Skip to content

फुल्न नपाएका बिरूवाहरू


आज बिहानै ६ बज्नै लाग्दा
जन्मिएको थियो घाम
मेरो घरको जस्केलाबाट पस्न नपाउदै
एकहुल बादल आएर हत्या गरी दियो
त्यसैबेला बाले भन्नुभएको थियो
फुल्न नपाएका बगैँचाका कोपिलाहरू देखाउदै
बाबू यी कोपिलाहरू मर्न नदिनू
यिनीहरूको पनि फुल्ने अधिकार छ
बाँच्न दिनुपर्छ आयु रहुन्जेल
म्याद सिद्दिए पछि आफै वैलन्छन्
र झर्छन् बिस्तारै बिस्तारै हाँगाबाट ।।
••
त्यसैबखत
बाले भन्नू भाथ्यो बाबू तँ स्कुल नजानू
सोधेको थिएँ किन बा ?
मेसिन देखाउदै भन्नू भयो
बाबू तेरो लागि मेसिन किनी दिएको छु
लालपुर्जा राखेर
मात्र तेरै लागि अब हामीलाई तैले पाल्नु पर्छ
मर्ने बेला
आमाको फरिया देखाउँदै भन्नू भएको थियो
बाबू तैँले किनिदिनु फरिया
मैले बाँचुन्जेल राम्ररी माया दिन सकिनँ
चप्पल किनेर दिन सकिनँ
कानमा पित्तलको रिङ्गसम्म किनेर दिन सकिनँ
सियोले छेडेका प्वालहरू टालिएला भनेर
नाकमा फुलिकोको सट्टा
सिन्की लगाइरहेकी छिन्
तिमीहरू मेरै खुसीको लागि बाँच्यौ
कहिल्यै मागेनौ एक रुपैयाँ
बरू हिँड्यौ खाली पैतला बजार्दै बजार्दै
वास्त गरेनौ काडाँले बिज्दासम्म
बाबू ! मलाई माफ गर
तिमीहरूको भविष्य बनाउन सकिनँ ।।
••
शासको पोया चुडिनु अघि भन्नू भएको थियो
बाबू मेरो मृत्युमा तिमी नरोऊ है !
भन त ! तिमी नै रोयौ भने
कस्ले पुछि दिन्छ आँसु ?
कस्ले सम्झाउँछ तिमीलाई ?
अनि कस्ले समहाल्छ आमालाई ?
यदि तिमीले नै होस गुमायौ भने
म चितामा जल्नु अघि कस्ले काटि दिन्छ ?
नदुख्ने गरी मेरो हातगोडाको नङ्ग
तिमी भएनौ भने मेरो मुख कस्ले धोइदिन्छ ?
अनि कस्ले दिन्छ मलाई दागबत्ती ?
मलाई हाँसीहाँसी बिदा गर्नु
यो नै मेरो अन्तिम इच्छा हो ।।
••
अब तिमी नै हौ यो घर रङ्ग्याउने
तिमी नै हौ यो घरको माली
राम्ररी गोडमेल गर्नु
र फुलाउनु मैले फुलाउन नसकेको खुसी
हेरूँला तिम्रो शिरमाथिबाट उभिएर
हो बाबू कहिले छाया बनेर हेरूँला
कहिले घाम बनेर हेरूँला
कहिले जून बनेर हेरूँला
त कहिले तारा बनेर हेरूँला
हरहमेशा म तिम्रै साथ हुनेछु
तर बाबू नेताले जसरी शिर नझुकाउनु
सक्छौ देशको नक्सा बनाएर बेच्नु
सगरमाथाको पानी पियर बाँच्नु
बाबू सास रोकिनै लाग्यो
वाधा गर यो देश बेच्दिनँ भनेर ।।
••
बगैँचामा फुलेको फूल देखेर टप्प नटिप्नू
गुँडमा बसेका चराहरूलाई नउडाउनू
बाँस बसिरेका बचेराहरू भोकभोकै मर्छन्
नबनाउ कसैलाई टुहुरा
कसैको बा हुन सक्छन्
कसैको आमा हुन सक्छिन्
कसैको छोराछारी हुन सक्छन्
हो बाबू कसैको खुसी लुट्नु अपराध हो ।।
••
थाहा छैन अँझै कति बाँचिने हो
कहिलेसम्म घोपिने हो जिन्दगी
सियोले अँझै कति बनाउने हो प्वाल
आमा पिसिरहनु भएको छ आफैलाई
सिलौटोमा राखेर भाग्य
खिइँदै गएको छ हात र औलाहरू
साना नानीहरू भोकै होलान् भनेर
एक पाथि कोदो
र सुकाइरहनु भएको छ बिस्कुने सपनाहरू
विछ्याएर आफ्नै जिन्दगीको पल्लामाथि
आमा मैनबत्तीको यौटा रूप हुन्
आफू सिध्दिएर प्रकाश दिन्छन्
आफ्नो सन्तानको लागि
अमूल्य पसिना बेच्छन्
र खरिद गर्छन् अलिकति हाँसो ।।
••
आज भोलि मेरी आमाको अनुहारमा
केही परिवर्तन भएको छ थाहा छैन किन हो
हत्केलामा उठेका फोका देखाउदै भन्नू हुन्छ
बाबू यही हो हामी गरिबहरूको भाग्य
यही हो हाम्रो जिन्दगी
यही हो ईश्वरको वरदान
हो बाबू यही हो तिमीहरूको खुसी
यसलाई जतन गरेर राखेस्
कुनै बेला हेर्न मन लागे
ऐना अगाडि उभिएर हेर्नू
सब सब देखिन्छ किरमिर किरमिर भाग्य
त्यतिबेला सम्झनू हरिभक्त कटवाललाई
सब ठिक हुन्छ आला घाउहरू ।।

****

विक्रम पवन
बेथान~४, रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *