Skip to content

बिस्मृति


धरतीको बेजोड कम्पनले उसलाई मात्र हैन सबैलाई खुल्ला चौरको बास गराई दियो । अप्रत्याशित यसरी मृत्युसँग साक्षात्कार हुनु पर्दा जीवन प्रतिको उसको धारणानै वेग्लै बन्यो । क्षणभङगुर यो जीवनको दियो कुन वेला कहाँ निभ्छ कसैलाई थाहा छैन । बारम्बारको झटकाले आज उसलाई दार्शनिक बनाई दियो । खुल्ला आकाश मुनी चौरमा सुतेको ऊ आफनो बारेमा विवेचना गर्दै सोच्न थाल्यो । लालचमा फस्दै जतिनै सम्पति आर्जेपनि अन्त्य समयमा त्यसको कुनै औचित्य रहदो रहेनछ । नसाले छाडे जस्तो सबै बेकार लाग्यो । आखिर सतकर्म र धर्म मात्र रहेछ संगमा रहने । भित्री मनका आँखा खुले जस्तो उसले मनमनै बाचा गर्यो । अब बाकीको जीवन आपद विपदमा परेकाको सहयोगमा बिताउछु ।

रातमा सिमसिम पानी पर्यो । चौरबाट टोलवासी सुरक्षित स्थान भनी उसको कार पोर्चमा ओत लाग्न आए । उसले सहर्ष स्वागत गर्यो । ठूलो कम्पन आयो भने भाग्न सजिलो होस भनी मुल ढोका खुल्लै राखिदियो । बस्नलाई के के चाहिन्छ घर भित्रबाट ल्याएर ओछयाई दियो । खान चाउचाउ चिउरा पानी ल्यायो ।

दिन वित्दै गयो । बिस्तारै पराकम्पनको साथसाथै भयपनि कम हुदै थियो । बदलामा लोभ मोहले ढपक्क ढाक्दै लग्यो । अब उसले मुल ढोकाको ठूलो भाग बन्द गरी सानो ढोका मात्र खुल्ला राख्यो । केही समय अघि मनमनै गरेको बाचामा धमिरो लाग्यो । क्षणिक आदर्शको ज्योतिलाई लोभको ग्रहणले ढाक्दै लग्यो । अस्ति भरखरको त्यो फराकिलो मन खुम्चिएर साघुरो बन्दै थियो । कमजोर मस्तिष्कका तन्तुलाई छोटो समयमै कति सजिलैसित बिस्मृतिले गाज्दै लग्यो । अब उसले सानो ढोकापनि बन्द गर्यो र कुकुर फुकाई दियो ।

सुशीला देउजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *