लुक्दै लुक्दै भट्टि पानी, पिए देखि बिग्रेँ।
भट्टिनीको त्यो जवानी, पिए देखि बिग्रेँ।।1
भन्नुहुन्थ्यो हजुरबा त, ‘बानी पार्नु हुन्न।’
‘के होला र?’ भन्ने ठानी, पिए देखि बिग्रेँ।।2
छेवैपर्न डर लाग्थ्यो, काली थिई पहिले,
सधैँ नजर हानी हानी, पिए देखि बिग्रेँ।।3
आजभोलि प्यारी लाग्छ, आफ्नीभन्दा पनि।
बैँसै मिठ्ठो मानी मानी, पिए देखि बिग्रेँ।।4
जवानी र पानीको, लागेपछि नशा।
सधैँ नाडि तानी तानी, पिए देखि बिग्रेँ।।5
दिन्थिन् त तन मन, मेरै लागि उनी।
पारेर के के बानी, पिए देखि बिग्रेँ।।6