बिजेता चर्चित तथा वरिष्ठ साहित्यकार दामोदर पुडासैनी “किशोर”ले अमेरिकाका विभिन्न राज्यहरूमा आयोजना भएका साहित्यिक कार्यक्रममा भाग लिनु भएको छ ।

वहालाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास )अमेरिकाले गत नोभेम्बर २१ तारिख सर्बोत्कृष्ट पुस्तक पुरस्कार २०१५द्वारा सम्मानित एक भव्य समारोहको बीच प्रदान गरेको छ । सन् २०१२ देखि २०१४ सम्ममा विश्वभरबाट प्रकाशित पुस्तकहरू मध्ये पुडासैनीको नियात्रा कृति नमेटिएका चित्रहरू सर्बोत्कृष्ट ठहरिएकोले वहालाई यो सम्मान अर्पण गरिएको हो ।

पुडासैनिको नमेटिएका चित्रहरूलाई अङ्रेजी भाषामा अनुवाद गरी विश्वभर बिक्रि वितरण गर्ने कुरा पनि अनेसास अमेरिकाले जनाएको छ । पुरस्कार वितरण समारोहमा मेरील्यान्ड राज्यका गबर्नर ल्यारी होगन, बोर्ड अफ ट्रस्टीका अध्यक्ष डा. श्याम कार्की, अनेसास केन्द्रका वर्तमान अध्यक्ष पदम विश्वकर्मा, संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यबाहक राजदूत ऋषि घिमिरे, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, वरिष्ठ साहित्यकार डा. तारानाथ शर्मा, पुरस्कार छनोट समितिका अध्यक्ष सीता पाण्डे लगायतले अनेसासका गतिबिधिहरू र वरिष्ठ साहित्यकार दामोदर पुडासैनीको व्यक्तित्व र कृतित्व माथि प्रकाश पार्नुभएको थियो ।

पुरस्कार वितरण समारोहमा विश्वका धेरै देशका साहित्यकारहरूको उपस्थितिरहेको थियो भने सो अवसरमा पुडासैनीलाई बोर्ड अफ ट्रस्टी अमेरिकाको र
अनेसास अमेरिकाको आजीवन सदस्यता पनि प्रदान गरिएको कुरा ती दुवै संस्थाहरूले छुट्टा छुट्टै जनाएका छन ।

सो अवसरमा वरिष्ठ साहित्यकार पुडासैनीले अनेसास अमेरिकाबाट नमेटिएका चित्रहरू अङ्रेजी भाषामा अनुवाद गरी बिक्री वितरणबाट प्राप्त हुने लेखकस्व को पचास प्रतिसत रकम सोही संस्थालाई प्रदान गर्ने घोषणा गर्नुभयो । पुरस्कार तथा सम्मान ग्रहण गर्दै साहित्यकार पुडासैनीले यस किसिमको अन्तरराष्ट्रिय सर्बोत्कृष्ट पुरस्कार पाउँदा आफूमा थप उर्जा प्राप्त भएको र यस क्षेत्रमा लाग्न थप हौसला प्राप्त भएको कुरा पनि बताउनु भयो ।

साहित्यकार पुडासैनीले अनेसास न्युयोर्क शाखाद्वारा आयोजित विशेष साहित्यिक कार्यक्रममा र विभिन्न राज्यका संस्थाहरूद्वारा आयोजित साहित्यिक कार्यक्रममा पनि साहित्य, जीवन र डायेस्पोरासाहित्यको बारेमा प्रकाश पार्नुभएको थियो ।

वरिष्ठ साहित्यकार दामोदर पुडासैनी र कवि देश सुब्बालाई किरात याक्थुङ्ग चुम्लुङ्ग अमेरिकाले पनि रुजबेल्टमा एक भव्य समारोहमा सम्मान गरेको छ । सो अवसरमा कवि मणि बांग्देल मनु लोहरूंग राई, बुद्ध चेम्जोङ्ग, नदिया लोबुंग, विश्व थापा, देश सुब्बा, दिनेश राई, अशोक चाम्लिङ्ग राई आदिले साहित्यकार पुडासैनीसँग अन्तरक्रिया गरेका थिए ।

बि.सं. २०१९ जेठ १८ गते काठमान्डुको जितपुरफेदीमा जन्मनु भएका पुडासैनीका आफन्तका अनुहारहरू, आँखाको खोजीमा, आलोकित आयाम, आकारको खोजीमा, समयको सहीछाप, पहाड र प्रेम, यात्राका प्रेमिल तरंगहरू, नमेटिएका चित्रहरू, मायालु हुम्ला, सीमानाका रंग, सीमानाका तरङ्ग जस्ता कृतिहरू अत्यन्त चर्चामा छन् ।

र वहा आगामी मंगसिर १५ गते अमेरिकाको भ्रमण समाप्त गर्दै मातृभूमि नेपाल फर्कदै हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *