Skip to content


डेढ दशकदेखि साहित्यिक यात्रामा अनवरत हिँडिरहेका कवि हुन्, दीपेन्द्रसिंह थापा । नेपाली साहित्यकोशमा जीर्ण पर्खाल (०६४) कविताकृति सुम्पिसकेका उनले ६६ थान कविताको संग्रह ल्याएका छन्, सहयात्री शब्दहरू ।

मानव र समयको पृष्ठपोषणमा जीवन दर्शन, समकालीन स्वर, आत्मबोध, वास्तविकता र कल्पनाको उचित संयोजन छ यसमा । कविताहरूमा जीवन र जगत्को सहयात्रा देखाइएको छ । तिनले समसामयिक भावना, परिस्थिति र इच्छाहरूको प्रतिनिधित्व गरेका छन् । कविता पढ्दा उनी साँच्चैका काव्य साधक प्रतित हुन्छन् ।

दीपेन्द्रका कवितामा देशप्रेम धेरैपटक छताछुल्ल पोखिएका छन् । जीवनको नैराश्यमा घोरिएका छन् । समयको कटाक्षमा रेटिएका छन् । अनभूतिमा उत्रिएका छन् । शब्दसागरमा कल्पनाका थरीथरी मोती र सीपीहरूको संयोजनमा विविधताको मीठो संगम छ । प्रत्यक्ष वा परोक्ष रूपमा न क्षोभ छ, न आक्रोश, न घृणा नै । उनका कविता देशलाई प्रेम, विकृति विसंगतिमा पनि सकारात्मक आग्रह गरी नै रहन्छन् । भावनामा यथार्थको मसी समाएर जीवन जगत्को नदीमा संयमित हुँदै बगिरहन्छन् ।

उनका कविता यथार्थ, कल्पना र विम्बको त्रिकोणमा मूलत: जीवनदर्शनको भावले युक्त छन् । जीवन जगत् स्रष्टाहरूको ऐना हो, यहाँबाट पृथक कुनै कवि हुन सक्दैन । यिनै मानव बस्तीका अवयव छाम्दै कवितामा जीवन दर्शनलाई व्याख्या गर्नु उनको काव्य वैशिष्ट्य हो ।

धेरै कुरालाई विम्बात्मक रूपमा प्रस्तुत गर्न सक्ने खुबी छ कविमा । संग्रहका सबै कविता सरल, सहज, बोधगम्य छन् । ‘पहिचान र प्रश्न’, ‘राजमार्गकी राजकुमारी’, ‘माटो र मान्छे’, ‘आफैँसँग यात्रा’, ‘सहयात्रा’, ‘व्याप्ति’, ‘मन्त्रणा’ आदि कविता उल्लेखनीय छन् । उनका कविता हामीले देखेभोगेको समय र समाजको साक्षात्कार गराउन सफल छन् ।

उनी जीवन भोगाइलाई भावका माध्यमले जोडेर कविता लेख्छन् । शिल्प र शैलीको मेल अनुसार आनन्द दिलाउन सक्छन् । उनका कविता अलंकार, गुण र विम्बले युक्त छन् । लक्षणा र व्यञ्जनाले सुशोभित छन् ।

सहयात्री शब्दहरू
स्रष्टा : दीपेन्द्रसिंह थापा
प्रकाशक : शब्दहार क्रिएसन्स
पृष्ठ : ८०
मूल्य : १२५ रुपियाँ
प्रकाशित: जेष्ठ ५, २०७३

http://nepal.ekantipur.com/news/2016-05-18/20160518194156.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *