Skip to content

आज ता मेरो एक जना दाजु अचानक दुई जना भएको कुरा पो लेख्नु पर्यो


मलाई आज कुन कुरा लेखौं भनेर गिदी भरी मथिङ्गल भरिएको छ । यो लेखौं कि त्यो लेखौं भनेर सोचिरहको छु । पुराना कुराहर तँछाड् मछाड् गर्दै आइरहेका छन् मानौं पहिले बाहिर को फुत्किले भनेर । तर म यिनलाई छाँटेर आज अर्को एक रमाइलो प्रसङ्गतिर लाग्छु । हुन ता यस मुलेका गनथन कति सुन्नु भन्ने पनि लाग्दो होला यहाँहरूलाई । तर यसमा यहाँहरू स्वतन्त्र हुनुहुन्छ मन लागे पढे भो नलाने पाना पल्टाए पनि भो । त्यति हो पढिदिनु भयो भने मैले श्रमपूर्वक यसरी लेखेको कुरा कसैले ता पढिदियो भनेर चित्त बुझाइ हुनेछ नपढे पनि चित्त दुखाइ हुनेछैन । अँ अचानक मेरा एक जना दाजु दुई जना हुनु भएको कुरा पो लेख्नु पर्यो ।

अँ, थिएँ हुँला बार वा तेर वर्षको । यही साल हो भनेर म अहिले भन्न सक्तिनँ ।

बराह क्षेत्रको कोका र कोशीको किनारमा माघे मेलाको अवसर पारेर मेला हेर्न र घर फिर्दा नून लिएर आउने उपक्रममा हामीलाई परिवारबाट अनुमति थियो । हाम्रो गाउँको निकै ठूलो हुद्दा धरान जाने भएकोले यो अनुमति मलेको थियो । पिताजीको धरानस्थित दन्तकाली भगवती र वराह क्षेत्रका विष्णु भगवानमाथि सारै ठूलो आस्था थियो । छोराबुहारीले पनि दर्शन गरुन् नून पनि ल्याउन तिनजनाले ल्याएको नूनले कसो वर्ष दिन नचल्ला भनेर हामीलाई पठाइएको हुनु पर्छ । मैले दुई पाथी र दाजु भाउजूले पाँपाँच पाथी जति नून लगेको जस्तो लाग्छ । अलिक भूलियो परिणाम चाहिं । तर नून भने कुम्लोमा बोकेर लागेकै हो । दस दिन पछि घर पुगिएकै हो ।

दाजु, भाउजू र म गरी हामी तीन जना हाम्रो परिवारबाट हुद्दामा सामेल भयौं । हिउँदको बेला थियो । घरबाट बिहानै लागियो आठराई चुहान डाँडातिर । गाउँका धेरै साथीहरू थिए । बिहान उठेर हामीले पोखरी हाइस्कुलको तलतिर जङ्गलमा भात पकाएर खायौं । भाँडा थाल बोकेकै हुन्थ्यो चामल र गुन्द्रुक साथैमा थियो । नून भुटुन पनि बोकेकै थियो । यसो पानी र दाउरा न चाहिएको हो । त्यहाँ पँधेरानिरको बारीको पाटोमा दस बारओटा चुला चौका लगाइयो र बडो मुस्किलले पकाएर खाइयो, पकाइयो पनि के भन्ने काँचो काँचै ओल्स्याइयो, ओडलियो र खाइयो । हामीलाई ता उति सारो परेन तर अरुहरूलाई काँचा दाउरा नबलेर भात पकाउन समस्या परेको झलझली सम्झन्छु । बारीका भित्तामा चम्का लगाएर दाउरा नबल्दा र भात जिम्लिँदाको पीडा कम दुःखद हुन्न । आगो फुक्नु कम कठिन पर्दैन । अँझ धुवाँ पनि आउने दाउरो परेछ भने भान्सेको ता बिजोकै हुन्छ । रालसिँगान नै आउँछ ।

भात खाइयो, भाँडा माझियो, अनि डोकामा राम्रो गरी भारी मिलाएर भारी हालेर बाटो लागियो छाते ढुङ्गातिर । राम्रै गरी हिँडेर बेलुका तमोरको गढ्तिरको किनारतिर वा हाक्पारा घाटका छेउमा झ्यासमा बास बसेको जस्तो लाग्छ ।

दोस्रो दिन अलि अँधेरै बाटो लागेको मात्र के थियौं मेरो दाहिने खुट्टाको कान्छी औंलो टोप्रै उक्किने गरी ठेस लागेर रगत भलभली बग्न थाल्यो । अब पर्यो फसाद ! के गर्ने । घरमा बारीमा भए ता यसो इलामे झार माडेर लाइन्थ्यो यहाँ खोलाको किनारमा कहाँ हुनु यो सब । यसै बेला दाजुले उपाय भन्नु भो “जा, जा उता परतिर भित्तामा गएर घाउमा मुतिदे अनि रोकिन्छ रगत ।” नभन्दै त्यसै गरें । सारै चहर्यायो । खुट्टो खोच्याउँदै हुद्दाको पछि पछि लागें । पटक पटक नठोकिने भए ता घाउ अलिक बस्तो पनि हो हिंडिरहनु परेको छ कता केले घोच्छ, कता केले छुन्छ घाउ ता झन् उकुच पो पल्टन थाल्यो । माटो र बालुवा लाएर पुर्दै ओर्दै बाटो हिंडिरहियो ।

दोस्रो दिन हामी सदामको बगर काटेर मुलघाटमा पुगी बास बसेको जस्तो लाग्छ, तेसो दिन ता बिहानै हिनेर साँघुरी भन्ज्याङबाट ओरालो लागि धरान बेलैमा पुगेछौं । सबैभन्दा बढी समस्या मलाई साँघुरी भन्ज्याङको ओरालो र उकालोमा परेको थियो । दोस्रो दिनकै दिन हिंड्न नजानेर मेरो दाहिने खुट्टाको कान्छी औलामा ठेस लागेर फुटेको घाउ झन् झन् ठोकिँदै थियो । उल्टै दाजुहरू म हिँड्न नजानेको भनेर गाली गरिरहनु भएको थियो । म कसै गरी खोच्याएर हिंडिरहेको थिएँ । यस्तो बेलामा अँझ आजको भाषामा गिटी उबेलाको भाषामा रोडै रोडाले भरिएको साँघुरी भन्ज्याङको उकालो र ओरालो हिँड्नु छ । रोडा जस्ता ढुङ्गाले भरिएको बाटो, खाली खुट्टा, उसमाथि ठेस लागेको कान्छी औलामा फेरि पनि ठोकिएको छ ठोकिएको छ, निको हुनु छैन । बेला बेला औंलाबाट रगत पनि आइरहेको छ । हिंड्दा खुट्टो झमझमाएको छ, उकालोभन्दा पनि ओरालो पो गारो हुने रहेछ । तै कसै गरी फुस्रे हुँदै हामी धरान पुग्यौं । धरानको दन्तकाली वा पिण्डेश्वरको कुनै गोदाममा हामी त्यो रात बसेको जस्तो लाग्छ । मैले पहिलो पटक साइकल देखेको त्यहीं हो । गाडी देखेको पनि त्यहीं हो । राम्रा मान्छेहरू देखेको पनि त्यहीं हो ।

चौथो दिन हामीले गाडी चढेको सम्झन्छु । रमाइलो कुरा छ गाडी चढेको बेलाको ।

बस्नु ता कता पाउनु । हामी गाडीमा उभियौं चतरा जान । बस्ने पनि कोही थिए कि थिएनन् थाहा भएन । हामीहरू धेरैजना थियौं सबै उभिएर नै जानु पर्ने भो । म दाजुको दौराको फेर समाएर बस भित्र उभिएँ । भाउजू पनि दाजुकै छेउमा उभिनु भयो । अरु अरु पनि उभिए माथि केकेका समाएर ।

बस बिस्तारो गतिमा धुलो उडाउँदै हिँड्यो । भाउजूलाई रिँगटा लागेछ आँखा चिम्लनु भयो । तर मलाई भने केको रिँगटा लाग्नु बडो मजा आइरहेको थियो । कमसे कम हिंड्नु ता परेन । बसका भित्र यसो हेर्छ दाजु ता दुई जना पो छन् ए ! हन के हो यो ? यता हेर्छु दाजु नै हुन् उता हेर्छु मेरा दाजु नै हुन् । मेरा एक जना दाजु यो बसमा कसरी दुई जना भए हँ ? सारै नै खुल्दुली भयो मलाई । म पनि दुई जना भएँ कि कसो हँ ? सारै मुस्किल भइसक्यो मलाई । खपिनसक्नु भो । अब मेरो साँचो दाजु चैं कुन हो भनेर मेरो ता हंसले ठाउँ नै पो छोड्न लागिसक्यो । घरबाट हाम्रो साथमा ता दाजु एक जना मात्र आएका हुन् कसरी यो अर्को दाजु यहाँ टुप्लुक्कियो हँ ? हन यो काटी कुटी दाजु नै छ । मेरै दाजु छ । राजेन्द्र दाजु नै छ । यो अर्को दाजु के हो ? को हो र कताबाट आयो ? मेरो मन मैले थाम्न सकिन र दौरा समाइरहेकै दाजुलाई सोधें— दाजु त्यो ऊ त्यो अर्को दाजु कुन हो ? तिमी जस्तै छ त ? (तपाईं भन्न सिकाइएको थिएन) लु हेर त तिमी जस्तै छ त के हो ?

मेरो कुरा सुनेर दाजुले भन्नुभो— “लाटा ऐना हो नि ?, बुझिनस् ?” अनि पो म छ्याङ्ग भएको थिएँ । बीचरा म ! आमाले पोल्टामा सिँदुर हाल्ने गरेको सानो बट्टाको ऐना मात्र देखेको मान्छे । यत्रो सारा जिउ नै देखिने ऐना कताबाट थाहा पाऊँ त । त्यसपछि ऐना वा ग्लास निकै ठुलो हुँदो रहेछ भन्ने थाहा पाएको हुँ मैले ।

त्यसपछि चतरा पुगियो । कोकामा पुगियो । नुहाइयो, बराह क्षेत्रको दर्शन गरियो । मजासँग जुलेबी किनेर खाइयो । संसारको सबैभन्दा मिठो चिजका रुपमा जुलेबी (त्यो बेला जुलपी भन्थें) त्यसलाई मानियो । र अरु दई दिन त्यहाँ बसेर हामी फेरि धरान नै फिर्यौं ।

माल्दाजुले धरानमा ता निकै मजा मजाका जुता पनि बाटामा फालिएका हुन्छन् त्यसमध्ये मिल्ने चाहिँ भेटिस् भने लाएर आउनु र मलाई पनि लिएर आउनु है भन्नुभएको थियो । खण्डै गरेर खोज्दा पनि नभेटेपछि फेरि फर्कदा पनि खाली खुट्टै फर्केका थियौं । यो सबै कुरा आज सम्झदा मलाई कस्तो कस्तो लाग्छ ।

2016-06-10 08:03:05 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *