Skip to content

मझेरी भलाकुसारी, अंक २० (कोमलप्रसाद भट्ट)

20160117_KomalPrasadBhatta-Interview-01


कोमलजी ! तपाईँलाई मझेरी भलाकुसारीमा स्वागत छ ।

-यहाँलाई कोटी कोटी धन्यवाद छ ।

शुरुमा, आफ्नो व्यक्तिगत र साहित्यिक परिचय पाउन सकिन्छ कि?

-मेरो नाम कोमल प्रसाद भट्ट,
जन्म -बैसाख १५ (२९ अप्रिल),
पिताको नाम:- स्व.सोम प्रसाद भट्ट तथा माताको नाम:- स्व.माया देवी भट्ट,
जन्मस्थान:- पुरानो नैकाप गा.वि.स., काठमाडौँ (हालको चन्द्रागिरी न.पा. वा.नं.२१)
योग्यता:- स्नातकोत्तर

देश भित्र र बाहिरबाट प्रकाशित हुने विभिन्न अनलाइनहरूमा थुप्रै कथा, कविता, गीत, गजल तथा मुक्तकहरू प्रकाशित भएको र गजल संग्रह -२, कविता संग्रह-१, मुक्तक संग्रह -१ प्रकाशोन्मुख ।

कहिलेदेखि लेखनमा लाग्नुभयो? र के कुराले प्रेरित गरायो ?

-म विद्यार्थी जीवन देखि नै कविता, गीतहरू लेख्न मन पराउँथेँ । कतिपय साहित्यिक कार्यक्रमहरूमा भाग लिन्थे पनि । पछि गएर मैले शिक्षण पेशा शुरु गरेँ । मैले ३ दशकभन्दा बढी शिक्षण सेवा गरेँ । झन्डै २५ वर्ष त माध्यमिक विद्यालय स्तरमा नेपाली शिक्षकको रूपमा रहेर अध्यापन कार्य गरेँ । आफ्नो अध्ययन र अध्यापनको विषय नै नेपाली भएको कारण पनि म नेपाली साहित्यप्रति नजिक बन्दै गएँ । त्यतिबेला कम्प्युटरको प्रचलन भैसकेको थिएन त्यसैले आफ्ना रचनाहरू डायरीमा नै थन्केर बसे ।

साहित्यिक विधा सँगसँगै म समसामयिक विषयमा लेखहरू पनि लेख्थे जो तत्कालीन समयमा विभिन्न पत्रिकाहरूमा प्रकाशित पनि हुन्थे ।

तपाईँका विशेष गरी गजल पढ्न पाइन्छ । यो विधामा लाग्नुको कारण चाहिं के होला ?

-मैले गजलको अलावा कथा, कविता(पद्य तथा गद्य), गीत, मुक्तक आदि प्रसस्तै लेखेको छु । तिनीहरू स्वदेश तथा विदेशबाट संचालन गरिएका थुप्रै अनलाइनहरूमा प्रकाशित भैरहेका छन् । गजल गेय विधा भएको र लयमा गाउन पनि रमाइलो लाग्ने भएकाले वर्तमानमा गजलप्रतिको आकर्षण दिनानुदिन बढेको कुरालाई नकार्न सकिदैन । म पनि यिनै कारणले गर्दा गजलतिर बढी आकर्षित भएको हुँ । तर म साहित्यका सबै विधासँग आकर्षित छु ।

गजलको छन्द लेखन बारे औपचारिक शिक्षा या तालिम लिनुभएको छ कि स्वअध्ययनबाटै सिक्नुभएको हो ?

-म नेपाली विषय अध्ययन गरेको विद्यार्थी आफ्नो कलेज तथा विश्वविद्यालय स्तरमा अध्ययन गर्दा छन्द बारे अध्ययन गरेको हुँ । स्वअध्ययनको कुरा त सँगसँगै आइ नै हाल्छ । पछि गएर विद्यालय स्तरको पाठ्यक्रममा पनि छन्द समावेश गरियो । त्यसैले छन्द अध्यापन पनि गरेको हुँ । यसरी अध्ययन र अध्यापन दुवै कारणले मलाई छन्द सिक्न सहज बनाएका हुन् ।

गजललेखनमा धेरै सर्जकहरू आकर्षित देखिन्छ । यसमा त्यस्तो के जादु छ ?

-गजल नयाँ विधा त होइन किनकि नेपाली साहित्यको माध्यमिक कालदेखि नै गजल विकसित हुँदै आएको पाइन्छ । बीचमा गजल त्यत्तिकै ओझेल पर्दै गएको भएता पनि हाल आएर यो अत्यन्तै लोकप्रिय विधा बन्दै गएको छ । अन्य विधाको तुलनामा गजल विधा नै अधिकांश पाठकले मन पराउन थालेका छन् । यही नै गजल लेखनको आकर्षक तत्व हो जस्तो लाग्छ ।

गद्य लेखनमा चाहिं त्यति जाँगर चलाएको देखिँदैन त ?

लेखकहरू पाठकले जुन कुरा बढी मन पराउछन ती कुराप्रति आकर्षित हुनु स्वाभाविक हो । यसको अर्थ अन्य विधाहरू प्राय: निष्कृय बन्दै गए भन्ने कुरा चाहि होइन । एउटा कुरा के हो भने आज भोलि पाठक समक्ष तुरुन्तै पुग्न सक्ने सबल माध्यम अनुहार पुस्तिका हुन पुगेको कुरालाई नकार्न मिल्दैन । गजल छोटो, मिठो भएका कारण पनि सबैले पढ्न मन पराएका हुन्छन । त्यसैले गजलप्रति बढ्दो आकर्षण देखिएको हो । तर अन्य विधामा जाँगर नचलेको भन्ने कुरा चाहिँ होइन ।

अमेरिकामा बस्नुहुँदो रहेछ । व्यक्तिगत जीवन र साहित्यसँग कसरी तालमेल मिलाइरहनुभएको छ ?

-वास्तवमा खाने मुखलाई जुंगाले छेक्दैन भने झैं म आफ्नो काम काजबाट उब्रेको समय नेपाली साहित्यमा लगाउँदै आएको छु । जुन बेला भन्यो त्यही बेला फुर्सद नमिल्ने कारण नेपाली साहित्य सम्बन्धी औपचारिक कार्यक्रमहरूमा भने सामेल हुन सकिरहेको छैन । तर लेखन कार्य भने नियमित जारी छ ।

त्यतातिरका साहित्यिक कार्यक्रमहरू र स्रष्टाहरूसँग कत्तिको घुलमिल हुनुहुन्छ ?

-बिल्कुलै छैनभन्दा हुन्छ । यति व्यस्त जीवन छ कि चाहेर पनि कतै पुग्न सकिदैन र कसैलाई भेट्न सकिदैन । यो यहाँको यथार्थता हो । तर पनि चाहना चाहिँ तीव्र हुन्छ ।

तपाईंको लेखनमा नेपाली समाज र संस्कृतिका कुराहरू बेसी पाइन्छन् । बाहिर बस्दा त्यस्ताले बढी घोच्ने हुन् कि सानैदेखि त्यस्तै लेख्नुहुन्थ्यो ?

बाहिर बसेका कारणले देश दुख्दा आफू दुख्नु स्वाभाविक हो । अत: यस्ता कुराले बढी घोच्छन र रचनाहरू जन्मिन्छन । यसबाहेक मेरो आफ्नो रुचिको विषय पनि यही हो -देश, समाज र संस्कृति । अनि देश भित्र र बाहिरका विसंगति र विकृतिप्रति पनि कलम चलाउन मन पर्छ । हुन त मेरा माया प्रेम सम्बन्धी रचनाहरू पनि थुप्रै छन् ।

नेपाली तथा अन्तर्राष्ट्रिय भाषाका साहित्यमा मनपर्ने र प्रेरणा पाएका लेखकहरूको नाम लिनुपर्दा कसलाई सम्झनुहुन्छ ?

मलाई नेपाली साहित्यमा साह्रै मन पर्ने महाकवि देवकोटा, भूपि शेरचन, गुरुप्रसाद मैनाली, भीमनिधि तिवारी, विश्वेश्वरप्रसाद कोइराला नै प्रमुख रूपमा पर्नुहुन्छ । विदेशी लेखकहरूमा विलीयाम वोर्डस्वर्थ, सेक्सपियर, पर्ल्स एस बक, अर्नेस्ट हेमिंग वे, गोर्की आदि प्रमुख रूपमा पर्नुहुन्छ । विदेशी लेखकको हकमा आफूले पढेका आधारमा मात्र भनेको हुँ सबैलाई पढ्न सकेको छैन ।

पाश्चात्य साहित्य कत्तिको पढ्ने गर्नुहुन्छ ? कुनै अविश्मरणीय पुस्तक छन् ?

पाश्चात्य साहित्यमा निकै रुचि छ । उपलब्ध हुनसक्ने केही पुस्तकहरू पढेको छु । मसँग भएका किताबहरू मध्ये Ernest Hemingway को The O।d Man and the Sea, Maxim Gorky को Mother, Shakespeare को Macbeth अविस्मरणीय लाग्छ ।

फुर्सदमा के-कस्ता कुराहरू गरेर दिन बिताउनुहुन्छ ?

-फुर्सदको समय धेरै जसो परिवार सँग, अध्यनमा र साहित्य रचनामामा नै सिद्धिन्छ । यदा कदा परिवारसँग कुनै नयाँ ठाउँमा घुम्न जाने वा बाहिर खान खान जाने कार्यक्रम बन्छ ।

नेपाली साहित्यको अहिले कस्तो स्थितिमा छ जस्तो लाग्छ ?

नेपाली साहित्यको स्थिति अँझै विकासोन्मुख छ । कृतिहरू जन्मिन्छन पढने पाठकको संख्या उल्लेखनीय छैन । वर्षौंदेखि प्रकाशित भएका किताबहरू थन्किएर बसेका हुन्छन् । किताब किनेर पढ्ने मनोवृत्तिमा अँझै विकास हुन सकेको छैन ।

अहिलेको देखिएको इन्टर्नेट साहित्यप्रति यहाँको धारणा के छ ?

अहिले सबैभन्दा विकसित भएको कुरा इन्टरनेट साहित्य हो । वास्तवमा पाठक समक्ष छिटै पुग्न सकिने यही एक मात्र आधार भएकोले यो अत्यन्तै विकास हुँदै गएको छ र मलाई यो युगानुकुल पनि लाग्छ ।

इन्टर्नेट तथा मझेरी जस्ता साहित्यिक पृष्ठहरूको आवतले तपाईंको लेखलाई के-कस्ता परिवर्तन गरेको छ, हामीसँग अनुभव बाँड्नुहुन्छ कि!

इन्टरनेटले हजारौं साहित्यिक मनहरूसँग परिचित हुने र हजारौं पाठकहरूसँग परिचित हुने मौका प्रदान गरेको छ । यसको अलावा मझेरीले मेरा प्रत्येक रचनाहरू प्रकाशित गरेर हजारौं हजार पाठक सामु पुग्ने सौभाग्य प्रदान गरेको छ । वास्तवमा म जस्ता कुनाभित्रै हराएका प्रतिभालाई जनसमक्ष पुर्याई दिएर उनीहरूको लोकप्रियता वृद्धि गराउन मझेरीले ठूलो योगदान पुर्याएको छ । मझेरीले मेरा रचनाहरू प्रकाशित गरेर मलाई झन् झन् बढी लेख्ने प्रेरणा मिलेको छ र बेला बेलाका सुझावहरूले रचनाहरू परिष्कृत पार्दै लैजान पनि मझेरीको ठूलो योगदान रहेको छ मप्रति । म मझेरीप्रति सदैव ऋणी रहनेछु ।

कुन-कुन पत्रिकामा नियमित लेख्ने गर्नुहुन्छ ?

मझेरी मेरो अति प्रिय पत्रिका हो । हालसम्म मेरा सबैभन्दा बढी रचना प्रकाशित गरिदिने मझेरी नै हो । अत : म मझेरीमा मेरा रचनाहरू नियमित रूपमा पठाउदै आएको छु । यसबाहेक DC Nepa।, Nepa।i Post, Janapukar, Arghakhachi, समकालीन आदिले पनि मेरा रचनाहरू प्रकाशित गरिदिएका छन् ।

फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालहरू कसरी उपयोग गरिरहनुभएको छ ?

म नियमित रूपमा फेसबुक हेर्छु । आफूलाई चित्त बुझ्ने लेखकको वालमा अवश्यमेव पुगेको हुन्छु । कतिपयलाई सुझाव दिन्छु । कतिपयलाई अभिप्रेरणा दिन्छु । ट्विटर भने यदाकदा मात्र चलाउछु ।

मझेरीमा अरू लेखकहरूको रचना कत्तिको पढ्नुहुन्छ ? विशेष गरी मन पर्ने लेखक छन् कि ?

प्राय: सबै पढ्ने गरेको छु ।

भविष्यमा केही साहित्यिक योजना छन् भने बताइदिनुस् न !

समय र परिस्थितिले साथ दिएमा निकट भविष्यमा आफ्ना रचनाहरूको सङ्ग्रह प्रकाशित गर्ने सोचमा छु ।

तपाईं गत करीब तीन वर्षदेखि नियमित लेख्तै करीब डेढ शय रचना मझेरीमा प्रकाशित गर्नुभएको छ । यी रचनाहरूलाई सामुहिक रुपमा संग्रह गरेर बाहिर ल्याउने बारे सोच्नुभएको छ कि?

हजुर, प्रथमत : नियमित रूपमा मेरा रचना प्रकाशित गरेर मझेरीले ठूलो गुण लगाएको छ जस्कोलागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु । म यी सबैको संग्रह प्रकाशित गर्ने सोचमा छु ।

संसारभरि छरिएर रहनुभएका लेखक-पाठकलाई के सन्देश दिन चाहनुहुन्छ ?

मलाई अनगिन्ती पाठकहरूले माया गर्नुभएको छ सद्भावना राख्नुभएको छ । त्यो माया र सद्भावना सदैव पाइरहुँ र साहित्य रचनामा जुन प्रेरणा दिइरहनु भएको छ त्यो प्रेरणा सदैव पाइरहुँ । संसारभरि छरिएर रहनुभएका लेखक-पाठकलाई मेरो यही हार्दिक अनुरोध छ ।

अन्त्यमा केही छ भने बताउनुहोला ।

म साहित्यलाई माया गर्ने मान्छे जो साहित्यमा आफ्नो कलम चलाउँछ त्यो मेरो हृदय भित्र बसेको हुन्छ र अत्यन्तै माया तथा सम्मान पाएको हुन्छ । नेपाली साहित्यका सम्पूर्ण हस्तीहरूलाई मेरो हार्दिक अभिवादन छ ।

कोमल भट्टका रचनाहरू : यता
कोमल भट्टका रचनाहरू (संक्षिप्त अंशसहित): यता
कोमल भट्टको फेसबुक पेज : यता
कोमल भट्टको ट्विटर पेज : यता

10 thoughts on “मझेरी भलाकुसारी, अंक २० (कोमलप्रसाद भट्ट)”

  1. ANUPAM JANAKARI
    Bhalakusarile dherai sikau6:
    dinanu din naya kuro, bhinna sarjakka barema thaha pain6.
    Dhanyabad majheri !
    Aafna manka shabdaka lagi sarjak BHATTA jyulai Dhanyabad !

    …NEPALI SAHITYAMA PATHAK BANNE SANSKRITI KO BIKAS SAMET HOS…CONGRATULATION

    1. reply for comments
      यो सद्भावनाकोलागि हार्दिक धन्यवाद !

  2. धन्यवाद ।
    अन्तर्वार्ता पढेर खुसी लाग्यो । धेरै ज्ञान गुनका कुराहरु हजुरबाट थाहा भयाे । धन्यवाद हजुरलाइ । धन्यवाद मझेरीलाई पनि ।

    1. reply for comments
      यो सद्भावनाकोलागि हार्दिक धन्यवाद !

  3. भट्टजी धेरै धेरै धन्यवाद ।
    भट्टजी धेरै धेरै धन्यवाद । अाफ्ना भावना र अनुभव तथा भुक्तमानहरुलाई सजीव र निडर भएर पाठकका माझमा राखिदिनु भो । सबै पक्षलाई समेटेर अन्तरवार्ता दिनुभो । यसका लागि म अात्मिक रुपमा अाभारी छु । तपाई‌ले भनेझै मेरा सामग्री पनि मझेरीले धेरै प्रकाशित गरिदिएकाे छ । यसैले म मझेरीदेखि समेत अाभारी छु । नयाँ नयाँ सामग्रीहरु पढ्न पाइरहूँ । यही कामना गर‌े ।

    1. Reply for comments
      यो सद्भावनाकोलागि हार्दिक धन्यवाद !

  4. धन्यबाद
    कोमल भट्ट सरलाइ गहिरो सग पढ्न र बुझ्न पाइयो यो मौकाको लागि भट्ट सर र मझेरी परिवारमा हार्दिक धन्यबाद

    1. reply for comments
      यो सद्भावनाकोलागि हार्दिक धन्यवाद !

  5. कोमलजीलाई समय निकालेर
    कोमलजीलाई समय निकालेर अन्तर्वार्ता दिनुभएकोमा धन्यवाद छ । पाठक-स्रष्टाको दूरी केही हदसम्म कम गर्ने प्रयास जारी नै रहनेछ ।

    1. यो सद्भावनाकोलागि हार्दिक
      यो सद्भावनाकोलागि हार्दिक धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *