Skip to content


बाहिर झरी परिरहेछ
भित्र मन रुझिरहेछ ।

झरीका छिटाहरू झ्यालमा ठोकिन्छन्
ध्वनि प्रवाहित गर्छन्
झक्झक्याउँछन्,
तैपनि
अहँ, मलाई डेग चाल्न सक्दैनन्।

छिटाहरू,
लय बोकेका छन्
जीवनरसको गर्व बोकेका छन्
र पनि,
कोलहालपूर्ण र नीरस लाग्दछन्।

ओहो,
छिटा-बाछिटा सहनै नसकिने,
ओभानोको बानी कसरी बस्यो?
नियतिसँग सम्झौता गर्नुपर्ने,
यो कमजोरी कहिलेदेखि बस्यो?

मनको बिस्कुन सुकाउन
अनि,
त्यसलाई व्यञ्जनसम्म बनाउन
खै के सकिएला र?
यसलाई परास्त गर्न।

झरीका लयहरू
जबरजस्ती मेरा मौलिक लयहरू मेट्छन्
झरीका भाकाहरू
जबरजस्ती मेरा शब्दहरू मेटाउँछन्
झरीका रसहरू
मेरो मन सुख्खा पार्छन्।

बाहिरको झरीले
मन भिजाउँदै छ
तैपनि मन सुख्खा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *