Skip to content


उत्तरी पर्वतीय विश्वविद्यालय ‘नर्थ इस्टर्न हिल युनिभर्सिटी’ (नेहु) मा आयोजित चारदिने अन्तर्राष्ट्रिय भाषाविज्ञान सम्मेलनमा भाग लिन जाने हाम्रो पुरानो निर्णय थियो । त्रिविको तर्फबाट लेखनाथ शर्मा पाठक र मलाई यो सौभाग्य मिलेको थियो । मेरानिम्ति सिलाङको यो पहिलो यात्रा थियो ।

तीस वर्षअघि एकै झल्को देखेको गुवाहाटी असारको महिना ब्रह्मपुत्रले ढाकेर सारा समढन्न थियो । चुहुँदो झरीमा ब्रह्मपुत्रकै उत्ताल तरङ्गमाथि चढेर म पारि (सदिया) पुगेको थिएँ । आज प्रकृति अर्कै छ । कश्मीरदेखि अरुणाचलसम्मै उत्तरका हिमालमा यसपालि हिउँ थपिएन भन्दैछन् । महिनौं भए पानी पर्न नसकेर आकाशमा समढन्न तुवाँलो छ । कुहिरो जतिकै बाक्लो ।

बिस्तारै गुवाहाटी सहर छाडेर टाटासुमो पूर्वोत्तरतिर चढ्न थाल्यो । अलिअलि उठेका ढिस्का र डाँडा, तलतल नागबेली परेर उडेको बाटो । पातला बस्ती र जङ्गलै-जङ्गल, भित्रभित्रै नरिवल, सुपारीघारी । अन्य वनस्पतिमा लर्किरहेको बाँसझ्याङ, वनकेराका चिल्ला पात । चैतको महिना, यो पतझरको बेला जङ्गल अलिक उजाड छ । खोल्साखोल्सी कुवा कतै छैन । तर झन्झन् बाक्लो जङ्गल, कताकति खोरिया फाँडेर डढेलो लागिरहेको, त्यो धूवाँ र तुवाँलो मिसिँदा आकाश अझ अस्पष्ट थियो । बाटो भने अत्यन्तै सुन्दर, चिल्लो र सफा । हामी त्यो मार्ग चिर्दै सिलाङतिर लाग्यौं । बिस्तारै नजानिँदो उकालो जस्तो नागबेली पछ्याउँदै । वारिपारि न होचा न अग्ला डाँडाहरू । सिलाङबजार पुग्न तीन घन्टाको बाटो- सफा, चिल्लो, अत्यन्तै मनोरम । हरियालीले छोपेको बेला यी थुम्का कति आकर्षक होलान् ।

धेरै माथि पुगेपछि सल्लाका बोटहरू आउन थाले, सिरसिरे हावा मिसिएर आयो, यतिबेलाको काठमाडौं जस्तै । आफ्नै पहाडको कुनै जिल्लातिर पुगेजस्तै । बाटामा पातला घर छन्, फाट्टफुट्ट । ठूलो खेती कतै छैन । एकदुई बजार आउँछन्- गर्दागर्दै बल्ल सिलाङ देखियो । डाँडामाथि तल गैरीमा, पाखामा छपक्कै मिलेर बसेका पुराना घरहरू । होचा, एकतले, दुईतले बंगलाहरू । कतिपय काठ र च्यादरले बनेका अनि सिमेन्टका, राता हरिया, पुराना छानाहरू, चुची, चिम्नी, चर्चका गजुरहरू । बेलायती राजले धेरै अघि पाइला टेकेको ठाउँ । धेरै टाढा अझ उच्चा पर्वत थिए तर हरियालीका बीचमा घामछाया जस्तो लुकेको सिलाङ अति सुन्दर देखियो ।

सिलाङसँग जोडिएका मेरा केही सम्झना छन् । पहिलो छ कृष्णप्रसाद ज्ञवालीको नाम । कहिल्यै उहाँलाई भेटिनँ, आज उहाँ हुनुहुन्न । तर उहाँका अत्यन्तै उत्कृष्ट निबन्ध पढ्ने अवसर मिलेको थियो ‘पीपलको छहारी’ मा । जीवा लामिछानेले प्रकाशित गरेको ‘सेलेक्टेड नेपाली एसेज’ मा नेपाल बाहिरका एकमात्र निबन्धकार समावेश छन्- कृष्णप्रसाद ज्ञवाली । महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि युवराज नयाँघरेसम्मका १५ जनामा एक निबन्धकार छानिएका थिए कृष्णप्रसाद ज्ञवाली । उनका ‘पीपलको छहारी’ र ‘परेवाको कलरब’ जस्ता निबन्धले हृदयभित्रसम्मै छोएको कुरा यो अनुवादकले कहिल्यै भुल्ने छैन । आज उनकै आँगनमा टेक्ने दिन थियो । वास्तवमा उनी एक विशिष्ट विद्वान्, सर्जक, नेपाली भाषासाहित्यप्रेमी थिए । आज तिनै कृष्णप्रसादको आँगनमा टेक्ने दिन थियो ।

यो मनले भेट्न खोजेका अर्का व्यक्ति थिए- गोपीनारायण प्रधान । निकै वर्षअघि नेपाल भारत बीपी कोइराला फाउन्डेसनको सम्मेलनताका धनगढीमा उनीसित भेट भएको थियो । दौरा सुरुवाल लगाएर चिटिक्क भई हिँड्ने प्रधानज्यूका हृदयमा एक सच्चा भाषा संस्कृतिप्रेमी नेपालीको बास छ । त्यो भेटमा उनले सिलाङमा नेपाली भाषा के कस्तो स्थितिमा थियो, आज कता जाँदैछ भन्ने चित्र प्रस्तुत गरेका थिए । यसपालि हिँड्नुअघि कृष्णचन्द्रसिंह प्रधानले गोपीनारायणलाई सम्झना पठाउनुभएको थियो, अविनाश श्रेष्ठले केही उपहार, खेमलाल पोखरेलले नमस्कार र गुरुबन्दना, जगदीश घिमिरेले केही कृति । दमकमा परिचित दिलबहादुर नेवारलाई समयले निलिसकेको थियो तर साहित्यकार विक्रमबीर थापा त्यहीँ थिए । म यी सबैलाई नभेटी कसरी फर्किन सक्थेँ ?

काठमाडौं जतिकै उचाइमा अवस्थित सिलाङको विस्तृति देखेर म छक्क परेँ । न होचा न अग्ला डाँडा र सम्महरू । ती सबै हरिया । सबै सल्लाको जङ्गलले ढाकिएका । अत्यन्तै अल्गा-अल्गा, सुरिला नाङ्गा सल्लाहरू आकाश छोएर उभिएका । त्यो प्राचीन सल्लेरीबाट सुसाएको बतासको सिरिरि, भुइँभरि सल्लीपिर र सिम्टा । अरू पनि वनस्पति थिए तर आँखाले देखेजति सिलाङको विस्तृति केवल सल्लेरीले ढाकेको थियो । यसो निहुरेर हेर्दा भित्रभित्रै धेरै टाढा घरहरू लुकेका- राता, हरिया, पुराना च्यादरका छाना र नागबेली परेको कालो बाटो रहस्यतिर घुमेको । कस्तो विचित्र भूमिमा पर्दैछन् आज यी पाइलाहरू ।

पाँच हजार फिटमाथि खासी पहाडको मुटुमा अवस्थित सिलाङलाई बि्रटिस राजले ‘हिल स्टेसन’ बनाएको थियो । यो मोहक जलवायु र भूआकृतिले तानिएका अङ्ग्रेजले पूर्वमा बेलायती भूमिको एक टुक्रा पत्ता लगाएका थिए । त्यसैले तीन सय वर्षदेखि बेलायती सभ्यताको दियो बलेको सिलाङ, अनेक भाषा, धर्म र जातजातिको संगमस्थल- विस्तारै उठ्तै बसेका तरङ्गजस्ता डाँडाहरू, हरियाली र मोहक जलवायुले उनीहरूलाई स्कटल्यान्डको झझल्को मेटाएको थियो । यसैमा उनीहरूले आफ्नो हृदय लगाए । ती पुराना बेलायती शैलीका घर र ससाना बंगलाहरू, सिसाझ्यालभित्रका पातला पर्दाहरू, आँगनको फूलबारी, व्यवस्थित सडक र परपर माथिसम्म उठेका गिर्जाघरका स्पायरहरू, घरका चुच्ची गेवलहरू सबै हेर्दा एउटा भिन्न जगत् लाग्छ, त्यसैले पर्यटकीय वाणीमा सिलाङलाई ‘पूर्वको स्कटल्यान्ड’ भनेको सुनिन्छ । साँच्चै मलाई पनि त्यस्तै लाग्यो ।

सिलाङ उत्रिँदा यो मनमा अर्कै तरङ्गले छोप्यो । हाम्रा चारदिन विश्वविद्यालयको अतिथिगृहमा बित्नेवाला थिए । बेलुकीपख नेहुतिर लाग्ने बेलामा दुईजना हाम्रो भेटघाटमा आइपुगे- कुञ्जन लामा र सलील ज्ञवाली । कुञ्जन एक स्थानीय कलेजका शिक्षक, अङ्ग्रेजी पाक्षिक ‘पालुवा’ का सम्पादक थिए भने सलील ज्ञवाली उनै कृष्णप्रसादका छोरा । बाबुको नामलाई अझै उज्यालो पार्न सक्षम सलीलसँगको भेट अत्यन्तै महत्त्वपूर्ण लाग्यो । उनी विद्यालयस्तरका हिन्दी र अङ्ग्रेजी पाठयपुस्तकका नामी लेखक, स्थानीय भाषाका ज्ञाता, त्यो राज्यमा अत्यन्तै उज्ज्वल नाम चम्काइरहेका युवा । उनीहरूसित दिनभरि बस्ने इच्छा जागेको थियो तर आजको समय समाप्त भएको थियो । हामीलाई बजार कटेर निकै टाढाको नेहु गेस्टहाउस पुग्नु थियो । त्यसैले बाँकी बातहरू मनमा राखेर झोला टिप्यौं र सलीलकै कारमा पस्यौं । सिलिलि… गाडी बगेर उत्तरतिर लाग्यो । बजारैबजार, विविध शैलीका टिपिकल घर दायाँबायाँ र सुन्दर सडक । स्थानीय नरनारी वरपर गर्दै थिए ।

साँझ पर्दा गन्तव्यमा पुग्यौं । दम्स्याइलो जमिनको दायाँबायाँ दुवैतिर अनन्तसम्म फैलेको सल्लेरी, त्यसभित्रभित्र लुकेर बसेका राम्रा भवनहरू । आधुनिक र स्थानीय लाग्ने रङका, उचाइका । सल्लेरी भित्रभित्रै कालो बाटो सुटुक्क छिरेर कुधेको । डाँडाको टुप्पामा बसेको भव्य गेस्टहाउस ।

सुत्ने बेलामा सम्झेँ- के यो सारा व्यक्तिलाई प्राप्त भएको सुविधा हो । अवश्य होइन । हाम्रो व्यक्तित्वमा त्रिभुवन विश्वविद्यालय जोडिएको छ । हाम्रो देश छ । हामी त्यसको प्रतिनिधित्व गर्दै छौं, आज भाषावैज्ञानिक भएर । अनेकौं विशिष्ट विद्वान्को यस अन्तर्राष्ट्रिय सम्मेलनमा कसरी हामीले देशको नाम थाम्ने होला ? हामी त्यहाँ काम्ने हौं कि ? ओछ्यानमा पल्टिएपछि फेरि एकपल्ट कार्यपत्र पल्टाएर पढेँ र सुत्न खोजेँ तर पटक्कै आँखा जोडिएन । मेरो मनमा एउटै पीर उठ्यो- यीमध्ये कुनै विद्वान् हामीले आयोजना गरेको सम्मेलनमा भागलिने अभिरुचि देखाउलान्, काठमाडौं आउलान्, विश्वविद्यालयको गेस्टहाउसमा बस्ने इच्छा गर्लान्, त्यसबेला हामीले के भन्ने होला । पूर्वको स्कटल्यान्डमा टेकेको प्रथम रात अङ्ग्रेजहरूले कस्तो सपना देखे होलान् ? मलाई थाहा छैन । तर किन आज छैन मेरो आँखामा कुनै निद्रा र सपना ? म पल्टिरहेँ पूर्वको स्कटल्यान्डमा बिना कुनै सपना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *