Skip to content


तिमी छौ, र त यो शहर यति रमाइलो छ,
तप्प तप्प शीतको थोपा चुहिने मौसममा पनि
मनको आँगन घमाइलो छ!
तिम्रो समिप हुने आशामा
जीवनका विविध रङ्गलाई आत्मसात गर्दै
म, ढुङ्गा समेत पुजिदिन्छु।
तिमीलाई खुसी पार्ने निहुँमा
तमाम उपेक्षा र अपमान समेत सहिदिन्छु।
त्यो मुहारमा, मुस्कानको एक झल्को पाउन
म, कॉडाको घारी नै रोजिदिन्छु।
कहिले त लाग्छ,
तिम्रा लागि धड्कनिने
मुटुका स्पन्दनहरुलाई, सरक्कै निकालेर
अनजान सन्सारतिर लागिदिउँ
तर, कॉडाले चिथोरेको रक्ताम्य घाउ लिएर
बॉच्न अभ्यस्त भैसकेकी म,
तिमीलाई हँसाउने रहरमा
डुब्न सक्ने भयको पर्वाह नै नगरि
समुद्रको गहिराइ नाप्न समेत तम्सिदिन्छु
मेरो अपेक्षाको सगरमाथामा पुग्न,
विरलै भेटिने, उड्ने पँक्षीका प्वॉखहरु सँकलन गर्दैछु म
कतै, त्यसैको साथले उड्दै उड्दै
शिखर चुम्न सकिहाल्छु कि?
कुनै जादुको सन्सारमा पुगिहाल्छु कि?
सोच्दा सोच्दै मलाई लाग्छ,
तिमी छौ, र त यो शहर यति रमाइलो छ,
तप्प तप्प शीतको थोपा चुहिने मौसममा पनि
मनको आँगन घमाइलो छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *