Skip to content


क्रमशः वितिरहेको जिन्दगीमा एउटा नयाँ दिवस आउँछ भने, चारैतिर नयाँ आल्हाद आउँछ भने, सर्वत्र सबैले अभिनन्दन गर्छन् भने हो ! त्यो हो नयाँ वर्ष । गाउन मनलाग्छ गीत नयाँ भने, मुग्ध पार्ने प्रभात जो पदार्पण गर्छ भने त्यो हो नयाँ वर्ष । आशाको नवीन अध्याय सुरुवात हुन्छ भने, सुन्दर आयोजना रोजको आह्वान हुन्छ भने, नयाँ विश्वास सर्वत्र छाउँछ भने त्यो हो नयाँ वर्ष । प्रकृतिदेवीको रङ्गमञ्चका कठपुतलीहरूको राम्रो धेरै राम्रो जिन्दगीको मञ्चन हुन्छ भने त्यो हो नयाँ वर्ष । नयाँ प्रभात लिएर, नयाँ सोपान लिएर दृश्यपान गर्ने रहर जो जाग्छ भने त्यो समय हो नयाँ वर्ष । पुरातन संकुचित अध्याय टुङ्ग्याउनी भएर उमङ्गको नयाँ अध्याय जो आउँछ र छाउँछ भने त्यो हो नयाँ वर्ष । नयाँ प्रीत लिएर, नयाँ भाव लिएर, नयाँ प्रेमको पदार्पण हुन्छ भने त्यो हो नयाँ वर्ष । अशुभ सबै चितामा जलेर खरानी भई हावामा विलीन भई जान्छ भने, स्मरण मै पनि दुःखको क्लेश एक रत्ति मात्र पनिरहन्न भने त्यो हो नयाँ वर्ष । उमङ्गको प्रभाती फूल सुगन्धित भई सर्वत्र जो छाउँछ भने, नवजागरणको नवउत्पात सर्वत्र छाउँछ भने त्यो हो नयाँ वर्ष ।

सर्वत्र स्नेह बर्सिएर भाइचारा कायम भइरहन्छ भने, नव पालुवा बीज अङ्कुरण भई वसन्त बहार फैलिरहन्छ भने त्यो हो नयाँ वर्ष । क्रोध, अहंकार, राग, द्वेष छताछुल्ल भई बगेको नदीको धार नफर्किने जस्तै यदि बहेर भागी जान्छ भने त्यो हो नयाँ वर्ष । ज्ञान, चेतना, मतिको धारा नयाँ शृङ्खलामा प्रभावित भई सदा सर्वत्र छाउँछ भने त्यो हो नयाँ वर्ष । सकारात्मक नव उद्योगले जनजनलाई पुलकित पार्छ भने त्यो हो नयाँ वर्ष । बितेको समय वितिसक्यो, उमेर पनि सबको ढल्किसक्यो, तर यो नवसमय आनन्दको रोमाञ्चकताले भरिपूर्ण भएर झिमझिम परेलीको एक पलक समय लाग्छ भने यसरी नयाँ आउने समय जो छ त्यो हो नयाँ वर्ष । कतिले कति सपना सजाए होलान्, पूरा गर्नेछ नयाँ समयले भनी पर्खिए होलान्, समयको भरोसामा यसरी उत्तेजित भएछन् भने त्यो हो नयाँ वर्ष । साँच्चै नयाँ समयले एकदम प्रफुल्लित तुल्याउँछ भने, उमङ्ग तैरन थाल्छ भने, कल्पनाको पखेटा फर्फराएर विपनामा उडान भर्न थाल्छ भने, आशाको दीप सजिएर उज्यालोको साकार रुप छटा दिन थाल्छ भने, खुसीयालीको यस आगोसमा बहार जताततै आउने ढिपी गर्न थाल्छ भने, जताततै राम्रो, अँझ राम्रो, त्योभन्दा पनि झनै राम्रो रहर वातावरण बन्छ भने त्यो हो नयाँ वर्ष ।

जति बग्यो आँसु जो बगिसक्यो, नदीजस्तै आउँछ अब खुसीको अठोटका साथ हर्षास्रु भने त्यो हो नयाँ वर्ष । धूम मचाएर नयाँ कुराले प्रेमै प्रेमको मित्रता एकदम झकासले सर्वत्र फैलाउँछ भने त्यो हो नयाँ वर्ष । अन्धकार च्यात्ने पहिलो सूर्य प्रभात हो नयाँ वर्षको उज्यालो, सबैको बत्ती दियोको सदा चम्किएको इन्द्रेणी जीवन हो नयाँ वर्ष । एकदमै राम्रो, ताजा, सपनाको साकार, सत्यको तागत, कल्पनाको अनुभव, आस्था र विश्वास सर्वत्र छाउँछ भने त्यो हो नयाँ वर्ष । एउटा राम्रो कर्मको सुरुवात हो नयाँ वर्ष । यो सबैभन्दा ठूलो महाकुम्भ मेला हो, यो खुसी विशेषको हो । अवश्य पनि दुःखको छायाबाट पार पाइनेछ भने त्यो हो नयाँ वर्ष । समय बिताउन सजिलो हुनेछ, आलस्य कदापिरहने छैन, जोस जाँगर सदा शरीरमा देदीप्यमान भइरहनेछ, हरेक सपना साकार तुल्याउने छ भने केवल यो नयाँ वर्ष नै त हो । आँखामा जुन सपना लुकेको छ, मुटुमा जुन अभिलाषा लुकेको छ अवश्य साकार हुन्छ भने त्यो हो नयाँ वर्ष । अब खुसीको सीमाना बढ्दै जानेछ, दुःखको नामनिशान मेटिनेछ, खुसीका लागि सन्त कविरजीले “भोलि हैन आज, आज हैन अहिल्यै” भन्नुभए जस्तै सफल हुनेछ भने केवल यो नयाँ वर्ष नै त हो । जन्तर–मन्तरले फुःफुः गरेजस्तै जीनले खुसी ल्याउने कल्पना गर्छौं हामी भने त्यो जीन नयाँ वर्ष नै त हो ।

समय वितिरहन्छन्, हामी शैशवकाल, वाल्यकाल हुँदै बहिरहन्छौं, क्यालेण्डर फेरिइरहन्छन्, नयाँ वर्ष सबैलाई किञ्चित बधाई दिने पत्रजस्तो मात्र भई नरहोस् । “ह्याप्पी न्यू इयर” भनेर हाँसो मात्र हैन नयाँ वर्षको बधाईको यो पत्रमा नयाँ भाव जाग्नु पर्छ, नूतन आयाम सजिनु पर्छ, समाजका खाल्डाखुल्डी रुपी विसंगति, विभेदहरू पुरिइनु पर्छ अनि हुन्छ सार्थक समय त्यो नयाँ वर्ष । प्रश्न चाहे प्रत्येक जनजनको होस्, समाजको होस् अँझ बढेर राष्ट्र, अन्तर्राष्ट्र, सम्पूर्ण चराचर व्रम्हाण्डको होस् सर्वत्र बहार बनेर, आल्हादित बनेर सुखद उपस्थिति होस् अनि सफल हुन्छ “ह्याप्पी न्यू इयर” खुसी, उमङ्ग नयाँ रौनक वर्ष । हो, यो नयाँ रङ्गको आकाशको नीर नभको उल्लासको सुरुवात हो, यो यस्तो उँचाइको सुरुवात हो सबैमा सर्वत्र विश्वासको, आडको, भरोसाको गगनचुम्बी सुरुवात हो । नयाँ मधुवर्ष सदा सर्वत्रको बनिनु पर्छ अबले अब्बल रुपमा । भगवान्ले सर्वत्र समानताको नववर्षीय रङ्गमा रङ्गाइ देओस्, जे हामी चाहन्छौं त्यो सपनाको महललाई नयाँ वर्षको क्रान्ति समयले पूरा गर्नेछ । दिलले जे पुकारा गरिरहेको थियो अनि सदा गरिरहेको छ, यदि सच्चा दिलले पुकारेको छ भने अवश्य नयाँ वर्षले धूम मचाएर पूरा गर्नेछ । रोदन नहोस् कसैको, यो नयाँ वर्षको पनि चाहना हो, यो ठूलो खुसीयालीको महापर्व हो, यसमा सम्पूर्ण रुपमा डुबुल्की लगायौं भने यसले अवश्य नै सदाको लागि तीर्खाको खडेरी मेटाउने छ । यो नयाँ वर्ष प्रेमभन्दा प्यारो, आशाभन्दा ठूलो, जीवनसाथीभन्दा नजिक, बच्चाभन्दा चुलबुल रमाइलो सबैको मन जित्ने नयाँ वर्ष हो मङ्गल ।

बितेका सबै भूलहरूलाई नल्याउने, सबै राम्रा–राम्रा गुणहरू मात्र ल्याउन उत्तेजित गर्ने यो नयाँ वर्ष हामीले नवजीवनसाथी बनाई अङ्गालेको पहिलो अङ्गालो जस्तो सदाका लागि निम्त्याइरहेका छौं । कतिले कतिलाई कत्ति चित्त दुखाए होलान् बितेका वर्षहरूमा, यसलाई सुधार गरी र सुदृढ रुपमा यो नयाँ वर्षले सबैलाई एक बनाउनेवाला छ । दिन दुई गुणा, रात चौगुणा खुसीयालीको यो नयाँ वर्षदेखि दुःखको अन्त्य अनन्तसम्म हुने निश्चित छ । अन्धकारमा प्रकाश हु्नेछ, पछिल्लो समयभन्दा यो समय सुनौलो क्रान्तिमय हुनेछ, ओजस्वी हुनेछ, उर्जाशील हुनेछ । यो वर्षको समय जुन वितिसक्यो जो वितिसक्यो, गयो फोहोर कसिङ्गर ! सम्झ अब आयो स्वच्छ बहार, हराभरा, सुरम्य । सगरमाथाको उचाइको नीर नभ छुने, सबैको मन हर्ने, सबैको कायापलट गर्ने, आयो राम्रो आयो धेरै राम्रो सुनकेस्रा कस्तुरीको बीना, सुन्दर फूल झैं सुगन्धित राम्रो नयाँ गीत आयो, त्यसको शीर्षक हो “नयाँ वर्ष ” ।

गयो कालो बादल पुराना वर्षहरू, बाँकी छ त्यसमा चाँदीको घेरा, मेघको घनघटापछि उज्यालोले त्यही चाँदीको टलक सर्वत्र जो ल्याउँछ, अन्धकार सब मेटाउने जादूको बहार जो आउँछ भने त्यो हो नयाँ वर्ष । ताराहरू टिलपिल गर्दै नयाँ वर्षको शुभ–कामना आकाश, व्रम्हाण्डभरि जो फैलाइरहेका छन् त्यो यदि नयाँ उमङ्ग भई सर्वत्र छाई फैलन्छ भने केवल यो नयाँ वर्ष नै हो । सबैलाई संसारको राजा जो बनाउँछ भने केवल त्यो नयाँ वर्ष नै त हो । हे बितेको वर्ष ! तिमीले पनि धेरै माया दियौ, अरु गल्ती नगर्न शिक्षा दियौ, धेरै आशा जगायौ, हामी सबैलाई हेरचाह गर्यौ, अब छुट्टिने बेला आयो, तिम्रो धेरै–धेरै सम्झना छ । समय खोला फर्कन्न, वाई–वाई, असीम प्यार तिमीलाई ।

नयाँ वर्ष एउटा अनमोल खुसी हो । सबैका लागि अनमोल उपहार पनि हो । हे नयाँ वर्ष ! तिम्रो आगमनका लागि बोटोभरि फूल विछ्याएर स्वागत गरी, ‘नयाँ वास्नाले मन्त्रमुग्ध पार्ने आगमन जो तिमीले गर्नेछ’ भन्ने आशा छ सबैमा । नौलो जागरणको तुफान हो तिमी नयाँ वर्ष । सारा दुःखहरू सुखमा तौलने, सारा आँसुहरू हाँसोमा तौलने, सारा राजहरू एक पलकमा खोल्ने यही नै त हो नयाँ वर्ष । दुःख दरिद्रको साम्राज्य हटाउने, सुख समृद्धिको राज ल्याउने, सपनालाई नयाँ आयामले बिपना बनाउने, दुर्गम विपन्नतालाई सुगम र सम्पन्नता तुल्याउने, मनमोहक फूलको सुगन्धित हावाले सर्वत्र सुरम्य, मनमोहकरुपले झङ्क्रित तुल्याउने यो केवल नयाँ वर्ष नै त हो ।

पूरै हृदयदेखि धेरै–धेरै अभिनन्दन छ, अभिवादन छ नयाँ वर्ष तिमीलाई ।

नयाँ वर्षको धेरै–धेरै शुभ–कामना सर्वत्र सदाका लागि ।

सम्पूर्णलाई नयाँ वर्षको नवआगमनको धेरै–धेरै हार्दिक मङ्गलमय शुभ–कामना ।

२०७२ चैत्र २६ शुक्रवार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
[email protected]

नोट :- २०७३सालको नववर्षको उपलक्ष्यमा ढिलै भएपनि सम्पूर्ण पाठकहरू तथा शुभचिन्तकहरूलाई यो नववर्षको बारेको निवन्धको साथमा हार्दिक मङ्गलमय शुभकामना !! मेरो यो नववर्षको निवन्ध “अभिनन्दन नयाँ वर्ष” शीर्षकमा राष्ट्रिय दैनिक “नेपाल समाचारपत्र”मा प्रकाशित गरिदिनुभएकोमा सम्पूर्ण “नेपाल समाचारपत्र” टिमलाई पनि हार्दिक मङ्गलमय शुभकामना ज्ञापन गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *