Skip to content


जीवनमा आफैँतिर फर्केर आफ्नै आँखाले आफूलाई हम्मेसि हेरिँदैन । यो मानव स्वभाव हो । बाहिर–बाहिर हेरिन्छ, परपर हेरिन्छ र एक न एक धुनमा कतै न कतै हिँडिन्छ । यसरी हिँड्दा जीवनको केवल बाहिरी र स्थूल दृश्य देखिन्छ, आन्तरिक र सूक्ष्म दृश्य अगोचर हुन्छ । हित्तचित्त मिलेका मित्रसँग अन्तरंग वार्ता हुँदा यदाकदा दृष्टि हठात् आफूतिर मोडिन्छ र अन्तस्करणको दर्पणमा आफ्नो आन्तरिक अनुहार देखिन्छ । मलाई एक दिन त्यस्तै भयो । देवेन्द्रराज पाण्डेसँग थिएँ, उनकै मायालु घरपिँढीमा ।

भन्छु भनेर होइन सायद, स्वस्फुर्त रूपमा उनका ओठबाट वचन फुत्कियो, ‘जीवनमा मैले कसैलाई दु:ख दिएको छु भने आफ्नै श्रीमतीलाई दिएको छु । दु:ख पनि हेर खगेन्द्र, कति कति !’ बूढाका भावुक आँखामा क्लेशयुक्त पछुतोको भाव उत्रिएको मैले देखेँ । त्यो मार्मिक वचन र आँखाको त्यो विशादयुक्त भावले मलाई चड्कनरूपी झट्का दिए । अनि, मेरो दृष्टि आफ्नै स्मृति–शृंखलातिर मोडियो । ठन्डा दिमागले गम खाँदा मलाई महसुस भयो– हो त नि, आखिर मैले पनि जीवनमा कसैलाई दु:ख दिएँ भने आफ्नै श्रीमतीलाई त दिएँ । हो, श्रीमतीलाई र सँगसँगै छोराछोरीलाई !

घरायसी जीवनको डुंगा चलाउने मार्गचित्रबिना नै घरजम गरेँ । एक्लो थिएँ, श्रीमतीसहित दोक्लो भएँ । प्रेमको न्यानो गुँडमा छोराछोरी कोरलिए । पहिले छोरीले धरती स्पर्श गरी, पाँच वर्षपछि मनुष्यलोकमा छोरो प्रकट भयो । तर, पूर्णकालिक गृहसेवक बन्न मलाई आफ्नो स्वभावले दिएन । एकबारको जुनीमा गृहभन्दा बाहिर मेरा केही रंगीन आदर्शहरू थिए । अनगिन्ती पददलित जनको सामूहिक संग्रामको बाटो हिँडेर क्षितिजपारि कतै उज्यालो ठाउँमा पुगिन्छ भन्ने विश्वास थियो । मेरो विश्वासलाई टेको दिने केही वास्तविक र कल्पित आदर्श पात्रहरू थिए । ती थिए मेरा लागि सघन अन्धकारका जूनकीरीजस्ता ।

गोर्की र ओस्त्रोब्स्कीका दुई पाबेल थिए । आफ्नै हृदयको सूर्य बालेर भयावह दलदलमा, घनघोर वर्षामा, सर्प र बीच्छीहरू भएको जंगल छिचोलेर संकटग्रस्त मानिसहरूलाई सुरक्षित र उज्यालो ठाउँमा पुर्‍याउने गोर्कीको डाँको थियो । अन्धकार पृथ्वीमा उज्यालो छर्न स्वर्गका दुष्ट जेउसको दरबारबाट आगो चोरेर ल्याउने प्रमिथस थिए । गोर्कीका उत्कृष्ट शहिद यशु ख्रिस्ट थिए । बर्बरतन्त्रको वधशालामा मारिँदामारिँदै रगतको मसीले डायरी लेख्ने अद्भुत मानव जुलिएस फ्युचिक थिए । र, यता आफ्नै देशका कृष्णलाल सुब्बा र गंगालालहरू त यसै पनि छँदै थिए । यी सबैको प्रेरणा र हौसला पाएर म सामूहिक संग्रामको गौरवमय यात्रामा निस्केँ ।

घरको सिंगो सगर श्रीमतीका काँधमा पर्‍यो । छोराछोरीको स्याहारसुसार, घरको सरसफाइ, पकाइ–तुल्याइ, अतिथि सत्कार सबै उनैका काँधमा । आफू त अरू कसैका घरमा यसो कहिलेकाहीँ टुप्लुकिने पाहुनोजस्तो । हुनलाई मैले घर हेर्दै हेरिनँ भन्ने होइन । मास्टरी गरेँ, आनासुकी कमाएँ । ट्युसन पढाएँ, दुईचार पैसा जोडेँ । गोरागोरीहरूलाई नेपाली सिकाएँ, अनुवाद गरेँ । ती पनि पैसै दुहुने धन्दा थिए । तर, घरको नित्य दिनचर्यामा म अक्सर गयल हाजिर भएँ । यसै मेसोमा हो मैले घरका प्रियजनहरूलाई दिनुसम्म दु:ख दिएको !

दु:ख दियाइका कथा बग्रेल्ती छन् । तिनमध्ये एकाधको म यहाँ बयान गर्छु । कुरो ०३२ सालको हो । शाही ‘नयाँ शिक्षा’को खाँट्टी मास्टर मानिन निधारमा बिएडको छाप ठोक्नुपर्थ्यो । श्रीमती दोजिया थिइन् । अस्पतालमा उनको गरिखाने जागिर थियो । उनलाई बन्दीपुरमा एक्लै छाडेर सेवाकालीन एकवर्षे बिएडको छाप ठोकिमाग्न म कीर्तिपुर आएँ । कुनै वागी निशाचरले छरेको पर्चाले एक दिन काठमाडौँलाई हल्लायो । धुइँपत्ताल खोजेर पर्चा पढेँ । त्यो पर्चाले सिंहासवनवासी ‘विष्णुका औतार’लाई भन्नु नभन्नु भनेको रहेछ । पर्चा अर्काले लेखेर छर्‍यो, म पक्राउ परेँ । अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ थिए, पढेलेखेका मानिस । विनम्र र मृदुभाषी । तिनले मलाई ‘स्कलर’ भनेर फुक्र्याए । अरूलाई भए थुनिहाल्थे, प्रमाण फेला नपरुन्जेल तिमीलाई तारिख दिन्छु भनेर तिनले मेरा घाँटीमा कुटिल चालले तारिखको सुर्काने कसे ।

लेख्नु न छर्नु, बित्थामा मलाई भाउँतो आइलाग्यो । दिनदिनै निहुरमुन्टी न भएर अञ्चलाधीश अफिस धाउनुपर्ने । मेरो तारिख बुझ्ने आसनमा सहायक अञ्चलाधीश थिए । सुन्दरप्रसाद शाह थियो क्यार तिनको नाम । दिनदिनै भेट्दा ती साथीजस्ता भए । एक दिन तिनले खुसुक्क भने, “के गर्नु संग्रौलाजी, पर्चाको भाषाले तपाईंलाई फन्दामा पार्‍यो ।” “किन मान्यवर ? खै, यस्तो भाषा लेख्ने अरू कोही छैन भन्छन् । लेख्ने हात अदृश्य छ, दोष लाग्यो मेरो निर्दोष भाषालाई !”

एक दिन तारिख धाएर दिक्क मान्दै भोटाहिटीको गल्लीमा सुस्केरा हाल्दै थिएँ, बन्दीपुरे मित्र चीजकुमार पिया भेटिए । प्रसन्न मुद्रामा तिनले खुसखबरी सुनाए– बधाई छ सर, जमुना दिदीले छोरी पाइन् । खबर सुनेर मलाई त ब्रो, उडुँ कि गुडुँजस्तो लाग्यो । यता घाँटीमा शाहवंशीय तारिखको पासो छ, उता छोरीले धरती स्पर्श गरी । मन उडेर अघि नै उता पुगिसक्यो, ज्यान यता ‘विष्णुका औतार’को बन्देजमा छ । भोलिपल्ट सहायक अञ्चलाधीशछेउ बिन्ती बिसाएँ, “सर, मलाई एकाध दिन यो तारिखबाट फुकुवा गर्न मिल्ला कि ? सुत्केरी श्रीमती एक्लै छिन्, नवजात छोरीलाई हेर्न उपध्रो रहर छ ।” सहायक आफ्ना हेड सरलाई सोध्न अर्को कोठामा गए । फर्केर उनले भने, “नमिल्ने भो सर † कि सफाइ कि कारागार, दायाँबायाँ कुरै छैन ।” हेड सरबाट यस्तो आज्ञा भएछ । मेरो चित्तमा सन्तापको ज्वार उठ्यो र मेरा ओठबाट आहत सुस्केरा पोखियो ।

अलि दिनपछि वास्तविक पर्चा लेखक र छरकहरू फेला परे र बिनाकसुर फत्तुर लागेको भाषासहित म फुकुवा भएँ । दायाँबायाँ केही नहेरी हान्निदै म बन्दीपुर पुगेँ । सुत्केरी श्रीमती अस्पतालमै रहिछन् । विस्फारित नजरले नवजात छोरीलाई अपलक हेरेँ । अहो, कति सानी ! पहिलोपटक छोरीलाई हेर्दा मेरो मनमा अनायास उठेको भावतरंग यही हो– अहो, कति सानी ! त्यस्तो सुकसुकाउँदो शिशु मैले कहिल्यै देखेको थिइनँ । कति कोमल, कति निर्मल, कति लघुकाय, कति कमजोर ! छोए कतै दाग पो लाग्ला कि ! कतै साह्रो पो समाइएला कि ! छोरीलाई छुन, उठाउन र काखमा लिन मलाई आँट आएन । त्यो मेरो अस्तित्वको निरन्तरता र मेरो अमरत्वको दसीलाई मैले केवल हेरेँ र अपलक हेरिरहेँ ।

म बल्ल श्रीमतीतिर फर्किएँ । अनुहारमा त्यतिविधि अत्यास वा पीडाको छनक पाइनँ । साउती गर्दै सोधिन्, “तिमीलाई पक्रेछन् त ! किन ? यहाँ को–कोले के के भन्या छन् !” गणतन्त्रमा अचेल जीवनको उदात्त पथमा लागेर पक्रिइनु इज्जतको कुरा हो, राजतन्त्रमा ऊबेला अपराध मानिन्थ्यो । समाजले मलाई अपराधी ठानेछ र म ‘अपराधी’को अनुहार मेरी श्रीमतीका अनुहारमा लगेर टाँसिदिएछ । भाषामार्फत शंका गरिने म, पक्रिइने म, केरकार गरिने म, तारिखमा अल्झाइने म, दोष मेरी श्रीमतीलाई ! अनि, त्यो दोषारोपणबाट उत्पन्न असह्य पीडा…।

०३७ साल । हाम्रो मास्टरी संगठन लिट्टी कसेर आन्दोलनको धुनमा लागेको थियो, म झ्याप्प पक्राउ परेँ । मलाई अलि दिन भरतपुरको नारकीय खोरमा कोचियो । खोरका बन्दी र कैदीहरू एक दिन उत्ताल आवेगसाथ नाराबाजी गर्न थाले । तिनका माग मसिना थिए । भलिबल र नेट, क्यारेमबोर्ड र गोटी, चेसबोर्ड र चेसका सेनामेना आदि । शठ प्रशासनले मलाई नाराबाजीको नेता ठान्यो, जो म थिइनँ । मलाई पोको पारेर अपमानसाथ वीरगन्ज चलान गरियो । महिना असार, ठाउँ वीरगन्ज । मच्छडसहितको मौसमका कुरा गर्नै परेन । तैपनि, जेलमा मेरो बसाइ ठीकै थियो ।

पढ्नलाई पुस्तक थिए, लेख्नलाई कलम–कापी । साथमा शिक्षक संगठनका अध्यक्ष बद्री खतिवडा थिए । र, वीरगन्जका विद्यार्थीहरू विजयकान्त कर्ण र उदयराज पाण्डेहरू पनि थिए । शिक्षक आन्दोलनका एकाध कल्पनाशील ‘नेता’हरूका दिमागमा करुणाशून्य भूत सवार भएछ । र, तिनले जेलमा मेरा जीव्रामा करेन्ट लगाइयो भनी अखबारका पन्नामा डंक पिटेछन् । “मेरा प्रियजनहरूका हृदयका घाउमा नूनचूक लगाउन यो निष्ठुर झूटको खेती किन गरिया हो, मान्यवर ?” उत्तर : “सत्ताको क्रूरता देखाएर आन्दोलनमा राप र ताप भर्न ।” धइत् † पाँच वर्षकी मेरी छोरी लुखुर–लुखुर इस्कुल जान्थी । ‘अब तेरा बाउलाई मार्छन्,’ इस्कुलका चुलबुले केटीहरूले उसलाई भनेछन् । करेन्टको काइते किस्सा छँदै थियो, अब त्यसमा मार्ने कुरा थपियो !

एक दिन श्रीमती र साली दीपा पाँच वर्षकी छोरी र नौ महिनाको छोरो बोकेर जेलमा आए । आतंकले सातो उडेकी छोरीको कलिलो अनुहार एकदमै ओइलाएको थियो । बिदा हुने बेलामा जेलको ढोका आधा खुल्यो र ढाड कुप्रो पार्दै म भित्र पसेँ । फर्केर हेर्दा देखेँ– छोरीका आँखा टलपल–टलपल भएछन् । बाउ, तिमीलाई देख्नु यति नै पो हो कि ! निर्दोष छोरीको त्यो दशा देख्दा मेरो हृदय क्लेशको करौँतीले
र्‍याइँर्‍याइँ रेटियो ।

०५२ साल । फागुन २ गते माओवादी कणहरूले हतियार उठाए । ६ गते म तिलस्मी शैलीमा पक्राउ परेँ । मलाई महाराजगन्जमा दंगा प्रहरीको खोरमा हुलियो । एकलासे ठाउँ, वरिपरि बन्दुकको घेरा । बाहिरी संसारसँग सम्पर्क बिलकुल सुन्नाराम । माघको ज्यान कठ् यांग्रिने जाडो, कुहेको चामलको भात, आँसुजस्तो तुरुक्क दाल । पापी बजियाहरूले मार्न पो ल्याका हुन् कि ! सशंकित मनमा भएको गोमन सर्प मडारियो । कान्तिपुरको हस्तक्षेप र सहृदयी मित्रहरूको अथक चेष्टाले धन्न म बधशालाबाट मुक्त भएँ । म हनुमान ढोकामा सारिएँ । पहिले श्रीमती र छोरी भेट्न आए । तिनले मनको ताप मनमै लुकाएर आफू खासै विचलित नभएको अभिनय गरे । छोरो १५ वर्षमा हिँड्दै थियो, भोलिपल्ट भेट्न आयो ।

डिएसपी दुर्जकुमार राई थिए । तिरहेछन् मेरा गज्जपका पाठक । तिनले चिया–बिस्कुटको सत्कारसहित आफ्नै कार्यालयमा मलाई छोरासँग भेट गराए । चुस्स दाह्रीजुँगा, मैलो लुगा, दुब्लो अनुहार, मेरो रूप त्यसैत्यसै विरूप भएको थियो क्यार ! छोराले मलाई पुलुक्क हेरेर आहत आँखा भुइँमा लतार्‍यो । ऊ गलित थियो, ऊ निस्तेज थियो, ऊ अवाक् थियो, ऊ होसहवास गुम भएजस्तो थियो । सुलसुलेरूपी सूत्रबाट पछि थाहा पाएँ, अन्धमती शठहरूले मलाई माओवादी मोहन वैद्य भन्ठानेर पक्राउ गरेका रे ! पहिले पर्चामा मेरो भाषा टाँसेर मलाई सताए, पछि मेरो अनुहारमा वैद्य कणको अनुहार टाँसेर मेरा प्रियजनहरूको हुर्मत लिए । जिन्दगीको ताल नमिलेको ताल । कर्म एउटाको, दु:ख अरूलाई !

प्रकाशित: फाल्गुन ११, २०७२
http://nepal.ekantipur.com/news/2016-02-23/20160223100322.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *