Skip to content

२०७३ -कसरी दिउँ शुभकामना तिमीलाई

कसरी दिउँ शुभकामना तिमीलाई
धरहरा अझै उठेको छैन
शीतलहरमा छोपिएको मधेश
कुहिरो अझै फाटेको छैन
कसरी दिउँ शुभकामना तिमीलाई
किचिएको लास अझै उठेको छैन
लमतन्न ओछ्याएर सांगुरोमा
अभावहरुको मृदंग बजेको बेला
कसरी दिउँ शुभकामना तिमीलाई
ढलेको घर उठेको छैन
शिशिरहरु आकाश ओढेर बिते
सिरेटोमा सिरक छैन
कसरी दिउँ शुभकामना तिमीलाई
वादल अझै हटेको छैन
आकाश अझै खुलेको छैन
कसरी दिउँ शुभकामना तिमीलाई
रगत अझै सुकेको छैन
बत्ति बाल्दा चिम बल्दैन
मनहरु कतै संगलिएकै छैन
कसरी दिउँ शुभकामना तिमीलाई
पुर्व अझै खुलेको छैन
तिम्रो रथारोहणको शुभकामना
चाकडी बजाउन सक्दिन म
कसरी दिउँ शुभकामना तिमीलाई
कृष्ण अधिकारी अझै उठेको छैन !!
बैशाख १ , २०७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *