Skip to content


परिचय
हाम्रो मझेरी साहित्य प्रतिष्ठान भरतपुर चितवनले २०७२ साल कर्तिक चौध गतेका दिन हाम्रो मझेरी राष्ट्रिय साहित्यिक उत्सव भव्यरूपमा मनाएको समयमा म पनि सहभागी भएको थिएँ । यस कार्यक्रममा विमोचन भएका कृतिहरूमा पुष्प अधिकारी अञ्जलिको ‘‘चुराको घर’’, निशा क्षेत्री कटुवालको ‘‘एउटा अदृश्य मन’’, भरतबाबु ढकालको ‘‘गाउँ हराए पछि’’ ‘‘हाम्रो मझेरी भूकम्प विशेष’’ र विमला शर्मा ढुङ्गानाको ‘‘क्षितिजपारिको जून’’ मैले अध्ययनको लागि पाएको थिएँ । ‘‘हाम्रो मझेरी भूकम्प विशेष’’बाहेकका सबै कृतिहरू गजलका कृतिहरू थिए । एउटा उपन्यासको कृति पनि विमोचन भएको थियो तर त्यो भने प्राप्त हुन सकेन । यी कृतिहरूमा आज मैले ‘‘क्षितिजपारिको जून’’लाई अध्ययन गर्न थालेको छु । ‘‘क्षितिजपारिको जून’’ कि कृतिकार हुनुहुन्छ विमला शर्मा ढुङ्गाना जो २०३५ साल फागुन २९ गते चिन्नेबास स्याङ्जामा जन्मनु भै हाल रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत हुनुहुन्छ । उहाँ बुबा रुद्रनाथ लम्साल आमा शशीकला लम्सालकी सुपुत्री हुनुहुन्छ । उहाँका कृतिहरूमा संयुक्त गजल सङ्ग्रहहरू ई प्रतिनिधि नेपाली गजल(२०७०), हैसियत १(२०७१)अक्षरहरूको पिरामिड (२०७१)मा समावेश भएका गजलहरू पढेको थिएँ भने सगरमाथादेखि मृतसागरसम्म र कोसेलीमा समावेश गरिएका गजलहरू भने अध्ययन गर्न पाएको छैन । ‘क्षितिजपारिको जून’ अध्ययन गर्दा यथार्थताको कसौटीलाई शब्द शब्दले नियालेको भनुभूति भएको महसुस गरेको छु मैले । उहाँको साहित्यिक सम्लग्नतालाई केलाउँदा हाम्रो मझेरी साहित्य प्रष्ठिान, चितवन कि विशिष्ट आजीवन सदस्य र विश्व नेपाली साहित्य महासङ्घ इजरायल शाखाकी सदस्य हुनुहुन्छ ।

कृतिको संरचना
यो कृति आवरण पृष्ठ बाहेक २४+११६=१४० पृष्ठको छ । इजरायलका नेपाली राजदूत प्रल्हाद कुमार प्रसाई लगायत थुप्रै गजलकार तथा साहित्यकारहरूले शुभकामना प्रदान गरेका छन् । शुभकामनाका धारणाहरू पनि समावेश गर्ने प्रयास गर्ने छु । पदमप्रकाश ढुङ्गानाद्वारा प्रकाशित यो कृतिको मूल्य रू १५०/- राखिएको छ ।

कृतिप्रति साहित्यकारहरूको धारणा
राजदुत प्रल्हादकुमार प्रसाईको धारणा –‘आफ्नो कार्यव्यस्तता रहदा रहदै पनि नेपाली साहित्यलाई अँझ समृद्ध बनाउन उहाँले गर्नुभएको प्रयास प्रशंसनीय छ’ (पृष्ठ ग) । महासचिव, विश्व नेपाली साहित्य महासङ्घ विश्व कार्यसमिति ताइवानका डा. लेखनाथ काफ्लेले लेख्नुहुन्छ– ‘आफ्ना मनका कुराहरूलाई सुन्दर गजलको लेप लगाएर अभिव्यक्त गर्नु नै विमला शर्मा ढुङ्गानाको साहित्यिक कला हो’ (पृष्ठ ङ) । प्रकाशकीयमा पदमप्रसाद ढुङ्गाना लेख्नुहुन्छ –‘… साहित्य सिर्जना भित्रको गजलविधा समातेर गजलकार विमला शर्मा ढुङ्गानाले समाजसेवाको बाटो रोजेकोमा म अत्यान्तै खुसी भएको छु’ (पृष्ठ च)। महादेव अवस्थीले यस कृतिको भूमिका लेखनमा यस कृतिको बारेमा मूल्याङ्कन गर्दै लेख्नुहुन्छ– ‘यसमा सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्यासभन्दा बढी यथार्थ बोधी अनुभूतिको मह मिसाइएको छ’ (पृष्ठ ठ) । पुष्प अधिकारी अञ्जलिले ‘क्षितिजपारीको जून’मा जीवनको आलोक भेटिन्छ भन्दै लेख्नुहुन्छ –‘यो गजलसङ्ग्रहमा पछिल्लो समयको नेपाली गजलको एउटा सजीव तस्वीर हो’ (पृष्ठ ढ) । विमला शर्मा ढुङ्गानाले आफ्नै कुरा शिर्षकमा लेख्नुहुन्छ– ‘.. यो मेरो पहिलो गजलसङ्ग्रह क्षितिजपारिको जून तपार्इँ सम्पूर्ण साहित्यप्रेमी अग्रज अनुज तथा समकालीन साहित्यप्रेमी मित्रहरूको प्रेरणाको स्रोत हो’ (पृष्ठ ब) । प्रेमराज सापकोटाले ‘क्षिजितपारिको जूनलाई’ शुभकामना दिंदै लेख्नुहुन्छ–‘वास्वमा यो सङ्ग्रहमा सङ्कलित १०० वटा गजल नै नेपाली साहित्य समाजका सफा र सुन्दर दर्पण हुन् भन्न मलाई कुनै धक छैन’ (पृष्ठ २३) । शुभ कामनाका शब्दहरूमा राष्ट्रिय रूपान्तरण अभियान नेपालका अध्यक्ष लेख्नुहुन्छ – ‘यो कृति मलाई सुन लाग्यो । मीठो लाग्यो ’( पृष्ठ४७) । रामचन्द्र बस्याल ‘बिखर्ची राम’ले शुभकामना दिंदै लेख्नुहुन्छ– ‘ गजलमा मायाका मात्रै कथाहरू नभएर अब वैचारिक भाव र दर्शन पोख्ने पाना बनिसकेको छ जुन यो गजलसङ्ग्रह क्षितिजपारिको जून एउटा नमुना हो’ (पृष्ठ ६८) । शुभकामनाका शब्दमा गोविन्द भावुक लेख्नुहुन्छ–

‘पठनीयताका हिसाबले अत्यान्तै उत्सुकताको मुहान हो क्षितिजपारिको जून’ पृष्ठ (९४) । शुभकामना दिंदै लक्ष्मण भन्तना लेख्नुहुन्छ–‘.. उसो त भाव विम्बसँग साक्षतकार गरी उत्कृष्ट र सरल शब्द चयन गर्न सफल सर्जक विमलाजीलाई शब्द शब्दमा नियाल्दा यस्तो लाग्छ कि उहाँसँग मानवीय सचेतनाको कौशलता अधिक छन् जुन उहाँका हरेक गजलमा प्रष्ट देख्न सकिन्छ’ (पृष्ठ ११३) । माथि लेखिएका विभिन्न साहित्यिक व्यक्तित्वका धारणाले विमलाजीको साहित्यिक धरातललाई प्रष्ट्याउने प्रयास भएको छ । उहाँका मूल्याङ्कन कर्ताले यस गजल कृतिको उच्च मूल्याङ्कन गरेको पाइन्छ ।

कृतिले समेटेका विविध पक्षहरू
आज गजल विधाले नेपाली साहित्यमा महत्वपूर्ण स्थान ओगटेको छ । नेपालमामात्र नभएर आज जहाँ नेपालीहरू पुगेका छन् त्यहाँ नेपाली साहित्यको सिर्जनाले स्थान ओगट्न पुगेको छ । त्यहाँ नेपाली साहित्यलाई फलाउन फुलाउन विभिन्न साहित्यिक संस्थाहरू खोलिएका छन्, रचना रचिएका छन् । रोजगारीको लागि विदेशिने क्रममा विमला शर्मा ढुङ्गाना पनि इजरायल पुग्नुभएको छ र विश्व नेपाली साहित्य महासङ्घ इजरायल शाखामा आबद्ध भएर ‘क्षितिजपारिको जून’ अमूल्य गजल कृति हामीसामु पस्कनु भएको छ । यस गजल कृतिमा १०१ गजल पस्किएका छन् र यी १०१ गजलको यथार्थता माथि उल्लेख भएका साहित्यकारले यसमा भएका सारलाई चाहे शुभकामनाका शब्दमा होस् तथा भूमिका लेखनमा होस् यस कृतिको विश्लेषण गरेको देखिन्छ । सार सङ्क्षेपमा भन्नुपर्दा स्वदेशका मात्र नभएर विदेशमा रहेर भोग्न परेका पीडाहरूलाई, समाजमा घटेका घटनाहरूलाई विमलाजीले टपक्क टिपेर लपक्कै टास्नुभएको छ । मैले भन्ने गर्छु साहित्य समाजको दर्पण हो र यसले विकृति र विसङ्गतिलाई प्रहार गर्छ र समाजलाई परिवर्तनको मार्गमा चल्न सिकाउँछ । वास्तवमा विमलाका गजलमा पनि हामीले समाजका यथार्थतालाई जसरी आफ्नो अनुहार दर्पणमा देख्न सक्छौं त्यसरी नै देख्न सकिने अभिव्यक्ति र अनुभूति पाउँछौ।

आज देशमा देखिएको राजनीति भ्रष्टताको कारणले गर्दा देशले कोल्टेफेर्न सकेको छैन । पवित्र राजनीतिले नै हो देशलाई हाक्ने तर राज नेताहरूको भ्रष्ट प्रबृतिको कारणले गर्दा आपसी खिचातानीले गर्दा कुर्सी लिप्साको कारणले गर्दा सहमति सहकार्य हुन सकेको छैन । गजलकारले पस्केको सहमतिको धारणाको एक शेर –

पार्टीपिच्छे माग फरक सहमति हुन्न कैले
आपसमा लडी कुर्ची तानातानको कुरा गरौं
गजल २७, पृष्ठ ३२

देश हिजो पनि द्वन्द्वमा थियो, आज पनि द्वन्द्वमा छ । द्वन्द्वले निर्दोस, मानिसलाई छाडेन, संरचनालाई भत्कायो देशको विकासमा अवरोध पुर्यायो, कतिका छोराछोरी टुहुरा भए भने, कतिका सिन्दूर पुछिए र कतिका लास नै बेवारिसे भए त्यसमा पनि गजलकारको धारणा आएको छ –

निर्दोष ती आमाका सन्तानले ज्यान गुमाई
बेवारिसे भा’का लाश र चिहानको कुरा गरौं
गजल २७, पृष्ठ ३२

शान्तिक्षेत्र पनि अचेल क्रान्तिक्षेत्र भयो
द्वन्द्वपीडित नेपालीको खबर नसोध
गजल ४३, पृष्ठ ५ १

देश विकासमा नयाँ बीचारको आवश्यक्ता छ भन्ने गजलकनारको धारणा छ । सरकार जनता बीचको सम्बन्ध नङ मासु सरह छ तर आज देशमा घुसखोरी, भ्रष्टचारी मालामाल छन् जनताले दुःख पाइरहेका छन् । त्यसोहुँदा देशको मुहार फेर्नको लागि पुरातन विचारमा पनि परिवर्तन आउनु पर्छ भन्ने धारणा गजलकारले राखेको देखिन्छ –

फेर्ने भए देशको मुहार संसारसामु
साँच्चै अब खाँचो नयाँ बीचारको छ
गजल ४७, पृष्ठ ४८

आज राज्यले रोजगारी दिन सकेको छैन देशका युवा युवती दुवै विदेशीन बाध्य छन् । विदेशमा भोग्न परेका पीडा, प्राप्त गर्न नसकेको श्रम तथा पसिनाको मूल्य, भरोसा नभएको यो जिन्दगीमा कर्महारा भएर बाँच्न परेको खबर, सहिदका अधुरा सपना, देश भाँड्ने नेताहरूको बारेमा नसोध भन्दै गजलकारले आक्रोस पोखेकी छन् –

श्रम तथा पसिनाको छैन मूल्य कतै
दुःख भोग्ने प्रवासीको खबर नसोध
गजल ४३, पृष्ठ ५१

हुरी–बतास घाममा खट्न पर्छ सधैं
प्रदेशमा बस्नेको जिन्दगानी नसोध
गजल २१, पृष्ठ २६

आज देशले विदेशीको थिचोमिचो सहन परेको छ, देशका सीमाना मिचिएका छन् जङ्गेपिल्लर सारिएका छन्, खुला सीमानाको बहाना बनाइन्छ, नेपालीलाई दुःख कष्ट भोग्न बाध्य पारिएको छ, त्यसोहुँदा सबै मिलेर आफ्नो सीमाना खोज्नु पर्छ र खुला नाकाहरू बन्द गर्नु पर्छ भन्ने सुझाव दिएकी छन् गजलकारले –

हराएनि जङ्गेपिल्लर सबै मिलि खोजी गरौं
बन्द गर्न सक्नुपर्छ खुल्ला भा’का नाकाहरू
गजल २६, पृष्ठ ३१

गजलकारका गजल विविधताले सजिए पनि प्रेमका गजलहरूले पनि अग्रणी स्थान बोकेको पाइन्छ ।

माग्दिन म सुन्दर गुलाफ तिमी भए पुग्छ
छाडिदिन्छु पिउन सराब तिमी भए पुग्छ
गजल ९८, पृष्ठ १११

चोखो माया मनदेखि गर्ने भए आऊ
यो मुुहारमा खुसी मेरो छर्ने भए आऊ
गजाल ९४, पृष्ठ १०७

राष्ट्रियताले भरिएका गजलहरूको संख्या पनि कमी छैनन् –

सुन्दर शान्त मेरो नेपाल अनि गौतम बुद्ध
चिनाउने छु सीमापारि हेर्दै जानु तिमी
गजल ६९, पृष्ठ ८०

विमलाका गजलहरूमा विविधता पाइन्छ । गजलकारले तिहारमा आफ्नो भाइलाई टीका लगाउन नपाएकोमा दुखेसो छ । माला गाँसेका कुरा, टीका मुछेका कुरा पनि भावनाले भरिएका छन् । मन्दिरका पुजारी पापी भएको, लाचारी पना बढ्दै गएको, इमान्दारीहरू हराएको, बलत्च्कारी फष्टाएको, शान्ति क्षेत्र क्रान्ति क्षेत्रमा परिणत भएको, बन्दुकधारीको संख्या बढेको, युवापिँढीहरू विदेशिएर बारी बाँझै ‘रहेको, फेसन बदलिएर चौवन्दी, चोली र सारी हराएको, स्वार्थको बढ्दो रूप र कुबीचारले अगाडि बढ्न रोकेको, जिन्दगीले मोड कहाँ कसरी लिन्छ थाहा नहुनु काम गर्दा आफ्नै मान्छे पर्खाल बन्नु, ज्यान दिेने साथी दुस्मन बन्न सक्ने, भगवानलाई पुकाार्दै मरेतुल्य जिन्दगी बाँच्नुभन्दा खरानी बनाइदिने उद्धार गर्नको लागि आग्रह गरेको, नेताले भाषणबाट आकाशका तारा झारेका कुरा, जलस्रोतको दोस्रो धनी देश भए पनि धारा सुख्खा भएर पानी पिउन नपाएका कुरा, नदीनाला बेचिइसके अब फेवा र रारा बेच्न बाँकिरहेका कुरा, झुटो बोलेर बाजी जित्न नसक्ने् कुरा, मूल्य बृद्धिका कुरा, जागिर खाएर बेचिएका घरबारी फिर्ता ल्याउने कुरा, पुरानो कहानी बदल्न बानी सुधार्न पर्ने कुरा,कतै वर्तमान बेचिएको छ, कतै मनका रहर बेचिएका छन्, मठ मन्दिरका पुजारीले गीता बाइबल र कुरान बेचेर खाएका कुराहरू, किसान बेचेर साहु बन्नेका कुरा, वैज्ञानिकले विज्ञान बेचेका कुरा, आमा विना सारा संसार वेकार लाग्ने कुरा, आमाको ममता नै जिउने आधारका कुरा, आमाभित्रै भगवानको अवतारका कुरा, गरिब र धनीको जीवन भोगाइमा देखिने अन्तरका कुरा, नारी र पुरुषमा समानता नभएका कुरा, जीवन जगतका कुरा, जीवन लिलामका कुरा, आदि विविध विषयमा गजलकारले आफूलाई प्रस्तुत गर्न चाहनु भएको छ । उनका प्रस्तुति समसामयिकतामा रहेर नतिजालाई केलाएर भावनालाई बोलाएर आफ्नो लेखनकलालाई प्रस्तुत गर्नुभएको छ ।

भाषाशैली
विमलाका गजल सरल, सहज, शब्द लय र भावले भरिएका छन् । भाषागत सरलताले गर्दा गजलमा भएका गहनतालाई सजिलै सबैले आत्मसात गर्न सक्छन् ।

शीर्षकीय विशेषता
क्षितिज नै यस्तो दृश्य अथवा स्थान हो जसमा पृथ्वी र आकाश जोडिएको जस्तो गोलो परिधिको रूपमा देखिन्छ । नेपाली बृहहत् शब्दकोशलाई नियाल्दा मङ्गलग्रह र रुख भन्ने अर्थ पनि लाग्छ । वास्तवमा पृथ्वी र आकाश जोडिएको जस्तो गोलो परिधिलाई भेट्टाउन भने सकिदैन । जूनको सोझो अर्थ चन्द्रमा भए पनि भावार्थमा कोमलता शीतलता, शौम्यनम्रता, शान्ति, आदिको अर्थमा लिन सकिन्छ । क्षितिजपारिको जूनलाई केलाउँदा पनि बहुआयामिक रुपमा प्रस्तुत गरिएको छ । यो गजलसङ्ग्रहको अन्तिम गजल गजलकारले क्षितिजपारिको जून प्रस्तुत गरेको देखिन्छ र यसै गजलको आधारमा यस कृतिको शीर्षक राखिएको पनि पाइन्छ । गजलकारले पस्केको अर्थ यस प्रकारको छ । क्षितिज पारीको जून आफ्नै धरातलमा आएको, आँचलमा खुसी पोख्दै गरेको, अभ्धेरीमा दिव्य ज्योति छर्दै बादलमा उदाएको, वेदनाको जन्जिर तोडेर आशाहरू जगाएर आफ्नै जन्म स्थलमा आएको भन्ने धारणा राख्दै उहाँ लेख्नुहुन्छ–

‘कल्पनाको भावविम्ब शब्द शब्द माला उन्दै
सजिदैछ एकै पलमा, क्षितिज पारीको जून,

रहस्य छ जिन्दगीको, पीडा – व्यथा बोक्दै
शीर्षविम्ब छ गजलमा, क्षितिज पारीको जून
गजल १०१ पृष्ठ ११६

यसरी राखिएको शीर्षक सार्थक नै छ भन्न सकिन्छ । गजल लेखनमा गजलसिद्धान्तको अवलम्वन् गर्ने प्रयास पनि भएको छ ।

अन्त्यमा विमलाका गजलको विविध पक्षमा मैले माथि नै लेख्दै आएको छु । गजलकारले गजल लेखनमा आफ्नो क्षमताको प्रदर्शन गर्न सिपालु देखिएकी छन् तर लेखनमा निरन्तरताको खाँचो भने अवश्य देखिन्छ । जीवनका भोगाईलाई यथार्थ स्वरूप प्रदान गर्दै पस्किएका गजलहरूले सबैको मन छुन्छ र पढौं पढौं लागिरहन्छ । त्यसो हुँदा कृति पठनीय छ । गजल लेखनमा सफल र सबलमार्ग अवलम्वन गर्न प्रयासरत गजलकारलाई धन्यवाद दिंदै बिदा चाहन्छु ।

धन्यवाद,
कावासोती नगर पालिका वार्ड नं ७ शान्तिचोक, नवलपरासी
मिति २०७२ कर्तिक २५ गते ।

1 thought on “क्षितिजपारिको जून”

  1. सर्व प्रथम त यती अमूल्य समय
    सर्व प्रथम त यती अमूल्य समय दिएर मेरो पहीलो गजल संग्रह क्षितिजपारीको जून पढेर एक एक शव्द नियाली यती सुन्दर समिक्षा गरीदिनु भएकोमा म हजुर प्रति आभार प्रकट गर्दछु ।यसरी नै आउदा दिनहरुमा पनि हजुरहरुको सल्लाह सुझाबको आशा गर्छु यो हजुरले दिनु भएको प्रतिक्रिया मेरो लागी प्रेरणा को स्रोत बन्नेछ र मेरो गजल प्रति लगाब अझै बढ्नेछ ।जीन्दगीको यात्रा कसैको सहारा बिना पक्कै पनि सफल हुन्न त्यसैले मलाई हजुरहरुको सदैव साथ चाहीन्छ आउदा दिनहरुमा पनि यसरी नै साथ दिनु हुने भन्ने मेरो आत्मा विस्वास छ यती भन्दै म हजुर प्रति आभारी छु र धेरै धेरै धन्यवाद दिदै अहीलेलाई बिदा चाहन्छु।
    विमला शर्मा ढुंगाना
    हाल इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *