Skip to content

विपत्तिसँग सामाना गर्न फेसबुकले लगाएको गुन

20160203_MohanRajBaralMoon-Lekh


वैशाख १२ को महा-भूकम्पपश्चात सदा झै सामाजिक संजाल फेसवुकमा आँखा डुलाउदै थिए । यो प्राकृतिक विपत्ति क्रुद्ध थियो । झन यस लगत्तैको लगातारको पराकम्पनले मन भरि मुटु भरि छटपटी भइरहयो । फेसवुकको न्यूज फिडमा गएर रिफ्रेस गरिरहदा ती सुन्न र हेर्न मन नलाग्ने भिडियो, खबर र फोटाहरू पोष्ट भइरहेका हुन्थे ।

मरे, पुरिए, भत्किए जस्ता मुटु चुडाल्ने शब्दहरूले मनलाई अमिलो बनाइरहन्थ्यो । लाग्छ नेपालमा द्वन्दमा दशौं वर्षसम्म भएको सबै प्रकारको क्षतिहरूलाई वैशाख १२ को मध्यान्हको केही मिनेटको क्रुद्ध छायाले माथ गरेको थियो । दिनहरू काला, अमिला र मैला हुँदै थिए । विगतको द्वन्दमा भाइ भाइबीचको हार थियो तर यसपाली त्यो द्वन्द्दको साँची भएको प्रकृतिले हामीलाई ठगेर अन्याय गरिरहेको हामी केवल टुलुटुलु हेर्न वाध्य थियौं ।

हामी मानव जातीले विज्ञानको विकास गरेर प्रकृतिलाई जितेका छौं झै लाग्थ्यो फगत यो झुटो रहेछ वास्तवमा विज्ञान पनि प्रकृतिसँग हार्ने रैछ । फेरि २१औं शताब्दीमा पुगेका हामीहरूले हाम्रा संरचनाहरूलाई हामी २१ औं शताब्दीमा पनि पुरानै सोच चिन्तनबाट निर्माण गरेका थियौं । यसकारण पनि हामीले बढी विपत्ती व्यहोर्न पुग्यौं । फेरि हामीमाथि नै नियतिको खेल वज्रपात भएको थियो ।

तर पनि म विवश थिएँ फेसवुक चलाउन त्यसवखत मेरो मनमा उव्जिएको कोलाहलमा द्वन्दको वेलाको गीत “सम्साँझैमा काग कराइरहयो लौ के के हुने हो” नेपथ्यको घटना एल्वमको यो गीत वजिरहन्थ्यो मनि भरि ।

आखिर म एक मास्टर त्यो पनि ट्यूसन पठाएर जीविका चलाउने यस विपत्ति पछि म पढाउन जान सकिन मेरा विद्यार्थीहरू अलपत्र रहे । म यिनीहरूको बारेमा केही सोचिन खबर पनि गरिन । फेरि यिनीहरूलाई नपढाउदा मेरो जीविका रोकिन्छ भन्ने कुरा भुले आखिर मेरो वास वारम्वारका पराकम्पनले चौर भएको थियो । म यहाँ कोलाहल हुदा पनि नितान्त एक्लो नै थिएँ । सबै जना त्रास र भयमा बाँचेका थिए । मसँग साथी थियो त केवल मोवाईल र त्यस भित्रको फेसवुक फेरि म नचाहेर पनि वाध्य थिएँ फेसवुक खोल्न ।

बैशाख महिनाको निष्ठुरी समयले दिनहरूलाई सुस्तगतिमा हिडाइरहेको थियो । दिन झनै लामा लामा वनिरहेका झै लाग्ने थिए । म लण्डन रहदै सामाजिक संजाल फेसबुकको किराको संज्ञा पाइसकेको मान्छे । म यस वखत त झनै किरा हुदै थिएँ । मान्छेहरूमा व्यप्त त्रास, भय सिथिल हुदै जाने सम्भावना न्यून थियो । तैपनि मान्छेहरू महा–भूकम्पलगत्तै उद्धारको लागि खटिइरहेका थिए । विशेष गरेर नेपाली सेना, प्रहरी ।

म मेरो मोबाईलबाट फेसबुक खुलाइरहेको हुनेथिए । उद्दारमा खटिएका नेपाल प्रहरी र सेनालाई सबैले वाह वाह गरिरहेका हुन्थे । विगतमा यिनलाई गाली गर्नेहरू पछुतो मानिरहेका हुन्थे । यसरी नेपाल प्रहरी/नेपाली सेना तथा यूवाहरूले आफ्नै ज्यानको प्रवाह नगरीकन गरेको उद्दार मुटुभरि आशाहरूका सञ्चार तरङ्गित गरिरहन्थ्यो । यस बखत प्रसिद्ध जर्मन कवि वेखल्त व्रेकको कविता “के अँध्यारोमा नि गाइन्छ र गीतहरू हो अँध्यारोमा नि गाइन्छ नि गीतहरू उज्यालोको बारेमा । ” फेसबुकको न्युज फिडसँगै बग्ने थियो यो कविताहरू मनभरि ।

न्यूज फिडमा आएका उद्धार, राहतका तस्वीर खबरहरूले बिस्तारै माथिको कविता पंक्ति सम्झाउदै आशावादी बनाउदै लैजान्थ्यो । फेरि हामी अँध्यारो रातमा पनि उज्यालो खोजिरहेकै थियौ ।

मलाई लाग्छ बि.स.२०४६ सालतिर ८/९ वर्ष जति थिए क्यारे । त्यो पञ्चायत विरुद्धको आन्दोलनमा श्याम टमोटको शब्द संगीत र रामेशको स्वर रहेको “गाउँ गाउँबाट उठौं, वस्ती वस्तीवाट उठौं” भन्ने गीत सुनिन्थ्यो फेरि त्यही गीतलाई २०६२ । ०६३ को आन्दोलनमा सडकमा लाखौ मान्छेहरूसँगै गाउँदै हिडियो आन्दोलनमा होमिएर फेरि भूकम्पको यस संकटको घडीमा यो गीत मनभरी गुञ्जिरह्यो तर म परे सामाजिक संजालको किरा न । मसँग उद्धारमा जानको लागि न गैचा थियो न त सावेल नै । खाली थियो त केवल मोबाईल र त्यस्मा २४ औं घण्टा खुल्ला रहने मेरो फेसवुक ।

वेलायतको ५ वर्ष बसाईमा भेटिएका धेरै आत्मीय मनहरू थिए त्यहाँ । फेरि संसारभर छरिएका मेरा विद्यार्थीहरू थिए । असलदाइहरू अमेरिकामा थिए । असल मित्रहरू डेनमार्क, दुबई, अस्टेलिया, हङ्कग्, जापान, बेल्जियम, स्पेन लगायत संसार भर नै थिए । बैशाख १२ को महा-भूकम्प लगत्तै फेसवुकको इनवक्समा आएको प्रश्नहरूलाई कुनैलाईपनि सिन बनाउँदै छाडिन हरेकलाई मैले उद्दार, घटना, राहत बारेमा जानकारी दिन्थे ।

यसरी म रातभर जागराम हुन्थे । आफू रातभर जागराम हुदा कुनैपश्चाताप हुदैनथ्यो । नेपालमा विहान हुदा वेलायतमा रातीको ९/१० बज्थ्यो । मान्छेहरू त्यहाँ फूर्सद हुने समय पनि यही थियो । म लण्डन हुदा पनि दैनिकी उही नै हुन्थ्यो । राती कामबाट रुपमा आयो नेपालका न्यूजहरू पढ्यो । फेसवुक लगायतका सामाजिक संजालहरू खोल्यो लाग्छ संसारभर रहेका प्रवासी नेपालीहरूको दैनिकि यस्तै यस्तै नै हुन्छ । फेरि विदेशमा हुदा नेपालमा भएको सानो घटनाले सबैलाई पोल्छ तर यो त कहालीलाग्दो ठूलो प्राकृतिक विपत्तीसंगको हाम्रो हार थियो ।

विदेशमा नेपालको सानो घटनामा पनि मन पोलिने हामीहरूलाई यस विपत्तीले सबैलाई मुच्छना वनाएको थियो । म लण्डन हुँदा भेटिरहने दाइ पोखरा छोरेपाटन निवासी नविन गुरुङ्गसँग इनबक्स भित्र पीडाहरू साटासाटकै क्रममा “ए केटा तँ राहतको लागि जा म एक लाख पठाइदिन्छु मेरो घरमा आमासँग माग्नु पैसा” दाइको यी वाक्यहरूमा मेरा आँखा पुगे । मलाई यी दाइले गरेको यति धेरै विश्वासले छाती फुलाए अनि भने जरुर दाइ म वास्तविक पिडितको मै जान्छु । उत्तर दिए तर पनि के गर्ने ? कता जाने ?कुन ठाउँ जाने? कता छन पिडित ? म अन्यौल थिए । के यही १ लाख मात्रै लैजाने ? कसरी पुरै पैसा वास्तविक पिडित समक्ष लैजाने ?अनगिन्ती प्रश्नै प्रश्नले मन चिमोटिरह्यो । फेरि भूकम्प लगत्तै देखिको मेरो चौरको बास थियो । मसँग साथमा रहिरहयो मेरो मोबाईल र खुलिरहन्थ्यो जुगरबर्कको सामाजिक संजाल । म दिन रात तल्लिन रहे यसैमा । भनिन्थ्यो दिनअरूको भए पनि रात आफ्नै हो तर मैले दिन र रात आफ्नै बनाए ।

नबिनदाइको सहयोग त रहयो तर यस बेला म राहतको लागि हिड्न गन्तव्यहीन यात्री झै भए यही बेला दुवइमा रहेको साथी शंकर गुरुङ्बाट सहयोग हौसला दुवै थपियो । जम्मा भएको केही रकमबाट तत्काल गोर्खाको लाप्राकको लागि भनेर अप्रिल २८ तारिकको दिन राहतका सामानहरू पोखरा एअरपोट छाडे । भनिएको लाप्राक थियो पुराउने ठाउँ । तर अन्तै खस्यो तैपनि धेरै खुसी लाग्यो । किनकि जहाँ राहत पुगे पनि सबैठाउँ उस्तै थिए सबै पिडित नै थिए । त्यो बेलामा ।

मैले राहत अभियानमा आएका सहयोगहरू, त्रिपालहरू ओसार पोसार गरेका तस्विरहरू पोष्ट गरिदिएँ जुगरबर्कको संजालमा । मेरो इनबक्समा सहयोगीमनहरूका सहयोग गर्ने प्रतिवद्दता र होसलाका बाढी नै आए । यसरी आएका साहसहरूले अब आफै जानुपर्दछ भन्ने भावना पैदा गरायो । कसरी जाने कता जाने? अन्यौल उही थियो । दाइहरू धर्मराज बराल, ईश्वरी लम्सालहरूलाई सुनाए उहाँहरूले पनि आट दिनु भो ल जाने ? सुने पत्रकार राजु क्षेत्री धादिङ्गको चेपाङ् वस्तीबाट फकिएका छन् । शिक्षक वेदराज ढकाल दाइलाई लिएर स्तुपा पुगे । स्थिति विकराल रैछ । धादिङ्ग पीडा ४ को चेपाङ्ग गाउँको उहाँले विस्तार लगाउनु भो हामी सबै मौन रह्यौं । उहाँकै किताव व्यारेक व्रेकका पात्रहरू जसलाई मैले कहिल्यै देखेको थिइन तर किताबमा भने देखेको थिए ।

यी चेपाङ्गहरू जो मानवताका खानी हुन् भनेर उल्लेख गरिएको थियो किताबका पान्नाहरूमा । लाग्छ यिनीहरू मानवतावादी भावना नहुदो हो त सायद व्यारेक व्रेक भन्ने किताव हुदैनथ्यो होला । हामी त्यही जाने भयौं यिनीहरूलाई छानो जस्ता पाता लिएर बैशाख २५ र २६ गते । लाग्छ त्यो बखत राहतको लागि नेपालमा जस्तापाता कहीं लगिएको थिएन ।

बिल्कुल यो नयाँ सोच थियो । साथी भवसागर घिमिरेलाई कुरो सुनाए साथीले पोखराका सक्रिय यूवाहरू राहतको लागि धादिङ् जाने यी यूवाहरूलाई जस्ता पाता चाहियो भनेर उस्साहका साथ वालमा पोष्टर गरिदिनु भो । फेरि साथी इ. दिनेश वरालले यही कुरा उल्लेख गरेर पोष्ट गरिदिनुका साथै आफ्नो पाँचहजार सहयोग सहित ३२ हजार सहयोग उठाँइदिनुभो । मैले साथीहरूकै यो पोष्टलाई शेयर गरेर फेसवुक अभियान भन्ने कार्यक्रम ल्याएँ । सामाजिक काममा निश्वार्थ लागि पर्ने सितल चौतारी टोल विकास संस्थाका अधक्ष्य ईश्वरी प्रसाद लम्साल त झन आफ्नो रासन दोकानलाई लात मारेर यस अभियानको व्यवस्थापन गर्न पुरा पुर खटिए । श्याम टमोटको गाउँ गाउँबाट उठौं, वस्ती वस्तीवाट उठौं भन्ने गीतलाई नारा बनाएर जुगरबर्कको संजाललाई कुटो र कोदालो बनाउदै शुरू भयो राहतको लागि फेसबुक अभियान । विश्व भर छरिएर रहनु भएका करिब २५० जना सहयोगीहातहरूको साथ रहेको यस अभियानले १४ चरणसम्मको राहत अभियान पुरा गरिसकेको छ । यो शुरुवाती क्षणहरूको अनुभव हो । मन भित्र धेरै नै सुख दुखका अनुभूतिहरू छन् । आगामी आलेखहरूमा सबै पोख्दै जाने छु ।

(लेखकले सामाजिक संजालको प्रयोग गरेर राहतका लागि फेसबुक अभियान संचालन गरेका थिए । उनीलाई फेसबुकमा facebook.com/Moonmohan भेटन सकिन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *