Skip to content


कहिले बहार बनेर आयो
कहिले विध्वंश बनेर आयो
अखण्ड भूमिबीच
खण्डित बनेर आयो
रूप अनेकौँ बोकी
बारुद बनेर आयो
यो यामको चाला यस्तै
कहिले निर्लज्ज बनेर आयो
कहिले मिलनहरूका
पुष्पहार बनेर आयो
हर्षोल्लासका मोडबीच
विछोड बनेर आयो
कहिले झुमुझुमुजस्तो
सङ्गीत लिएर आयो
कहिले कोकिल बनी
वसन्त बोकी आयो
उसका हरेक आगमनहरू
यस्तै केही लिएर आयो
कोही दुखेर रोए
कोही रमेर नाचे
चित्कार, खुसी
केही बुझ्दैन ऊ
आइदिन्छ केवल
आजकल त ऊ
भिन्न भेषमा आयो
नग्नता, हत्या
विश्वासरहित
ईष्र्या, जलन्
अनि
हृदयविदारक बनेर आयो
हो,
ऊ कहिले
प्रीत बनेर आयो
कहिले शीत बनेर आयो
भोका ती वस्तीभित्र
अभाव बनी
सधवाका सिउँदोभरि
उजाड शिशिर बनी
रगतको भेलसँगै
बिझाउँदै, पोल्दै आयो
कहिले मेघ बनेर आयो
कहिले जून बनेर आयो ।

-सिन्दुरेघारी, रौतहट

Leave a Reply

Your email address will not be published. Required fields are marked *