Skip to content

२०७३को शुभकामना


आयो साल नयाँ त्रिहत्तर यहाँ, शन्देस ल्यायो कति ।
स्थायी शान्ति सँगै लिएर गतिलो, नेपालको उन्नती ।।
पाउन् बस्न सधैं रमेर दुनियाँ, आनन्द आनन्द मै ।
बाँड्दै यो शुभकामना दिन सकोस् सद्भाब बर्साउँदै ।।

हाम्रो यो जुन देशको उदयको, यै मृत्तिकाको कुरो ।
लाऊँ के शिरमा ? छ ताज जसमा, कैलाशको टाकुरो ।।
साँच्चै भाव नयाँ ती भाइहरुमा, सत्बुद्धि पैदा भई ।
हुन्छौं एक सबै मिलेर अहिले, सत्मार्ग पछ्याउँदै ।।

ल्याई यो सब देशका जन सबैलाई मिलाईकन ।
पाहाडी कुन हो ? हिमाल तिरका, को हुन्, मधेशीजन ?
को हुन् मुस्लिम ती, र अन्य सबमा, के जात छुट्याउने ?
सारा एक भई मिलेर अब यो, नेपाल उक्साउने ।।

मिल्छन् एक भई सबै बिनयले, नेपाल जुट्तै छ यो ।
प्यारो देश अहो ! बिभिन्न रुपले, हाँसिरहेको छ हो ।।
देओस् यो नववर्षले सफलता, सम्पूर्णता एक भै ।
आफैं मिल्नुछ है ! छिमेक तिरकालाई मिलाई सँगै

तल्लो गाउँ सिधै ऊ हेर्छ कसरी, तर्दैछ आँखा यतै ।
बाटो छेक्न सिपालु भो दिनदिनै, भाइ फुटायो अझै ।।
च्यापी काख लियो भुलाई मुतको, न्यानो दिलायो सधैं ।
बुझ्दैनन् किन ती उभिण्डो तिनको बुद्धी भुटेको सबै ।।

मास्लो गाउँ परो सबै बिकटिलो, बाटो पहाडी भिर ।
आई एक ढिको हुदै मिल भनी, भन्दै थियो आखिर ।।
के के हो भन लौ; म दिन्छु सहजै, बाटो खुलाई कन ।
ल्याओस् है अब यो त्रिहत्तर महाँ, मिल्दैछ आश्वासन ।।

यो हाम्रो सब मेलको समय हो, मिल्नै छ है आखिर ।
मिल्नै पर्छ यहाँ ती भाइहरुले, नेपालकै खातिर ।
आयो है नववर्ष यो मिलनको, बाटो खुलाईकन ।
दिन्छौं है शुभकामना स्वजनमा, आत्मा मिलाईकन ।।
२०७२ \१२\ २७
इटहरी – ५
सुनसरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *