Skip to content
BirendraKathayat


ए…
आमा,
म गोठालो बन्छु
यो समाजको
यो देशको
मेरो देश चौबाटोको बारी हो
मगमगाउने फुलको बारी
बारबिहीन बारी,
गोठालो बिनाको बारी
कैयौं दुष्ट गोरुहरूको नजर
गडेको बारी
बस्ने रहर छ
बारीको छेउमा लठ्ठी समाएर
अनि लखेट्नु छ कोशौं टाढा
जो आउँछन् तिम्रो बारीको
तिम्रो पसिनाको धज्जी उडाउन
यो बारी मात्र होइन
यो चौतारी पनि हो
यो छहारी पनि हो
यो बारी, चौतारी र छहारीभन्दा बढी
हो यो हाम्रो परिचय
हो यो हाम्रो विजय
म यसको वरिपरि बार लगाउन चाहन्छु
यहाँ गडेका नजरमा किला हान्न चाहन्छु
ती गोरुहरू
जो वर्षौदेखि बारी लुट्न जुटेका
थुक निल्दै बुढिएका
ती बुढा गोरुलाई लोटाउनु छ
भीडमा लगेर
आमा
बन्छु है
म गोठालो

वीरेन्द्र कठायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *