Skip to content

समाजसुधारक राधाबल्लभ उपाध्याय


राधाबल्लभ उपाध्यायजी गाउँभरि मात्र नभई ओरपरको समाजमा समेत निकै प्रगतिशील, उदार र समाजसेवी पात्रका रुपमा परिचित छन् । जातिपाति, उचनिच, छुवाछुत आदि कुरालाई अन्धविश्वासका रुपमा मान्छन् । उनले आफूले एक राम्रो नाम कमाएको एनजिओ खोलेका छन् । उनको सेवाकार्य यसैबाट चलेको छ । उनी मात्र नभई उनको परिवार पनि समाजमा उनको सोचअनुरुपको भएको छ । छोराछोरीलाई के हो जातिपाति र के हो छुवाछुत यसको बोध नै गराएनन् । उनको छोरा रमण ता समाजमा झन् प्रगतिशील विचारका छन् । छोराछोरीहरू अध्ययन सकेर अब पिताको कार्यमा लागेका छन् । विदेशबाट पढिसकेर अहिले पिताको एनजीओमा कार्यरत छन् दुवै जना । विवाह भएको छेन । कुरा चल्न थालेको छ । समाजका पुराना कुराहरू सुधार गर्न उनको परिवार नै लागिपरेको छ ।

महिनावारी हुँदा महिलाहरूले अलग रहनु पर्ने कुरा, छुनै नहुने कुराहरू बेकार हुन भनेर उनले पहिले यसको विरोध गरेर घरबाटै उदाहरण देखाइदिएका छन् । नारीलाई चुलोचौकोमा मात्र सीमित गरिनुहुन्न भन्नेमा उनी अग्रणी हुन् । छाउपडी प्रथा जस्तो नारीविरोधी घातक प्रथाको उनी घोर विरोधी हुन । कति अप्ठेरो परेको ठाउँमा छोरीहरूलाई क्रियापुत्रले गर्ने काम पुत्रीहरूबाटै गराएका छन् । एकै पितामाताका सन्तानमा कसैलाई हुने कसैलाई किन नहुने भनेर उनका कडा तर्कका अघि सबै हारेका छन् । पुत्रीहरूले चाहिं यस्ता धार्मिक काम गर्न किन नहुने भनेर उनी कहिलेकाहीँ ता जंगिन पनि पछि पर्दैनन् । बाटो नबिराउनु, जातिपाति भनेको केही होइन भनेर परिवारमा उनले स्वतन्त्रता पनि दिएका छन् ।

‘छुवाछुत एव म अन्धविश्वास निवारण दिवस’ थियो आज । यस अवसरका उनीे राष्ट्रबाट पुरस्कृत गरिएका थिए । सही व्यक्तित्वको चयन भएको थियो । यो अवसरमा सानो समारोहको नगरमा पनि आयोजना गरिएको थियो । उनलाई बधाई दिनेहरू धेरै थिए । उनैको कारणले समाजमा यस्तो परिवर्तन आएको हुँदा र उनी पुरस्कृत समेत भएको हुँदा यस कार्यक्रमका प्रमुख अतिथिका रुपमा राधावल्लभ उपाध्यायलाई नबोलाइने कुरै भएन । उनी नै सभाका पमुख अतिथिका रुपमा आमन्त्रित गरिएका थिए ।

सभामा उनले सारपूर्ण भाषण पनि दिए । यो छुवाछुत निवारण दिवसको असर पारेर त्यही समाजको एक होनहार युवक कुलबहादुर विकलाई निजको साहस र सौर्यका लागि सम्मान पनि गरियो । कुलबहादुर विक र राधाबल्लभपुत्र चिन्तन सारै मिलेका साथी थिए । सँगैको साथी सम्मानित भएकोमा उनी गदगद भए ।

सभाको अन्तमा उनै राधावल्लभ उपाध्यायका पुत्र चिन्तनलाई बोल्न बोलाइयो । चिन्तनले आफूले राम्रो कुरा भाषणको क्रममा सम्बोधन गरे । सभामा तालीको गडगडाहट भयो ।

अन्तमा उनले अपूर्व घोषणा गर्न समाभा अनुमति माग्दै भने—“यो सभाले मलाई अनुमति दिन्छ भने म एक कुराको घोषणा गर्न चाहन्छु ।”

सभाले ताली पिटेर अनुतिदियो । अनि सभाको पलो छेउमा बसेकी राममायालाई सभामा उठिदिन अनुरोध गरे ।

रमणको अनुरोध अनुसार राममाया पनि सभामा उभिइन् । सभाको आँखा तेतै मोडियो । सभामा उपस्थित सबैलाई उभिन रमणले अब अनुरोध गरे । उपस्थितहरू सबै त्यहाँ उभिए । राममायातिर देखाउँद्यै यता रमणले घोषणा गरे—“उनी मेरा मित्र कुलबहादुर बिककी बहिनी राममाया हुन् । सबैलाई जानकारी छँदैछ । म र उनी अर्थात् हामी दुई जनाको मन मिलेको छ । यस सभाले अनुमति दिने हो भने हामी विवाह गर्न चाहन्छौं ।”

उनको अनपेक्षित कुराका लागि सभाले लामो समयसम्म ताली पिटेर अनुमतिदियो तर यता सभामा मुख्य अतिथिका रुपमा स्थान पाएका र अहिले उठेर ताली पड्काउनु पर्ने राधावल्लभ उपाध्यायका हात भने ताली नपिटी थुचुक्क बसे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *