Skip to content

शिक्षा कि अशिक्षा सेवा आयोग !


सम्पादकज्यू, म लगायत सयौं नागरिक अन्यायमा परेको एउटा प्रसङ्ग कोट्याउँदै छु । यसलाई नाटकीय ढङ्गले हुबहु समेट्दा श्रेयष्कर होला भन्ठान्छु ।

‘हेलो ! यो शिक्षा सेवा आयोग हो ?’

‘हो, भन्नुस् । के भन्नुछ । चाँडो भन्नुस् ।’

‘नमस्कार ! म सप्तरीबाट बोल्दै छु । मैले अध्यापन अनुमति पत्रको परीक्षाको परिणामबाट असन्तुष्ट भई पुनर्योगका लागि निवेदन दिएको थिएँ । त्यसको रिजल्ट अहिलेसम्म नपाउँदा अन्यौलमा छु । कहिले रिजल्ट होला ?’

‘हेर्नुस्, परीक्षाफल–सल हुँदैन । कोही पनि पास हुँदैन । यस्तो झमेलामा नफस्नुस् । आयोगले पुनर्योगबाट पास गर्दिन्छ भन्ने सपना नदेख्नुस् । पास हुन मन भए, राम्ररी पढेर अर्को पटक परीक्षा दिनुस् ।’

आयोगले जिज्ञासा शान्त गर्ने दायित्व पूरा गर्नुको सट्टा नैतिक आदर्शको खोक्रो पाठ पढाएको सुन्दा र बुझ्दा म तीन छक्क परेँ । नागरिकको सूचना पाउने अधिकार कुण्ठित भएको भेट्टाएँ । यसरी नै नागरिकलाई मानसिक यातना दिँदै जाने हो भने र सुध्रने नामनलिने हो भने शिक्षा सेवा आयोग अशिक्षा सेवा आयोग बन्न जाला ! सम्विन्धित सबैलाई चेतना भया ।

सम्पादकज्यू, म विगत एक दशकदेखि अनवरतरूपमा शिक्षणरत् छु । यहाँ मैले अनगिन्ती अनुभव गरेको छु । शैक्षिक जगत्का लागि नवीन चिन्तन र सीप जन्माउने मौका पाएको छु । भविष्य सपार्ने सानातिना अवसर गुमाउनु परे पनि जीवनको गहिराइलाई बुझ्ने सौभाग्य भने भेटेको छु । आर्थिकरूपमा सशक्त जीवन छैन तर शैक्षिकरूपमा नयाँ जीवन भेट्टाएको छु । जीवनलाई नयाँ ढङ्गले बुझ्ने यज्ञशाला विद्यालय भएको छ । यसले मधेशको विशाल फाँटमा अल्मलिरहेको मेरो जीवनशैलीमा आमूल परिवर्तन गरिदिएको छ । विज्ञान र प्रविधिसँग साक्षात्कार गरी वैज्ञानिक सुझबुझको विकास गर्ने सौभाग्य दिलाएको छ । अर्कातिर बेहोसीका साथ बाँचिरहेको अवस्थामा होससहित काम गर्ने गुरुमन्त्र दिलाएको छ । सङ्घर्ष गर्दै जानेले जीवनलाई अनमोल बनाउन सक्ने रहेछन् भन्ने बोध गराएको छ ।

आफूलाई सुम्पिएको जिम्मेवारी इमान्दारपूर्वक पूरा गर्दै गएको छु । समय र परिस्थितिलाई सम्मान गर्दै संस्थागत हितलाई गन्तव्य तुल्याउँदै छु । आफूमा भएको वाह्य सूचना र आन्तरिक अनुभूतिलाई विद्यार्थी सामु पुर्याउन भरमग्धुर प्रयत्न गर्दै छु । विद्यार्थीहरूलाई सिकाइसंसारमा डटेर लाग्न प्रेरित गर्दै छु । अभिभावकलाई आफ्ना बच्चाको मनोभाव बुझी घरपरिवारमा समेत शैक्षिक वातावरण बनाउन उक्साउँदै छु । यस्तै जीवनशैलीले त अभिभावकको विश्वास कमाउन सकिएको छ ।

सम्पादकज्यू, मैले धेरै वर्ष काम गरेर पुरानो शिक्षकको हैसियत बनाएको छु । परिआएको समयमा विद्यालयका जुनसुकै काममा पछि नहट्ने स्वभाव देखाएको छु । उत्तम तवरले काम पूरा गर्न इमान्दारपूर्वक सक्रिय रहिरहने गरेको छु । टुकुटुकु हिँड्ने उमेरदेखि किशोरावस्थासम्म मेरै मातहतमा रहने भएकाले विद्यार्थीहरूलाई यथोचित शैक्षिक मर्यादामा राख्न त्यत्ति सजिलो छैन । विद्यार्थीका मनका गुनासा सुनिदिने र सम्भव भएसम्म यथाशक्य चाँडो समाधान गरिदिने गरेको छु । त्यसो हुँदा उनीहरूको मनमा दूधको दूध पानीको पानी छुट्याई उचित परामर्श दिने शिक्षकको हैसियत बनाएको छु ।

शैक्षिक कार्य सम्पादन गर्ने कुराका अतिरिक्त शिक्षकले विद्यार्थीको मनोभावनालाई सम्बोधन गर्न पनि कन्जुस्याइँ नगर्नुपर्ने रहेछ । कक्षामा आफ्नो जिम्माको विषय मात्र पढाएर असल शिक्षक नभइने रहेछ । थरीथरीका स्वभाववाला विद्यार्थीको मनोविज्ञान बुझी व्यवहार गर्नु शिक्षकका लागि चुनौतीरहेछ । विद्यालयभित्र र बाहिर गरिने सम्पूर्ण शैक्षिक क्रियाकलापको रूपरेखा तयार पारी काममा लगाउने, रेखदेख पुर्याउने, आवश्यक पृष्ठपोषण दिने र विद्यालय प्रशासकलाई आफ्ना विचार दिनेजस्ता दर्जनौं काममा दिमाख दौडाएमा मात्र सक्षम शिक्षक भइने रहेछ । प्रत्यक्ष–परोक्षरूपमा अभिभावकको निरन्तर सम्पर्कमा रही पीरमर्का सम्बोधनमा क्रियाशील हुन सके शैक्षिक सुधारमा आमूल परिवर्तन ल्याउन सकिने रहेछ । आफ्नो जिम्माका हरेक काम समयमै भ्याउने शिक्षक भएमा मात्र सफलताको बाटोमा लम्कन सकिने रहेछ ।

सम्पादकज्यू, मजस्तो व्यक्तिलाई त आयोगले सूचना दिँन घिनाउँछ भने अरुलाई के गर्ला ! सोचनीय प्रश्न छ । म मधेशी समुदायको व्यक्ति भएकोले समेत मधेशी समाज बारे नजिकबाट परिचित छु । २०६२÷०६३ सालको वसन्त आन्दोलन, २०६४ सालको ¬¬मधेश आन्दोलनद्वारा परिवर्तित राजनैतिक चेतना सदुपयोगले बाटोमा मात्र गएको छैन, यदाकदा दुरुपयोगको दलदलमा समेत फँसेको छ । त्यसले समाजलाई सचेत पार्ने काम मात्र गरेको छैन, मनोविज्ञानलाई उत्ताउलो बनाउने काम पनि गरेको छ । विद्यार्थीहरू सचेत छैनन्, होसियार हुँदैनन् । यस्तो अवस्थामा दैनिक कार्य सञ्चालन गर्नु परेको कारण यदाकदा उल्झनमा समेत फँस्नु परेको छ । जे भए पनि परिश्रमको उचित दाम नपाए पनि काम त पाइएको छ । भविष्य सुनौलो बनाउने आधार नभेटे पनि वर्तमान उपभोग गर्ने अवस्था त फेला परेको छ । प्रत्यक्ष राष्ट्रसेवामा समर्पित हुने अवसर नपाए पनि परोक्ष भूमिका निर्वाह गर्न भेट्टाइएको छ ।

सम्पादकज्यू, मेरो सोचमा– कलिला विद्यार्थीलाई अङ्ग्रेजी माध्यममा ठूल्ठूला कुरा सिकाउनु चानचुने कुरा हैन । हातमा छडी लिएर धाकधम्की दिँदै कण्ठस्थीकरणमा मात्र जोड दिनु शिक्षकको नाममा कलङ्क हुनु हो । विद्यार्थीको स्वभावअनुसार स्वभाविक रूपमा सिक्ने गरी आगमनात्मक शैक्षिक पद्धतिअनुसार शिक्षण गर्नुपर्ने हो । सरलबाट जटिलतिर, ज्ञातबाट अज्ञाततिर, प्रत्यक्षबाट अप्रत्यक्षतिर, स्थूलबाट सूक्ष्मतिर शिक्षण विधि र क्रममा एकोहोरिनु पर्ने हो । पर्याप्त शैक्षिक सामग्रीको भरमग्धुर उपयोग गर्दै विद्यार्थीकेन्द्रित विधि अपनाउनु पर्ने हो । अन्तस्करण खुलाउन विद्यार्थीलाई स्वविवेकले सिक्ने वातावरण दिलाउनुपर्ने हो । पुस्तकको कीरा नबनाई विद्यार्थी स्वयम्लाई सिकाइको खोजयात्रामा निस्कने अवसर दिलाउनुपर्ने हो ।

तर सम्पादकज्यू, विडम्बना ! माथि भनिएजस्तो शिक्षणका सैद्धान्तिक पाटाहरूलाई व्यवहारमा अक्षरशः पालना गर्ने शैक्षिक वातावरण विल्कुलै छैन । वाधाव्यवधानको पहाड ठडिएको छ । एकातिर विभिन्न प्रकाशनपिच्छे फरकफरक ढाँचामा अनावश्यक सूचनाको भारी लादेका पाठ्यपुस्तक छन् । तिनमा भएका पट्यारलाग्दा कतिपय अभ्यासहरूले समय खर्लप्प खान्छन् । किताबमा भएका विषयवस्तु शिक्षण गर्न र अभ्यास गराउन लाग्दा लाग्दै किताबभन्दा बाहिर निस्कने अवसर नै भेटिन्न । सिकारुको मनस्थिति बुझेर शिक्षण गर्न समय अपर्याप्त हुन्छ । समयमा पाठ्यपुस्तक शिक्षण कार्य पूरा नगरी धर पाइँदै पाइन्न । अर्कातिर किताबमा भएका सम्पूर्ण अभ्यास हल गर्न विद्यार्थी पारङ्गत हुनैपर्छ । मन्द, मध्यम र तीव्र गरी तीनै थरीका विद्यार्थीलाई एउटै कक्षामा राखी एकै समयमा, एकै विधिले शिक्षण गर्नुपर्ने वाध्यता छ । त्यसैले ‘अड्को पड्को तेलको धूप’ भनेझैं जसरी पनि विद्यार्थीले धेरथोर जानकारी लिऊन् र सिकाइलाई सबल पारून् भनी शिक्षकले नै उत्तर लेखाइ दिनुपर्छ । त्यसलाई घोक्न लगाउनुपर्छ । र, भटट भन्न र फटाफट लेख्न सक्षम तुल्याउनुपर्छ । कतै कमी भएमा अभिभावकबाट विद्यालयले पढाउँदै पढाएन पैसा मात्र असुल्यो भन्ने आरोप सुन्नुपर्छ । यहाँ त चाहेर पनि सही ढङ्गले शिक्षा दिन सकिन्न । आफूले बुझेर पनि विद्यार्थीलाई सही दिशानिर्देश गर्न पाइन्न ।

विद्यालयको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने हो भने शिक्षक शिक्षणकलायुक्त हुनैपर्छ । अँझ विद्यालयको रीतिथिति बारे अन्धा त्यस्ता कतिपय शिक्षक घिनौला लतमा समेत फँसेका हुन्छन् । विद्यालय परिसरमा मात्र हैन अन्त पनि शिक्षकको मूल्य र मान्यताबमोजिम व्यवहार गनुपर्छ । कतिपय निजी विद्यालय शैक्षिक ज्ञानविहीनहरूको तालीमकेन्द्रका रूपमा विकसित भएका छन् । पेशेवर शिक्षकशिक्षिका व्यवस्थापन हुन सकेका छैनन् । पढाउन आउने सबै व्यक्ति लामो समयका लागि आउने पनि होइनन् । प्रायः उच्चशिक्षा हाँसिल गर्ने क्रममा मध्यम वर्गीय परिवारका कलिला युवाहरू शिक्षक बन्न आउँछन् । ती आलोकाँचो सीप भएकाहरू थोरै तलवमा समेत खुशी हुन्छन् ।

निजी प्रकाशन गृहको परीक्षणविनाको पुस्तकमा समाविष्ट विषयवस्तुको प्रस्तुतिकरणमा देखिने मनपरीतन्त्र हटाउनुपर्छ । आफ्नो विद्यार्थीले पाठ्यपुस्तकका सम्पूर्ण अभ्यास समाधानका लागि घोक्नैपर्छ भन्ने अभिभावकको सोच बदलिनुपर्छ । विद्यालयलाई विशुद्ध व्यापार सम्झने कतिपय संस्थापकहरूको अत्यधिक मुनाफा गर्न उद्यत सोचमा आमूल परिवर्तन हुनुपर्छ । आधुनिक विज्ञानप्रविधिको समय, बदलिँदो नयाँ पुस्ताको मनोविज्ञान, सिकारुको रुची, आवश्यकता र परिस्थितिको असल ज्ञाता भई शिक्षकहरू विद्यार्थी सामु सहजकर्ता, सहयोगी र आवश्यक परेमा मात्र दिशानिर्देशकको हैसियतमा प्रस्तुत हुनुपर्छ । सिक्नका लागि त्रासमा घोक्ने वातावरण हैन, विद्यार्थी स्वय म सिक्न उद्यत हुने अवस्था सिर्जना गर्नुपर्छ ।

अन्तमा सम्पादकज्यू, म शैक्षिक चिन्तनयुक्त नेपालको जनशक्ति हुँ भनने कुराका केही आधारहरू माथि प्रस्तुत गरिसकेको छु । सबै वर्गले जवाफदेहीता बहन गर्नुपर्छ भन्ने मेरो ठहर हो । शिक्षा सेवा आयोगकै रुपमा रहने हो भने आयोगका हरेक क्रियाकलाप जनमुखी हुनुपर्छ । जनताका पीरमर्कालाई सम्बोधन गर्ने खालका हुनुपर्छभन्दा अतिशयोक्ति गरेको नठहर्ला ।

–अरबिन्द कुमार यादव
हाल– राजविराज–४, सप्तरी ।

1 thought on “शिक्षा कि अशिक्षा सेवा आयोग !”

  1. यस लेखले व्यवहारमै ठूलो
    यस लेखले व्यवहारमै ठूलो परिवर्तन ल्याएको छ । धन्यवाद मझेरी डट कम ।
    –अरविन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *