Skip to content

साजाडनीमको साइन


काजीको ठूलो आवाजमा तेब्बर चौब्बरसम्म एउटै शब्दको चिच्याहटले हामी बस्ने सानो कोठा गुञ्जयमान भयो र म मध्यराति अचानक ब्युझिएँ । मध्यराति भएकाले त्यसलाई व्यवस्था गरी सुत्ने प्रयास गरे तर धेरै कुराहरू मनमा खेल्न थाले । शायद काजी सपनामा बौरिएको होला,सपनामा कहिलेकाहीं जो कोही बहुरिन्छ भनेर नसुनेको पनि होइन तर उसले पहिलोचोटि यति ठूलो आवाजमा त्यसमाथि रुन्चे स्वरमा ”सक्दिँन, सक्दिँन” भनेको सुन्दा उसलाई जबरजस्ती कसैले केही लादिरहेछ भन्ने लाग्यो र लम्पसार परेको जिउलाई उठेर नियालेँ तर ऊ मस्त निद्रामा थियो । स्वाँ -स्वाँ गर्दै चिर निद्रामा देखेपछि फेरि म यथास्थानमा फर्केर सुतेँ । मनमा सपनासम्बन्धी अनेक तर्क र वितर्क आइरह्यो तर पनि दिनभरिको कामको थकान र बिहानको स्वर्णिम दिनको कल्पना गर्दा गर्दै चकमन्न र सुनसान रातसँगै म निदाएँ ।

किरिरिङ् -किरिरिङ् घडीको घण्टीले बिहान सात बजे ब्यूँझायो । आठ बज्नु अगावै काममा पुग्नुपर्ने भएकाले बिहान हामी भ्याएसम्म खाजा खान्थ्यौँ । हरेक दिन घण्टीसँगै उठ्ने काजी त्यस दिन ब्यूँझिए पनि लम्पसार परिरह्यो र काममा नजाने इच्छा जाएर गर्यो । मैले उसलाई प्रतिप्रश्न पनि गरिन किनकि ऊ मध्यराति त्यसरी चिच्याएको थियो जुन चिच्याहट मनमा ताजै थियो । कम्पनी कोठादेखि केही पर भएकाले केही मिनेट अघि नै कोठाबाट निस्कनु पर्थ्यो । काजीविना एक्लै काममा जानु पर्दा खल्लो र नरमाइलो त लाग्यो नै, भित्रभित्र डर पनि लागिरह्यो । तर बिडम्बना म नजानुको विकल्पै थिएन र अन्त्यमा उसको मुखबाट केही सुन्ने आशाले नजिकै गएर पर्खालमा लीन भए । मलाई निष्प्रभ भई मायालु अनुहारले मतिर हेर्दै निन्याउरो स्वरमा भन्यो ” बिरामी भयो भनिदिनु ” । झनक्क रिसाई हाल्ने कोरियन स्वभावको हेक्का राख्दै म सधैँझैँ मिरमिरे घामसँगै सरासर कम्पनीतिर हानिएँ । अफिस टाएम भएकाले बाहिर मानिसहरू काममा पुग्न हतारिएका देखिन्थे । अत: म पनि हतासमै कम्पनी पुगे र काजी नआएको जानकारी गराई सिधै ड्रेस फेरि काम शुरु गरे ।

हामीले गर्ने कामसँगै भएकाले मलाई उसको अभाव भरदिन बारम्बार खड्किरह्यो । काममा बोल्ने समय नभए पनि घरिघरि आँखाले बात मारि आफूलाई एक्लो महशुसको लहरबाट टाढै राख्थ्यौँ । काम जोखिमूर्ण र खतरापूर्ण भएकाले सुरक्षासम्बन्धी सम्पूर्ण कसरहरू बाँकी नराखि काम गर्थौँ । यति काम गर्दा गर्दै पनि कोरियनहरूको तल्लो स्तरको गाली गलौज भने सहिनसक्नु हुन्थ्यो । तर पनि केही पाउनका लागि केही गुमाउनु पर्छ भन्ने मान्यताले मनलाई थुमथुम्याई असह्य पीडाका बाबजुद पनि आधा वर्ष कटिसकेको थियो । इ. पि. एस् मार्फत काजी र म नेपालबाट छ महिनाअघि दक्षिण कोरिया टेकेका थियौँ । यति मात्र होइन हामीसँगै बस्ने रसँगै जाने योजना बुनिसकेका थियौँ । काजी धेरैजसो घरको यादले बारम्बार सताइरहेको कुरा बडो दुखका साथ पोखिरह्थ्यो । दुलहीलाई घर भित्र्याएको एक महिनामै धन कमाउन परदेश आउँदाको तितो यथार्थले घोचिरहेको र आफू घरको जेठोबाठो भएको र सबै भाइबहिनीको भविष्यको चाबि आफैसँग भएको कुरा सुनाइरहन्थ्यो । पछिल्लो समयमा निराश र तनाब भएतापनि साथीभाइको हौसला र सल्लाहले कन्ट्र्याक्ट अवधिभर काम गर्ने बताउँथ्यो । कहिले तेह्र कहिले चौध र पन्ध्र घण्टा नबिराई काम गर्दा एकातिर गलान र थकान त थियो नै तर अर्कातिर काममा गरिने क्षुद्र व्यवहारले चिन्तित तुल्याइरह्थ्यो । काम छिटो -छिटो नबिराई गरिरहनु पर्ने,सानो गल्तीमा पनि गरुडले सर्प छोपेझैँ छोप्ने,झनक्क रिसाई हाल्ने,प्रत्येक दिन अपशब्दले पाँडे गाली गर्ने आदि कुराहरूले मनलाई एक किसिमले तहसनहस नै बनाइसकेको थियो । साँझमा कम्पनीबाट निस्कँदा निथ्रुक्क पानीमा भिजि ओभाएर निस्किएको जस्तै भान हुन्थ्यो ।

त्यसदिन मैले एकातिर काजीका बारेमा सोचिरहेँ । उसको हाउभाउ,उसको बोलाई,उसको सुस्तता,उसको हिनता,जीर्णता आदि इत्यादि भने अर्कातिर कोरियनहरूको हेपाई, हप्काई,दलाई र लदाइ आदि । फलाम कम्पनी भएकाले बिहानदेखि अबेरसम्मै फलामसँगै खेल्नुपर्थ्यो । आगोमा फलामका टुक्रा पोल्दै र फ्याँक्दै गर्दा शरीरको छालामा राता र अँगुर आकारका डोब देखिन्थे । बारम्बार निहुँरिरहनु पर्ने भएकाले ढाड र कम्मरको थेरापी गर्न प्राय हामी दुवै अस्पताल धाउँथ्यौँ । कोरिया आउनुभन्दा पहिले नै विभिन्न रोगले थलिएर पछि फेरि रोगलाई जिति कोरिया आएको ऊ अर्कातिर आँखा र कान पनि सुस्त -सुस्त हुँदै गएकाले उसको चमकतामा दिनप्रतिदिन ह्रास आउँदै थियो । तरपनि बाध्यता सम्झेर काम भने चाहिँ सकि नसकि गरिरहन्थ्यो । यहीताकामा हामी बीचमा कहिलेकाहीँ कम्पनी परिवर्तनसम्बन्धी कुरा पनि भयो । अपसोच यससम्बन्धी सम्पूर्ण अधिकार साहूलाई दिएको हुनाले हाम्रो साहूबाट यो कुरा असम्भब थियो । हक्कि र हिँस्रकका देखिने साहू हिटलर शैलीमा कहिलेकाहीँ आएर कम्पनी नियाल्ने गर्थ्यो । साहूको आगमन हुँदा हामीलाई अँझ छिटोछिटो काम गर्न अह्राइरहन्थ्यो । कामदारकारुपमा चाइनिजहरू, हामी दुई नेपाली र बाँकी कोरियनहरू थिए । तर जोखिमपूर्ण काममा भनेपछिल्लो समयमा आएका हामी दुई थियौँ । मैले काजीविनाको त्यो दिनको काम सिध्याउँन स्वदेश छाड्नु जस्तै गार्हो र नरमाइलो लाग्यो । तरपनि तोकिएको समयसम्म काम गरेपछि म सधैँ झैँ ड्रेस फेरेर कार्ड चेकआउट गरी हतारोमा कोठा हानिएँ । शारीरिकरुपमाभन्दा पनि मानसिक रुपमा गलेर थचक्क बसेको थिएँ ।”पीडा त काजीलाई परेको हो तर म चै किन यति धेरै थकित छु !”

‘आऊ बिमल आऊ’ ढोका खोल्नसाथ हर्षित मुद्रामा स्वागतिलो आवाज आयो । मैले जुत्ता नखोली शुरुमै काजीलाई हेरेँ । खुसीतुल्य मुद्रामा काजी भुइँँमा थचक्क बसेको थियो र मलाई नै पर्खिरहेको थियो । सुस्तरी ढोकाकै छेउमा बसि जुत्ता खोल्न शुरु गर्न मात्र के लागेको थियो कोठा चुरोटको धुवाँले भरिभराउ रहेछ तातो हावाले बेलुन भरिए झैँ । कहिल्यै एक सर्को चुरोट नतान्ने काजीले फ्वाङ् फ्वाङ्ति चुरोट उडाइरहेको थियो । नियालेर नजिक गएर हेरेँ छेउमा सोजुका 3 वटा बोतल त्यसमा एक पुरा दुई खालि र एक बट्टा मालबोर रेड । मैले काजीसँग केही बोल्ने आँट गरिन किनकि काजी शेर भएको थियो । रक्सीले उसलाई जितिसकेकाले रक्सी हाबि भएर काजी काजी जस्तो देखिँदैनथ्यो । जमिनको चिसो हावा तातिएर माथि-माथि आकाशमा उडेझैँ गरी काजी भावनामा बहकिरहेको थियो । काममा कोरियनहरूबाट हेपिनुको पीडा एकपछि अर्को निकाल्दै कहिले भावुकतामा पुग्थ्यो त कहिले खितखित गर्दै अट्टहासमा । मैले उसको तत्कालीन ध्यानलाई अर्कैतिर मोड्ने प्रयास गरे र केहीछिनमै सोधेँ ।

आज के गर्यौ ? अस्पताल गयौ ?

उसले सुस्तरी लरबराउँदै भन्यो “कति जाने अस्पताल?कति हान्ने कम्मरमा काडासरि सुई? म थाकिसके यार ।

उसले फेरि थप्यो,”हातको उपचार गर्ने कि,आँखाको उपचार गर्ने कि,कानको उपचार गर्ने कि,कम्मरको उपचार गर्ने !”

उसले घुमाउरो शैलीमा उत्तर दिँदै नजिकै रहेको बोतल तानि नयाँ कपमा सोजु फटाफट खन्यायो र मेरो हातमा थमायो । कामबाट आएर जुत्ता मात्र खोलेर बसेको छु,बस्नासाथ कसरी रक्सी पिउँ !तर आजसम्म उसले भनेका सबै कुराहरू बिना हिचकिचाहट स्वीकार गरेको म जाबो एक कप सोजुलाई कसरी इन्कार गरुँ ? त्यसमाथि फेरि हातैमा थमाइदिएको । उसको चियर्षसँगै घुट्का लगाएँ । काजी झन्झन् मदहोश हुँदै गहिराहितिर गइरहेको थियो भने म चाहिँ उसलाई त्यो भासबाट निकाल्न तल्लिनमा भएता पनि मेरो असफल प्रयास भने जारिरहिरह्यो ।

“जुन योजना र सपना बोकेर युवा विदेशिन्छ,त्यो त कहाँ हुँदोरहेछ र ? उमेरमा त ईश्वरले यस्तो बेहाल बनाइदिन्छन भनेपछि त के गर्लान । केही गरेर जिउँछु भन्नेलाई त गर्न देऊ भगवान् । हामी कोरिया धन कमाउन आएको हो न कि रोग कमाएर जान । पौरख गर्दा गर्दै पनि किन यस्तो हुन्छ जीवनमा ? तर मैले हारेको भने छैन र हार्ने पनि छैन । हामी इमान्दारपूर्वक आफ्नो ड्यूटी निभाउँछौ तर हमेसा झुक्दैनौँ । यो रगत,यो शरीर सबैको उस्तै हैन र ?

फलामले बनेको मन त सायद कसैको हुन्न होला नि ?कि कोरियनहरूको हुन्छ ?हुन्छ भने अर्कै कुरा हो तर मलाई किन काममा जबरजस्ती गरिन्छ जुन मलाई स्वीकार्य छैन । आजसम्म जन्मदिने आमा बाबुबाट त एक अपशब्द नसुनेको मैले पलपलमा कसरी ‘सेक्या’,,खे सैक्या’ र ‘शिबाल’ सहन गर्ने ?यो असैह्य छ । शरीरको थकान र पीडा त म सहन गर्न सकौला र गरेकै पनि छु तर यो निच र हिन व्यवहार कसरी सहन गर्ने ।”

उसले यति भनेपछि म पनि केही सोच्न बाध्य भए । कोरियनहरू झट्कि स्वभावका हुन्छन र आफूले पनि हजारौँ नराम्रा शब्दहरूले झटारो खाई बानी परेको सम्झिएँ । वास्तवमा कोरियनहरूको स्वभाव छिटो रिसाइ हाल्ने र छिट्टै हाँसि हाल्ने पनि नसुनेको होइन । तर ती रिसाएका कोरियनहरू कहिल्यै पनि हामीप्रति हाँसेनन् । लगातार रिसाई मात्र रहे । भाषिक कठिनाईले गर्दा हाम्रो कम्पनीसँग दोहोरो कुराकानी हुन पाएन । यस्तै यस्तै अनेकौ कारणले हाम्रो कम्पनीसँग राम्रो सम्बन्ध बन्न सकेन । अति विकट ठाउँमा रहेको हाम्रो कम्पनी वरपर न त कुनै नेपाली भेटियो न त पीडालाई बुझिदिने कुनै मान्छे वा निकाय । आएदेखि नै हामीलाई गधाकै रुपमा लिइयो । हामी पनि आफूलाई गधै सम्झेर लुरुलुरु भारी बोक्यौँ । फरक यति हो त्यो गधाले साँझमा साहूको माया पाउँथ्यो हामीले त्यो पाउँदैनथ्यौँ,मायाको अलावा गाली र गलौज । ऊ भन्दै थियो,उनीहरूले सोच्दा हुन् नेपालीहरू खान नपाएर विदेशिन्छन्,टन्न खान्छन्,कमाउछन् अनि जान्छन् । यिनीहरूलाई जस्तो व्यवहार गरे पनि हुन्छ, जति काममा पेलाए पनि हुन्छ,पारिश्रमिक मनपरि दिए पनि हुन्छ ‘ ।

हामी खानै नपाएर विदेशिएको त होइन नि यार,इमानले पौरख गरौँ र केही अँझँ कमाऊँ भनेर पो आएको त । ‘वास्तवमा उसले जे बोलिरहेको थियो,सतप्रतिशत मेरो पनि मनकै कुरा बोलेको थियो । म भित्रभित्रै उन्मादित र समर्थित भए पनि बाहिर भने उसलाई हौसिएर समर्थन गरिन किनकि उसलाई मैले बिस्तारै चुप बनाएर निदाउनु थियो । उसले मलाई फेरि कपमा सोजु खन्याइसकेको थियो । अन्तिम सट भन्दै दुवैले पिएर सधैं सुत्ने ओछयानमा पल्टियौँ र सधैझैँ कुरा गर्दै निदाउन कसरत गर्यौँ । काजीले हरेक दिन निदाउने क्रममा फरक विषयवस्तुको बारेमा केही न केही कोट्याएकै हुन्थ्यो । र कुरा गर्दा गर्दै ऊ भने चैँ भुसुक्कै निदाइ दिन्थ्यो र म भने चै बिस्तारै निदाउँन सक्थेँ । तर त्यस दिन उसले कम्पनी परिवर्तनसम्बन्धी कुरा निकाल्यो र कम्पनी छौड्नै पर्ने आवश्यकताको कुरा गर्यो । तर बिडम्बना यो थियो कि कम्पनीको साहूसँग न त हामी राम्ररी परिचित छौँ न त कहिल्यै बातचित पनि । इ पि एस्बाट आएका कामदारले विभिन्न अवस्था लगायत काम गार्हो भएको अवस्थामा तीन चोटिसम्म कम्पनी परिवर्तन गर्न सक्छ भन्ने सुनेका थियौँ । तर कुरा गर्ने आँट आजसम्म न त काजीको थियो, न त मेरो नै । यही योजना बुन्दा बुन्दै आजको दिनसम्म आएका थियौ । हरेक दिन हामी त्यही पुरानो योजनालाई नयाँ ढङ्गबाट सोच्ने गरेतापनि सम्बन्धित मानिससँग कुरा गर्ने साहसको कमीले हाम्रो मनलाई दिनप्रतिदिन कमजोर बनाइरहेको थियो । त्यस रात मनभरि यही कम्पनी परिवर्तनसम्बन्धी कुराको बतास चलाउँदा चलाउँदै समयले नेटो काट्न लागिसकेको थियो । र काजि सधैँ झैँ बोल्दा बोल्दै निदाइसकेको थियो र म पनि भोलिको काम सम्झिदा सम्झदै निदाएँ ।

उसैगरी बिहान हामीलाई आल्रामले ब्युझाँयो । ब्युझँनासाथ म भने काजी आज काममा जाने हो कि होइन भनेर सोचिरहेँ । काजी काममा नजाँदाको दिन सारै पट्यार र दिक्दार लाग्ने हुँदा आज त जसरी भए नि लाग्छु भनेर कस्सिएँ । तर मलाई काजीले कस्सिन बाध्य नबनाई झट्टै उठि बाथरुमतिर लागेको देख्दा धेरै खुशी भए । कारण यो थियो कि म कम्पनीमा एक्लो महशुस नगरुँ । मिनेटमै काजीले कपडा लगाउँदै भन्यो “आज भने चैँ कम्पनीमा कुरा गर्नु पर्यो । के प्रतिक्रिया आउँछ हेरु ।”उसले उठ्नेसाथ गम्भिर भएर यसरी भनिँरहदा दुवै सँयमित भयौँ र हौसला बटुली मरिसकेको हाम्रो पुरानो गुरुयोजनालाई फेरि ब्युझायौँ अनि मानसिकरुपमा तयार भई कोठाबाट निस्कियौँ । योजना त बनाईयो तर कुरा पो कसरी गर्ने,कोसित गर्ने,के भन्ने ?बारेमा दुवैले अनभिज्ञ थियौँ । पहिले पहिलेकै जस्तै हाम्रा योजनाहरू बन्दै र छोड्दै गरेझैँ त्यो योजना पनि त्यही ढ्याड़मा जाने पक्का थियो । काजीले धेरै चोटि “आज चै कम्पनीमा कुरा गर्नु पर्छ है “भनेकाले मलाई चै एकमनमा ऊप्रति कुनै पत्यार लागेको थिएन । तर पहिलेकोभन्दा झिनो आशा भने चै पलाएकै थियो । काजि बताश झै अगाडि अगाडि चुपचाप हुइकियो म भनेपछिपछि । जति जति कम्पनी नजिक हुदै आउछ उति उति मेरो मनमा चिसो पस्दै गयो । अन्त्यमा हामी गेटमा प्रवेश गर्न मात्र के लागेका थियौ काजिले पहिलोचोटि फर्केर मलाई हेर्यो । मैले मुन्टोको इसाराले अघि बढ्न संकेत गरे । काजि अघि त बढ्यो तर त्यो गतिमा बढेन जसरी एकैछिन अघि बढेको थियो । बीचमा पुग्दा हामी अलमलमा पर्यौ र मुखामुख गर्यौ । काजिको रिसाएको र निराशपनको मिश्रित अनुहार देखियो । र यस्तै निराश मुद्रामा अघि बढ्दै सरासर खल्तीबाट कार्ड निकाल्यो र कार्ड चेक इन गर्यो । मैले पनि उसैलाई पछ्याउँदै गए । समय अलि ढिला भ्इसकेको थियो । त्यतिकैमा भित्रैबाट एक आबाज हामीप्रति लक्षित गरेको सुनियो । हामी आफ्नो गतिलाई एक्कासि रोक्न बाध्य भयौँ र टक्क अडियौँ ।

अहिले कति बज्यो ?

काममा किन ढिला ?

भोलिदेखि तीस मिनेट अगाडि आउने,बुझ्यौ ?

हामीले बुझेपनि दुवैले टाउको चैँ हल्लाएनछौँ र फेरि पनि तीब्र आलोचित भइरह्यौ । काजी र म उठेदेखि नै आफ्नै योजनामा घोत्लिनाले समय चिप्लिएको पत्तै पाइएनछ । यता कोरियनसँग सम्वाद गरेको काममबाहेक अरु ठाउँ नभएकाले हामीलाई केही बोलिहाल्न असजिलो महशुस भयो । काममा पनि अत्याचार भएपछि मात्र प्रतिउत्तर दिनाले धेरै चोटि हाम्रो होस न हवास भएको थियो । एकैछिन अघि यान्त्रिक बनेर निस्केको काजी एकाएक चुपचाप देखेर छक्क परिरहेँ र मनमनै बोल्ने आट गरदिए हुन्थ्यो भनी सोचिरहेँ । तर समय ठिक उल्टो गतिमा दौडिरह्यो । बोल्नुको अलावा सिधा हेर्न नसकेर मुन्टो झुकाएकाले हाम्रो योजना थप पछि धकेलियो । त्यहाँ हामीलाई केहीछिन थमाएर गाली गरेपछि दोस्रो व्यक्तिले पठाउने आदेश दियो र दुवै मलिन अनुहार बोकेर हतारिँदै काममा लाग्यौँ । यस अवधिमा हामीलाई धेरै नराम्रा वाणहरू प्रहार गरियो । थोरै बुझियो धेरै बुझिएन । तर बुझेका ती शब्दहरू सदियौँसम्म मनसपटलमा कुदिएर बसे र छत्रछायाँ पाउनसाथ झक्काइरहेँ । नियमित समयमा नआइपुग्नु हाम्रो गल्ती स्वीकार्दै हतारिँदै काममा त पुग्यौँ । तर पहिलो चरणमै हतोत्साहित र निराश देखिएका हामीलाई काममा फेरि गाली खाने पक्का पक्कि नै थियो । हुन त हरेक दिन काममा गाली खाँदै र पचाउँदै गरेकाले त्यो गाली गौण नै लाग्थ्यो । तर त्यसदिन काममा आउनुपूर्व तर्सिएकाले कसैको आवाज पनि “आगोमाथि तेल “भनेझैँ भयो । नभन्दै फान्जाड़निम( बोसले )परैबाट अपशब्द प्रहार गर्दै ढोकाको साँधमै ऊभ्यायो । बिनाकारण किचकिच गरिरहनेले कुनै कारण पाउँदा त झन् उखरमाउलो भयो । हामी केही मिनेट ढिलो आउँदाको र काजी हिजो काममा नआउँदाको परिणाम आज दुवैले चाख्न बाध्य भयौँ । प्रतिउत्तरमा काजीले मुख फोर्यो र भन्यो ।

“ढाड दुखेर आउँन सकिन,माफ गर्नुहोला ” ।

उसको उत्तर भुँईमा खस्न नपाउँदै झन् मकै पट्किए झैँ पट्टट् गालिका वर्षा वर्षाइरह्यो ।

बुझे नबुझे पनि त्यो आवाज हाम्रा कानमा गुन्जिरह्यो र लगातारको गुन्ज्याईले एकाएक भित्रभित्रै ऊनिहरूप्रतिको धारणा नकरात्मक बन्न गयो । काजी रिसले आक्रामक भइसकेको थियो । काजीको अनुहार हिजोको सरापले बिगारेजस्तै आज पनि बिग्रिसकेको देखिन्थ्यो । यता अरु कोरियनहरू भने मप्रति अनेक प्रश्नहरू तेर्साइरहे र मैले पनिसकेजति उतर दिइरहे । अन्तत अब उपरान्त काम मिहिनेत गरैनौ भने नेपाल पठाउने भन्दै काममा जाने आदेश दियो । हामी लाचार बनेर लुरुलुरु कामतिर लाग्यौ ।

“कस्तो भासमा फसिएछ राजै,न त निस्कन सकिन्छ न त उतै भासिन ।”रातको दश बजेपछि ठिक कम्पनी गेट बाहिर निसक्ने बित्तिकै काजीले निधारमा लपेटिएको पसिना पुछ्दै भन्यो “जाबो कामदारले एकदिन काम गर्न नसक्दा यस्तो पीडा दिने !तीन सय पैसठ्ठि नै दिन काम गर्न, के हाम्रो शरीर मेसिन हो ?फेरि गल्ती स्वीकारी माफी त मागेकै थिएँ नि,किन यत्रो ताण्डब रच्नु पर्यो ?यस्तो पाराले कसरी कटाउने समय । यहाँ त दिन कटाउँनै पहाड फोरेभन्दा गार्हो हुनेभयो ।”गलेर लखतरान भएता पनि काजीको आवाजमा कुनै वजन घटेको थिएन । हामी सरासर कोठामा गयौँ र विभिन्न संघसंस्था वा व्यक्तिलाई फोन दबायौँ तर अबेर भएकाले कसैको फोन रिसिभ भएन । बिहान जुन उर्जा बोकेर गएका हामी रातमा ठिक विपरित भएर फर्कियौँ र त्यस दिन थकित मुद्रामै सुत्यौँ ।

मलाई गार्हो भयो म अस्पताल जान्छु “हप्तादिन पछि काजीले काममै फान्जाड़निमसँग अनुमति माग्यो । तर उसले अनुमति दिन ठाडै अस्वीकार गर्यो । बिहान उठेदेखि नै ढाड दुखेको कुरा गरिरहेको उसलाई जबर्जस्ती मैले नै काममा जान प्रेरित गरेको थिएँ । काजी साँच्चै नै ढाड दुखेर फतफत भएकाले काम गर्न सक्ने अवस्थामा थिएन । केहछिन पछि काजी काम गर्दा गर्दै एक्कासि शरीर थेग्न नसकेर भुँईमा थचक्क बस्यो । काजीले बस्नुअघि धेरै बिन्ती बिसायो । सट्टामा उसले फान्जाड़को फगत गाली बारम्बार खाइरह्यो । तर यतिले मात्र हुनेवाला थिएन,भएजति घिनलाग्दा शब्दहरूले काजीलाई घोचिरह्यो । मोबाइलमा काजी बसेको तस्बिरहरू घुमिघुमि कोणकोणबाट कैद गर्यो । तर काजी बीस मिनेटसम्म डेग चलेन । फान्जाड़ काजीदेखि अत्याधिक चिढियो तर कसै गर्दा केही नलागेपछि काजीले खुकुलो बेल्ट कस्यो र जब्बरजस्ती काममा हात बढायो । छिनछिनमा मायालु अनुहार मतिर फर्काउँदै काम गरिरह्यो । त्यस दिन चाहेर पनि मैले उसलाई केही गर्न सकिन र गर्ने कुराहरू पनि केही थिएन । यस्तै यस्तै गर्दै महिना दिन बित्यो ।

हरेक रात सपनामा काजी बोलेकै हुन्थ्यौ र बोल्नु र बौराउनु सामान्यै लाग्थ्यो । तर एकदिन कोरियनसँग चर्चरि बाज्यो र लेटर माग्यो । गार्हो कामले रोग निम्त्याएको भन्दै विनम्र हुँदै एकोहोरो ढिपी गरिरह्यो । लगातार लिढेडिपी गरेपछि मैले दाहिने पाखुरामा समाएर हल्लाई काजी काजी भनेँ । ऊ झसङ्ग भो र ब्यूँझियो अनि उतानो परेर फेरि सुत्यो । यही तनावले गर्दा दुवैको जीउ सुक्दै गयो । पर्याप्त निदाउन सकिएन । पर्याप्त खान सकिएन र दुवै अस्वस्थ भइयो । फलस्वरुप केहीदिन काममा जान सकिएन । यही अवधिमा अस्पताल धाइयो । साथीभाइहरूसँग कुराहरू साटासाट गरियो । कसैले कम्पनी छोड्नै नहुने त कसैले आजै छोडिहाल्न सुझाव दिए । दुताबासबाट पनि यस विषयमा केही गर्न नसकिने प्रतिक्रिया आयो ।

कम्पनीमा काम गर्न फिटिक्कै मन नलाग्ने,यतिसम्म कि कम्पनी वरिपरि नै नबसौँ जस्तो भयो । तर यो दुवैको विकल्प भने अरु केही थिएन । जानै पर्थ्यो, गर्नै पर्थ्यो । हामीले सबै संघसंस्थामा आबद्ध नेपालीभाषिलाई गुहारियो र सबैलाई गुनासो पोखियो । सबै अधिकार साहुको हुनाले हाम्रो केही नचल्ने भनेपछि झन मनभित्र आगो दन्कियो । कोरियामा त्यत्रो संख्यामा नेपाली हुँदाहुँदै पनि हामीलाई एक्लो महशुस भयो । अन्य साथीभाइ हुँदा पनि नभए जस्तो भयो । तर त्यो दिन फोन घुमाएका सबै ठाउँबाट साहुसँग एकचोटि कुरा गरिदिन अनुरोध गरियो । र शायद बारम्बार हाम्रो विषयमा अफिसमा कलहरू आउँथे र काममा कोरियनबाट आगो झैँ तातो हप्काई खाइन्थ्यो ।

” हामीले अफिसमम्म गएर स्वयम्ले हाम्रा पीडाहरू पोख्न नसक्नाले हाम्रो यो दुर्दशा हुँदैछ । शायद कम्पनीको साहुलाई हामी उसको साइनको पर्खाइमा छौँ भन्ने कुरा थाहा नहुन सक्छ काजी । बिरामी मानिसले यहाँ दुख्छ नभनी डाक्टरलाई के थाहा ?”मैले काजीलाई कोठा फर्कने क्रममा भने । काजीले हच्किदै उतर दियो “साहुले त यो कुरा सुन्यो भने मात्र हामी झन आँखाको तारो भइन्छ । त्यस्तो ठूलो साहुसँग हामीले कुरा गर्न सकिन्छ? म त बोरु नेपाल जान्छु । आफ्नै बारीमा केही गर्छु,मरे पनि स्वदेशमै मर्छु । बीचरी,के गर्दै होलि अम्बिका?’श्रीमान कोरिया छ भनेर दंग छे’ भन्थिन आमा । उनीहरूले त त्यहाँबाट कल्पना मात्र गर्ने हुन,वास्तबिक पिढा त भोग्नेलाई थाहा हुन्छ । जसरी हामी भोगिरहेका छौ ।”तर अन्त्यमा त साइन दिने त्यही साहु नै हो नि । हामी कतिन्जेल हाम्रा पीडामा जलिरहने । सेच त,वर्षदिन नाघिसक्दा पनि समस्या ज्युका त्यु छ,यस्तो पाराले कसरी हुन्छ ?हामीले गलत बाटो त हिडका छैनौ नि । हाम्रो अधिकारको कुरा गरिरहेका छौ जुन नियमसंम्मत छ । आजसम्म हामी कति चोटि अस्पताल भर्ना भयौ ?कति चोटि कम्मरमा सुई लगायौ ?काममा कति हेपियौ ?कति सह्यौ गाली र गलौज?कति रोयौ रातिराति,अरु त छोड्दे,कति कराइस म्ध्य रातमा ?यो सराहर सबै अन्याय होइन र काजी ?आखिरमा हामीलाई हाम्रो कमजोर मानसिकताले न जलाएको हो । मनोबल उच्च बनाएर भोलि नै कुरा गरौ काजी । सोचेजस्तै भयो भने सरल काम खोजी गरौँला,नत्र रमाउँदै स्वदेश जाउँला । देशले पनि हामीजस्ता युवाहरूलाई पर्खिरहेछ । हाम्रो त कतैबाट नोक्सान छँदै छैन । त्यस दिन काजीले अनकनाउँदै भनेको ‘तर’ले एकमनबाट मेरो कुराहरूमा समर्थन गरेजस्तो त गर्यो तर अर्को मन भने त्यही पुरानै बाटोमा पुर्यायो जुन हाम्रा लागि कदापि हितकर थिएन ।

“कसैकसैको साहु त कति मर्म बुझ्ने हुन्छन,कामदारप्रति कति उदार हुन्छन,हाम्रो त कस्तो कठोर मुटु भा’को साहु परेछ,यतिका दिनसम्म हामीसँग एक शब्द पनि नबोल्ने,के छ कसो छ पनि नसोध्ने ?कस्तो कम्पनीसँग कन्ट्याक्टमा साइन गरिएछ ।”एकदिन कोठा फर्कने क्रममा ऊसले पछुतो मान्दै भन्यो । खै मान्छेहरू भाग्यमा विश्वास नगरौ भन्छन तर नगरिहाल्न पनि कहा सकिदो रहेछ र ?सुनिल,बिनोद,पाशाड़हरूको बोल्नै परेन,साहु आफैँले काम गार्हो लागे परिवर्तन गर्ने अनुमति छ भनेछ,हामी सबैले एकैदिन त साइन गरेका थियौ,उनीहरूको खुला आकाश हाम्रो चै कठोर धर्ती ! हाम्रो त भाग्य नै नभए जस्तो । एया या या” काजीले दुख्दै गरेको डाड समाउँदै बस्ने घरको खुट्किला उक्लियो ।

सबैको कहा एकै किसिमका साजाड़(साहु)हुन्छन र ?

आफै सोच न,संसारमा सबै मानिसहरूको अनुहार एउटै छ र ?चेहरा फरक फरक भएजस्तै हो,मानिसको व्यवहार र आचरण पनि । तर हामीले हाम्रा पीडाहरू खुलस्त राख्यौ भने कसको मन पो नरसाउँला र ?साहु पनि त हामीजस्तै मानिस न हो । दुरी चुलिएको मात्र नबोलेर न हो । अब बोल्नुपर्छ,मुख खोल्नुपर्छ । काजीले त्यस दिन अन्तसकरणबाटै ठूलो बल निकाल्यो र भोलिनै नडराई कुरा गर्ने प्रण गर्यो ।

त्यस दिन कोठा पुग्ने बितिकै दुवैले भोलिका लागि पूर्व भाषिक तयारीमा जुट्यौ । आवश्यक पर्ने शब्दहरू आधा रातसम्म रटेर भए नि कण्ठ गर्यौ । हामीलाई भाषा नजानिकन कोरिया आउँदा ठूलो पश्चताप भयो । कोरियन भाषा दुईमध्ये काजी नै बढी जान्नाले भोलिको दोहोरो कुराकानिको जिम्मा उसैले लिने निधो गर्यो ।

सोमबार बिहान हामी आल्रामभन्दा अघि ब्युझियौँ । काजीले ब्यूँझनेलगतै भाषाको किताब पल्टायो र अति उपयोगी शब्दहरू उठीउठी यताउता गर्दै घोक्न शुरु गर्यो । म पनि यसैमा जोडतोडका साथ खोजी गर्न लागेँ । घडी हेरेँ, आठ बज्नलाई पन्ध्र मिनेट ।

त्यसपछि हतारहतार गर्दै कोठाबाट निस्कियौँ । हिजोअस्तिको मनको डरलाई त्यस दिन सहास र शक्तिले अठोटमा रुपान्तरण गर्यो र भित्रैबाट अठोट लिएपछि जस्तोसुकै काम पनि सरल हुने रहेछ भन्ने लाग्यो । एक लक्ष्य बोकेको विद्यार्थी झैँ आफ्नो लक्ष्य र उदेश्यमा केन्द्रित भई सरासर अफिसमा पुगियो र कम्पनीको साहुसँग भेट्ने इच्छा जाहेर गरियो । हाम्रो कुरा सुनेर काममा तल्लिन कोरियनहरू ट्वाल्ल परिरहे र मुखामुख गर्न लागे । काजीले फेरि थप्यो “हामी हाम्रो साहुलाई भेट्न चाहन्छौँ । साहुसँग हाम्रो काम छ ।”केही महिना अघि हाम्रो सातो लिदै च्याठिएको कोरियन हाम्रो कुराले स्तब्ध देखियो । अफिसभित्रको वातावरण हाम्रो आगमनले विपरित दिशामा मोडिदियो । काजी साहुसँग भेटेर कुराहरू राख्न आतुर देखिन्थ्यो । तर कहिलेकाहि मात्र कम्पनी धाउने साहु आजै चैँ आउँछ कि आउँदैन भनेर हामीमा खुल्दुलि बढ्यो । कर्मचारीले साहु कम्पनी आउँदै गरेको खबर सुनाए र केहीछिन पर्खन अनुरोध गरे । हामीले साहुको ब्यग्र पर्खाइमा त्यहाँ बिस मिनेट खर्चियौँ । यस अवधिमा हामीलाई कसैको हप्काई खाइन्छ कि भन्ने भय थियो । तर भाग्यबस कोही हाम्रो अगाडि देखा परेन र झन झन हौसला प्राप्ति भए जस्तो ठान्यौँ ।

पर्खाइको बिस मिनेट लगतै अर्थात बिहानको आठ बजेर बिस मिनेट जाँदा अफिसभित्रको वातावरण शान्त देखियो । सबै आआफ्नो काममा एक्कासि तल्लिन देखिए । त्यतिकैमा एक कोरियन बाहिर गयो र आफूसँगै ठूलो जिउडाल भएको,अग्लो,आधा कपाल खुइलिएको रातो वर्णको मानिस लिएर प्रवेश गर्यो । हेर्दामा चिटचट र सुकिलो मानिस हाम्रै साहु हो भनेर ठाम्यायौ । र दवैले एकैसाथ अभिवादन गर्यौँ । हसिलो अनुहारमा मीठो मुस्कानका साथ हामीलाई ‘ ह्वाई’भनी पश्न छोड्दै एक कुनाको कुर्सीमा बस्न अनुरोध गर्यो । साहु क्षणभरमै नजिकिएपछि काजीले कुराहरू पोख्न शुरु गर्यो । हात र पाखुरा भरि निस्किएका आला र पुराना डामहरू,घाउहरू एकपछि अर्को गर्दै देखायो । दैनिकजसो कम्मरमा बाधिएको पेटि साथसाथै फरकफरक अस्पतालका रिपोर्टहरू,दैनिक खाइएका औषधीहरू,अन्य प्रेसकृपसनहरू सबै देखायो । साहु चुपचाप बसि सुनिमात्र रह्यो । साहुबाट मौन प्रतिकृया आएपछि काजि केहीबेर रोकियो र,शायद ऊ डरायो । तर ऊ रोकिए लगतै मैले शुरु गरिहाले पीडाहरू पोख्न । मिहेनत गरी काम गर्दा पनि दैनिक चर्को गाली खानु परेको जसले मानसिक र मनोबैज्ञानिक असर परेको सुनाए । काम अति गार्हो भएकाले वर्षदिन बिताउँदा पाँच वर्ष कटाएजस्तो भएको र दुवैको स्वास्थ्य अवस्था नाजुक भएकाले अगाडि काम गर्न असमर्थ भएको कुरा पोखे । काममा फान्जाड़बाट हातपात भएको,गर्न नसक्ने काम एकोहोरो लादिएको,कोरियनबाट माया नपाएको,आजसम्म कामको बारेमा कोही कसैले नसोधेको,अस्पताल जान अनुमति नदिएको आदि सबै गुनासो पोखेँ । हाम्रो कुरा सुनेर साहु एकाएक भावुक देखियो र छटपट गरेजस्तो गर्यो । यही मुद्रामा परिवारका सदस्यहरू कति हुनुहुन्छ ?

आमाबुबासँग कुरा हुन्छ ?

भनी दोस्रो पश्न गर्यो । काजीले फटाफट उतर दियो । तर स्वदेशको माया धेरै लागेको बतायो । देश छोडेर कोरिया आउँदा यहाँका कोरियनबाट माया पाउनुको सट्टामा अँझ घृणित र अपहेलित हुनु परेको यथार्थता पोख्यो । कोरियनहरूको मन ढुड़्गाभन्दा कठोर भएको र हामी विदेशी कामदारहरूलाई बढी पीडा दिई आत्महत्याको बाटोमा घचेडिएको तितो सत्यलाई अति सरलताका साथ प्रस्तुत गर्यो । साहुसँग शुरुवातबाटै भेट्ने इच्छा भएपनि भेट्न नसकिएको र फान्जाड़सँग बारम्बार भेट्ने इच्छा राख्दा हाम्रो कुरालाई बेवास्ता गरिदिएको कुरा बतायो । “तिमीहरू के चाहन्छौ”?साहुले तेस्रो पश्न गर्यो । मैले लगतै उत्तर दिएँ,हामी कम्पनी परिवर्तन गर्ने अनुमति पत्र चाहन्छौँ । काजीले त्यसमाथि थप्यो ‘हामी साजाड़निमको साइन चाहन्छौ । धेरै दुःख गर्यौँ,मिहेनत गरी धेरै पैसा कमाउनु । साहु यति भन्नेसाथ एक अर्को व्यक्तिका साथ केहीछिन बाहिरियो । साहु हिँडेपछि हामी अलमलमा पर्यौँ । र केही मिनेटमै अर्को मानिस हातमा पत्र बोकेर आयो र सही गर्न अनुरोध गर्यो । र अन्त्यमा आआफ्नो पत्र लिएर ‘जब सेन्टर’ जानु भनेपछि हामी दुईको आँखाबाट खुशीका आँशु बर्रर बर्सिए र सबैलाई धन्यवाद भन्दै हामी कम्पनीदेखि सदाका लागि टाढियौ ।

(यो कोरियाको वास्तविक घटनामा आधारित कथा हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *