Skip to content

छुवाछुतः अभ्यास, विरोधाभास र मौन अनुसरण

BijayRajPanta


छुवाछुतलाई कानूनी अपराध र गलत सामाजिक अभ्यासका रुपमा लिन थालिएको वर्षौं भइसक्यो । यस अवधिमा कानूनी र संस्थागत रुपमा निषेधात्मक तथा उपचारात्मक ढंगले छुवाछुत अन्तका प्रयेत्नहरू भए । हिन्दू वर्ण व्यवस्थाद्धारा सृजित सामाजिक अभ्यासका रुपमा रहेको छुवाछुत नेपालको विविधकाल खण्डमा फरक स्वरुपवाट प्रचलित रहयो । शासकीय चासोको रुपमा ऐतिहासिक कालदेखि वर्णवाट जातिमा आधारित स्तरीकरणको स्वरुप वन्यो । जुन कुनै न कुनै रुपमा हालसम्म पनि हाम्रो समाजमा विद्यमान रहेको छ ।

जातीय विभेदको पछाडिको कुरा पवित्रता र अपवित्रताको सवाल हो । प्राचिनकालदेखि पवित्रता र सामाजिक हैसियत बीच अनोन्याश्रित सम्वन्ध रहेको देखिन्छ । जस्लाई पवित्रता दिइयो त्यसैसँग उच्च अधिकार र दायित्व रहयो । तीनवटा वर्णसँग श्रेणीवद्धरुपमा पवित्रता रहेकोमा ब्रामहणसँग प्राज्ञिक र न्यायिक अधिकार, क्षेत्रीसँग राजनीतिक अधिकार र वैश्यसँग आर्थिक अधिकार रहन पुग्यो । तर सृष्टिकर्ताको खुट्टावाट जन्म भएको मानिएका शुद्रलाई अपवित्र भनेर श्रमको जीम्वेवारी मात्र दिइयो । यही अधिकार प्राप्ति र अप्राप्तिको सवाल समाजमा शुद्रको निरिह हैसियत निर्माणको कारक वन्यो भने अपवित्रताको मान्यता छुवाछुत प्रथाको जननीका रुपमा स्थापित भयो । विविध समय र सन्दर्भमा फरक फरक अभ्यास रहेता पनि हालको नेपालको जातीय संरचनाको पछिल्लो आधार जंगवहादुर राणाले वनाएको वि. सं. १९१० को मुलुकी ऐन नै हो ।

छुवाछुतसँग मिल्दाजुला प्रथाहरू संसारका गैर–हिन्दू समाजमा पनिरहेको पाइन्छ । जापानको बुराकु, सेनेगलको नेनो र नाइजेरियाको ओसु समुदाय दलित जस्तै विभेदवाट प्रभावित भएको देखिन्छ । बुराकुहरूले परम्परागतरुपमा काठको र छालाको काम गर्ने, बाटो तथा ढल सफागर्ने, सिनो तर्काउने जस्ता कामहरू गर्ने गरेको देखिन्छ भने अछुत मानिने उनीहरूसँग अन्य समुदाय बस्न, खान र विवाह गर्न नहुने विश्वास समेत रहेको पाइन्छ । गैर–बुराकुहरू पानी छर्केर र नूनको प्रयोग गरेर उनीहरूको कारणले भएको अपवित्रतावाट शुद्ध हुने मान्यता राख्दछन् । सेनेगलको नेनो समुदाय परम्परागत पेशाका रुपमा सिल्पकारिता, गायन र कथा वाचन जस्ता कार्य अवलम्वन गर्दथे र उनीहरूलाई अछुत मानिने हुनाले सँगै वस्न र खान तथा अन्य समुदायसँग विवाह गर्न समेत निषेध गरेको भेटिन्छ । त्यसैगरि, नाइजेरियाको ओसु समुदाय पनि यस्तै विभेदको इतिहास रहेको छ । इग्वु आदिवासी धार्मिक मान्यताद्धारा सृजना गरिएको प्रथाले उनीहरूलाई अछुत तथा दास जस्तै वनाएको थियो । हाल यी सबै समुदायको परम्परागत अवस्थामा सुधार गरिनुका साथै विभेदको अन्त्य र उनीहरूको उत्थानका लागि विविध प्रयत्नहरू भएका छन् ।

नेपालमा वि. सं. २००७ देखिका राजनीतिक परिवर्तनले दलित भावनाको उपयोग गर्यो । आन्दोलनको प्रवलतामा हरेक पटक यो मुद्दा चर्कोरुपमा उठ्यो । सात सालको काँग्रेस विद्रोहको एउटा नारा भात भताहको भन्ने पनि थियो । पछि दलितलाई महामन्त्री पनि वनाइयो । कम्युनिष्ट आन्दोलनको मुख्यपक्ष आर्थिक सामाजिक विभेदको अन्त्य नै थियो । सिद्धान्ततः उनीहरूमा जातमात्र होइन धर्मप्रति पनि विश्वास रहँदैन । पंचायतकालमा राजा महेन्द्रले वि. सं. २०२०मा नयाँ मुलुकी ऐन ल्याए जस्ले छुवाछुतको कानूनी मान्यतालाई अन्त गर्यो । माओवादी विद्रोहमा दलितका सवालहरू अरु वढि जोडतोडले उठाइयो । पछिल्लो आन्दोलन पछि मुलुकलाई छुवाछुत मुक्त देशका रुपमा घोषणा पनि गरियो । यसका अतिरिक्त सरकारी तथा गैर सरकारी क्षेत्रवाट विभिन्न ढंगका प्रयत्नहरू विगतदेखि जारी नै छन् । तर दलित गैर–दलित बीचमा मात्र होइन दलित दतित बीच नै भेदभावको अवस्था कायमै रहनुले यस बहसलाई अरु जटिल वनाएको छ । अर्कोतर्फ, आन्दोलनले समावेशिकरणको मुद्दालाई स्थापित गरेता पनि यस्तो आवाज व्यवहारमा मलिनो बनेको छ । वर्तमान राजनीतिक प्रवाहले पुनः पहिचान र स्वायत्त राज्यका सवालहरूमा समेत दलितहरूलाई विमुख बनाउने दिशातर्फ अघि बढेको छ ।

कतिपय सवालहरूमा यस्तो प्रथा विरोधाभाषपूर्ण पनि छ र आफ्नै मान्यताहरूसँग मेल नखाने अभ्यास पनि थुप्रै देख्न पाइन्छ । महापातक मानिने मदिरा सेवनलाई सहज स्वीकार्नेहरूले मानिसहरूमा अपवित्रता देख्नु अनौठो कुरा हो । नेपालमा धामी दलित गैर–दलितको पनि धामी हुन सक्छन् । पश्चिम पहाडमा वर्षे खेती लगाइसकेपछि गरिने वालि पूजा (हरेलो) गर्दा पण्डितको घरमा पनि धुप ध्वजा सहित खेतवारीमा दलित हलिवाट पूजा गरिने चलन धेरै पुरानो हो । कञ्चनपुरको दक्षिणी भेग लगाएतका ठाउँमा दलित समुदायले छोएको दुःध विगत देखि नै गैर–दलित समुदायले उपयोग गर्ने गरेको देखिन्छ । यही कुरा काठमाण्डौमा पनि नेवार समुदायको एउटा दलित जातीसँगको व्यवहारसँग विगत देखि नै मिल्दछ । अन्तरजातीय सम्वन्धवाट जन्मेकाहरू प्रतिको धारणा नेपाल र भारतमा फरक छ । उदेकलाग्दो कुरा त दक्षिण भारतका कतिपय क्रिस्चियन समुदायमा दलित र गैरदलितका बीच विभेद रहेको र छुट्टाछुट्टै चर्च रहेको पनि पाइन्छ । भौगोलिक हिसावले पूर्वि नेपालको तुलनामा पश्चिममा वढि पेचिलो विभेद छ । उत्पिडन र विभेदको विरुद्धमा चर्को विद्रोह भएको तराइमा दलितहरूको अवस्था सबैभन्दा कमजोर रहेको छ जहाँ दलित सभासद् नै कथित तल्लो जातिसँगको छोरीको विवाहको विरुद्धमा उत्रिएको कुरा धेरै समय भएको छैन । अन्तर दलित विभेदको स्थितिले दलित आन्दोलन अँझ वढि कमजोर वनेको छ । अर्कोकुरा, सबैखाले विचारधारा वोकेका दलहरूमा सैद्धान्तिकरुपमा नै छुवाछुतलाई निषेध गरेका छन् । वामपन्थी विचार राख्नेहरूको मत आधाभन्दा वढि छ । भौतिकवाद माक्र्सवादको प्राण हो । जस्को सिधा अर्थ ईश्वर र धर्मको अस्विकृति हो । तर यस्तो अवस्था हुँदाहुँदै नेपालका सबैजसो स्थानमा कुनै न कुनै विभेदको अवस्था रहेकै छ ।

अवको युगमा मनुकालीन पवित्रताको मान्यता सम्भव पनि छैन । पुस्तान्तरसँगै विभेदान्तर देखिएको छ जस्ले नयाँ पुस्तालाई वढि उदार पनि वनाएको छ । भोग्नेहरूकै विचारमा विभेदको क्षेत्र साँगुरिएर सीमित सवाल तथा स्थानियतामा सीमित भएको छ । तर विभेदको बलियो पाटो सामाजिक मनोविज्ञानसँग गाँसिएको देखिन्छ । जसको निरपेक्ष वदलाव एकैपटक संभव नभएको कुरा कतिपय दलित आन्दोलनका अगुवाहरू नै वताउँछन् । उद्विकासवादी दृष्टिकोण पनि यही कुरामा सहमत छ । कानूनी उपचारले मानसिकताको उपचार नहुँदा कतिपय सवालहरूमा मौन वहिष्करण समेत निम्ताएको छ । युगौं लामो अभ्यासले समाजको धार्मिक, सांकृतिक, आर्थिक र राजनीतिक पक्षलाई बलियोसँग पक्रिएको यो प्रथा हाल वाहियरुपमा कमजोर देखिएता पनि खास सवालहरूमा मौन तर जटिलरुपमा विद्यमान रहेको छ । कतै सामाजिक आलोचनाको डर त कतै मान्यतागत आत्मिक अस्विकृतिले हालको दलित आन्दोलन मौन अनुसरणको भूमरीमा अलमलिएको देखिन्छ ।

विजयराज पन्त
(अध्यापन तथा अनुसन्धानमा संलग्न)

Leave a Reply

Your email address will not be published. Required fields are marked *