Skip to content

ओबामालाई एउटा सन्देश

KhemSampangEktappe


जर्ज वसिङ्गटनको पाइतालामा उभिएर
आफूलाई शक्तिशाली
झाँक्री ठान्ने अमेरिकीहरू,
सद्दाम, लादेन र गद्धाफीलाई
भोक हालेर मन्साउँदैमा
मन्सेन तालिवान
हटेनन् अलकायदा र आई एसहरू ।

अँझै तर्सिन्छ दमास्क,
अँझै थर्किन्छ पेसेवर
गनाउँछन् काबुल र इराकहरू ।

यतिबेलाका अमेरिकी झाँक्रीहरूले
अन्साई-पन्साई गर्ने
मुन्धुम बिर्सेछन् क्यार !
वासिङ्गटन र लिंकन जस्ता
मुन्धुमी झाँक्रीहरूसँग
गुरु थाप्नै बिर्सेछन् क्यार !
वासिङ्गटनले देखेको सपना
यस्तो थिएन होला ।

लिंकनले कोरेको मार्गचित्र
यस्तो थिएन होला ।

त्यसैले आज
ओ ! क्लिन्टन, बुस र ओबामाहरू
आइन्सटाइनको E=mc2लाई बिर्सिदेओ
र रुसोवादी बन
अनि गर कलमको युद्ध
र लड बौद्धिक युद्ध ।

अट्टोहानको Formula delete गर
गान्धीवादसँगै
शान्ति र अहिंसाको पक्षामा लड
मण्डेलाको समानताको पक्षमा हिंड
र ती सारा प्रमाणुहरू नष्ट गर
अस्त्र विनाको संसारको कल्पना गर
र भन ती विद्रोहीहरूलाई
बन्दुकको नालले होइन
पञ्चशीललाई शीरोपर गरौं
सत्रुतालाई त्यागेर
मित्रताले अघि बढौं ।

र न तिमी ढुक्कले बाँच्नेछौं
विश्व शान्तिले छाउनेछ ।

आइन्सटाइनलाई सिरानी हालेर
कति थर्काउँछौं विश्वलाई
अट्टोहानको प्रमाणुसँगै
कति जिस्काउँछौं किम जोङ्गलाई
नजिस्काउ किम जोङ्गहरूलाई
आज सारा किम जोङ्गहरू
तिमीसितै जङ्गिएकाछन्
तिम्रै विरुद्धमा उठेकाछन्
कति पर्छौ तालिवान, अलकायदा,
आई एसहरूको निसानामा ।

तिम्रै घमण्डले गर्दा
तिम्रै हुँड्कार र अहंकारले गर्दा
ती ट्वीन टावरहरू ढलेकाछन्
निर्दोष विश्व सपनाहरू
त्यसै जलेकाछन्
आज सारा विश्वलाई
रणभूमि बनाइएको छ ।

अब खाली छैन सारा विश्व
जतात्यतै आई एसहरू
गुञ्जिन थालेकाछन्
जसले निर्दोष आत्माहरू
टपक्कै टिपेकाछन्
यसले वीर नेपाली मुटु चुडेको छ
नेपाली आमाको कोखमा प्रहार गरेकोछ
र इराक काबूल र ढाकाहरू
रक्ताम्य पारेको छ ।

नेपाली बीरताको गाथालाई
कमजोर नठान हे पश्चिमा हो
बलभद्र, अमरसिंह र लखनहरूको पुस्तालाई
कमजोर नसम्झ हे पश्चिमा हो ।

त्यसैले आज म
गगनचुम्वी हिमालहरूको देशबाट
एउटा सन्देश पठाउँदैछु ।

शान्तिको अग्रदुत बुद्धको देशबाट
धर्तीलाई साक्षी राखेर
विश्व शान्तिको सन्देश पठाउँदैछु ।

ए हिंसाप्रमी ब्वाँसाहरू
क्रुर सपनाहरू देख्न बन्द गर ।

बम र बन्दुकको माध्यमले
मान्छेको शिकार खेल्न बन्द गर ।

सपना सजाएको जीवनलाई
कत्लेआम गर्न बन्द गर ।

रक्ताम्य राता रगतले
इतिहास लेख्न बन्द गर ।

त्यसैले अब –
ती लड्ने-भीड्ने तागतहरू
महामारीमा पिल्सिएका
बेसहाराहरूमा लगाओ ।

भोकमरीमा रुमलिएका
निमूखाहरूमा लगाओ ।

विश्व शान्तिको लागि
समृद्ध विश्वको लागि
ओ ! ओबामाजी
यो विन्ती पत्रको थालनी
त्यहीँबाट हुनपर्नेछ
जहाँ तिमी आसिन छौं ।

‌ओ ! ‌ओबामाजी
यो विन्ती पत्रको शुरुवात
White Houseबाटै गर्नुपर्नेछ
जहाँ तिमी बिराजमान छौं ।

खेम साम्पाङ् एकतप्पे
इलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *