Skip to content


आफ्नै रगत र कोखबाट
जन्म लिएको छोराले
छुट्टिन खोज्दै अंश मागेपछि
बाबुआमाले बाध्य भएर
स्वीकारे।

र त्यसपछि घर छुट्टियो,
भान्छा छुट्टियो,
घर र भान्छा सँगसँगै
मन पनि छुट्टियो।

बाँडनलाई त
तिलदेखि तेलसम्म बाँडियो,
नूनदेखि सुनसम्म बाँडियो।

तर बिडम्बना
आमाले नौ महिनासम्म गर्भमा राखी
छोरा जन्माउँदाको पीडा बाँडिएन।

बाबुले प्राण हत्केलामा राखी
बिदेश पसेको दु:ख बाँडिएन।

बाँड्नलाई त
बाबुले दु:ख गरी कमाएको श्रीसम्पति सबै बाँडियो
तर त्यही सम्पत्ति कमाउँदाको पीडा बाँडिएनन।

सम्झने हो भने
छोरा बिरामी हुन्छ कि,
भोको पेट लिएर रुन्छ कि,
दिशा पिसाबमा गडछ कि
भनेर जागै बसेको अनिद्रा रातहरू बाँडिएनन।

आफूहरू भोकै बसेर भए पनि
छोरालाई खुवाएको मर्मस्पर्शी यादहरू बाँडिएनन।

सारा सम्पत्ति भनेकै छोरा नै हो भनेर
गरेका दु:ख बाँडिएनन।

आजभोलि
आमाबाबुको बाँडिएको सम्पत्ति पनि
छोराले नै खोसेपछि
सडकको पेटीमा बसिरहेको आमाबाबुले
जिन्दगीमा कहिल्यै गुनासा गरेनन
यो बाँडिएन,
त्यो बाँडिएन।

दीपेन्द्र चन्द ठकुरी
दक्षिण भारत
घर बैतडी नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *