Skip to content


मलाई चलचित्र हेर्न असाध्यै मन लाग्थ्यो । चलचित्रमा अरूभन्दा पनि नायकले नायिकालाई आफूतिर आकर्षित गर्नको लागि अनेकानेक डर लाग्दा कार्यहरूलाई पनि बढो बहादुरीका साथ सम्पन्न गरेर नायिकाको मन जित्न सफल हुन्छन् र आखिरमा नायिकालाई गलाएर नै छाड्छन् । कमलो हृदय भएका नायिकाहरू नायकको क्रियाकलापप्रति लालयित भएर उनीप्रति आकर्षित हुन्छिन् । पटक पटकको खलनायकको हैरानीबाट बच्न पनि नायकलाई साथ लिन बाध्य हुन्छन् । न्यायको वकातल गर्नमा नै नायकहरू चलचित्र नसकुन्जेल लागि पर्छन् । नायकले गरेका यस्ता कार्यहरू मलाई असाध्यै मन पर्थ्यो र मरिहत्ते गरेर चलचित्र हेर्नमा म ज्यादै लोभिन्थे ।

तर आजकाल मलाई यस्ता कुरा प्रति ध्यान जानै छाड्यो । समयले मलाई अलि लोभी पनि बनायो क्यारे । मलाई आजकाल पैसा खर्च गरी गरी चलचित्र हेर्न मन लाग्न छाड्यो । नायक र खलनायकको द्वन्द्व हेर्न चलचित्र भवनमा जानु नपर्ने भयो किनकि बाहिरी संसारमा नै रातोदिन नायक र खलनायकको भिडन्त हेर्दिनभन्दा पनि वाध्यतावस हेर्न परिरहेछ । नायक र खलनायकको भीषण द्वन्द्वमा परेर जिन्दगी नै धरापमा फसेको छ ।

नायकले अन्यायमा परेकालाई जस्तै अवस्थामा पनि खलनायकबाट बचाउँनको लागि आफ्नो ज्यानको बाजी लगाएर भए पनि बचाएरै छाड्छन् । जब न्याय पाउछन् । खलनायकको अत्याचारबाट मुक्तिको निश्वास फेर्न पाउछन् । त्यस बेला हल नै गुन्जायमान हुन्छ । नायकको पक्षमा सबै दर्शकको वाह वाहसहितको ताली आउछन् । तर नेपालमा अन्यायमा परेकाहरूलाई साथ दिन पुग्यो भन्यो उनीहरूको उठिवास हुन्छ । दैलेखका पत्रकार हेकेन्द्रको हत्याको न्यायिक जाँच नभएको विरोधमा उत्रिएका पत्रकार माथि नै ज्यानमार्ने धम्की पाएपछि आफ्नो गृह जिल्ला छोडेर अन्यत्र जिल्लामा विस्थापित हुनु पर्ने स्थितिको सृजना गर्ने वर्तमान बाबुराम नेतृत्वको सरकारका पात्रहरू नायक कि खलनायक हुन् विज्ञ पाठकवृन्द !

लोकतान्त्रिक सरकारका पात्रहरू भए, भएका संविधानसभाको हत्या किन गर्थे ? नयाँ संविधानसभाको लागि पनि तत्पर नहुने र सधैं प्रतिपक्षीहरूलाई आरोपको वर्षा मात्र वर्षाउन जान्ने बुद्धि कहाँबाट पलायो ? आफू भने टसको मस नहुने सरकारलाई सधैं बल प्रयोग गरेर जबरजस्ती लादेर अगाडि बढ्न खोज्ने, गरेकोले यस सरकारलाई के भन्ने ? मुलुकलाई शान्ति सुरक्षा कायम गराउँछु भनेर आम नेपालीको नाममा किरियाकाष्ठा खाएका गृहमन्त्रीज्यू नै अपराधीलाई कानूनी कठघरामा ल्याएर अन्यायमा परेकाहरूलाई न्यायसंगत तवरबाट अगाडि बढ्नुको बदलामा अपराधीलाई सुरक्षा दिन र उनीहरूको पक्षमा वकालत गर्न लागे भने त्यस्ता पात्रलाई के भन्ने नायक कि खलनायक ?

विधिको शासन कुन चरीको नाम हो ? विधिको शासन भनेको कुन देशको दन्त्य कथा हो ? थाहा छैन । सधैं सन्त्रासमा बाँच्नु परिरहेका छन् आम नेपाली जनता भने नेपाली जतनाको लागि सरकारमा गएका कि आफ्ना अभिष्ट पुरा गराउनका लागि सरकारमा प्रवेश गरेका हुन ? नायकहरूले नेपाली जतनाका मन जित्लान् र हामी खलनायकहरूको हविगत दिनानुदिन नाजुक हुदै आखिरमा पलायनको स्थिति आउला भनेर नायकहरूको बेहालत बनाउनका लागि सरकारमा प्रवेश गर्नेहरूलाई तपाई के भन्नुहुन्छ नायक कि खलनायक ?

सस्तो लोकप्रियता कमाउन महिनामा एक दिन गरिबका झुपडीमा बास बस्दैमा, मुसाको परिकार खादैमा र राज्यलाई आर्थिक भारबाट मुक्त गराउने बहानामा मुस्ताङ गाडी चढ्दैमा आम नेपालीका मन मन्दिरमा नायकको रूपमा बास वस्न सक्ला ? सबैलाई अति आवश्यक पर्ने एल पी ग्याँसको मूल्य बढाएर जनताको ढाड सेक्ने हिसावले बढाउने र सर्वत्रबाट व्यापक विरोध आएपछि पुनः लाचार भएर मूल्य बृद्धि फिर्ता गर्ने पात्रलाई के भन्ने ? दैनिक उपभोग्य सामाग्रीको रातारात मूल्य बढेर ढाड सेकिरहेछन् । उद्योगधन्दा करकारखानाहरू बन्द हुदैछन् । बन्द हुने क्रममा छन् । नेपाललाई लोडसेडिङ मुक्त गराएर छाड्छु भनेर अगाडि बढिरहनु भएको भए किन दैनिक अठार घन्टासम्म हुने सम्भावनातिर लम्किरहेको छ त ? यसरी झुटो आश्वासन बाढेर आखिर कति दिनसम्म ढाट्नुहुन्छ ? काम तातोभुत्लो केही नगर्ने र बोली सधैं मिठो बोल्ने, सधैं झुट बोल्ने पात्रहरूलाई तपाई के भन्न रूचाउनुहुन्छ नायक कि खलनायक ?

रोजगारीका अवसरहरू सृजना गरेर विदेश तर्फ पलायन हुने युूवा शक्तिलाई स्वदेशमा नै रोक्ने प्रयास हुनेछ, क्रमशः कम गर्दै लगिनेछ भनेर कबुलेका वाचाहरू खै कता हरायो ? कति यूवाशक्तिलाई नेपालमा रोजगारी प्रदान गर्नुभयो ? रोजीरोटीकै खातिर किन भौतारिदै विश्वका १०८भन्दा बढी मुलुकहमा नेपालीहरू जानु पर्थ्यो ? दैनिक जसो पाँच सात जना नेपालीको शव बाकसमा प्याक भएर किन आउथे ? यसरी सधैं झुटको खेतीगर्नेहरूलाई के भन्न उपयुक्त होला नायक कि खलनायक ?

कृष्ण उफान
मन्थली– २, रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *