Skip to content


धेरै दिनदेखि म सोचिरहेको छु। उसको बारेमा के लेखूँ? कथा, कविता, उपन्यास। दोधारमा छु। रातमा सोच्छु। दिनमा सोच्छु। साँझपख सोच्छु। खासै उपलब्धिमूलक हुनसकिरहेको छैन मेरो सोचाई। खुट्याउन असफल भईरहेको छ मेरो व्रद्म।हुन त ऊ न कुनै महान दार्शनिक हो। न बिश्वबिख्यात साहित्यकार। न बिश्वलाईचकित पार्ने महान वैज्ञानिक। न इतिहास रच्ने महान अमेरिकन पौडिवाज माइकल फ्लेप्स। न एक्काइसौं शताब्दीको शुरुवाती वुश। त्यही पनि धेरै दिनपछि आज पाजिएर रहेको भावना, अलिकति भोगाई, थोरै देखाई, धेरै सुनाईहरुलाई बटुलेर केही लेखिदिउ न त भनेर लेख्नलाई तम्सेको उसको लागि भन्दा पनि आफ्नो भौतिक शरीर मरेर गए पनि आफ्नो नाम कतै बाँच्छ कि भनेर। कतै भीडहरुमा धेरै नामको वीचमा साहित्यकारको रुपमा नाम दर्जिन्छ कि!
मलाई पनि त रहर छ आफ्नै नाममा वाँच्न। कति बाँचूँ पितापूर्खाको नाममा। तर जन्मेको तीन दशक पार गर्न लागिसक्दा पनि आफ्नो नामको एउटा अक्षरलाई स्थापित गर्न मैले सकेको छैन। धेरै अक्षरहरु मिलेर पो मेरो नाम बनेको छ त। किन यति लामो अक्षरमा नाम राखिदिएको होला? थोरै अक्षरहरु मिलेर बनेको भए थोरै समयमा आफ्नो नाम स्थापित गर्न सफल हुन्थे कि? कहिले पूरा गर्ने होला? सोच्दा–सोच्दै ह्याङ्ग हुन्छ मष्तिष्क।
–ऊ सामान्य गाउँले मान्छे हो।
–ऊ सामान्य भएकै कारणले हो कि बाउन्न ठक्कर त्रिपन्न घुस्सा खाएको छ।
–ऊ महत्वकांक्षी छ। ऊ भन्छ–“जिन्दगीमा कुनै उधारो योजना बनाउँदा किन कन्जुस्याई गर्ने।” त्यसैले ऊ ठूला–ठूला कुराको कल्पना गर्थ्यो। कल्पना शक्ति भने ऊसँग मनग्गे थियो। नेपाल सरकारको जस्तै भन्नलाई त धेरै मान्छेहरुले उसलाई घमण्डी छ भन्थे। तर उसलाई घमन्ड थियो–तिनिहरुको भनाईमा कुनै दम छैन ऊ भन्थ्यो–म साह्रै इमान्दारी छु। जतिसुकै हण्डर गोत्ता खाए पनि चाहे जागिर खोज्ने मामलामा होस्, चाहे पढ्ने मामलामा होस्। वा प्रेम प्रसंगको मामलमा होस्। एकदशकसम्म रोजगारको लागि गाउँदेखि सहरसम्म चाहारेकै छु। जतिसुकै प्रेममा असफल भए पनि आधा दर्जन प्रेमिका बनाएकै छु। जतिसुकै केटीबाट धोका खाए पनि स्त्री प्रति आकर्षित नै छु। जागिर नपाए पनि शिक्षित वेरोजगार हुनको लागि भए पनि विश्वविद्यालय धाएकै छु। त्यसै कारणले होला सायद भन्नेहरुले मलाई मण्डी भनेको। यसैमा शंका छ मलाई। यसै कारणले मलाई घमण्डी भनेको भए म त सलाई सम्झन्छु–“यो मेरो आफ्नो लगनशीलता हो। यो मेरो इमान्दारिता हो। आफ्नो योजना प्रति दृढ हुनु हो।”

उसले आफ्नो जीवनको तीन दशकीय यात्रामा आर्थिक उपार्जन गर्नको लागि एक तिहाई मय खर्चेको छ। तर सफल भने हुन कहिल्यै सकेन। किनकी शिक्षित वेरोजगारको प्रमाण मैलो लुगा, अर्धानो जुत्ता, फित्ता चुडिन आटेको झोला र च्यातिन लागेको प्रमाण–पत्र वाहेक सोर्स फोर्स केही छैन ऊसँग। त्यही पनि उसले प्रमाण–पत्र बटुल्नको लागि कहिले धाउन छाडेन बिश्वबिद्यालय र घोकन छाडेन किताब डिष्टिङ्गसन मार्क ल्याउनलाई। यसैक्रममा एउटी केटीले उसलाई साह्रै सताएकी थिई। त्यो केटीको नाम सम्झना थियो। साच्चै नै उनी सम्झना योग्य नै थिइन्। सम्झना उसलाई हेरेर हाँस्थी। लजाउँथी। लुकीलुकी हेर्थी। बोल्न भने डराउँथी। सम्झना साह्रै मन पर्थ्यो उसलाई। तर उनी अन्त्यमा अर्कै जागिरे केटासँग घरजम गर्न थाले पछि उसले ब्राण्डवाला भने त्यस्तै उस्तै हो खोया बिर्के भने पिउन थाल्यो। त्यसैगरी जाँडको घ्याम्पो पनि बुतयाउन शुरु गर्यो। प्रेम पागल बन्न पुग्यो। र, उसको तड्पाईमा पराइ भई जानेको सेखी झार्नको लागि भाडामै भए पनि केटी घुमाउन थाल्यो। ऊ आफ्नो भू.पू. मनकी मायालु कै रुपमा त्यस केटीलाई सम्झन्थ्यो। त्यसैले ऊ त्यो केटी आफ्नी भुतपूर्व प्रेमिका जस्तै पुष्ट देख्थ्यो उसको झोलिएका छातीहरु र पवित्र देख्थ्यो उसको त्यो क्षत्विक्षत् लाजका गहना। फलस्वरुप ऊ त्यो केटी माथि जाइलाग्थ्यो। चल्थ्यो। मातिन्थ्यो। ईङ्गिलस चलचित्रीय क्रियाकलापमा मन्त्रमुग्ध हुन्थ्यो। त्यसैले मलाई लाग्यो–कवि गितकार दुर्गालाल श्रेष्ठले लेख्नु भएको“फूलको आँखामा फूलै संसार….”भन्ने गीतले भने जस्तै मान्छेको हेराई नै राम्रो हुँदोरहेछ।

हुन त उसले गर्नलाई यस्ता बोक्रे प्रेम मात्र नभएर गाढा प्रेम पनि गरेको थियो। जीवनभरि सँगै बाँच्ने मर्ने कसम खाने मायालुहरु पनि उसले भेटेको थियो। तर त्यो घामछाँया जस्तै भयो। अर्को नभेटुन्जेल दिन काट्ने बाटो पाउन्जेल र खाउन्जेलको माया मात्र भयो। जीवन पर्यन्तसम्म चल्न सकेन। उसको चङ्गुलमा फसिसके पछि कुनै पनि केटीलाई वा प्रेमिकालाई जीवनसाथी बनाउन नसके पनि आफ्नो शारीरिक तृष्णा भने मेटेरै छाड्दथ्यो। चाहे राएर होस्। चाहे कराएर, चिमोटेर, पिटेर होस्। उसको प्रमिकालाई घिनलाग्दो त्यो खेलमा सहभागी हुन बाध्य बनाउथ्यो। ऊ प्रायः उधारोमा केही काम गर्न त्यति साह्रो चाहादैन थियो। त्यसकारण खरो लेना खरो देना गर्न ऊ भरमग्दुर प्रयासरत रहन्थ्यो। उसलाई त्यो घृणित कार्य गर्नको लागि खासै आनन्ददायक विछ्यौना चाहिँदैन थियो। प्रेमिका भेटे पछि आफ्नो असली रुप देखाउन शुरु गरिहाल्थ्यो। कुनै बन्द कोठा चाहिँदैन थियो। धेरै जसो उसको लिप्त हुने ठाउँ परालको कुन्यू, गोठ, जंगलको खोल्सो, ढिस्को पछाडि हुन्थ्यो। अश्लिल चलचित्रको जस्ता दृश्यहरु त्यहाँ हुने गर्दथ्यो। त्यसमा के फरक हुन्थ्यो भने चलचित्रमा एउटा निश्चित कोठा, ओछ्यान, कुर्सी आदि हुन्थ्यो भने उसको क्रियाकलापमा त्यो हुँदैन थियो। उसलाई केटी भए पछि हुन्थ्यो। लाग्नेले छाडेका, पोइ मरेका, साठी काटेका, आधा दर्जन सन्तानकी आमा जस्तै भए पनि हुन्थ्यो। ऊ कहिलेकाहीँ ठट्ठा गर्दै भन्थ्यो –“मलाई त माल खान पाए हुन्छ। आजकालको जमनामा चोखो निखुना केटी पाउनु त कलिमा भगवान उत्पति हुनु जस्तै हो।” केटीको चक्करमा उसले आफ्नो पढाइ पनि स्थगित जस्तै बनाएको थियो। जीवनको एक मोडमा उसले एउटी साह्रै सुन्दरी केटीलाई मन परायो। त्यो केटीको नाम चाहिँ तिर्सना थियो। तिर्सना रुपमा जति निख्खर थिई त्यति नै पवित्र भएको उसले अड्कल काट्यो। अर्थात् कसैले पनि उसको शरीरमा विशालु दाँत नगाडेको अनुमान गर्यो। फलस्वरुप आफ्नो समीपमा आइपुग्ने प्रत्येक केटीलाई डस्न सफल ऊ यसपालि भने उसले त्यो सम्भावना कम देख्यो। किनकि तिर्सना भन्ने गर्थी–“विहे पछि मात्र।” तिर्सनाले उसलाई धेरै पढेर जागिर खाए पछि मात्र घरजम गर्ने नत्र भने आफ्नो शत्रु र साथीहरुको अगाडि अनुहार देखाउन लाज हुने कुरा सधैं भन्ने गर्थिन्। भनिन्छ नि केटीहरुले केटाहरुलाई कि सपार्छन् कि सिनिक्क पारेर बिगार्छन्। त्यसपछि तिर्सनाको भनाइ पूरा गर्नको लागि लगनशील हुन थाल्यो। र, पढ्नको लागि भनेर ऊ राजधानीतिर हानियो। तिर्सनासँग विहे गर्ने उच्च आकांक्षा मनभरि पाल्दै। पूर्ण आत्मबिश्वासका साथ।
ऊ राजधानी पुगेको दिन साथीको कोठामा बस्यो। भोलिपल्ट उसले आफ्नो लागि एउटा कोठा खोज्यो। र, यसको भोलिपल्ट अर्थात राजधानी पगेको पर्सिपल्ट क्याम्पसमा गएर उसले आफ्नो नाम लेखायो। र, टुपी कसेर पढ्न थाल्यो। ऊ राजधानीको अस्थाई बासिन्दा भयो। उसको लवाई खवाई अर्कै हुन थाल्यो। ठाउँ अनुसारको हुनुलाई कसैले उसलाई भेट्दैन थियो। ऊ यस मामलामा माहिर थियो। ऊ स्वाँठ त थिएन पढ्नलाई त्यतिकै हल्लिएर हिड्दा पो साह्रै गोवर गणेश जस्तो देखिन्थ्यो। उसको विद्यालय स्तरको पढाइ पनि राम्रै भएको र क्याम्पसमा पनि ध्यान दिएर पढेको हुनाले क्याम्सको परीक्षा पनि राम्रैसँग पास गर्यो। स्नातक गरिसके पछि उसले सरकारी जागिर त त्यस्तै हो एउटा प्राइभेट अफिसमा भने ऊ काम गर्न थाल्यो। टेम्पुरे जागिरले कमाइ त के हुनु र यसो दुःख सुख टुमटुम दैनिक गुजारा चल्थ्यो उसको। यी प्राभ्रेट कम्पनी– हरुले काम भने पिना हुन्जेल पेल्छन् पैसा भने चिया खर्च मात्र। साह्रै फाइदा लुटेका छन् वेरोजगार युवाहरुबाट।
उसले आफू काम गर्न थाले पछि चिठी लेखेर घरमा र आफ्नी हृदयकी रानी तिर्सनालाई पनि पठायो उसको घरमा ऊ जागिरमा लागेको खबरले धेरै खुसी भए। त्यसैगरी उसकी प्रेमिका पनि धेरै खुसी भई। तर त्यो खुसी धेरै दिन टिक्न सकेन। देशमा द्वन्द्व धेरै चर्कदै जानथाल्यो। कुर्सी पाउने र नपाउनेको बीचमा। अझ भनौं खान पाउने र नपाउनेको बीचमा। खान पाउनेले जनताले तिरेको करबाट उठेको रकमलाई दुरुपयोग गर्न थाले। राजनैतिक नेताहरुको राजधानीमा अलिशान भब्य महल ठडिए भने ती नेताका भरौटेहरुको दिनचर्या परिवर्तन भई तिनीहरुको आडमा अन्याय र अत्यचारमा वृद्वि हुन थाल्यो। कुर्सी हत्याउनको लागि विद्रोह गरेकाहरुले यसैलाई माध्यम बनाएर आफ्नो संगठन बलियो बनाउने मौका पायो। र, जनतालाई जागरुक बनाउदै लग्यो। जनताले कुरो बुझ्न थाले। अझ भनौं पहाडी भेगका जनताहरुले उनीहरुको आन्दोलनलाई सहयोग गर्न थाले। देशमा अशान्ति मच्चिदै जान थाल्यो। आफ्नो मागहरु पूरा गराउनको लागि बिभिन्न समूहहरुले पन्ध्र–पन्ध्र दिनमा आमहड्ताल र बन्द गर्न थाले। देशमा कछुवाको चालमा शुरु भएका बिकाश निर्माणका कार्यहरु क्रमशः वन्द हुन थाले। सरकारले तिनीहरुको जायज मागहरुलाई सम्बोधन गर्नको लागि वार्ता गर्नुको सट्टा हतियार विदेशबाट मगाउन थाल्यो। र, मान्छे मार्ने र मारिने क्रम ज्यादै तिव्र हुन थाल्यो। यसको असर प्रत्यक्ष अप्रत्यक्ष रुपमा सबै क्षेत्रमा पर्न गयो। फलस्वरुप उसले काम गर्न थालेको कम्पनी पनि बन्द हुन पुग्यो। त्यसपछि उसले धेरै ठाउँमा काम खोज्यो। जल्दा बल्दा नेताहरुको पछि पनि लाग्यो। सोर्सफोर्स, नातावाद र कृपावादको जमनामा के को काम पाउथ्यो र उसले। कहीँ पनि पाएन। यसै रनाहामा उसलाई पनि देश बनाउछु भनेर बिद्रोह गर्नेहरु पछि लागू झैं लागेको थियो। तर उसको एउटा बानी भने असल थियो। ऊ झैझगडा कहिले गर्दैन थियो। झगडा गर्ने परिस्थिति आए भागिहाल्थ्यो। त्यसकारण ऊ मार्ने मारिने देखेर डरायो। र, ऊ त्यसमा गएन। तर ऊ कातर भने अबश्य होइन। कसोगरु न के गरुको अबस्थामा पुग्यो केही आए उपाए देखेन। ऊ त्यतिकै भौतारिन थाल्यो। कहिले साथीको कोठामा जान्थ्यो। कहिले आफ्नो नातेदारको घरमा गएर बस्थ्यो। राजधानीमा सम्पूर्ण सामानको भाउ बढेर किन्नै नसक्ने भइरहेको थियो। सधैभरि यसैगरी कसरी गुजारा चल्थ्यो र? एकदुई महिना चाहिँ जसोतसो त्यसैगरी चलायो।

ऊ एकदमै एक्लो र सहाराबिहिन भएको महशुस गर्न थाल्यो। घर फर्किन पनि उसलाई मन लागेन। तर मायालुको यादमा भने ऊ सधैं तडि्परहन्थ्यो। आफन्त र साथीहरुकोमा गइरहदा पनि कसैले कुरा गरे आफ्नै कुरा काटेजस्तो उसलाई लाग्न थाल्यो। हावाले रुखको पात हल्लिदा पनि आफैंलाई जिस्क्याए जस्तो लाग्थ्यो उसलाई। मान्छेहरुको भीडमा पनि ऊ एक्लै कुनै घनघोर जंगलको वीचमा सहराबिहिन अवस्थामा भएको अनुभव हुन्थ्यो। ऊ एकदिन मेरो कोठामा आएर बसिरहेको थियो। मकहाँ गाउँतिर आउजाउ बढी हुने भएकोले गाउँघरतिरको खवरहरु बुझ्न भन्ने निहुँ बनाएर आएको थियो। त्यही दिन वेलुकीपख गाउँको साथी टुपुलुक्क कोठामा आइपुग्यो। उसले गाउँघरतिरको सडेगलेका र झनामसिना भए गरेका सम्पूर्ण कुराहरु सुनायो। उसलाई घरबाट र प्रेमिकाबाट चिठी नआएको छ सात महिना भइसकेको थियो। ऊ आफ्नो प्रेकिले पठाएको अवर सुन्नलाई आतुर जस्तो देखिन्थ्यो। व्याकुल जस्तो देखिन्थ्यो। त्यो साथीले उसको घरमा सबैजनालाई आराम कुशल रहेको कुरा बतायो। उसको प्रेमिका भने बाबुआमाले खोजिदिएको जनकपुरको धनी ब्यापारीको छोरोसँग विहे गरी छोरो पाउनेवाला छ रे भन्ने कुरा सुनायो। ऊ छाँगाबाट खसे जस्तो भयो। केही बोल्न सकेन। निःशब्द बसिरह्यो। मैले र गाउँले साथीले निकैबेर सम्झायौं। तर ऊ गहभरि आँसु पारेर एकोहोरो टोलाइरह्यो। यतिबेला घडीमा रातको दश बजिसकेको थियो। सुनसान रातमा मेरो कोठाको टुहुरे रेडियो साथी एकनाशले कहिले उन्मूक्त त कहिले मटु नै छिया छिया पार्ने विरही गीत गाइरहन्थ्यो सधैंभरि। त्यही जीवनका गीतहरु सुन्दा सुन्दै म भुसुक्क निधाउने गर्थे। तर आज निन्द्रा रानीको काखमा जानेबेला कसैको पीडामा सहनाभूति प्रकट गरिरहेछु। आज पनि त्यसैगरि त्यो रेडियोले मेरो निन्द्रा बोलाउने प्रयास गर्दै आफ्नो काम गरिरहेको थियो। त्यसैबखत मधुर आवाजमा यो गीत बज्यो–
“तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो
ऐना हेरी आफैंसँग प्रश्न सोध्न डर लाग्यो।”
म पनि यो गीतको आवाज सँगै आफैमा हराउन पुगेछु। गाउँले साथीले खाना खाने हैन भने पछि पो म झल्यास्स भएछु। म थाल पखालेर खाना पस्किन लाग्छु। गाउँले साथी भने उसलाई अझै सम्झाउँछ। तर उसले खाना खान मन छैन भनेर त्यतिकै खाटमा पल्न्छि। ऊ त्यतिकै भोलिपल्ट विहान उठेर मेरो कोठाबाट हिड्यो। मैले कहाँ जान्छस् यही दुई चार दिन बस् भने तर ऊ बोल्दै नबोली आफ्नो बाटो लाग्यो। त्यस दिनबाट मेरो कोठामा अहिलेसम्म ऊ आएको छैन। ऊ बेखवर भयो। यो टोल, गाउँ, समाज र सहरबाट नै। ऊ कहीँ पनि देखा परेन। ऊ साह्रै रन्थनियो। राजधनीको कोलाहल भीड पनि उसलाई शून्य जस्तो लाग्न थाल्यो। साह्रै एकलकाटे जस्तो लाग्न थाल्यो। एक्लो अनुभव गर्न थाल्यो। के गर्ने के नगर्ने अन्योलमा पर्यो। शून्यमा कुनै बस्तु हराए झैं ऊ बेपत्ता भयो। उसको खोजखवर परिवार, साथीभाइबाट सक्दो भयो। च्याउ झैं उमि्रएका रेडियो स्टेशन र टेलिभिजन सबैतिरबाट सूचना प्रशारण गरियो। र, मेरो कथाले पनि सक्दो खोजी गर्यो। किनकि मुख्य पात्र विनाको कथा अकथा हुने डर थियो मलाई। तर पत्ता लगाउन भने नेपालका प्रहरी लुटेराहरु समात्न असफल भए झैं मेरो कथा पनि असफल भयो। सियो हराएसरि बेपत्ता भयो।
यसपछि मान्छेहरुले विभिन्न अड्कलहरु गर्न थाले। मान्छेका मनमा विभिन्न शंका उपशंकाहरु तेर्सिन थाले। जता पनि उसकै कुरा हुन्थ्यो।
एकले भन्थ्यो – ऊ मानशिक सन्तुलन गुमाएर कतै हिड्दैहोला।
दोश्रोले भन्थ्यो – ऊ कतै सरकारद्वारा घोषित आतङ्ककारी र सेनाको भिडन्तमा त परेन?
तेश्रोले भन्थ्यो – के ऊ पैसा कमाउन विदेशतिर पलाएन त भएन?
मान्छे पिच्छे फरक–फरक हल्लाहरु चल्न थाल्यो। गानगानगुनगुन बिभिन्न कुराहरु सुनियो–कान्छी प्रेमिका तिर्सनाको श्रीमान मार्नको लागि भेष बदलेर उसको गाउँतिर गएको छ रे। ऊ कहिले पशुपति त कहिले रत्नपार्कको छेउमा बसेर जोगीको भेषमा माग्दै छ रे। हैन, ऊ वैंक लुट्नको लागि सम्पर्क सूत्रहरु पत्ता लगाउदै छ रे। कहाँ, ऊ त धोका दिने जति सबैलाई कारबाही गर्छु भन्दै बदलाको भावना लिएर जंगल पस्या छ रे।
तर मलाई यी हल्लाहरु मात्र हल्ला र खल्ला लाग्यो। कुनै बिश्वासनियता ती तर्कहरुमा देखिन। ती कुराहरुमा कुनै दम भेटिन। ताजा खवर चाहिँ अलि बिश्वासिलो हो कि जस्तो लाग्थ्यो। तिनीहरु यस्ता थिए–
१.मलेशियामा मूढो चिर्दै छ रे।
२.अरबमा वेल्चा चलाउँदै छ रे।
३.देशको समस्या समधान गर्न अनशन बस्दै छ रे।
४.देश ध्वस्त हुन कसरी र कहाँबाट शुरु भयो भन्ने पत्ता लगाउन ऊ अनुसन्धान गर्दै छ
रे।
५.भ्रष्टचारी र देशघातिहरुलाई समाप्त गर्नको लागि ऊ ए.के.फोर्टिसेभेन लिन
छिमेकी देश गउको छ रे।
६.देशमा शन्ति ल्याउन एकजोडी परेवाको हत्या गरेर शान्तिको उद्घोष गर्दै छ रे

७.प्रेमिकाले धोका दिएर अर्कैसँग घरजम गर्न गएको बिरोधमा राजमार्ग बन्द गर्न
संगठन गर्दै छ रे।
तर यी कुराहरु मात्र कुरा खवर बनेर आएको हो कि जस्तो लाग्यो। कुनै बिश्वास गर्न सकिएन। म त दोधारमा परेँ। त्यसैगरी मेरो कथाको उसलाई खोज्ने पात्रहरु पनि।

“ऐक्बद्धता मासिक “बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *