Skip to content

योगमाया सम्झिएर ‘पानी, योगमाया र इन्द्रेनी’


प्राज्ञ कवि श्रवण मुकारुङसँग २०६० सालमा संयुक्त रूपमा युवा वर्ष मोती पुरस्कार लिएका लालगोपाल सुवेदी आफ्नो पुस्ताका सशक्त हस्ताक्षर हुन् । छन्द कविका रूपमा अब्बल मानिएका उनका गद्य कविता पनि शक्तिशाली मानिन्छन् । ०६५ सालमै प्रज्ञाप्रतिष्ठानको कविता महोत्सवमा गद्य कवितामा उनी प्रथम भएका थिए । प्रस्तुत पानी, योगमाया र इन्द्रेनी उनको नवीनत म कृति हो ।

प्रयोगशील नवकाव्य भनिएको यस कृतिमा भोजपुरी योगमाया न्यौपानेलाई काव्य नायिका बनाइएको छ । नेपालको नारीवादी आन्दोलनको इतिहासमा योगमाया प्रथम क्रान्तिकारी नेतृका रूपमा चिनिन्छिन् । नारी र पुरुषबीचको विभेद, सतिप्रथा र धार्मिक रुढिका विरुद्धमा उनले चलाएको धार्मिक तथा सामाजिक आन्दोलन नेपालको इतिहासमै अत्यन्त महत्त्वपूर्ण घटनाका रूपमा लिने गरिन्छ । सात वर्षको उमेरमै कन्यादान गरिएकी, नौ वर्षमै विधवा बनेकी योगमायाले त्यो समयमा नै तेस्रो विवाह गर्नुलाई सामान्य रूपमा लिन मिल्दैन । जीवनको उत्तराद्ध्रमा उनले कठोर तपस्या र भजनलाई नै नारीवादी तथा सामाजिक आन्दोलनको अचूक अस्त्र बनाइन् । उनी जातिपाति कर्मकाण्ड र मूर्तिपूजाको विरोधी थिइन् भने नारी–पुरुषबीचको विभेदका बारेमा पनि उनले चर्को आवाज उठाएकी थिइन् । नेपालमा न्यायिक राज्यको स्थापनाका लागि उनले राणाशासकलाई पटकपटक पत्र नै लेखेर आग्रहसमेत गरेकी थिइन् ।

विकृति–विसंगति हराउँदै रामराज्य स्थापना नगरिए आफूसहित २ सय ४० जनाले अग्निसमाधि लिने जानकारी राणा शासकलाई गराइन् र त्यसको व्यापक तयारी पनि गरिन् । तर, उनको जायज मागको सुनुवाइ नै नगरी राणा शासकले उनको आन्दोलनलाई दबाउने र जेलनेलको अमानवीय यातना दिनेसम्मका हर्कत गरे । १९९८मा आफ्ना ६७ सहयोद्धासहित उनले अरुण नदीमा जलसमाधि लिइन् । स्वदेशी तथा विदेशी विद्वान्हरूले यसलाई विश्वमै अनुप म सत्याग्रहका रूपमा लिएका छन् । योगमायाका बारेमा जीवनी लेखिए पनि उनलाई नायिका बनाएर लेखिएको यो नै पहिलो साहित्यिक कृति हो । एकातर्फ उनले इतिहासको गर्भमा लुप्तप्राय: बनाइएकी वीरांगनालाई काव्यात्मक उज्यालोले सिँगारेका छन् भने अर्कोतिर नारीवादी स्वरलाई मुखर बनाउनका लागि सुवेदी धार्मिकता तथा आध्यात्मिकताको फेद पहिल्याउँदै आर्यसभ्यताको जरैसम्म पुगेका छन् । आर्यसभ्यताको उषाकालमा नारीहरू आजझैँ निरीह, उपेक्षित र अपहेलित थिएनन् पनि ।

मातृसत्ता अत्यन्त शक्तिशाली थियो त्यतिबेला । विश्वमै सर्वप्राचीन मानिने ऋग्वेदका रचनाकार पुरुष मात्र थिएनन्, नारीहरू पनि थिए । पश्चिमाहरू फ्रान्सेली लेखिका सिमोन द बुवालाई प्रथम नारीवादी प्रवक्ताका रूपमा चित्रित गर्ने गर्छन् तर उनीभन्दा हजारौँ वर्षपहिले पूर्वीय जगत्मा नारीवादको स्थापना भइसकेको थियो भन्नका लागि कवि सुवेदीले वागाम्भृणि ऋषिकालाई पात्रका रूपमा ल्याएका छन् । सरस्वती, देवी गायत्री, गार्गी मैत्रेयी, पार्वती गंगा आदि पनि सांकेतिक पात्र बनेर आएका छन् यहाँ ।
नारीवाद बुझेर मात्रै पनि यस कृतिको व्याख्या हुन सक्दैन । पूर्वीय र पाश्चात्य दर्शनका साथै नारीवादको सिंगो आलोकमा हेर्नुपर्ने हुँदा यो कृति अत्यन्त बौद्धिक बनेको छ । यति मात्र होइन, आजको सिंगो नेपाल बोल्छ यस कृतिले । एउटा कवितांश यस्तो छ :
भीमशमशेरहरू कान सुन्दैनन्
जुद्धशमशेरहरू आँखा देख्दैनन्
उनीहरू
अरुण र इखुवाहरूको कलकल सुन्दैनन् ।

यो कवितालाई टुक्राटुक्रामा स्वाद लिनका लागि कविद्वारा निर्माण गरिएको सुविधा हो । व्यापारमा ग्राहकलाई नै प्राथमिकताको सूचीमा राखिएझैँ काव्यमा पाठकलाई नै प्राथमिकतामा राखिएको हुनुपर्छ । यसैले सुवेदी काव्यको भूमिकामा भन्छन्, ‘पाठकले एउटै कवितालाई मन पराए पनि म पाथी भात खाएसरह सन्तुष्ट हुन्छु ।’ पाठकका रुचि फरक फरक हुन्छन् । कुनै पाठक सरल कविता मन पराउँछन् त कुनै पाठक बौद्धिक कविता । यहाँ दुवै खालका कविता छन् । सरल कविता पनि छन् र बौद्धिक कविता पनि । आजका पाठकको रुचि वा धैर्य महाकाव्य वा खण्डकाव्यमा छैन भन्नेहरूका लागि गतिलो जवाफ हो यो ।

पानी, योगमाया र इन्द्रेनी
स्रष्टा: लालगोपाल सुवेदी
प्रकाशक: रत्न पुस्तक भण्डार
पृष्ठ: १२१
मूल्य: १७५ रुपियाँ

प्रकाशित: मंसिर १०, २०७२

http://bit.ly/1lLqJzy

Leave a Reply

Your email address will not be published. Required fields are marked *