Skip to content

कविता अनि कविता र फेरि कविता

BasantaShrestha-02


कविता जीवन न हो
त्यसमा हाँसो हुन्छ
त्यसमा रोदन हुन्छ
त्यसमा प्रेम हुन्छ
त्यसमा मिलन हुन्छ
अनि बिछोड हुन्छ
सबै कविता मिठा हुन्छन
तर यथार्थमा
आम मान्छेको बोली बोल्ने
खुल्ला आकास समेट्न सक्ने कविता
झन् मिठा हुन्छन !!!

साहित्यका विभिन्न विद्या मध्ये कविता लेख्न, पढ्न र बाचन गर्न म अति मन पराउछु । मैले कविताबाट नै नेपाली साहित्यमा प्रवेश गरेको हुँ । मलाई कविता लेख्न मनपर्नुको मुख्य कारण हो समयको बचत । छोटो समयमै एउटा कविता कोर्न सकिन्छ । कविता शक्तिशाली पनि हुन्छन । एउटा कविताले नै थुप्रै कुराहरू व्यक्त गर्न सामर्थ राख्दछ । कविताको आकार जति सानो हुन्छ त्यसको त्यतिनै प्रभाव र व्यक्तिने शक्ति प्रबल हुन्छ । त्यसैले म कविता लेख्न रुचाउछु ।

हालसालै केही मित्रहरूले आआफ्नो पत्रिकाको लागि रचना माग्नुभयो । मैले आफूलाई सजिलोको लागि हुन्छ म कविता पठाउछु भने तर मित्रहरूले भन्नु भो कविता होइन कुनै एउटा लेख दिनोस न । सजिलोको लागि कुनै विषयमा भए पनि हुन्छ पनि भन्नु भो । सोचे कतै मित्रहरूले कवितालाई उपेक्षित दृष्टिले त हेर्नुभएको त छैन । कारण थाहा भएन । तर दुवै मित्रले लेख नै माग्नु चैं संयोग थियो या के थियो थाहा चैं भएन् । खैर जे कारणले होस् । म एउटा लेख लेख्न शुरु गर्दैछु । तर कुन विषयमा सोचेको छैन । म कहिलेकाहीं लेख त लेख्ने गर्छु तर जसरी सजिलो र धक फुकाएर कविता कोर्ने गर्छु त्यति सजिलो लाग्दैन लेख लेख्न । खैर जे होस् आउनोस् कविता कै बारेमा केही चर्चा परिचर्चा गरौँ । कसो हुन्न र !

हो साहित्यका विभिन्न विद्या मध्ये कविता धेरै लेखिने र थोरै पढिने विद्या नै हो । कविताको दाँजोमा कथा, उपन्यास, सस्मरण अनि यात्रा निबन्ध धेरै बिक्ने पुस्तक हुन् । तर कविताको लोकप्रियता धेरै छ र यो शक्तिशाली पनि छ । कविताले भन्ने जुन शब्दहरू छन् त्यो शब्दहरूले थुप्रै विभिन्न अर्थ समेट्न सक्छन । थोरै लेखेर धेरै भन्न सक्ने शक्ति भएको नै कविता नै हो । थोरै समयमा छोटो कविताले संघर्षको संखनाद गर्न सक्छ । त्यसो भए कविता के हो त ।

अव्यक्त भावनाको अभिव्यक्ति नै कविता हो
सारा ब्रम्हाण्डका सजीव निर्जीव बस्तुहरू
ती कति धन्य हुन्छन
ती कति खुशी हुन्छन
जसको
कथा ब्यथा
कविले कविताबाट
व्यक्त गरिदिन्छन !

कविता मनको सुन्दर अभिव्यक्ति हो । कविको भावनाले जुन कुराको हृदयंगम गर्दछ त्यसै मार्फत नै कविताको जन्म हुन्छ । कविताको क्षेत्र असीमित छ । आँशुको होस् या हाँसोको । खुशीको होस् या दुखको आफ्नो मनको भावनाको उद्गार नै कविता हो । कविता एउटा पुरा दर्शन पनि हो । जीवनको विविध पक्षलाई उजागर गरेर लेखिएको आफ्नो मन भित्रको उद्गार नै वास्तवमा जीवन्त कविता हो । सम्पूर्ण मानवको जिजीविषा पट्टि लेखिएको कविताले नै जीवन्तता प्राप्त गर्दछ । कविताको उत्पति हाम्रो जीवनको उत्पतिसँगै मानिन्छ । त्यसैले यो आदिम साहित्य पनि हो ।

साहित्यका अरु विद्याभन्दा कविता धेरै र अति लोकप्रिय मानिन्छ । ठुल ठुला शहरका थुप्रै मेट्रो रेलहरूमा “पोएट्री फर मोसन” भनेर कविताका टुक्रा जताततै लेखिएका हुन्छन । शुभकामको लागि शुभकामनाका कार्ड दिनलाई होस् या दुखका कुरा बाड्नुलाई सम्बेद्नाका कार्ड नै किन नहोस । या कहीं मन्दिरमामा होस्, चिहानमा होस् जहाँ तहीं छोटो मिठो कविताका टुक्राहरूले त्यहाँ आफ्नो भावना / विचार व्यक्त गरिरहेका हुन्छन । कथा निबन्ध लेख्ने त्यहाँ न त स्थान नै हुन्छ न त त्यहाँ पढ्ने कसैको समय नै हुन्छ । कथा, कहानीले दिने संदेश कविताले एक पन्नामा दिने समर्थ राख्दछ । त्यसैले त कविता / गजल र गीतको लोकप्रियता अति नै धेरै छ । कविता गीत बन्न सक्छ । कथाको अंश बन्न सक्छ र उपन्यासको एक हिस्सा बन्न पनि सक्छ । त्यसैले त डा. तारा नाथ शर्मा भन्नुहुन्छ “साहित्यिक कलाको विशिष्ट उत्पादन नै कविता हो” । उहाँ अँझ अगाडि बढेर भन्नुहुन्छ “कुनै पनि गतिशील राष्ट्रको कविता निरन्तर अगाडि बढिरहनु पर्छ । यसरी अगाडि बढिरहने कविता राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै फाँटमा उन्मेशोंमुख हुन्छ । तन्नेरी कविता यस्तो उन्मेशोंमुख यात्रामा अग्रगामी, उत्साहबर्द्धक र प्रेरणादायी हुन्छ ।

धेरैले भन्ने गर्छन कविता बुझ्नै गाह्रो । नबुझेको कविता सुनेर दिक्क लागेर आउछ । हो कसै कसैले यस्तै भन्ने पनि गर्छन । तर सबै कविता क्लिष्ट हुदैनन । सबै कविता नबुझिने पनि हुदैन । थोरै शब्दहरूले धेरै कुरा बोल्नु पर्ने भएको कारणले अलिक सन्दर्भ बुझ्न कठिन त होला । तर सबै कविता त्यस्ता हुदैनन् । त्यसो त यो पनि भनिन्छ कि जसरी पाठकको स्तर हुन्छ त्यसरी नै कविताको पनि स्तर हुन्छ । कविले कविताको बारेमा प्रकाश पारिरहनु पर्दैन त्यो आफैमा मर्मशील हुन्छन । कवितामा ठुलो शक्ति हुन्छ जसमा एउटा गहन विचार, अन्तर्निहित भावना र गतिलो संदेश दिने शक्ति राख्दछ । कविता बुझ्न समयचेत र सान्दर्भिकतालाई मनन त गर्ने पर्ने हुन्छ ।

हो बरिष्ठ कवि मोहन कोइरालाका कविता बुझ्न धेरै कठिन छ । उनको “फर्सीको जरा” कविता त मै हुँ भन्नेले पनि बुझेको छ जस्तो लाग्दैन । हो अरु पनि बरिष्ठ कवि छन् जसका कविता बुझ्न अलिक कठिनाई नै हुन्छ । हो त्यो पनि एक समय थियो होला । कविता अलि कठिन र क्लिष्ट लेखेर अनि कसैले नबुझिने लेख्दा अलिक ठुलो र विशिष्ट कवि भइन्छ भन्ने भ्रम पनि थियो कि । तर जे लेख्दा पनि कविता हुन्छ भन्ने सोचाइ एक प्रकारको परिकल्पना मात्र हो । कविता सास्वत हुनुपर्छ, क्षणिक हुनुहुदैन । वास्तवमा कविता सबैले लेख्न सक्ने विषय पनि हो तर सबैले लेख्न नसक्ने कार्य पनि हो । कसैले भनेका छन् ” कविता लेखन एउटा आविष्कार हो । कुनै कविता लेख्नु भनेको एउटा नभनिएको र पहिले कहीं नबनेको संरचना तयार गर्नु हो । यस अर्थमा कविता लेखन एक धेरै महत्वपूर्ण कुरा हो । युद्ध, हिंसा, पीडा र यातनाको बिरोधी स्वर पनि कविता नै हो” ।

अरु थुप्रै बरिष्ठ कविका कविताहरू धेरै सरल र सरस छन् । झन् छन्दोबद्ध कविता त संगीतको धुन झैं गीत बनेर कानमा बज्छन । माधब प्रसाद घिमिरे अनि कृष्ण प्रसाद पराजुली केही नाम हुन् जो छन्द कविताका हिमायती हुन् । सिद्धिचरण, केदारमान व्यथित, भूपि लगायत त्यस समयका थुप्रै कविका कविताहरू धेरै सरल र मिठा छन् । कवि मन्जुल, उषा शेरचन अनि दुर्गालालका कविता त पटक पटक सुन्न मन लाग्छन । भूपिका कविता र मुक्तक त धेरैले कण्ठष्ठ सुनाउन सक्छन ।
अहिलेका चर्चित धेरै युवा कविहरूका कविता मिठा सरल, सरस र ससक्त छन् । बुझ्न सजिलो छ । सुन्दा अति मनोरंजन प्रदान गर्दछ । तर यहाँ केही नाम उल्लेख गर्ने कोशिस गर्दैछु अन्यथा नलिनुहोला । युवा पुस्ताका कविका नामै लिनु पर्दा उपेन्द्र सुब्बा, भुपिन, मनु मन्जिल, समा श्रीअनि उज्वला महर्जन केही उदाहरण नाम मात्र हुन् । तर अधिकांश कविहरूका कविताले जीवन्तता प्रदान गरेका छन र गरिरहने नै छन् । समय परिवर्तन भएको छ । छोटो, मिठो सरस र सरस कविताले नै दर्शक र पाठकको मन खिच्न सक्छ । यो निर्विवाद छ ।

कवि तुलसी दिवस भन्छन “आजको कविता स्वरबद्ध, दृश्य र तरंगित पैदा गर्ने हुनुपर्दछ । अबको कविताले लिपिबद्ध मात्र नभएर ध्वनिमा उच्चारित बनेर मन्त्रोचारण झैं तरँग बनेर कानमा ठोकिन्न आइपुग्नु पर्छ ।” त्यसैले आजको कविता सिँढी अल्बममा अनि ध्वनिमा अँझ ससक्त र लोकप्रिय बनेका छन् । धेरै अघि नेपाल साहित्यिक पत्रकार संघ, नेपालले त्यस समयका बरिष्ठ कविहरूको स्वरमा कविताको क्यासेट निकालेको थियो । धेरै लोकप्रिय पनि भयो । तर त्यसको निरन्तरता हुन् सकेन । आज थुप्रै साहित्यिक अनलाइन पत्र पत्रिकाले कवितालाई स्वरमा कविता भनेर प्रकाशन गर्ने गर्दछ । त्यसको धेरै चर्चा र परिचर्चा हुने गर्दछ र प्रभावकारिता पनि छिट्टै हुने गर्छ । उदाहरणको लागि उज्वला महर्जनको कविता, बाबु त्रिपाठी अनि उपेन्द्र सुब्बा र अन्य थुप्रै कविका ससक्त स्वरमा कविता आज बहु प्रचारित भएका छन् ।

आजको संचार माध्यमको बिकसित प्रारूपले त कम्पुटर र औंलाको माध्यमबाट संसारभरका श्रोतालाई एकै छिनमा समेट्न सकिन्छ । एकैछिनमा त्यसको नतिजाको उत्पादक र प्रत्योपादक बुझ्न सकिन्छ । त्यसैले कवि दिवसले भने झैं अबको कविता लिपिबद्ध मात्र होइन स्वर र धुन बनेर कानमा गुन्जिनु पर्छ ।

नेपाली भाषा र साहित्यको विकासको लागि कविता एक ससक्त मध्यम हो । आज संसारभर छरिएर रहेका थुप्रै नेपालीलाई जोड्ने एक माध्यम नै आफ्नो साहित्य, कला, संस्कृति र भाषा नै त हुन् । ती नै आफ्नो पहिचान हुन् । आफ्नो साहित्य र भाषाको विकासको लागि धेरै शहरहरूमा बसोबास गरेका धेरै नेपालीहरूले कोठे कविता गोष्ठीको आयोजना गर्ने गरेको समाचार हामी सुन्दैछौं र देख्दै पनि छौं । प्रत्येक महिनामा आफ्नो समयानुकुल आयोजना गरिने यस प्रकारको गोष्ठीले सामुदायिक सहयोग आदानप्रदान र सम्बन्ध प्रगाढ हुने कुरामा दुई मत हुन् सक्दैन ।
यस कविताको आलेखमा पर्न गएको कविहरू प्रतिनिधि पात्र मात्र हुन् अरु पनि थुप्रै हुनुहुन्छ । अन्यथा नसोचीयोस ।
तसर्थ आजलाई कविताको चर्चा यति नै ।

जय कविता !! जय साहित्य !!!!

धन्यवाद !

वसन्त श्रेष्ठ
भर्जिनिया, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *