Skip to content

शंखघोष एउटा सङ्ग्रामको


तिमी र म जन्मदाँ,
म जस्तै तिमी पनि रोयौ होला
सायद तिम्री आमालाई जस्तै
लाग्यो होला व्यथा मेरी आमालाई पनि,
यत्ति हो समानताको कुरा तिमी र म बीच।
जब शुरु हुन्छ यात्रा जिन्दगीको
तिमी लाग्छौ महलतिर नभए घरतिर
म हुन्छु त्यही महलको पेटी र धर्मशालातिर,
मन्दिर अनि पाटीपौवानिर!

जिन्दगी अक्कर तारेभीरजस्तो!
सम्हालिएर हिँड्नै कठिन,
सकिनसकि हिँड्न खोज्छु
अलिकति अगाडि बढ्न खोज्छु
समाउँछ तिम्रो व्यवस्था मेरा हात पाउहरू।
कठै मेरी आमा!यो बेला के गर्दै होलिन्!
मजस्तै भाइबहिनी कति पाइन् होलिन्!
सम्झन्छु मेरी आमाको विवश जिन्दगी,
तिम्रा बाउहरूको श्रीमती बन्नुपर्ने!

तिमीले चौरासी व्यञ्जनको डकार ओकाल्दा,
म डेन्ड्राईट सुँघेर अघाइरहेछु!
तिमी वातानुकुलित निवासमा ऐस गरिरहदाँ,
म कहिले प्लास्टिक टिप्दै त कहिले कतातिर हुन्छु,
बसपार्क र भीडभाडतिर हुन्छु
लागूऔषधको अखडा र पाटीपौवानिर हुन्छु।

हिजैजस्तो लाग्छ तिमीले
एक स्टिक देऊ न भाइ प्लीज भनेको
र आजै हो मैले पनि ए दाइ भनेर बोलाएको
त्यसपछि तिम्रो अहमता बोल्यो
कसलाई दाइ भनिस् भनेर हात उठ्यो।
के थाहा तिमीलाई र मलाई पनि
हाम्रा बाउ एउटै हुन सक्छन् भनेर!

जब म भौतारिदैं मन्दिर र मस्जिद जान्छु
चर्च र गुम्बाहरूमा जान्छु,
दीनदुखीको सेवा र मानवताको कुरा सुन्छु
धर्मात्मा र विद्वानहरूको प्रवचन सुन्छु,
लाग्छ स्वर्ग यही हो तर
फरक पाउँछु व्यवहार अनि वास्तविकता,
लाग्छ यी सब भन्ने कुरा न हुन्!
एक मन भन्छ
भत्काइदिउँ यी महल र मन्दिरहरू,
देखावटीपन,ढोंग र अहङ्कारहरू
कतिञ्जेल सहनु यी अन्याय र अपमानहरू।
लाग्छ
सडकमा जिन्दगी जिउनुभन्दा त
आतंककारी हुनु गज्जब होला!
अब
दधिची हाड घोटेर बनाउँछु एक बज्र
अनि शंखघोष गर्छु एउटा महासङ्ग्रामको,
महोदय
भीड्न तयार हुनुहोला।

ओखलढुंगा
२०७३/०३/२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *