Skip to content


तर……..

साथीको हात थर्र काम्यो । पसिना खल्खली आयो । खुट्टा लर्याक लुरुकै भयो । जिउ फतक्क गल्यो । उसले सपनामा पनि नचिताएको कुरा भयो । ऊ किंकर्तव्यविमूढ भयो । जहाँको त्यहीं ठिंग उभिएको उभियै भयो ।

“….मित्र ! हाम्रो अनन्त यात्राको यो पहिलो पाइला हो । पहिलो पाइलाको सुरुवातमा नै …” मेरो कुरा पूरा हुनु अगाडि नै – “तर, यो मबाट हुन्दैन ”– उसले निश्चयसाथ भन्यो – “एक हुँदैन, दुई हुँदैन, तीन हुँदैन” – यति भनेर ऊ यसरी बस्यो कि अब ऊ आफ्नो निर्णयबाट एक इन्च पनि यताउता हुनेवाला छैन ।

तर मलाई यो काम उबाटै नै गराउनु पर्ने भएको छ । अहिले अर्को कुनै पनि बिकल्प मैले देखरिहेको छैन । यहाँ कि ! ऊ छ ! कि म मात्र छु । अरु कोही छैनन् । भएकाहरू धेरै टाढा भइसके । समयले नेटोकाटी सक्यो । छोटो समयमा गर्ने काम भनेको मैले देखे जस्तो यही एउटा काम मात्र हो । अनि यहाँ अरु कोही नभएको हुँदा यो काम मैले उबाटै गराउन पर्ने भएको छ । ऊ मेरो साथी हो । साथीलाई यहाँ म साथी मात्रै भन्ने छु । किनकि अहिले उसको नाम नभनौं । मैले पनि आफ्नो परिचयलाई गोप्य नै राखें । बस् उसको पनि म साथी मात्रै । अनि मेरो पनि ऊ साथी मात्रै । साथी, साथी र साथी मात्रै ।

म पूर्वको । आमाबुबाले शहरमा पढाउन पठाएको एउटा विद्यार्थी । गाउँमा धेरै दुःख गरेर बुबाले शहरमा पैसा पठाउनु हुन्थ्यो । कोठा भाडा तरि्न, पढ्न र खान । एउटा ठूलो मान्छे बन्नु परेको छ मैले । मेरो आमा बुबाको सपना हो यो । मैले आफू ठूलो मान्छे बनेर आमाबुबाको सपना पूरा गरिदिनु पर्ने भएकोछ । दशैंमा घर जाँदा सधैं आमाको आशीर्वाद यही हुने हो । अनि, बुबाको आशीर्वाद पनि यही हो ।

एउटा ठूलो मान्छे …..

शरीर त मेरो ५ फिट ५ इन्चको हो । तर यसले काम गरिरहेको छैन । एक जना ठूलो मान्छे बन्न अर्थात जसको केही पहुँच होस् । जसले अलि अलि हप्की दप्की पनि गर्न सकोस् । खल्तीबाट चाहिएको बेला हजार पाँच सय चानचुन सरह खर्च गरी देखाउन सकोस् । पर्दा चार पाँच जनालाई अगाडि पछाडि राखेर हिंडडुल गर्न पनि सकोस् । अर्थात एक जना ठूलो मान्छेको माने आज निरीह भई बाँचिरहेका मेरा आमाबुबाले जोरिपारिका सामु सरी ठाडो पार्न सक्नु हो । उनीहरूले पनि जोरिपारिबाट सम्मानजनक ब्यवहार लिन सक्नु हो ।

एउटा ठूलो मान्छे बन्न कै लागि मैले पनि घुँडा धसेरै पढें । डिप्लोमा पनि पास गरें । काम खोज्न थालें । भेटेसम्मको, पाएसम्मको जे काम पनि गर्न थालें । जागीर नै भनेर कुरिरहिन । किनभने बुबा पैसा पठाउन नसक्ने अवस्थामा पुगिसक्नुभएको थियो । र उनीहरू छोरोले नै शहरबाट पैसा पठावस् भन्नेमा पुगिसकेका थिए । असक्त पनि हुँदै गए ती । त्यसैले पट्ठो छोरोबाटै आफ्नो पनि हेरचाह होस् भनी कामना गर्न थालिसके ।

शहर हो यो शहर । महानगर । एउटा ठूलो मान्छे बन्न धेरै धेरै पढ्न सक्नु पर्दछ यहाँ । पढेको विषयमा बिशिष्टता हासिल गर्न सक्नु पर्दछ यहाँ । यति गर्नकोलागि अर्थात एउटा विषयमा बिसिष्टता हासिल गर्नकोलागि पाँच लाख, दश लाख, बीस लाख खर्चिन सक्ने हुनु पर्दछ । यसो गर्न नसक्नेहरूले राम्रो विषयमा पढ्नै पाउन्दैन । पढ्न मन लागे पनि, पढ्न सके पनि यति गर्न नसक्ने हो भने त्यो व्यक्तिको लागि विद्यालयको ढोका नै खुल्दैन । ऊ मानिस ठूलो मानिस बन्नै सक्दैन ।

र, मेरो जाबो डिप्लोमा – यो त यहाँका खातेहरूले पनि गरिरहेको छ ।

तर, यस्ता कुरा मेरो आमाबुबालाई थाहा छैन । उनीहरूले बुझ्दैन पनि । उनीहरूकोलागि त मेरो बी.ए. नै धेरै भइसकेको छ । र, म ठूलो मानिस बनिसकेको छु । उनीहरूले ठानिसके उनीहरूले देखेको सपना पूरा भइसक्यो । मेरो छोरा बी.ए. पास छ, उनीहरूले गाउँमा गर्वसाथ शरि उठाएर भन्न थालिसके । गाउँका सोझा मानिसहरूले पनि उनीहरूलाई अलि आदर साथ ब्यवहार गर्न थालिसके । बस् । अब बाँकि भनेको बगरिहेको पैसाको खोलालाई शहरबाट गाउँमा मोड्नु मात्र हो । त्यही गाउँ तर्फ मोडिन बाँकि पैसाको खोलालाई मेरो आमाबुबाले पर्खेर बसेका छन् । ठूलो आशा र भरोसाका साथ । तर, यता छोरा भने शहरका पेटी पेटीमा कहिले पसल थापेर, कहिले मकै भटमास बेचेर, बिहान सखारै उठेर घर घरमा पत्रिका बाँड्न गएर पनि आफू एक जनालाई राम्रोसँग उभ्याउन सकरिहेको छैन । घडीको पेण्डुलम झैं अझै पनि यता उता यता उता हल्ली नै रहेको छ ।

– सय ! सय ! रुपैंयाँ, सय ! सय ! रुपैंयाँ । कमिज एउटाको सय ! रुपैयाँ – भन्दै दिउँसोको चर्को घाममा पेटीमा उभिएर कराउँदै गर्दा कमिज एउटा किन्न आएको हो यो साथी ।

कसरी हाम्रो माझ कुरा भयो । मित्रता बढ्यो, त्यो कुरा त अहिले मलाई ठ्याक्कै सम्झना छैन । तर, गजबले हाम्रो मन मिल्न पुग्यो । हामी एक आपसमा भेट्न थाल्यौं । मेरो कोठामा ऊ आउन थाल्यो । उसको कोठामा म जान थालें । आवत् जावतको माझ हामी माझ धेरै कुराहरू भए । कुरै कुरामा आ–आफ्नो दुःख सुखका कुराहरू भए । गरिरहेको कामको बारेमा पनि कुरा भए । दुःखले घेरेको परिवेशका कुराहरू पनि आए । आमाबुबाको सपनाका कुराहरू भए । सुखको कुराहरू पनि आए । कुरै कुरामा आजका कुराहरू आयो । भोलिको कुराहरू पनि आयो । शहरको कुरा आयो । गाउँघरका कुराहरू पनि आयो । परदेशको कुरा आयो । देशको कुरा भयो । भइरहेको कुराहरू आयो । हुनु पर्ने कुरा पनि भयो । गरिरहेको कुरा आयो । गर्नु पर्ने कुरा पनि भयो ।

दिन । हप्ता । महिना । र वर्षहरू पनि बिते । धेरै ठूल्ठुला पुस्तकका पानाहरू पल्टिए । थाहा नभएका कुराहरू थाहा हुने, जान्ने सुन्नेसँग सोधियो । देशको कुना काप्चासम्म चाहार्दै लामो लामो कुराहरू गरिए । र, अन्तमा सबै कुराको छोटकरीमा निचोड निस्कियो – पहाड भएरै अग्लो होचो भइरहेको हो । ठूलो सानो भएको हो । असमानता बढेको हो ।

बस् । अनि के चाहियो । निचोड निस्किए अनुसार पहाडलाई सम्याउने अभियानमा हामी जुट्यौ । सदियौं देखि पत्र पत्र चट्टानले जमरिहेको पहाड सम्याउने भनेको ख्याल खट्टाको कुरा पनि त पक्कै भएन । ख्याल ख्यालको कुरा नभएको हुनाले नै हामीले यसलाई गम्भीर रुपमा लियौं । र, लगातार पिकले पहाडलाई खन्ने काम सुरु गरिहाल्यौं ।

ऊ पिकले पहाडको चट्टान खन्न थाल्छ, म साबेलले माटो फाल्छु । म पीकले पहाड खन्छु, ऊ साबेलले माटो फाल्छ । कहाँ को हो ऊ । कहाँको हुँ म । तैपनि हामी दुवैको मन् मिलेको छ । साथ मिलेको छ । सबैको दुःख हामीलाई आफ्नै दुःख जस्तो लागरिहेको छ । त्यसैले पहाडलाई सम्याएर अग्लो होचोलाई निमिट्यान्न पार्नकोलागि हाम्रा हातहरू एक भएर अघि बढरिहेको छन् ।

यो मात्रै सुरुवात थियो ।

हामी दुई जनाको हातले मात्र माटो खन्ने हो भने सदियौं सदी बितेर गए पनि पहाड जस्ताको तस्तै भएर ठडिएको ठडिएै बसरिहने छ । एक इन्च तल माथि हुने छैन । यो हामीलाई थाहा छ । यस अभियानकालागि असंख्य हातहरूको साथको आवश्यकता छ । ती असंख्य हातहरू हाम्रो अभियानमा तान्नकालागि नै हामीले पहिले आफ्ना हातहरूलाई अघि बढाएका हौं ।

तर, बिडम्बना ! यो सुरुवात नै अनौठो रुपमा अन्त हुन गइदियो । हामीले सोच्दै नसोचेको कुरा पो हुन आयो ।

पहाडलाई सम्याउन पिकले हान्दै गर्दा अचानक कताबाट हो कताबाट एउटा आगोको मुस्लो निस्कियो । आँखा झिमिक्कै गर्न नपाउँदा त्यो आगोको मुस्लो मेरै जीउमा आएर लाग्यो । म डङ्ग्रङ्ग ढलें । मेरो दाहिने जीउको पाता नै उडाएर लग्यो । धन्न खाल्डोमा जान भ्याएकोले मेरो मित्रलाई केही हुन पाएन ।

मैले बुझें । अब मेरो अन्त आइपुग्यो । मेरो यात्रा यहींसम्मकोलागि मात्र हुने भयो । मैले यहीं बिश्राम लिनु पर्ने भयो । मैले बिश्राम लिनु परे पनि, मेरो अन्त भए पनि, यो अभियानको अन्त हुन दिनु हुन्न मैले । यस कुरालाई मैले दृढ निश्चय गरें ।

पहाडलाई रेख देख गर्नेहरू हामीलाई खोज्दै माथि देखि घेरा हाल्न थालिसके होलान् । घेरालाई सांघुरो पार्दै हामीसम्म आइपुग्न अघि बढिसके होलान् ।

म भने अब एक पाइला पनि अघि बढ्न सक्ने स्थितिमा रहिन । साथीले मलाई बोकी यहाँबाट सुरक्षित स्थानमा जाने स्थिति पनरिहेन । आउनेहरूले मलाई समाउने त पक्का छ । समाएपछि उनीहरूले मलाई हेलिकप्टरमा राख्ने छन् । राम्रो अस्पतालमा लग्ने छन् । अनुभवी र राम्रा राम्रा डाक्टरहरूबाट औषधी मूलो गरी मलाई बचाउने छन् । र, म ठिक भएपछि, मलाई कालकोठरीमा लगेर नराम्ररी यातना दिने छन् । यातना दिंदा दिंदै मबाट मेरा साथीहरूको बारेमा कुरा ओकल्न लगाउने छन् । मेरो अभियानका बारेमा मुख खोल्न मलाई बाध्य पार्ने छन् । हाम्रो निष्ठापूर्ण कामहरू देखेर, यो काम त राम्रै हो, गर्नै पर्ने काम हो यो भनेर साथ दिन आएका दुई चार हातहरूलाई समेत मेरै कारणबाट सम्याउने छन् । मेरै हातबाट मैले नै थालेको अभियानको गर्धन निमोठिने पक्का छ । अनि अनि उनीहरूले मलाई पनि पछि गएर कुनै ठूलो इनारमा लगेर…………… ।

ओहो !

सोच्दा सोच्दै म आफै कामें । दुखेका कुराहरू सबै बरि्सिएँ । आफ्नो आँखा अगाडि आफैले ठड्याएको धरहरा नराम्ररी गमं्रग ढलेको देखें । साथीले मलाई सकि नसकि बोकेर लाने असफल प्रयास गर्न थाल्यो । पछाडि जीउको पातानै नभइसकेको म, लामो समयसम्म बाँच्ने त कुरै छैन । त्यसैले आफू एक्लै यहाँबाट जाऊ जाऊ भनी कराइरहें । भोलिका दिनमा असंख्य स्पाति हातहरू लिएर आई, यो पहाडलाई सम्याउनु पर्ने उसको जिम्मेवारीलाई बोध गराइरहें । साथै…….

तर.. यो मबाट हुनै सक्दैन – उसले अझै पनि अड्डि लिइ नै रह्यो ।

ठिक यसैबेला हामीलाई समाउने । नसके सिध्याउने उद्देश्यका साथ आएका जवानहरूको बुटको आवाज सुनिन थाल्यो ।

– विचार नगर । समय छैन । मेरो परिचयले तिमी जहाँ गए पनि छायां झैँ पछि पछि आई तिम्रो परिचय उनीहरूले पाउनेछन । तिमी को हौ ? कहाँ को हौ ? तिम्रा अन्य को को साथीहरू छन् ? तिमीले गर्न खोजेको के हो ? तिमी कहाँ बस्दछौ ? तिम्रा परिवारहरू कहाँ बस्दछन् ? आदि इत्यादि सबै छर्लंग हुनेछ । लुक्नसम्म तिमीले ठाउँ पाउने छैनौ । तिमीलाई समाउन तिम्रा घर परिवारकाहरूलाई समेत कालकोठरीमा लगि यातना दिने छ । तिमीलाई राम्ररी थाहा छ, यो अभियानमा लागेका हामी सबै परिचय बिहीन हुनु पर्दछ । तर तिमी जहाँ गए पनि सबैको परिचित हुने छौ । जसले गर्दा हाम्रो अभियानलाई ठूलो नोक्सान हुन जानेछ । सफलता हामीबाट धेरै टाढा पुग्नेछ । तिमीसँगको मेरो साथ त यहींसम्म मात्रको हुने भो । यहाँबाट उताको यात्रा त अब तिम्रै काँधमा छ मित्र ! । मलाई सास फेर्नै गार्हो भएर आइ सक्यो । मेरो माया नलिउ । लक्षलाई समात । जाऊ । अघि बढ । हामीलेसँगै बसेर देखेको सपना पूरा गर्नकोलागि अघि बढ । जाऊ जाऊ । छिटो पाइला अघि सार….

–“ त्यहाँ छ, त्यहाँ छ । समात् समात् । हान् हान्”– पहाडको चारैतरिबाट तल देखाइएको टर्चको प्रकाशले हामीलाई देखेरै छाड्यो ।

ठिक यसै बेला बिजुली चम्क्यो ।

चम्क्यो बिजुली । मैले अघि देखि भने जस्तै भयो – मेरो टाउकोमात्र लिएर मेरो साथी अँध्यारोमा फाल हाल्यो ।

अस्तु ।

(नेपालभाषाबाट अनुवाद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *