Skip to content

तिमीलाई धन्यवाद छ भीम धन्न अमलाको रुख उखेलिदिएनछौ


मेरा जन्मघरको बाहिर सिकुवामा एउटा पुरानो काठको खाट अँझै पनि छ । त्यस खाटबाट सुतेर हेर्दा पश्चिमतिर पारिपट्टि निघुरादिको डाँडो र उत्तरतिर थेचुम्बू गाउँको अस्पष्ट दृश्य मेरा आँखामा पर्ने गर्दछ । खाटबाट अलिकति निहुरिएर हेर्दा पाथीभरा माताको मन्दिर भएको डाँडाको दृश्य टढ्कारै आँखामा आउँछ । पिताजी त्यसै खाटमा खाँडीको बर्को ओढेर बस्नुहुन्थ्यो ।

मेरो पिताजी निकै जान्ने ज्योतिषीको रूपमा त्यस गाउँमा र थुममै कहलाएको व्यक्तित्व हुनुहुन्थ्यो । उहाँसँग आफ्नो भविष्य हेराउने आएको बेला आगन्तुकहरूको भविष्य ज्योतिषको माध्यमबाट हेरिदिनुहुन्थ्यो अनि अघिपछि कोही नभएको मौकामा कविता कथिरहनुहुन्थ्यो । त्यस खाटमा पिताजी नभएको मौकामा म कहिलेकाहीं सुत्थें । अनि सुतेर तिनै पारीतिर देखिने डाँडाहरूको दृश्य हेर्दथें । वारिपारि देखिने ती डाँडाका होचा अग्ला भागहरू मेरा आँखामा पर्दथे । होचा अग्ला डाँडाको दृश्यमा मलाई भान हुन्थ्यो— होचा होचा डाँडाहरू हामी केटाकेटी हौं र अग्ला अग्ला डाँडाहरू चैं मेरा आमाबाबुहरू हुन् । बिजुलेको डाँडामा रहेको सल्लाको रुखमा खाँडीको बर्को ओढेर त्यसै खाटमा धेरैजसो गजधम्म भई बस्ने अनि जाडोका बेलामा भने अँघेनाको छेउमा बसिरहने मेरा पिताजीको प्रतिमूर्ति र अनुहार देखिरहन्थे । उत्तरतिरको पाथीभराको डाँडोमा चाहिं मेरो कल्पना बडो अजबको थियो । अरु डाँडाहरूका चुचुरा तिखा चुलिएका जस्ता थिए, तर पाथीभरा भने अलिक निम्ठो भरिएको पाथी जस्तो मात्र लाग्थ्यो । किन भनेको होला नभरिएको पाथीजस्तो डाँडालाई पाथीभरा ? म सोच्थें ।

कुम्भकर्णको चुचुरो पनि हाम्रा घरबाट अहिले पनि उसै गरी देखिन्छ । कुम्भकर्ण भनिएको त्यो हिमाल कञ्चन्जङ्घा रहेछ । त्यो चुचुरो सारै अग्लो छ । बिहानै राम्रो गरी उज्यालो नभईकनै त्यसमा उज्यालो भएको र साँझतिर अन्त सबैतिर घाम अस्ताउँदा पनि घाम लागिरहेको दृश्य त्यस चुचुरामा देखिन्छ । त्यस चुचुराको थुम्कोमा भने हाम्रै घरमा हलक्क बढेको माले गोरुको जुरो ढल्किएको जस्तो दृश्य मेरा मनमा पर्दथ्यो । यस्तै केके सम्झिने गर्थें ऊ बेला । अहिले म उस बेलाको त्यो कुरा सम्झेर छक्क पर्छु ।

बालख कालमा अरु केके कुराहरूमा केके कुराहरूको दृश्य देख्थें । सबै कुरा सम्झनामा अटाउन छाडिसक्यो । सम्झनामा अटाएको कुरा पनि मेटिन थालिसक्यो । म मात्र यस्तो थिएँ कि अरु पनि यस्ता थिए ? म बाहेक अरु बालखहरू पनि मेरा जस्तो डाँडाकाँडाको उचाइमा के केको दृश्य देख्थे कि ? वा अरु केही फरक कुराहरू देख्थे ? मैले यसबारे कसैसँग पनि केही सोधेको छैन । अब ता के सोधिरहनु ?

हाम्रा घरमाथि माथिल्लो बारी छ । त्यस बारीको पुछारको पाटाकै छेउमा एउटा अमलाको रुख थियो । आजको जत्तिको तातो लुगा लगाउने कल्पना हाम्रो जमानामा थिएन । जाडो भएपछि हामी बालकहरूको काल आउँथ्यो । जाडोको गतिलो ओखती घाम र आगो नै हुन्थे । हो रहेछ, आज आएर सम्झिन्छु, घाम भनेको जाडोको मात्र नभई स्वास्थ्यको, प्रकाशको, शक्तिको र जीवनका अनेकौं सकारात्मक पक्षको समेत सहायक रहेछ । घाम पनि भनेको बेलामा हाम्रो घरमा ताप्न नपाइने र आगो पनि भनेजति ताप्न नपाइने । मकैका सुकेका ढोड खोजेर बालिन्थ्यो गोठमा अनि त्यसैको उज्यालोमा पढ्नुपर्थ्यो । मलाई यी अक्षर लेखिरहँदा मकैका तिनै ढोडको सम्झना आइरहेको छ । धन्य ती ढोडहरू जसलाई मैले बालेर यस्ता अक्षरहरू सिकेको थिएँ । राती ती गोठमा ढोड बालेर पढ्दा ढोडका धुवाँले आँखा पोलेर सताउँथ्यो । आँसु झर्दथे । तर तिनको स्मरणमा अहिले सुखका आँसु झर्न खोज्छन् । मट्टितेलको कल्पना थिएन । दियालो उति नपाइने । बाँसका भाटाहरू त भात पकाउन, खोले पकाउन पो चाहिने । अनि ढोड बाहेक अरु केही जोहो र उपाय नै हुँदैनथ्यो । बाँसका सिक्रा पनि कहिलेकाहीं काम लाग्थे । विशेष गरी त्यही ढोड बालेर तापिन्थ्यो जाडाको बेला । त्यही ढोड बालेर पढिन्थ्यो गर्मीको बेला । यस्तै थियो । कसै गरी बाँसको चिममा बनाएको खाटमा रात गुजारिन्थ्यो कुकुल्ढुक भएर ।

भोलिपल्ट बिहान कति बेला घाम लाग्लान् भनेर पर्खिंदा पर्खिंदा बल्ल बल्ल लागेका घाम पनि त्यही अमलाको रुखले छेल्दथ्यो । हिउँदको चिसो बिहानमा त्यसै रुखले छेलिने गरी घाम झुल्कन्थे । घाम झुल्कँदा त्यस रुखको छाया त्यसभन्दा तल रहेको हाम्रो घरमा पर्दथ्यो र निकै बेर घाम छेलिन्थे । अरुको घरमा घाम लागेर तातिसक्ता पनि हाम्रोमा घाम लाग्दैन थिए । यसबाट हामी जाडाको पीडा अरुकोभन्दा बढी बेहोर्दथ्यौं । बल्ल बल्ल झुल्किएका घामलाई पनि छेलिदिने अमलाको पापी रुखलाई ढलाएर दाउरा बाल्न पाए पनि हुन्थ्यो, कस्तो पापी रुख ! मनमा त्यसमाथि खुब रिस उढ्थ्यो । यसलाई उखेल्न पाए पनि हुने थियो भन्ने भाव मनभरि पलाउँथ्यो । ताता घाम छेल्ने त्यस अमलाको रुखदेखि उठेको अघिल्ला दिनको रिस घाम लाग्दै गएर जिउ तातेपछि आफैं बाफ भएर उडेझैं हराउँथ्यो । अनि फेरि भोलिपल्ट उही रूपमा उम्रन्थ्यो छेपाराको सिरकको कथाझैं ।

एक पटक माल्दाइलाई भनेको पनि थिएँ— ‘यो अमलाको रुख काटौं ।’ ‘बाख्रालाई घाँस चाहिन्छ, कहाँ काट्नु ?’ उहाँले भनेजस्तो लाग्छ । ‘अचार खाने राम्रो कुरा हो अमला । यसलाई काट्नु हुन्न । यो ता स्वास्थ्यको लागि अचुक औषधी पनि हो’ भन्ने कुरा हामीलाई ता होइन पिताजीलाई पनि थाहा थिएन । सायद यसो अचारसचारका लागि यसलाई नकाटी राखिएको थियो होला । पिताजी र माताजीका अमलाका विषयमा यस्तै केही तर्क थिए । अमलाका फलमा हुने पौष्टिकता बुझेर उहाँले यसो भन्नुभएको थिएन तापनि त्यस रुखलाई काट्न पिताजीले मान्नुभएको थिएन । हामी जाडो बेहोरेरै रह्यौं । अमलाको रुख ढिङ्ग उभिइरह्यो । अस्ति गएको बेला हेरेको त्यो त्यसरी नै अहिले पनिरहेछ पचास साठी वर्ष पछि पनि ।

हाम्रोमा मिर्गको छालाको गत्ता हालेको एउटा पुरानो किताप छ । त्यो हो महाभारत । आमा त्यही पुरानो कितापबाट वनपर्व पल्टाएर पढ्नुहुन्थ्यो—बडो सुरिलो स्वर लयमा । माताजी बाहेक त्यस किताबलाई कसैले पढेको सुनिएन । त्यस लयमा भीमसेनले राक्षसहरूलाई रुख उखेलेर तोबातोबा पारेको वर्णन पनि आउँथ्यो । मेरो मन भने त्यो कथाका भीमले किन यस अमलाको बोटलाई उखेलेनन् होला भन्ने परिरहन्थ्यो । अहिल्यै आएर उखेलिदिए हुने भन्ने सोचिरहन्थें । तर भीम ता होइन, पल्लोघरको जेठो कार्की पनि आउँदैनथ्यो । उसले मलाई कथा सुनाएको थियो । ऊ थियो बेलायती लाहुरे । उसले धरानबाट यस जागिरमा भर्ना भएको थियो अरे । उसलाई धरानमा लाहुरेको इन्टभ्युमा एउटा प्रश्न गरिएको थियो अरे ।

ऊ बडो रमाइलो गरी भन्ने गर्थ्यो । उसलाई गोराले सोधेको थियो अरे नजिकैको सखुवाको रुखतिर देखाएर—

“ए केटा ! लु यो सखुवाको रुख उखेल् त ।”

कार्कीले गएर रुखमा छाँद हालेर उखेल्न खोजेको थियो अरे । अरु सबै उसले गरेको यो नचाहिने उद्योग देखेर हाँसेका थिए अरे । हाँस्नेहरू जति सबै फेल र ऊ चाहिं पास भएको थियो अरे । अनि ऊ पल्टने भएको थियो अरे ।

अहिले यही कार्की भएको भए पनि त हुन्थ्यो । यो अमलाको. रुख उखेलेर फालिदिन्थ्यो कि ! तर कार्कीले उतै वीरगति पाएको खबर आइसकेको थियो । मलाई दुःख लाग्थ्यो कार्की नभएकोमा ।

कहिले कहिलेको जाडोमा मलाई त्यस अमलाको रुखदेखि यति रिस उठ्थ्यो त्यसलाई उखेलेर फ्याँक्न महाभारतको भीमसेन जस्तो बलियो हुने सोच पनि आउँथ्यो— कमिलाले हात्तीलाई उचालेर पछार्नुजस्तो । आमाले दस हजार हातीको जति बल भीमसेनमा थियो भनेपछि त झन् भीमको अभाव मलाई बडो खड्कन्थ्यो । मलाई जाडाको बेलामा आँगनमा घाम छेलिदिने त्यस अमलालाई भुतुक्कै पार्ने तुरुन्तै मार्ने कुनै ओखती भए पनि त हुन्थ्यो” मेरा मनमा यस्ता धेरै कुराहरू पनि पर्थे । जाडो भगाउने कुरा घाम मात्र हो भन्ने जानिएछ । बाक्ला र ताता लुगाफाटाहरू गमक्कसँग लगाएपछि जाडो भाग्छ भन्ने ज्ञान मेरा मगजमा कहिल्यै आएन । घरेलु दरिद्रतका कारणले पनि यसो भएको हुनुपर्छ । अँझ सम्झन्छु, गतिला लुगाफाटाहरू लगाऊँ, राम्रो देखियूँ, सफा र चटक्क परेर हिंडूँ भन्ने कुरा मेरा मनमा कहिल्यै पनि परेन । अधिक जाडो भएका बेला घाम छिटो नआइदिएको बुझेर घामलाई गाली गर्यो, घामको न्यानोलाई छेलिदिने रुखलाई गाली गर्यो, भीमले नउखेलिदिएकोमा उसलाई सराप्यो, कार्कीले कोसिस नगरेकोमा उसलाई धारे हात लायो वस यति थियो । राम्रो गरी दाउरा नबले दाउरा र आगोलाई गाली गर्यो यस्तै सिकिएको थियो । आज सम्झन्छु ऊ बेलाका कुरा । एउटा अन्धकार अनकन्टारबाट फुत्किएर अलिकति ज्ञानगुनका कुरा सिक्ने अवसर धन्न परेछ ! कठैबरी ! मकैका ढोडहरूहो !

अस्ति गएँथें त्यही गाउँमा । अमलाको रुख अँझै रहेछ । बूढो भए पनि मनग्गे फल्दो रहेछ । अब घरको अवस्था अलिक सुघ्रिएकोले भुराभुरीलाई अमलाको छायाले कुनै अप्ठेरो पारेको बुझिएन । कार्कीका सन्तानहरू बूढाखाडा भइसकेका रहेछन् । महाभारतको पुरानो पुस्तक ता अँझै पो रहेछ । धुवाँले कालो पारेको, माउले खाएर छिद्रै छिद्रा पारेको अवस्थामा रहेको त्यो पुस्तक सुब्बा होमनाथ केदारनाथले प्रकाशित गरेका रहेछन् । किताब पल्टाएर भीमको रुख उखेलेको कथा कहाँनिर होला भनेर माताजीलाई सोधूँ लाग्यो तर माताजीको उहिल्यै स्वर्गवास भइसकेको थियो । उहाँ छँदा सोध्न ता भुसुक्कै बिर्सिएछ ।

“अमला अँझै फल्दै छ ?” मैले दाजुलाई सोधेको थिएँ ।

“मजाले फल्छ । गएर हेर् न ।” उत्तर पाएको थिएँ ।

“धन्न भीमसेनले उखेलेनछन् ।” मैले फ्यास्स भनेछु ।

“हन यो के भन्छ ?” दाजुले सोध्नुभो ।

“केही होइन !” मैले कुरा टारेको थिएँ ।

भोलिपल्ट त्यस अमलाको फेदमा गएर रुखतिर ठाडो मुन्टो लगाएर यसो हेरेको ता ठूला ठूला पाकेका रसिला दानाहरू रुखैभरि लटरम्मै रहेछन् । एक झट्टी हानेको बरर झरे । रसिला दानाहरू चुस्तै मनमनै सम्झिएँ धन्न भीमसेनले उखेलिदिएनछन् यसलाई ।

पहिलो पटक प्रकाशित 2016-02-20 05:51:05 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *