Skip to content

‘मायालु हुम्ला’ यात्रा संस्मरण र समालोचकीय दृग


प्रस्तावना :

चरैवेती । चरैवेती ।

वेदले बौद्धिक र कलमका कालिगढी मनुवालाई यात्राका लागि ऊर्जादिन यसो भनेको होला ? हुन पनि संसारै यायावरीय शैलीमा न्योच्छावर भएको हो । यदि एसियाको मानिस अफ्रिका जाँदैनथ्यो भने उसले ‘कालो हिरा’ को प्रचार गर्दैनथ्यो । त्यसैगरी युरोपको मानिस हिमालयका सिकन्जामा आँउदैनथे भने हाम्रोजस्तो हिमाली राज्यको यतिबिघ्न प्रचार हुने थिएनन् ।

आफूमा भएको अरूले देख्ने रहेछन् । अरूमा भएको हामीले देख्ने रहेछौं । आफूमा भएको राम्रो र सुधार गर्नु पर्ने कुरालाई आफ्ना मानिसले नदेख्ने सायद् प्रेम र ममत्वका कारणले नै त्यसो भएको हुनुपर्छ । वैपरित्य चाहनाले नै सभ्यताको सोपान लम्बिन्छ अनि दम्भको हुङ्कारमय सिँङलाई मुठार्ने ऐलान गर्छ । खलाँती खालि भएकाहरू नै दिमाग रिङुन्जेल संसार घुमेका छन् । पुस्कर शाहलाई उनको यात्रा श्रीगणेश भएको केही दिनमै पत्रिकामा एउटा उपबुज्रुक पत्रकारले लेखिदियो –‘पैसा न कौडी विश्व विश्व दौडी ।’

कम्ती चिसो पर्यो होला उनलाई । बरा । यो आलेखको लेखकलाई त कतिदिन पित्तको तीतो मुखमा आइरह्यो । संसार बतौराहरूको मात्र होइन रहेछ यी संकथन सुसाङ्ख्यमा टाइप गरुन्जेल पुस्कर संसार घुमेर सगरमाथाको सानसँग आरोहण सकी आफूले भोगेका भुक्तमानहरूलाई किताबका पानामा सजाएर सानको जिन्दगी बिताइरहेका होलान् कतै ।

सम्पर्क भए फोन गरेर बधाइ दिन मन नलागेको कहाँ हो र ?

जब्बरे दिलका चिनियाँ हु एन् साङ् दोपाये यात्री नभएका हुँदा हून त उनका तर्फबाट मेदिनी यात्राको पूराणवाचन गरिने थिएन होला । भास्को डिगामा र क्रिष्टोफर कोलम्बसले पनि जोखिम मोलेरै यात्राका तरेलीहरू पार गरेरै आफूलाई दिग्दिगन्तमय बनाएका छन् । पुस्करले आमाको सारीको सप्कोको जाबो एकसय रूपैयाँको दुमुबाट ‘संसारलाई साढे पाँच फन्को’ लगाई साइकल यात्रीको इतिहास जो रम्य बनाए । मिथक बनेका छन् अन्य ज्यास्ती निडर र पराक्रमी पथिकहरू –आआफ्ना गन्तव्यका क्षेत्रोपक्षेत्र एव म संकथनहरूमा । बेधड्क कुद्नुमा जति मजा छ नि फुकीफुकी पाइला चाल्नुमा कुनै सानन्द मिल्दैन । भ्रमणका कूलदीपकहरू आज यो भवसागरका छेउकुनामा फेरो मारिरहेका हुन्छन् । हामी नेपालीहरू अरुबेला घरमा पसारो परेर मङ्सिरताका दाइँमा घुम्नुबाहेक अरू बेला कसैले प्रायोजक बनेर हौस्याउँदा पनि साइतको दही अक्षता बोकेर यात्रा गर्न सङ्कोच मान्छौं ।

बसाहा संस्कृति ।

सरकारले हामीलाई काम मात्रै गर् भन्छ । महिनाभरि काम गर । सके टेबल मुनिबाट, नसके टेबल माथिबाटै तलबी भर्पाईमा सही गरेका दमडीले कहाँ भ्रमणको घृतछाँता हेर्न सकिन्छ र ? घरजग्गा, भार्याका गहना र आमाबाका तीर्थाटनलाई सफलतामा अनुवाद गर्दागर्दा एउटा कर्मचारी सिडियो अफिसको बूढो बैदारले लेख्ने कुच्चिएको कार्बन बनेर बुढिँदो छ । अविकसित देशमा जन्मेर संसार घुम्नुभन्दा सुत्दा घुर्न सजिलो जो भएको छ ।

आँटले घुम्ने मानिसहरू ठाँटले घुम्नेभन्दा धेरै घुमक्कड रै’छन् । फिरन्ता भएर राहूल सांस्कृत्यानले तीनतीनवटा घरवार जोडे । तर हिम्मत हारेनन् । मनले घुमाउने रहेछ यो निर्भिक मानसलाई । सामल खाजा र बाटा खर्च भनेकै धृष्टता हुन् । जो सबैसँग उत्तिकै हुन सक्दैनन् ।

अरेबाबा चराहरू त हनिमुन मनाउन साइबेरियाबाट नेपालका कोसीटप्पु र बीस हजारी ताल आउँछन् अनि बच्चा कोरलेर उतै लैजान्छन् भने मानिसका गोरखधन्दाले किन छेक्छ हँ ! एउटा जिज्ञासु पाइतालालाई ? घुम्नबाट ?

सानामा आमाहरू भन्नु हुन्थ्यो –यसका पैतालामा कोठी छन् बाबै । यो संसार घुम्छ । मख्ख पर्थ्यौं हामीहरू । घुटुक्क थुक निल्थ्यौं । घुम्नु भनेको चानचुने रोडम्याप हो र ! यात्राका व्याकरणहरू विनासित्ती घोक्न नपाइँदोरहेछ जीवन नामको बिज गणितमा । कसैकसैलाई भावीले जन्मिँदै धरणीको फन्का मार्ने भाग्य लेखिदिँदो रहेछ –छैटीमा ।

घुमन्ते नियात्राकार दामोदर पुडासैनीको ‘यात्रा सिभि’लाई हेर्दा जोकोही नेपालीलाई आरिस पनि हुन्छ । अँझ निजामति कर्मचारीले त उनको पछाडि कुरा नै काट्छन् होलान् ? लाग्छ उनी रगरगी हिँड्न नै जन्मेका हुन् । या घुम्दाघुम्दै जन्मिएका पो हुन् कि ?

उनी भित्रको लेखक चाहिँ पक्कै घुम्दा घुम्दै उम्दो भएको हुनुपर्छ । मेरो ठनाइ हो ।

विषय प्रवेश ः

मलाई सशरीर पहिलो भेट हुँदै ‘किशोर’ले प्रभाव पारेका थिए । यहाँनेर विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा किशोर भनेका दामोदर पुडासैनी किशोर (वि.सं. २०१९) हुन् । उनी उमेरले करिब आधा शताब्दी नाघिसकेका व्यक्ति हुन् । एक मनले त म रनभुल्ल भएको थिएँ । किन यिनले किशोर ‘निकनेम’ रोजेका होलान् । के मानिस सधैं किशोर रहन सक्छ ? वय सन्धिका हिसाबले त यिनी अब प्रौढोन्मुख जँच्न थालेका लेखक लेखन र चिन्तनका हिसाबले झन्झन् झर्झराउँदा किशोरमय लाग्न थालेका भने पक्कै हुन् । यतिखेर यिनीसँग आरिस ? गर्नै पर्ने विषयातिरेक भनेकै यही हो ।

किशोर प्रत्येक वर्ष एकदुई मौलिक साहित्यिक कृतिहरू भटाभट लेखिरहेका छन् र प्रकाशित पनि गरिरहेका छन् । क्रियाशील लेखकको चिनारी भनेकै पत्रपत्रिकामा फुटकर र पुस्तकाकार रूपमा कृति निकालेर पाठक र समालोचकका समाजमा आफ्नो प्रिजेन्स राख्नु हो । दामोदरले यो प्रिजेन्स यतिबेला ‘मायालु हुम्ला’ नामक नियात्राबाट पनि गरेका छन् । यो मेरा लागि मात्र नभएर नेपाली नियात्रा साहित्य पठनमा लागेका मुमुक्षुहरूका लागि पनि खुसीको सन्दर्भ हो ।

तीसको दसकदेखि साहित्यमा वेगमयी पाइला चालेका किशोर यतिखेर भने वाङ्मयको राजमार्गमा राम्रैसँग दौडेका रहेछन् । जुन कुरा प्रस्तुत गर्न पाउनु हाम्रा लागि खुसीको कुरा हो । मूलत:नियात्राकारको परिचय बनाएका किशोर शैलीगत र विषयगत नवीनताका साथ सिर्जनकर्ममा साधनारत छन् । वाणिज्य शास्त्र र जन प्रशासन गरी दुईदुई विषयमा स्नातकोत्तर उपाधि हासिल गर्ने पुडासैनीका रचनाहरूले जीवन जगत्लाई केही मिहीन र थप बेग्लै प्रकारले अन्वेषण गर्ने तथा नवोन्मेष जीवनका नवीन मार्गहरू प्रतिस्थापित गर्ने काम अनवरतरुपमा गर्दै आएका छन् । यो चाहिँ पक्कै हो ।

महालेखा परीक्षकको कार्यालयमा निर्देशकका रूपमा कार्यरत दामोदर पुडासैनी किशोरले नेपालका बहत्तर जिल्लाहरू र विदेशमा एसिया, युरोप, अमेरिका र अफ्रिकाका प्राय:मुलुकहरूको नियात्राजन्य सार्थक भ्रमण गरेका छन् ।

सरकारी आदेश तामेलीकै खातिर गरिएका यिनका परिभ्रमणहरू नियात्रामा उत्फुल्ल रूपले सजिएर मग्मगाउनु चानचुने व्यशन होइन ।

दामोदरका ‘आफन्तका अनुहारहरू’, ‘आँखाको खेजीमा’, ‘आलोकित आयाम’, ‘आकारको खोजीमा’ र ‘समयको सहीछाप’ जस्ता पाँच थान कवितासङ्ग्रह र ‘यात्राका प्रेमिल तरङ्गहरू’ र ‘नमेटिएका चित्रहरू’ जस्ता नियात्रा कृतिहरू पाठकले निकै रुचाइएका पुस्तकहरू हुन् । यी पुस्तकहरूका अलावा उनी सामयिक रूपमा पनि सक्रिय भएर शतत:लेख तथा रचनाहरू अनि कविता समसामयिक नेपाली पत्रपत्रिकाहरूमा लेखिरहन्छन् । यो यिनको सक्रियताको प्रमाण हो ।
सक्रियता लेखकको मेखाला हो ।

‘मायालु हुम्ला’ को अन्तर्यः

नेपालीमा यात्रा साहित्यको लहरो तान्दै जाने हो भने निकै लामो हुन्छ । ‘राजा गगनीराजको यात्रा’ अहिलेसम्मकै यात्रा साहित्यको जनक हो । त्यसपछि आउँछ –अमुक लेखकद्वारा लेखिएको ‘जङ्गबहादुरको बेलायत यात्रा’ । आधुनिक साहित्यको कालखण्डमा भने डा.तारानाथ शर्माद्वारा लेखिएको ‘बेलायततिर बरालिँदा’ (२०२६) नामक पुस्तकको भूमिकामा नेपाली साहित्यकै अर्का स्वनामधन्य लेखक तथा भाषाशास्त्री बालकृष्ण पोखरेलले ‘नियात्रा’ शब्दको प्रयोग गरेको प्रसङ्ग । यात्रा संस्मरणका लागि मदन पुरस्कार समेतले सम्मानित ‘बेलायततिर बरालिँदा’ पुस्तकले नेपाली साहित्यमा नियात्रा लेख्ने नूतन लेखकहरूका लागि सगर्व बाटो खोलिदिएको भने पक्कै हो ।

दामोदरद्वारा लेखिएका ‘यात्राका प्रेमिल तरङ्गहरू’ र ‘नमेटिएका चित्रहरू’ जस्ता पुस्तकले नेपाली नियात्रा साहित्यको इतिहासमा एउटा गर्विलो मानक नै कायम नगरेका होइनन् ।

‘मायालु हुम्ला’ नेपाली नियात्रा साहित्यको बेग्लै मानक बोकेको कृति हो । यसमा हिमाली भूगोल र त्यसले जीवनमा उभ्याएका समय र सन्दर्भहरूलाई अत्यन्त रूचिकर ढङ्गले अभिव्यक्ति दिएको छ । हिमाली वैभवभित्र पनि कठोर सङ्घर्षपूर्ण जीवन र स्वर्णी म दुरुहता घोलेरै एक बारको जुनीमा पनि हाँसिरहेका मान्छेहरू भेटिन्छन् –उनको यस कृतिभित्र । मान्छको आदिम अनुहार र वर्तमानमा उसले भोगिरहेको पीडाको चङ्गुल ‘मायालु हुम्ला’ नामक कृतिले ओकलेको छ । सुललित शब्दविन्यास, मधुर ध्वनिपूर्ण कवितामय शैली र निख्खर ‘पुटिङ्’ नगरेका शिल्पका कारण ‘मायालु हुम्ला’ नामक नियात्राको कृति पाठकहरूले पढन आरम्भ गरेपछि पढी नसिध्याई छाड्न मान्दैनन् । यो यस कृतिको वैशिष्ट्यता हो ।

घुम्न सबैले सक्छन् तर घुमेका स्थानलाई रम्यरूपले चित्रण गर्नु जसकसैको बशको कुरो होइन । किताब पढ्दा सोही अनुभूत हुन्छ ।

संसारको सार यात्रा हो । यात्राले मस्तिष्कलाई परिष्कृत गर्छ ।

निजामति संसारमा कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोट एक हिसाबले परिहासात्मक प्रतीकमा काम गर्ने विम्बात्मक सुदूर एव म विकट भूगोलहरूका प्रतिछाँया हुन् । उपल्लो तहको कर्मचारीले तल्लो तहको कर्मचारीलाई मानसिक रूपमा डर देखाउने मिथ उपरोक्त लिखित जिल्लाहरूमा मध्ये पनि हुम्ला जुम्लाको नाम निकै शेरगुलका साथ खिलेका हुन्छन् । मन्त्रालयले देशीय सरहद भित्रै रहेर पनि एक प्रकारले छोइछिटो मान्ने जो ऐजनऐजन मानसिकता बनाएको छ, तिनीहरूलाई जोजो हुम्ला या जुम्ला जान्छन् ती र तिनीहरू एकप्रकारले तात्कालीन रुसले आफ्ना जारकालीन विरोधीहरूलाई साइबेरिया पठाएजस्तै ठान्छन् । आफूलाई पराया र सौताका छोराछोरीझैँ मान्छन् –निजामति वृत्तमा । जसले हुम्ला, जुम्लाको प्राकृतिक छटामा पन्पेर नैरन्तर अधरमा अकण्टक रसपान गरेको छ, जसलाई त्यहाँको संस्कृतिले फिदामय लठ्ठ पारेको छ अनि त्यहाँ भएगरेका जडिबुटी वृत्तिले मुहुनी लगाएको छ त्यो व्यक्ति एकफेर हुम्लाजुम्ला गयो भने खोलेमा पल्केको कुकुरको छाउरो झैँ फेरिफेरि गम्न चाहन्छ । निरीह भूगोललाई शासकले बलात अगम्य बनाइदिए ।

तर नेपालको निजामति संस्कृतिले आफूलाई स्थायी सरकार त ठानेको छ नै साथै आफूलाई देश विकासको मसिहा पनि मानेको छ । पकड भएकाहरू कागजमा कर्मचारी बनेर हुम्लाजुम्ला जान्छन् अनि टिएडिए पड्काएर नेपालगञ्जै नदेखी काजगमै फर्कन्छन् । यस्तो छ नेपालको कर्मचारी सरुवाको ‘लिगेसी’ । सिण्डिकेटमा चलेको छ – मेरो देश । ठेक्कामा गरिएको छ राजनीति । यो देश प्रकृतिले दिएको तर नेताले बिगारेको मुलुक हो । यत्ति भन्न अब कुनै आइतबार कुरिरहनु पर्दैन । यो वृत्ति अब नेपालमा धेरै समय टिक्नेवाला पनि छैन किनकि भर्जिन हुम्लाजुम्लाका भर्जिनिटी यातायात र सञ्चारले विगतका केही वर्षहरूमा तोडिसकेका छन् । रै पनि अगम्य छ सबै नेपालीका लागि हुम्लाजुल्मा ।

‘डोल्पाकी छोटी’ पढिएको थियो निकै वर्षअघि । सायद् त्यो कविवर भरतराज शर्मा मन्थलीयको खण्डकाव्य थियो । ‘घाम पानीको छापबिँदो’ र ‘हुम्ला बोल्छ मानसरोबरमा’ जस्ता नियात्रा साहित्यका पुस्तकका लेखक देवीचन्द्र श्रेष्ठले बैङ्कको जागिरे भएर पनि धेरै पटक हुम्लाजुम्लाको परिभ्रमण गरी नियात्रा पस्केका हुन् । हुम्ला बोल्छ मानसरोबरमा नियात्रा त अँझै स्नातक तहको पाठ्यक्रममा पनि समावेश छ ।

विद्यार्थीहरू पढ्छन् अँझै ।

किशोर निजामति साहित्यकार हुन् । उनको सकारात्मक सोचको प्रवृत्ति सरकारी भ्रमणमा पनि नेपाली साहित्यले थोरबहुत केही पाओस् भन्ने खालको छ । त्यसैले यिनले जहाँ जाँदा पनि केही न केही साहित्यिक कोसेली आफ्ना साहित्यिक स्वजनहरूका लागि लेराएका छन् । आमाले हाटबाट सौदा ल्याउँदाखेरी आफ्ना सन्तानका लागि मायाको आँचलमा पोको पारेर मिठाइ, नरिवल र मिश्री ल्याएझैँ ।

यायावरीय शैलीमा लेखिएका यिनको यो पुस्तक भित्रका सबैजसो नियात्राले हुम्लेली दुःखका कहिरन हालेका छन् अनि ती सकसपूर्ण कहरहरूलाई आफ्नो लेखकीय अनुभवको चास्नीमा चोबलेर सुधारका लागि सुझाव दिने यत्न पनि गरेका छन् ।

‘कस्ती होलिन् हँ हुम्ला ?’ नामक लेखबाट श्रीगणेश गरिएको ‘मायालु हुम्ला’ को विषयवस्तु २०६५ भाद्र १३मा ताज होटल, नेपालगञ्जमा बसेर लेखिएको छ । त्यसैगरी १८ वटा रचनाहरूको बिट मार्ने क्रममा ‘सोचेजस्तो होइन जीवन’ २०६५ असोज ११मा राँझा, नेपालगञ्जमै बसेर लेखिएको छ । नियात्रा साहित्यमै विद्यावारिधि गरेका प्रौढमय अभिव्यक्तिका धनी डा. निर्मोही व्यासको ११ पृष्ठमा लेखिएको लामो भूमिका, लेखकीय इमान्दारिताका साथ सपाट शैलीमा पस्किएको प्राक्कथन र कृतिका भाषा सम्पादक अनुपमा रेग्मीको लिखित भनाइबाहेक २२८ पृठमा बाँधिएको प्रस्तुत कृतिले प्रत्येकजसो नियात्रामा हिमाली सुन्दरताको कोमलकान्त पदावलीमा वर्णन गर्दै बीचबीचमा उपयुक्त दृश्य चित्रहरू पनि समावेश गरिएको छ । यो प्रयोग उनका अगाडिका पुस्तकमा पनि गरिएका हुन् ।

आठौं नियात्राका रूपमा राखिएको ‘झिङ्गिनको झकझक’ नामक ११ पेजकै आलेखले हुम्लाका कामचोर कर्मचारीहरूको फस्को धोती खोलिदिएको छ । खोयाबिर्के नखाई उभिनै नसक्ने अनि बिदा लिन पनि कहिले आमा मरेको नाटक गर्नु पर्ने स्वाङ औँलामा गन्न सकिने कर्मचारीहरूको बाहेक सबै जसोको बाध्यता रहेको देखाइदिएर आफ्नो लेखकीय खरोपनाको उदाहरण किशोरले दिएका छन् । आफू भने अनेक बहाना देखाएर मोही र दूधबाहेक केही नखाने भेजिटेरियन लेखा परीक्षकको परिचय पनि देखाएका छन् ।
लेखामा काम गर्ने मानिस यस्तो देवानी (?) स्वभावको हुनु त्यो आफैँमा आश्चर्य हो । देशले यस्तायस्ता देवानी लेखा परीक्षकहरू खोजेको छ तर पाएको छैन । दामोदरहरू देशका सेवक हुन् । जनताका नोकर हुन् । नेपालमा कर्मचारी वृत्तमा दामोदरहरू अपवाद हुन् । त्यसैले यिनीहरू ‘वाद’ बन्न सकेका छैनन् । जति छन् ती उपयोगितावाद मै विश्वास राख्ने भएका छन् ।

नत्र नेपालका धेरैजसो लेखा परीक्षणमा भात अडिट, मासु अडिट र सोमरसमय अडिट भएका छन् भनेर बेलाबेलामा अखबारमा पढिएका विषय नै हुन् । त्यसो त यिनी लेखा परीक्षकमा पनि अपवादका लेखा परीक्षक हुन् । यत्तिको सादगी भएर हरियो मसी चोब्ने यिनी कुनै ‘एलियन वस्ती’बाट आएका परीक्षक त होइनन् ? प्रश्नका पिरामिडबाट एउटा प्रश्न फुत्त झिकेर यिनैलाई प्रश्न गर्न मन लागेको छ ।

भूमिकामा निर्मोही व्यासले नियात्राको सैद्धान्तिक मजलिसलाई आफ्नो विद्वताका साथ निडर र खरो शैलीमा राखिदिएर सबै हाँचका पाठकहरूलाई पुस्तक पढ्न सजिलो पारिदिएका छन् । नियात्रा साहित्य मै विद्यावारिधि गरेका व्यासजीले त्यति धेरै भ्रमणहरू गरेका पक्कै होओइनन् । उपाधि लिन घुम्नु जरुरी पनि छैन । जसले घुमेको छ त्यसले विद्यावारिधि पनि लिएको छैन । पुस्तकको पेरीफेरीमा पनि । त्यसैगरी रेग्मीजीले पनि आफ्नो खुबीले कृतिलाई मन लगाएर कुँद्ने र शब्दाहारबाट चुँद्ने काम गरेकी छिन् । जसले पनि पुस्तको अलङ्कारको काम गरेको छ । पुस्तकको भौतिकी पक्षमा पनि खोट लगाउनै पर्ने कुनै कसर बाँकी राखिएको छैन । आकर्षक कभर र काजग पनि लोभ लाग्दा छन् । पुस्तकको दाम भने अलिक दाँतमा ढुङ्गो लाग्ने खालको छ । जसजसले उपहारमा पाएका होलान् तिनीहरूलाई त मोलको महँगीले छुँदैन होला तर आम र सामान्य पाठकका लागि भने पुस्तक चर्को मोलको छभन्दा पनि हुन्छ । यति चै मैले भनेँ भनेँ ।

हजार शब्दले गर्ने वर्णन एउटा चित्रले गर्छ भन्ने मान्यतामा पनि यिनी अडिग रहेका हुन सक्छन् । अघिल्लो यिनको पुस्तक ‘यात्राका प्रेमिल तरङ्गहरू’मा पनि विदेश सयरका गम्भीर तस्वीरलाई स्थान दिएका थिए । जो उपयुक्त र इतिहासलाई नमन गर्ने खालका थिए ।

प्रत्येक नियात्राको सुरूआत गर्दा यिनले आफूलाई लागेको महत्वपूर्ण लिड वाक्यबाट लेखनीको डोरीका पोया बाट्न सुरू गरेका छन् अनि खिरिलो पार्दै उत्कर्षमा पुर्याएर गाँठो पारेका छन् । जसले पाठकलाई अधिक सन्तुष्टि दिन्छ । पुडासैनीका नियात्रामा शब्दहरू दृश्यचित्र बोकेर मात्र ठिङ्ग भई उभिएका छैनन् । जीवन, संस्कृति, भूगोल र तिनबाट उठेका नौला रङ, आकार र आवाजलाई नवीन चेत बनाएर उभिने सामर्थ्य समेत राख्छन् । यात्राको वर्णनमात्र नगरी आफूले पाइन लगाएका शब्दहरूलाई सुरूचिपूर्ण, अर्थसापेक्ष, र अनुभूतिका प्रौढ बान्कीमय परिपाकमा थुपुथुपु पस्कने क्षमता उनमा रहेको छ भनेर ठोकुवा गर्नै सकिन्छ ।

समापन :

आख्यानहीन रचनाको पाटोमा राखिएको नियात्रामा पनि केही कथातत्वभएका घटना र पात्रहरूको गुम्फन गर्दै दामोदरले लेखेका रचनाहरू अलि समास शैलीमा भविष्यमा आए भने त्यो परिघटनालाई सुखद् आश्चर्य नै मान्नु पर्ने हुन्छ । त्यो नहोला भन्न पनि सकिँदैन । उनी अहिले पनि लेखिरहेका छन् । सार्थक लेख्ने कोसिस गरिरहेका छन् । एउटा लेखकलाई एकान्तको उपहार दिन सकियो भने उसले पहिले आफूलाई र त्यसपछि समाजलाई सामयिक र अजरामर कृति दिन सक्छ भन्ने मेरो यतिखेरको मान्यता रहेको छ । त्यसैले पनि दामोदरले लेखनलाई अँझ न्याय गर्दै लेख्नु पर्छ । लेखिरहनु पर्छ । त्यो लेखनको केन्द्रविन्दुमा आफू र आफ्ना रहर मात्र होइन । देश र जनता अनि समसामयिक स्वर हुनु पर्छ । जसरी यो समालोचकीय कृति ‘मायालु हुम्ला’मा भएको छ ।

अहिलेलाई यत्ति नै ।

पेशल आचार्य
महालक्ष्मी नगर पालिका वडा नं. १०
हाल :सहायक प्राचार्य,
मन्थली उमावि, मन्थली ।
मोबाइल :९८४४०४४०८३

Leave a Reply

Your email address will not be published. Required fields are marked *