Skip to content


धार्मिक पुस्तक र किंवदन्तीमा वणिर्त कैलाश पर्वत र मानसरोवर साँच्चै छन् भन्ने सुनेको दिनदेखि जान मन थियो । ‘एकपल्ट मलाई कैलाश मानसरोवर पठाइदिनूस्’ एक्सपिडिसन हिमालयका सञ्चालक नवीन त्रिताललाई मैले भनेको थिएँ । एक दिन उनले फोन गरे, “मामा ! कैलाश यात्रा जुर्लाजस्तो छ । तयार हुँदै गर्नू । शरीर तन्दुरुस्त राख्नू, बिहान-बिहान जगिङ् गर्दै गर्नू ।”

१७ जेठको बिहान मैले हिमालै आरोहणलाई चाहिने सामग्री भेला पारेँ र केही औषधी बोकेर काठमाडाँैको सोह्रखुट्टे छेउबाट टुरस्टि बस चढेँ । मन सिमलको भुवाजस्तो उडिरहेको थियो । नेपाली र भारतीय गरी १ सय ५ जनाको टोली लिएर बस कोदारीको बाटो हुँदै हुँइकियो । पहिलो बास भयो तातोपानी बजारमा ।

भोलिपल्ट बिहान ८ बजे हामी नेपाल र चीनको सिमाना मितेरी पुलमा लाइन लाग्यौँ, किशोरजस्ता देखिने चिनियाँ सिपाहीलाई पासपोर्ट देखाउँदै । हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलजत्तिकै थियो चिनियाँ अध्यागमन । एक, दुई, तीन घन्टा । घडीको सुईले विश्राम लिएन । उभिएर हामी थाक्यौँ, लखतरान पर्‍यौँ । भीड बढ्दो छ, उभिने ठाउँको पनि अभाव भइसक्यो । खाली ठाउँतिर जाउँ भने पुलिसले छेक्छ, हकार्छ । उसको एक शब्द टेरेन भने घोक्य्राउन, मुन्ट्याउन आइपुग्छ । के महिला, के पुरुष, हातै हालेर धकेल्न पाइने रहेछ । महिला प्रहरीको खाँचो नै नपर्ने । बल्ल पाँच घन्टापछि अध्यागमन पार गर्न पाइयो ।

न्यालम (पुरानो नाम कुती) पुग्न मितेरी पुलबाट ३० किलोमिटर जानुपर्ने रहेछ । दुईवटा सुविधायुक्त बस, आठवटा ल्यान्डक्रुजर, एउटा खाद्यान्न बोक्ने ट्रक र एउटा झोला बोक्ने ट्रक गरी १२ थान वाहन थिए । चट्टान कोतरेर, सुरुङ खनेर बनाइएको विकट पहाडी सडक । तर, ७०/८० किलोमिटर प्रतिघन्टा गाडी कुदाउन सकिने प्रशंसायोग्य । नत्र महाकवि देवकोटाको मदनजस्तै कति दिन हिँडेर पुग्नुपर्ने थियो भोटसम्म ।

३ हजार ८ सय मिटरको उचाइको न्यालममा दुई दिन बस्नैपर्ने । नबसे के हुन्छ? नेपालतर्फको गाइडलाई सोधेँ । “जीवित फिर्न मुस्किल हुन्छ,” उसले जवाफ दियो । ५ हजार ४ सय मिटर उचाइसम्मबाट पार हुनुपर्छ । अझ कैलाश परिक्रमा गर्दा ५ हजार ७ सय मिटरको डोल्मा पास नाघ्नुपर्छ । अक्सिजनको अभाव, लेक लागेर मान्छे मर्न कत्तिबेर लाग्दैन । चीन सरकारले मान्छे नमरून् भनेर होला, ६५ वर्ष पुगेकालाई यात्रा अनुमति नदिने रहेछ । यसअघि ७० वर्ष उमेरको हद रहेछ । गत सालदेखि ६५ वर्ष बनाएको रे ! दिल्लीबाट भिसा आउन नसकेको हुँदा ६५ वषर्ीय एक भारतीय महिलालाई हामीले तातोपानीको एउटा होटलमा छाडेर हिँड्नुपरेको थियो ।

न्यालमबाट केही माथि पुगेपछि ल्हासा जाने बाटो पूर्व लाग्यो, हामी पश्चिम । यहाँ फराकिलो राजमार्ग भेटियो । प्रतिघन्टा सय किलोमिटरको गतिमा हुँइकिँदा पनि थाहा नहुने । बस्ती छैन, मान्छे छैनन् । परपरसम्म हरयिाली देखिएन । बालुवा, गिट्टी र पत्रे चट्टानको साम्राज्य छ । तीव्र बतास चलेको छ तर अक्सिजनविहीन ।

राती नै न्यालममा पकाएर बोकेको लन्च खान हामी एउटा नदीको किनारमा रोकियौँ । यात्राको सर्वाधिक आधुनिक बजार सागा यही नदीको किनारमा दुईवटा पहाडको च्यापमा रहेछ ।

धेरै हिँडेपछि झुरुप्प केही भुइँघर देखिन्थे, ढुंगामाटाका । माटाकै छानो मुन्डाघरजस्ता । धेरै घरमा बौद्धमार्गी जनाउने ध्वजापताका अनि चारवटा साना तारा र एउटा त्यही आकारको तर ठूलो तारा भएको झन्डा फर्फराएको देखिन्थ्यो । लाग्थ्यो, साना तारा जनता हुन् र ठूला तारा शासक । ती घरका आसपासमा मान्छे भने देख्न सकिएन ।

बेलुका हामी न्युडोङ्पामा बास बस्न पुग्यौँ । बाहिरबाट जानेलाई लाग्दो रहेछ, ‘तिब्बतीहरू खान्छन् मात्रै, मलत्याग गर्दैनन् । त्यसैले शौचालय नबनाएका होलान् । ‘ बाध्य भएर अनि लाज पचाएर शौचालयको जोखिम मोल्न छाडेर धेरै तीर्थयात्रीले मैदान नै रोजे ।

बिहानै न्युडोङ्पा छाडियो । अबको गन्तव्य हिमताल मानसरोवर थियो । केही दम्स्याइलो ओरालो जाँदै गर्दा, मानसरोवरमा समर्पित हुन हतारिएको एउटा सानो हिमनदीमा सेता कागहरू माछा टिप्दै थिए । भुइँमा केही हरयिा झार पनि देखिए । पन्छी र हरयिा झारपात देख्दा हाम्रा फोक्सोले केही बढी अक्सिजन पाएको अनुभूति भयो । हाइअल्टिच्युटले घुच्चुक दुखेर औषधी खाइरहेका, लल्याकलुलुक भएर सिटमा पोको परेका यात्रीहरूमा केही ऊर्जा र हौसला थपिएजस्तो देखियो । दक्षिणतर्फ ‘गुरु मण्डला’ (मान्धता) हिमाल हामीसँगै मानसरोवरतिर गइरहेजस्तो लाग्थ्यो ।

मानसरोवरको पूर्वी किनार, आकाश खुला थियो । हिमाल र पर्वतहरू छ्याङ्ग देखिएका थिए । पर्वतहरूको चेपबाट कैलाश पर्वत देखिँदा हाम्रो दलका भारतीय तीर्थयात्री खुसीले उफ्रिए । कुनै समुद्रजस्तो देखिने मानसरोवरको पानी हावाको तीव्र वेगले सोहोरेर कतै लाँदै छ जस्तो लाग्थ्यो । हावा र चिसो पानीको बेवास्ता गर्दै केही यात्रीले स्नान गरे र किनारमा आगो बालेर पूजा गरे । स्नान गरेर होटलमा पुग्दा कोलकाताकी मञ्जुदेवी प्रसाद कालको मुखबाट भागेर घस्रँदै आएजस्ती भएकी थिइन् । धेरैवटा सिरक खापेर सुत्न लगाएको धेरैबेर पछि मात्र उनी सामान्य अवस्थामा आइन् ।

भोलिपल्ट बिहानै उठेर म सरोवरमा गएँ । पानीमा टेकेँ । पानी त कर्‍याककुरुक गर्दै भाँचियो । परपरसम्म हल्लियो ठूलो सिसाको ढापजस्तो । भएभरको हिम्मत बटुलेर लुगा फुकाल्दै किनारातिर फ्याँकेँ र तीन मग पानी जीउमा खन्याएँ । हतारहतार लुगा लगाइसकेपछि अब मरँिदैन भन्ने विश्वास भयो । अब मानसरोवरलाई दाहिने पारेर दक्षिण लागे हाम्रा गाडीका लस्कर । अरू पनि दर्जनौँ गाडी त्यतै लाम लागेर जाँदै थिए । अगाडि मान्धता हिमाल देखिन्थ्यो । करबि दुई घन्टा कच्ची सडक हिँडेपछि मान्धताका सहायक हिमालको फेदी हुँदै हामी पश्चिम मोडियौँ । एउटा सानो पहाड उक्लिएर फेरि हामी ओर्लन थाल्यौँ । मानसरोवर ओझेलमा पर्‍यो र राक्षस ताल आयो, हाम्रा आँखाका अगाडि । यही सानो पहाडले छुट्याएको रहेछ मानसरोवर र राक्षस ताललाई । कसैले आदरपूर्वक ढोगेनन्, त्यहाँ गाडी पनि रोकिएन । हामी राक्षस ताललाई अनादर गर्दै त्यसको किनारमा भेटिएको पक्की सडक समातेर उत्तर लाग्यौँ, दार्चेन (टार्चिन)का लागि ।

दार्चेन छिटोछिटो विकसित हुँदै गएको सानो बजार रहेछ । वनस्पतिको ‘व’ पनि नपाइने अन्नको ‘अ’ पनि नउब्जने । तर, अनन्त हिमाली त्यो उपत्यकामा आँखा तेस्र्याउँदा लहलह गहुँ र धान पाकेको खेत होला जस्तो देखिन्थ्यो । यथार्थमा हिउँ, हावा र पानीले पहेँलिएका ढुंगा र बालुवाबाहेक केही छैनन् । प्रकृतिको अनौठो सिर्जनामा कैलाश पर्वत खडा नभइदिएको भए दार्चेन बजारको अस्तित्व पनि रहने थिएन होला । दार्चेन कैलाश परिक्रमाको बेसक्याम्प रहेछ ।

यहाँ सुत्ने व्यवस्था त राम्रै थियो तर तिब्बती वा चिनियाँहरूले यहाँ पनि बिस्ट्याउने सुविधा दिएनन् । खुला मैदानमा ट्वाइलेट पेपर बोकेर टुक्रुक्क बस्ने, गालामा हात लगाउने र आँखा चिम्लिने कलामा हामी अभ्यस्त भइसकेका थियौँ ।

अर्को बिहान यमद्वारबाट ५४ जनाको टोली कैलाश पर्वत परिक्रमाका लागि अगाडि बढ्यो । कसैले घोडा लिए, कोही झोला बोक्ने ‘पोर्टर’सँगै पैदल हिँडे । अक्सिजनको अभाव, त्यसमाथि रुघामर्की लागेपछि हिँड्नु सम्भव थिएन । हामी गाडी लिएर फिर्‍यौँ । अब हामीले दुई रात दार्चिनमा उनीहरूलाई पर्खिनुपर्ने भयो ।

हिउँ पर्न थाल्यो । हामी सुरक्षित थियौँ, ती अगाडि जानेहरूको के गति भयो होला भन्ने चिन्ता लाग्यो । गुजरातका प्रोफेसर किरटिभाइ पाण्डेय, कोलकाताका निर्मल प्रसादहरू आफ्ना धर्मपत्नीहरूलाई रुवाउँदै छोडेर हामीलाई हेरचाह गरििदनू है भन्दै गएका थिए । ती महिलाहरूका अनुहारमा चिन्ताका बादल थिए ।

भोलिपल्ट बेलुका परिक्रमाका लागि गएमध्येका ४३ जना फिरेर आए । तिनीहरूले नजिकबाट कैलाश पर्वतको फोटो खिचेर ल्याएका थिए । देराफुक भन्ने ठाउँमा हिउँवषर्ाको सामना गर्दै रात बिताएपछि भोलिपल्टको सर्वाधिक विकट यात्रा गर्ने आँट नपुगेर फिरेका थिए तिनीहरू । ६१ वषर्ीय किरटिभाइसहित ११ जना भने त्यो चुनौतीको सामना गर्न अगाडि बढेछन् । ५ हजार ७ सय मिटरको डोल्मा पास (तिब्बतीहरू पार्वतीलाई डोल्मा भन्छन्, डोल्मा पास भनेको पार्वती भञ्ज्याङ) नाघ्नुपर्ने, त्यसपछि पार्वती कुण्ड हुँदै अत्यन्तै कठिन ओरालो झरेर ‘जुटुल्फुक’ पुगेर बास बस्नुपर्ने । हाम्रा टोलीका ती ११ जनाले त्यो चुनौती पूरा गरे । तीन जनाका खुट्टा कुँजिएर नचल्ने भएछन् । शेर्पा टोलीले उनीहरूलाई जसोतसो लिएर आएपछि अस्पताल लगियो । तिनीहरू सामान्य अवस्थामा आए । परिक्रमा सिध्याउनेहरू आएपछि सबै भारतीय यात्रीले तिनका चरण स्पर्श गरे । परिक्रमाबाट फिरेका पतिसँग अंकमाल गरेर पत्नीहरूले धेरैबेरसम्म रुवाबासी गरे ।

तिब्बत प्रवेश गरेपछि हाम्रो अभियानले सात सय किलोमिटर एकतर्फी यात्रा तय गरेको थियो । त्यसमध्ये ६ सय किलोमिटर हिमाली उपत्यका पार गर्दा हामी पश्चिम मात्र गएका थियौँ । हामी जुन उपत्यकाबाट यात्रा गर्‍यौँ, त्यो नेपालतर्फको ठूलो हिमशृङ्खला र तिब्बतपट्टकिो सानो हिम शृंखलाको बीचमा पर्छ । नेपालतर्फको दक्षिणी शृंखलाको सर्वोच्च शिखर सगरमाथालाई हामीले धेरै पूर्व छाडिसकेका थियौँ । कैलाश पर्वत भने उत्तरी शृंखलाको सर्वाधिक सुन्दर र आकर्षक हिमाल रहेछ । सगरमाथा उचाइ र पर्यटकीय दृष्टिले प्रसिद्ध अनि कैलाश धार्मिक दृष्टिले ।

ब्रह्मपुत्र, सिन्धु, सतलज, कर्णाली, गंगा आदि हिमनदीको उद्गमस्थल यही क्षेत्र रहेछ । यस हिसाबले चीन, बर्मालगायत दक्षिण एसियाको भूमिलाई सिञ्चन गर्ने र उर्वरा बनाउने स्रोत पनि कैलाश र मानसरोवर नै रहेछ । आफू निर्जीवजस्तो लाग्ने यस क्षेत्रले करोडौँ मान्छे र प्राणीलाई जीवन दिएको बुझेपछि नमन गर्न मन लाग्यो, गरेँ कैलाशतिर फिरेर । अनि, हाम्रो फिर्ती यात्रा सुरु भयो मानसरोवरलाई दाहिने पारेर ।

नेपाल साप्ताहिक, अंक ५११
२०६९ भाद्र १७

Leave a Reply

Your email address will not be published. Required fields are marked *