Skip to content

कालका मुखबाट आएका दाजुहरू


अरु केही नभए पनि मान्छेले कतिसम्म दुःख गरेका हुँदा रहेछन् भनेर बुझियोस् भनी म आफ्नै जीवनका विगत पचास वर्ष पुराना कुरा उधिनी उधिनी कोट्याएर लेखिरहेको छु । कसैलाई गनथन पनि लाग्न सक्छ । उहाँहरूसँग अग्रिम रुपमा क्षमा माग्छु ।

धेरैतिर भनिसकियो ताङ्सेको भिरको कुरा । यो भिर अहिले पनि छँदैछ तर अहिले उस बेलाको जस्तो रहेनछ । हामी यसै भिरमा बाबियो काट्न जान्थ्यौं, यसै भिरमा भोर्लाका पात टिप्न जान्थ्यौं, यसै भिरबाट भोर्लाको पाट काडेर ल्याउँथ्यौं अनि भोर्लाका टटलाको बियाँहरू पोलेर खान्थ्यौं ।

यो भिर झन्डै झन्डै लेखदेखि औलोसम्म फैलेको छ । माथि लेखतिर पात्ले घारी छ, माझतिर सल्लो घारी र तल औलोतिर सालघारी छ । यसको सल्लोघारीमा सल्लाका सिम्टा, माथि पात्लेघारीतिर पात्ले कटुस, मध्ये भिरतिर पुरुनी र अन्य कन्दमूलहरू हुन्थे त्यही खाइन्थ्यो सिजनअनुसार गोठालो भएर गाई लिएर त्यस भिरमा गएको बेला वा घाँस पातका लागि त्यहाँ गएको बेला । मानौं त्यो भिर अहिले पनि अमरपुर, मादिबुङ, श्रीचम्पा, दोरुम्बा जस्ता गाउँको जीवनस्रोत हो भने उहिलेको ता कुरै भएन । घर छाउने खर, गाईवस्तुका लागि घाँस, बाल्न दाउरा, वस्तुभाउका चाहिने लागि दाम्लो आदिका लागि बाबियो, पाट, कर्मकाण्डका लागि दुना टपरी बोहोता गाँस्ने पात, बार बार्नलाई चोके, लाथ्रोहरू, बारीमा लहराजेउराका लागि थाङ्ग्राका साथै गाईवस्तुका लागि गोठमा बाँध्न ठोकिने किलाहरू, ढिकी, घर, माच आदि बनाउने काठपातको स्रोत पनि त्यही भिर थियो । एक किसिमले त्यो भिर सबै थोक थियो । ताङ्सेका भिरबाट गोठालाहरूसँग एसएम एस भन्ने मैले लेखेको निबन्धको भिर पनि यही हो जुन निबन्धलाई समकालीन साहित्यमा बेलायतबाट प्रकाशित हुनमा कृष्ण बजगाईंजीले स्थान दिनु भएको छ । सबै थोक पाइने यस भिरमा तर पानी भने सारै तल गएर मात्र पाइने । माथि माथि पानी नै नभएको सुखा ठाउँ, पारिलो भिर । बर्खा मजाले हरियो हुने तर हिउँद लागेपछि सुखा ।

यस भिरका केही क्षेत्रमा हामी घाँस काट्न जान्थ्यौं । सालिम्मो काटेर मजाका भारी हालेर ल्याउँथ्यौं । अलिक गतिलो भारी भयो भने माताश्रीको अलिक माया पाइने नत्र भात पनि अघाउँजी नपाइने । यो कुरा छाडौं । एक दिन केही पाहुनाहरू आएको दिन मैले भात खाइसकेपछि “आज ता अघाउँजी भात खाइयो !” भनेछु । भरे पाहुनाहरू गएपछि माताजीवाट यसो भने बापत दण्डित भएको छु । यो कुरा पनि नकोट्याऊँ ।

अँ, भिरमा पानी पटक्कै नपाइने । डाँडाबाट तल दाहिनेतिर तलका केही लम्स्याइला परेका डाँडाहरूलाई हामीले आफैं नाम राखेका थियौं, माझको डाँडो, गुँहेले डाँडो, करमको डाँडो, सेतो पैराको डाँडो आदि । माझको डाँडोमा एक गुँहेलाको रुखमा निकै ठुलो धोद्रो थियो जसमा अकासबाट परेको पानी जमेको हुन्थ्यो । हामी भारी बोकेर आउँदा पातका खोचा बनाएर यही पानी उघाउँदै खान्थ्यौं । धेरै जनालाई पुग्दैनथ्यो सकिन्थ्यो तैपनि हामीले पनि त्यो पानी खाएका छौं बाँडीचुँडी ।

एक दिन यही गुँहेलाको वा माझ डाँडोबाट तलतिर दाजुहरू घाँस काट्न जानुभयो । म भने त्यहीं नजिकै काट्न थालें राम्रै सालिम्मो थियो । दाजुहरू भने निकै राम्रो घाँसको खोजीमा अँझै तल जानुभयो । दाजुहरू भन्नाले दाजु प्रा. राजेन्द्र र छिमेकी कटेल कान्छो जो अहिले झापा बनियानीमा हुनुहुन्छ । तल निगालो घारीतिर मान्द्रो परेको सालिम्मो छ जाऊँ त्यहाँ एकै छिनमा भारी पुगिहाल्छ भन्दै उहाँहरू तलतिर लाग्नुभयो निकै तल । मलाई भने त्यहीं घाँस काट् भनिराखेर लाग्नुभयो ओरालो नाम्लोको पेटी बाँधेर हँसिया कठालोमा सिउरेर । त्यही राति निकै ठुलो दर्के पानी परेकोले भिर अलिक गलेको वा फस्केको थियो । कमलो भएको थियो । होसले हिंड्नु पर्थ्यो ।

मैले भारी पुर्याउन लागेको थिएँ । अचानक दाजुहरू गएकै ठाउँतिर खस्ने गरी माझको डाँडोबाट भयानक पैरो लड्यो । ठुला ठुला ढुङ्गा खसेको दृश्य मेरा आँखैमा पर्न थाल्यो । दाजुहरू तल हुनुहुन्छ माथिबाट पहरो खस्न लागेको छ । ठुला ढुङ्गाहरू लगेका छन्, लदददद हिलो बगेर गएको छ गएको छ म हेरिरहेको छु । अब चिच्याएर कराएँ— “दाजु…….. पैरो लड्यो, तिमेरु काँ छौ ? होस गर ।” त्यो बेलासम्म सम्मानको भाषा सिकिएको थिएन । आफूभन्दा ठुलालाई तिमी र आफूभन्दा सानोलाई तँ मात्र भनिन्थ्यो । तिमीहरू भनेको पनि तिमेरु मात्र भनिन्थ्यो । माताश्री पनि पिताजीलाई ‘तिमेरु’ भन्नुहुन्थ्यो । पिताजी भने माताश्रीलाई तँ भन्नुहुन्थ्यो । अरु कुरा भैगो ।

दाजुहरू तल भिरमा छन् जुन ठाउँमा पैरो लडेर भिरै भत्केर खसिरहेको छ, म छु एक्लो माथि त्यही पैरो खसिरहेको समानान्तर ओल्लो डाँडामा । प्रत्यक्ष देखिरहेको छु । कराइरहेको छु । केही अत्तोपत्तो छैन । रुन आइरहेको छ । कता हँसिया, कता नाम्लो, कता डोरी, कता घाँस, कता मुठा आदि इत्यादि सबै बिर्सियो ।

निकै बेरपछि पैरो लड्न कम भो । फेरि पनि म कराइरहेको छु । दाजु……….. । दाजुहरूको अत्तो पत्तो छैन । अब के गर्ने ? के भन्ने ? घरमा के भनेर जाने ? मेरो बाल्य दिमागमा केही सुझेन । बरु त्यही गुएँलाको फेदमा गएर पानी खाएँ र थुचुक्क बसें, अन्यमनष्क । बिहानको नौ बज्न लागेको हुनु पर्थ्यो ।

म थुचुक्क बसिरहेको बेला म घोरिरहेको बेला दाजुहरू ता निकै ठुला ठुला घाँसका भारी लिएर पो आउनुहुन्छ ए !! मलाई ता उहाँहरूलाई देखेर कताबाट आँसु नै आएछन् । घाँसको भारी बोकेका दाजुको दौराको फेर समाउँदै तुरुक्क रोएँछु ।

“किन रुन्छ यो ? के भो तँलाई ? कसले कुट्यो ?”

म केही बोल्न सकिनँ । दुवै दाजुहरूलाई मेरो अगाडि पाएर मेरो मन विह्वल भयो र सायद म रोएको थिएँ । हे भगवान मेरा दाजुहरूलाई बचाइदेऊ यसैमा धन्य भन्छु म । सायद यस्तै केही सोचें होला ऊ बेला भुराभुरीमा ।

पैरोबाट कसरी जोगिनु भयो त्यो बेला । वास्तवमा ऊ बेला नै उहाँहरूले भनेकै हो तर म त्यो कुरा अहिले भन्न सक्तिनँ, सबै बिर्सिएँछु । कटेल दाजुले भनेको अलेली झल्याकझुलुक याद छ, माथिबाट आएको पैरो देखेर करमको रुखमा चढेर बच्यौं भन्नुभएको जस्तो लाग्छ । त्यो भयानक रुपमा माथिबाट खसेको पैरोबाट कसरी बच्नुभएको थियो त्यो कुरा बुझ्न ता दाजु राजेन्द्र वा उनै झापाका कटेल कान्छो दाजुलाई नै सोध्नु पर्ला भेट भएको बेला । कतै परिहाल्छ कि सोध्ने मौका……..!

प्रथम पटक प्रकाशित – 2016-06-09 06:34:52 +0000

1 thought on “कालका मुखबाट आएका दाजुहरू”

  1. समयको विम्ब
    होम सरका सिर्जनामा समय प्रतिविम्बित भएको हुन्छ र पढ्दै जाँदा अब यसपछि के होला भन्ने कौतुहलता उत्पन्न हुन्छ।
    कुमार काफ्ले
    ओखलढुंगा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *