Skip to content

स्मृतिमा मगर्नी


गोल गोल पुक्क पुक्क परेका गाला, हल्का चिम्सा दुई आँखाबीचको चेप्टो नाक, सानो गोलो ओठ र अगाडिको पुरै कपाल उचालेर भुक्क पारेको कालो कपाल सहितको फराकिलो निधार, छोटा छोटा पोटिला हातसहितको होचि होचि तर सग्लो आकृतिकी एउटी मगर्नी अर्थात बिजमाया मगर मेरो स्मृतिमा आज पनि मस्त, निर्वाध ओहोर दोहोर गरिरहन्छे । अँझ विशेषत हिउँदका दिनहरूमा ऊ बढी चलायमान रहन्छे मेरो मष्तिस्कमा । चिसा शारदीय दिनहरूमा न्यानो प्रेम बोकेर मलाई पछ्यौराले बेरिदिने मगर्नी आजभोलि कसलाई प्रेमले घनिभूत पार्दै होलिन् ?

यो प्रश्न उब्जेको दुई दशक बितेछ । यो दुईवटा दशकमा जतिवटा ऋतुहरू आए गए तिनले सिर्फ उनको याद दिलाइरहयो तर कुनै निदान दिलाएन ।

चिम्सा आँखाभित्रको एउटा अनौठो चमकसँगै ऊ सधैं भन्थी — म थुप्रै पढ्छु । ठूलो मान्छे बन्छु । बुबालाई खुब खुसी राख्छु ।

सँगसँगै भन्थी म —कहिल्यै बिहे गर्दिन ।

म सोध्थें —किन ?

—बिहे गरें भने बुबालाई कसले पाल्छ र ? बिजमाया सरल उत्तर दिन्थी ।

वास्तवमा यो सरल उत्तर भित्रको जटिल प्रश्नले आज मलाई गिजोलिरहन्छ । के बिजमायाले विवाह गरिन् होली ? उसले भने जस्तै छोरी मान्छेले बाबु पालेर बस्न यो समाजले सहज परिवेश तयार गर्यो होला र ? यो पित्तृसत्तात्मक राज्यव्यवस्थाले छोरी मान्छेलाई उसको बाबुको सम्पत्तीमाथिको अधिकार प्रत्याभूत गरायो होला ? खै ?

त्यतिखेर यस्ता सवालहरू कहीं कतै कुनै कोणबाट पनि मेरो मगजमा आएन तर आज यही प्रश्नले यो मष्तिस्क थिलो थिलो पारेको छ । सायद यही होला समयसँगै परिपक्कताको सिकाई र यही सिकाईले जन्माउँदो रहेछ अर्को चेतना । खैर यतिखेर म यी प्रश्नको उत्तर पाउन उद्दत छुइन, छु त बस त्यो मगर्नी अहिले कहाँ होली ? के गर्दै होली ? कति पढी होली ? के उसले भने जस्तै जीवन प्राप्त गरी होली ? भन्ने थाहा पाउन उद्दत छु । तर ऊ त मेरो जीवनको एक अशं भोगेर वेपत्ता भएकी छे । सायदै पाउँछु होला अब उसको खबर किनकि यतिखेर उसँग जोडिएका सबै हाँगाहरू भाँचिएका छन् मेरो जीवन वृक्षबाट ।

० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ०

फ्ल्यास् ब्याक

वर्षी नपुग्दै हृदयघातसहितको आमाको मृत्यु खेप्नुपरेको बिजमायालाई कसैले भनिदिएको छ तिम्रो आमा नून लिन जानुभएको छ । नरोउ है । भरे आउनुहुन्छ ।

त्यसैले ऊ कसैले आमा खै ? भन्दा लरबराएको बोलीमा दुरुस्तै कपी राईट शैलीमा—”आमा नून लिन जानुभा छ । भले आउनुहुन्छ ।” भन्छे ।

दुईवर्षकी हुदाँ देखि यसो भन्न थालेकी बिजमाया पाँचौ वर्षदेखि यसो भन्न छोड्छे । किनकि उसले आमा पाएकी छे अर्की आमा अर्थात कान्छीआमा । उसको बाबुले बिहे गरेको छ । तर ऊ बसेकी छे आमा खसेदेखि नै हामीसँग, ठूली आमासँग (मेरी आमालाई ठूलीआमा भन्छे ) ।

उसको आमाको देहान्त पछि बाबुले हाम्रो घरलाई डेरा हैन उसको घर बनाइदिएको छ । र आफै चै अन्तै डेरामा बसेको छ । खै किन हो उसको बाबुले उसलाई आफूसँग लादैन र छाडिदिन्छ ढुक्कै हामीसँग । हप्ता, महिना दिनमा आउँछ चकलेट बोकेर हामीकोमा । कहिले काहीँ कपडा पनि । खुब माया गर्छ छोरीलाई, मलाई पनि तर कहिल्यै लादैन आफूसँग । बुझि नसक्नुको छ बिजमायाको बाबु । फेरि बिजमाया पनि रमाएकै छे हामीसँग । अब त ऊ मसँगै सुत्न उठ्न, पढ्न, हाँस्न र रुन थालेकी छे । यतिसम्म कि मलाई आउने प्रत्येक उपहारमा उसको नाम जोडिएको हुन्छ । कपडा, जुत्ता, हेयरव्याण्ड सबै जोडी जोडी भित्रिन थालेको छ घरमा । मभन्दा दुई वर्षले जेठी छे बिजमाया तर हाम्रो साईज लगभग लगभग उस्तै छ । ऊ बिस्तारै अभ्यस्त हुन्छे हाम्रो परिवारको दैनिकीसँग । जेठी भएकीले होला ऊ मभन्दा बढी अभ्यस्त छे । अब त ऊ भान्छामा आमालाई पनि सघाउन सक्ने भएकी छे । उसलाई खानाको रेसिपी थोरै थोरै कण्ठ हुन थालेको छ तर पढाई बिर्सेकी छे । उसलाई गाह्रो लाग्छ पढ्न अँझ त्योभन्दा गाह्रो लेख्न । बरु भान्छा सहज लाग्छ । यसै भन्छे ऊ । यसो भनुँ ऊ आमालाई भान्छामा सघाउँछे म उसलाई पढाईमा सघाउँछु गृहकार्य सार्न दिएर । आखिर हामी एउटै कक्षामा अध्ययन जो गर्छौं ।

यसरी पाँच, सातवटा हिउँद र वर्षा वित्छ । अब त बिजमाया आमाको दाहिने हात भएकी छे । दिनानुदिन उनको ठिक्क पुटुक्क परेका हात कपडा धुन, मकै पोल्न, चामलको माड काट्न, फर्सीको मुन्टा केलाउन सिपालु भएको छ । म चै दिनदिनै लबस्तरी हुदैं गएकी छु । एच.आई.डी.औद्योगिक परिसरमा वेपत्ता साईकल कुदाउँछु, स्कुलमा भलिबल खेल्छु । अलिक पछि तेक्वान्डो पनि ज्वाइन गर्छु ।

हामी बीच स्वाभावमा पनि उस्तै भिन्नता देखा पर्छ । उसको आवाज मसिनो छ मेरो ध्वद्रो । ऊ शालीन छे म उट्पट्याङ । अँझ यसो भनुँ म बद्मास छु ऊ सोझी छे । म सत्यकथा र जासुसी उपन्यास शिरान हाल्छु, ऊ माधुरी दिक्षित, श्रीदेवी, जयाप्रदाको पोस्टकार्ड हाल्छे । म काँम्किसको, कहानीको गफ झिक्छु ऊ फिल्मको झिक्छे । हाम्रो स्वाभाव र विचारहरूमा स्पष्ट भिन्नता आउँछ । हाम्रो व्यवहार र काम गर्ने शैलीमा उमेरगत, संरचनागत र समूहगत फरक देखिएको छ । उसको र मेरो साथी सर्कलको भुण्ड पनि फरक फरक छ । हामी विचको दुरी पनि उस्तै बढेर गएको छ । हामी कहिलेकाहीँ वादविवाद पनि गर्छौं तर एकदम भेजिटेरियन ।

जे जस्तो भए पनि ऊ मलाई माया चै गर्छे । कुखुराको मासु पकाउँदा मेरो लागि घट्ट पोलेर राखिदिन्छे । मेरा खुब वास्ता गर्छे अनि उसको वास्ता चै आमा गर्नुहुन्छ ।

अचानक एक दिन बिजमायाको बाबु आईपुग्छ र भन्छ —”बिजमायालाई सँगै लैजान्छु । यसको कान्छी आमाले ल्याउनु भनेकी छे । उसबाट कुनै सन्तान पनि त भएको छैन । यसले माया पाउँछे ।”

बिजमाया ठूलीआमाको अनुहारमा याचना बोकेर पुलुक्क हेर्छे । वर्षौदेखि पढ्दै आएको त्यो निश्चल अनुहार पढ्न आमालाई कुनै कठिनाई छैन ।

“त्यति सानैदेखि स्याहारेँ । माया लाग्छ । यहाँ बसेकै छे, पढेकै छे, खुसी नै छे । केमा चित्त दुखाई छ र ? भैगो यो यही बस्छे । उस्तै परे मै कन्यादान गरिदिउँला । अब त यो पनि मेरो आफ्नै छोरी जतिकै प्यारी भाछे । किन लैजानुपर्यो ?”

आमा ममताको आँचल फिजाउनुहुन्छ ।

बिजमायाको बाबु आँचल भरिदिन्छ र फर्किन्छ । ढुक्क हुन्छे बिजमाया, म पनि । अघि देखि उसले मेरो हात बेस्सरी अठ्याइरहेकी थिई अब खुकुलो पार्छे । ऊ रुन्चे हाँसो हाँस्छे, म नि हाँस्छु । हामी खुब हाँस्छौं । सबै हाँस्छन् । बा आईपुग्नुहुन्छ विरगंजबाट माल्दा आँपको टोकरी नै बोकेर । कोठा पुरै आँपको बास्नाले मग्मगाउँछ । एक किसिमको मदहोसी वातावरण तयार हुन्छ ।

अर्को वर्ष कक्षा ८ को परीक्षाफल प्रकाशित हुन्छ । म पास हुन्छु । बिजमाया फेल हुन्छे । ऊ खुब रुन्छे । भन्नेले भनिदिन्छ बिजमायाले पढ्नै पाइन । सधैं काम गरिरहन्छे । त्यसैले फेल भई । उसलाई पनि हो जस्तो लाग्छ । केही महिनादेखि ऊ संकुचित हुन थालेकी थिई । माथि मुजुरधापको एकजना साथीकोमा गएर बस्छु भन्थी आमाले हुर्केकी छोरी मान्छे त्यसरी रात बिताउने गरी जान हुन्न भनेदेखि ऊ अलिक परिवर्तन भएकी थिई ।

“आफ्नै आमा भएको भए जान पाइन्थ्यो,” यस्तै भनेकी थिई मसँग ।

आज फेल हुनुको जिम्मेवार यही घर र घरका सदस्यहरू हुन् भन्ने लाग्छ ।

भन्नेहरूले यो पनि भनिदिन्छन्, “आफ्नै आमा भएको भए अथवा आफ्नै बाबुसँग बसेको भए चाहेको जस्तो लाउन, खान र डुल्न पाउँथी । स्वतन्त्र हुन्थी । खुब माया गर्थे । अर्काको आमा पनि कहिल्यै आफ्नो आमा जस्तो हुन सक्छ र ?

उसलाई यो पनि हो जस्तो लाग्छ । बिस्तारै बिस्तारै ऊ परिवर्तित हुन्छे । चुकुल लाएर धेरै बेर कोठाभित्र थुनिएर बस्छे । काममा मन छैन । खानामा अरुचि हुन्छ । दुब्लाउँदै जान्छे ।”

अचानक अर्को महिना बिजमायाको बाबु आईपुग्छ । यो पटक आक्रोशित छ बिजमायाको बाबु । भन्छ, “मेरो एउटा छोरी हाइहाईमा पाल्छु । सँगै लैजान्छु ।”

आमा छक्क पर्नुहुन्छ । मन भाँचिन्छ । कति तिखो हो! बचन पनि । यो पटक बिजमाया ठूलीआमाको अनुहारमा हेर्दिन । कुनै याचना पनि गर्दिन । बस ऊ आतुर छे बाबुसँग जान । गाँजल, पोलिस, लिपिस्टिक, हेयरव्याण्ड सबै झोलामा हाल्छे । कपडा पोको पार्छे । यतिन्जेलसम्म पनि आमालाई एक पटक पनि हेर्दिन । अँह हेर्दै हेर्दिन । यस पटक उसले मेरो हात पनि अठ्याइन । खै के भएको छ उसलाई ? एकदम रिसाए जस्तो । लाग्छ उसमा भूत सवार छ । मलाई उसको नजिक जान पनि डर लाग्छ । यो सब एकदम छिटो छिटो हुन्छ । आमा मौन हुनुहुन्छ ।

बिजमाया र उसको बाबु हतार हतार पोको पन्तुरो बोकेर निस्कन्छन् । घर बाहिर जात्रा लागेको छ । म देख्छु थुप्रै मान्छेहरू मेला भर्न आएका । मेला भर्न आउनेहरूमध्ये कोही भनिरहेछन्, “विचरा च्वँ च्वँ त्यति सानैदेखि आफ्नै छोरी सरह हुर्काई, हातखुट्टा लागेपछि, शरीरमा बल पसेपछि ल हेर बाबु छोरी भएर लात र बात हानेका । कलियुग लागेछ । कति निर्दयी, कति स्वार्थी हुदाँ रहेछन् ।”

कोही भनिरहेछन्, “उसको बाबुको एउटै छोरी त हो । हाईहाईमै पाल्न सक्छ नि । यहाँ बेस्सरी भात पकाउन, कपडा धुन लाउँछन् । जाओस् न । अहिले त कान्छी आमा पनि छैन रे । बाबु छोरी राजसुखमा पर्छन् ।”

यी सब वाद प्रतिवादबाट बेखबर मेरी आमा, बिजमायाको ठूलीआमा आफ्ना आँखाहरू चुपचाप चुपचाप भिजाइरहनु भएको म देख्छु । एकदम शान्त देख्छु तर भित्री हृदयमा चलेको त्यो हुरी बतास कसले देख्ने ?

घाम अस्ताउँदो छ पश्चिममा । म पूर्व फर्किन्छु अनि हेर्छु बिजमाया र उनको बाबु गएको । बस् हेरिरहन्छु । त्योभन्दा अरु म केही गर्न सक्दिन । सायद ती लालबन्दीतिर गइरहेछन् ।

बिना थिङ तामाङ
बुढानिलकण्ठ—१ तौलुङ, काठमाण्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *