Skip to content


म तिम्रो सामिप्यतामा हराउनुको
कारण यो हो कि!
उच्च आवृतिमा देश भक्ति बोकेर
फर्फराइरहेको चन्द्र सूर्यसँगै
जवानीको सुगन्ध बोकेर
मेरो हृदय स्वासको झोक्काहरूले
सल्बलाएको तिम्रो कपाल मन परेको हो।

ती नजरका तिरहरूले
मेरो हृदय रेटेर निस्किएको
प्रेमिल सारेगम भावबाट
बिचलित भएको मस्तिष्कले
खै के सोचुँ म!
मेरो उपस्थितिलाई
प्रतिविम्बको रुपमा अङ्गाल्न
पर्खाइमा अल्मलिएका
मृगका जस्ता नयनहरू झिमझिम नगर न सानी,
मलाई तिम्रो गाजलु आँखा मन परेको हो।

तिम्रो मुस्कुराहटबाट उछिट्टिएको
मेरा खुसीहरूमा,
कविले बनाएको महलभित्र बसेर
नियाल्दैछु प्रेमको क्यानभास,
जहाँ पोतिएको थियो
मेरो सपना चुम्न आँतुर
तिम्रो गुलाबी अधरहरूको मात,
मलाई त तिम्रो
सराबी ओठहरू मन परेको हो।

ए सानी!
नकस भो विवशताको डोरीले,
म भाग्न चाहन्छु
काँडा माथि फूल बिछ्याइएको
प्रेमको सफरबाट,
म थिचिन्न चाहन्न तिम्रो यौवनको मातले,
पिल्सिनुछौन दुनियाँको नजरबाट
भो नअङ्गाल मलाई,
मलाई त त्यो तारालाई औल्याउँदै
छुट्टै संसारको कल्पना गर्दा
मेरो सपना मुस्कुराएको
तिम्रो गुलाबी स्पर्श मन परेको हो ।

कति सोध्छौ दैनिकी जस्तै
पुतलीहरू बत्तीमा के देख्छन् भनेर,
अँझै बुझिनौ कि?
मलाई त तिम्रो
सल्बलाएको कपाल,
गाजलु आँखा,
सराबी ओठ,
गुलाबी स्पर्श मन परेको हो ।

२०७२-०९-१४
नबराज पाण्डे विकिरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *