Skip to content

नलेखिएका कथाहरू: कहिले गाडीको स्टेरिङ कहिले जीवनवादी कविता लेखन

20160528_PeshalAcharya-Lekh


लेखन दैवी शक्ति या ईश्वरप्रदत्त गुण हो । संसारमा नामी र दामी कहलिएका कुनै पनि लेखकहरूले लेखक बन्नका लागि तालिम या औपचारिक शिक्षा लिन स्कुल या क्याम्पसमा गएका छैनन् । जानु पनि पर्दैन । लेखन त्यो अह म हो जो जीवनपर्यन्त रहिरहन्छ । लेखनका लागि अलिकति भोक, अलिकति अहम र अलिकति अमरत्वको जीजीविषा हुनु पर्छ । साहित्य लेख्नका लागि जसकसैलाई छुट छ तर त्यो लेखिने विषयवस्तु समय र मानिसलाई चित्ताकर्षक हुनु पर्छ । यति भनेपछि साहित्यको अकण्टक आवश्यकता आफैँ प्रष्ट हुने गर्छ । पहराको फूललाई प्रकृतिले आफैँ सुवाष दिने गर्छ । गमलाको फूललाई मात्र पानी र मलको आवश्यकता पर्छ ।

यी माथिका कुरा रामेछापका युवाकवि तथा लेखक लालबहादुर तामाङमा अक्षरशः लागू हुन्छ ।

साहित्य लेख्नका लागि विद्यालय अनि विश्वविद्यालयका विभिन्न तह पढेर र सो तह उत्तीर्ण गरेर अनेक खालका डिग्रीहरू लिनै पर्छ भन्ने छैन । कोहीकोही मानिस त जन्मजात साहित्यकार हुन्छन् । उनीहरूको प्रतिभालाई आम मानिसले नचिनीकन मृत्युवरण गर्न बाध्य हुन्छन् । यो संसारमा सबैले आफ्नो कला र प्रतिभालाई प्रस्तुत गर्ने अवसर नै पनि प्राप्त गर्दैनन् । जीवनप्रतिको अथाह दृष्टिकोणले भनौं फिलिङ्सले मानिसलाई प्रचुर सम्भावनाको प्रतिभाशाली व्यक्ति बनाउन पनि सक्छ । अँझ भनौ साहित्यकार बनाउन सक्छ । विद्वान्हरूले भनेका छन् –कलात्मक जीवन दृष्टि भएको मानिस नै कवि हुन्छ ।

अहिलेको सन्दर्भमा भएको पनि ठिक त्यस्तै छ ।

हो, त्यस्तै एकजना युवा र जोसिलो साहित्यकार हुनुहुन्छ –हामी माझ । वहाँ गीत लेख्नुहुन्छ । कविता कथ्नुहुन्छ । कथा र उपन्यासका प्लटमा सररर्रअ हात कलम बढाउनुहुन्छ । निबन्ध लेख्नुहुन्छ । लेखहरू पनि लेख्नुहुन्छ । अहिले पनि वहाँ आफूले वैदेशिक रोजगारमा जाँदा आफू गएको अरबका ताता ती नैऋत्यिक मुलुकबाट ल्याएका कथाका स्केलेटनहरूमा प्राण भर्न खोजिरहनु भएको छ । वहाँ विगत् एक वर्ष अगाडि जीविकोपार्जनका लागि साउदी अरेबियाको रियाद सहरमा हेभी गाडी चालक भएर चौँतीस महिना विदेश बसी आखिरमा नेपाल नै फर्कनु भयो । वहाँ हुनुहुन्छ –लालबहादुर तामाङ ।

तीन छोरी र एक छोराका व्यवहारिक पिता आफ्नो तर्फबाट निभाएको भूमिकाका आधारमा असल पति पनि हुनुहुन्छ । तपाईंहरू कहिलेकाहीँ आन्तरिक पर्यटन अभिवृद्धिका लागि भनेर मन्थलीको सैर गर्दा रिभर्ज बोलेरोमा पर्नुभयो भने त्यो कवि लालबहादुर तामाङको गाडी पनि पर्न जान्छ । अहिले नेपाली साहित्यका प्रख्यात साहित्यकार जगदीश घिमिरेको अन्तर्मनको यात्राको सफलताले मन्थलीको आन्तरिक पर्यटनलाई वृद्धि गरेर मध्यमाञ्चलमा मन्थलीको नाम निकै चम्काएझैँ आख्यानकार लालबहादुर तामाङ पनि मन्थली जाँदाका प्रिय चालक र साहित्यकार दुवै हुन सक्छन् । तपाईंको यात्राका प्रिय साथी अर्थात् चालक साहित्यकार ।

हातमा गाडीको स्टेरिङ भए पनि मन, मुटु र कल्पनाको शक्तिका कारण वहाँ कवि, निबन्धकार र कथाकार पनि हुनुहुन्छ । २०२६ साल मंसिर २२ गते पिता भैमान तामाङ र आमा सुकमाला तामाङका कान्छा छोराका रूपमा जनकपुर अञ्चल, रामेछाप जिल्लाको ओख्रेनी –८मा जन्मनु भएका तामाङले मुस्किलले कक्षा ८सम्मको अध्ययन गर्नुभएको छ । वहाँ पेसाले चालक हुनुहुन्छ । आफ्नो निजी सवारी चलाएर जीवन चलाउनु वहाँको दिनचर्या हो भने स्थानीय पत्रपत्रिकाहरूमा लेख्नु वहाँको सौख हो ।

‘जन्मसिद्ध प्रतिभा प्रत्येक मानिसमा हुन्छ । प्रतिभा भएको जानकारी प्रत्येक मानिसलाई हुँदैन । कथंकदाचित थाहा भयो भने मात्र मिडियामा आउँछ नत्र आउँदैन ’ भन्ने अवधारणा राख्ने तामाङ अत्यन्तै मिजासिलो र रसिक पनि हुनुहुन्छ । २०६६ सालमा ‘तामाकोसीको किनारैकिनार’ नामक ओजपूर्ण सम्भावनाको कवितासङ्ग्रह प्रकाशन गर्नु हुने तामाङ रामेछापका समकालीन साहित्यकारहरूमा गम्भीर र युवा कविका रूपमा चिनिनुहुन्छ ।

आफूले बिताएको पूर्व जीवनलाई कस्तो रूपमा देख्नुहुन्छ ? भनी प्रश्न राख्दा तामाङ भन्नुहुन्छ –‘जीवन भोगाइको क्रममा मबाट भएका गल्ती, कमि र कमजोरी तथा मेरो सुख दुःखलाई वर्तमान तथा भविष्यका लागि शिक्षाको रूपमा ग्रहण गर्दै अघि बढ्ने प्रण गरको छु ।’ विदेशबाट आएपछि पनि तपाईं आफू गाडीको चालक भएर पनि लेखन कार्यबाट विमुख हुनु भएको छैन किन नि ? आफ्नो साहित्य लेखनबाट सन्तुष्ट हुनुहुन्छ ? भनेर सोध्दा हाँसीहाँसी वहाँले भन्नुभयो –‘मेरो ठाउँमा आफैँ उभिएर हेर्दा जे जति लेखियो यसमा म सन्तुष्ट नै छु तर जेजति लेखियो त्यो सबै पाठकसम्म पुग्न नसक्दा दुःखी भने अवश्य भएको छु । किनभने हामीजस्ता लेखकले लेखेका कुनै सिर्जनाहरू मिडियाले प्राथमिकता दिँदैनन् । प्रकाशन गृह र सञ्चार क्षेत्र ठूलावडाले आफ्ना मुठ्ठीभन्दा बाहिर जान दिएका छ्रैनन् । एक हिसाबले ठूला माछाले साना माछालाई निलेजस्तै ठूला साहित्यकारले साना साहित्यकारलाई निलिरहेको अवस्था छ । तैपनि म आफ्नो तर्फबाट संघर्ष गर्दै छु ।’

‘प्रकाशनको हिसाबले २०६६ सालमा कवितासङ्ग्रह ‘तामाकोसीको किनारै किनार’ प्रकाशनमा आयो । त्यसपछि म आफ्नै कारणले विदेशिनु पर्यो । विदेश बसाइकै क्रममा एक उपन्यास, एक लघुउपन्यास र एक कथासङ्ग्रहको पाण्डुलिपि तयार गरेर ल्याएको छु । र यसलाई प्रकाशनमा ल्याउनका लागि म उचित समयको प्रतीक्षामा रहेको छु ।’

परिवार, पेसा, घर र इच्छाका बारेमा स्पष्ट पारिदिनुहोस् न ?भन्दा वहाँ अँझ जोसिलो पारामा उत्तर दिनुहुन्छ –‘परिवार तथा पैसालाई प्राथमिकता दिनुपर्दा आफ्नो इच्छा मार्नु पर्छ –यहाँ । म पनि परिवार तथा पैसालाई प्राथमिकता दिनु पर्दा आफ्नो इच्छालाई मारिरहेको छु । आफ्नो रहरलाई आफैँले कुल्चिरहेको छु ।’

तपाईँ स्वदेशमा मात्र होइन विदेशमा पनि चालक हुनुभयो सारमा भन्नु पर्दा देश र विदेशमा चालकको भविष्य कस्तो छ ? कृपया बताउनुहोस् भनेर जिज्ञासाका पोयाहरूलाई वहाँले यसरी आफ्नो सीपले बाट्न खोज्नुभएको थियो –‘सवारीको आनन्द लिने हो भने हाम्रै देशको यात्रा राम्रो छ । छिनछिनमा नयाँ ठाउँ मोडहरूमा प्राकृतिक स्वाद लिँदै यात्रा गर्दा रमाइलो हुन्छ । विदेशमा त्यसरी आनन्द लिन पाइँदैन । सबैतिर उस्तै पट्यारलाग्दो यात्रा तय गर्नुपर्छ । आर्थिक रूपमा हो भने यहाँभन्दा त्यहाँ विदेशमा राम्रो आम्दानी हुन्छ । भविष्यको कुरा गर्नुहुन्छ भने सवारी चालकको कुनै भविष्य छैन । कुनै घुम्ती मोडहरूमा जे पनि हुनसक्छ ।’

त्यसोभए चालक भएर साहित्य लेख्न सजिलो छ त ? भन्ने प्रश्नको उत्तरमा लालबहादुरले भन्नुभयो –‘चालकहरू बौद्धिक वर्गभित्र पर्दैनन् । बौद्धिक वर्ग नभएपछि साहित्य लेख्ने÷पढ्ने भन्ने कुरा पनि भएन । किनभने हाम्रोजस्तो विकासोन्मुख देशमा व्यावसायिक चालक हुने भनेको एसएससी पास गर्न नसक्नेदेखि १, २ कक्षामात्र पास गरेकाहरू सवारी चालक भएका छन् । अपवाद्मा एकदुई जना राम्रै पढेलेखेर पनि चालक भएका छन् । मेरो सन्दर्भमा भने मलाई जसरी पहिले सवारी सिक्न गाह्रो भएको थियो ठिक त्यसैगरी नै साहित्य लेख्न पनि चुनौतीपूर्ण लाग्थ्यो । अब त बानी नै परकाले होला दुवै आनन्द आउँने विषय भएका छन् ।’

तपाईं कत्तिको पुस्तक र पत्रपत्रिकाहरू पढ्नुहुन्छ । यहाँका विचारमा, नेपाली साहित्यका उत्कृष्ठ साहित्यिक कृतिहरू केके हुन् त ? भन्ने प्रश्नमा तामाङ एकछिन मजैले घोरिनु भयो अनि आफ्ना अभिमत यसरी सुनाउनु भयो –‘समय र परिस्थितिले जति पनि उपलब्ध भएका साहित्यिक कृतिहरू अध्ययन गर्न पाएको छैन । जति अध्ययन गरियो त्यसमध्ये मलाई उत्कृष्ठ लागेका कृतिहरूमा विश्वेश्वरप्रसाद कोइरालाको जेल जर्नल र आत्मवृत्तान्त, कृष्ण धरावासीको राधा उपन्यास र आधा बाटो उपन्यास, जगदीश घिमिरेको अन्तरमनको यात्रा र महेशविक्रम शाहको सिँपाहीकी स्वास्नी आदि थुप्रै कृतिहरू छन् । पत्रपत्रिकाको हकमा म कान्तिपुर दैनिक दिनहूँ पढ्छु । अनि मधुपर्क पनि मासिक रुपमा पढिने गरिन्छ । जे होस् अहिले नेपालमा राम्रा पुस्तक प्रकाशित भएका छन् भने पठन संस्कृतिले पनि राम्रै गति लिएको छ ।’

रामेछापको साहित्यिक गतिविधिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ भनेर साहित्यक भलाकुसारीको बिट मार्न लाग्दा कवि लाबहादुर तामाङले यसो भनेर कुराको चुरो खोल्नुभयो –‘रामेछापको साहित्यिक गतिविधिलाई नियाल्नु पर्दा अहिलेको साहित्यिक गतिविधि भनेको कोदो र तोरीसँगै मिसिएको अवस्था हो । यो बिस्तारै कोदोको कोदो नै तोरीको तोरी नै छुट्टिने छ भन्नेमा म विशस्त छु’ भन्ने विचार राखेर नयाँ पुस्ताप्रति कतिको आसावादी हुनुहुन्छ त ? भन्ने प्रश्नमा ? वहाँको विचार सपाट रहेको पाइयो । ‘नयाँ पुस्ताको कुरा गर्नु पर्दा आफैँ नयाँ पुस्ताको प्रतिनिधित्व गर्छुजस्तो लाग्छ –मलाई । त्यसैले म नयाँ भनौं हाम्रो पुस्ताप्रति धेरै आसावादी छु । मलाई लागेको कुरा के हो भने समग्रमा सबैले साहित्य भनेको नाटक, उपन्यास, कथा, कविता, निबन्ध मात्रै साहित्य हो भनेर जुन बुझ्ने आम प्रचलन छ । त्यो मात्रै साहित्य हो भन्ने मलाई लाग्दैन । प्रत्येक व्यक्तिको प्रत्येक आयामहरू साहित्यमय हुन्छन् । लेख्नसक्ने शिल्पीले लेखेर पाठकसम्म पुर्याउँछ । ऊ मात्रै साहित्यकार होइन । सबै मानिसमा भावनाको नदी बगिरहेको हुन्छ । त्यसैले संसारको हरेक मानिस साहित्यकार हो ।

भविष्यमा कवि तथा साहित्यकार लालबहादुर तामाङका कृतिहरूले नेपाली साहित्यमा आफ्नो नाम रोशन गरुन अहिलेलाई यही नै कामना गर्नु नै वहाँको साहित्यिक यात्राको सफलताको कामना हो ।

प्रस्तुति : पेशल आचार्य

तस्बीर – चालक तथा साहित्यकार लाबबहादुर तामाङ एक साहित्यिक गोष्ठीमा प्रवचन दिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *