युवा जाग उठौं फेरि, तिम्रो छाती दरो भए
बेथिती देशको जम्मै, मास्नलाई खडा रहे
हिजोका पन्चका शेष, जागेर अझ आउलान्
खरानी भित्रको झिल्को, आज ज्वाला हुँदैछ झन्
दावाग्नी सरि यो हुन्छ, नहेपौं सानु हो भनि
फ्याकेको लाश जागेर , आउला है अझै पनि
लड्न सम्म लडेकै हौँ, राजतन्त्र विरुद्धमा
कब्जा जम्मै गरेकै हौँ, सामन्ती दरबारमा
लोकतन्त्र अरे आको, देखिएन कता गयो
मुहार देशको फेर्ने, सपना अधुरै रह्यो
बिद्रोह किन हो भन्दा, सत्ताको लागि पो अरे
व्यवस्था सर्वहाराको, आएन है कसै गरे
आमाको मुखमा कालो, मोसो दल्न गयौ तिमी
कुर्सीको होडबाजीको, खेलमै भुल्दछौ तिमी
नाम मात्रै प्रजातन्त्र, लोकतन्त्र गयो कहाँ
भद्रगोल भयो तन्त्र, ठोकतन्त्र चलो यहाँ
जन्मायो एसले तन्त्र, कुण्डले मुन्डले कति
झ्याप्ले मुन्द्रे भए कैयौं, नेताका भरिया जति
आमालाई कुटे काटे, थुपारे कतिका शब
मुन्द्रेकै हातमा देश, कुर्सीकै खेल हो सब
लेखियो संबिधान भन्थे, लेखेर पो भयो के ?
एकै चोटी लडे लाटा, बाठा ती तीन् पटक् लडे
ई बाठा पनि के बाठा, उल्टो दिशा हिंडे सबै
खै के, खै के भयो देश ? सबै खोक्रो भयो अझै
लड्ने भिड्ने र हान्ने ले, गरे आर्थिक उन्नति
गुण्डाको राज भो देश, लुटिखाए सधैं भरि
आमाको काखमा बिस्टा, गर्ने खाने त्यहीं बसी
आफ्नै घर दडाएर, खरानी बेच्दछौ कति
गाउँछौ मुक्तिको गीत, उन्मुक्त कण्ठ कोयली
तर खै गीतको भाखा, फेरिएन अझै पनि
छन्द – अनुष्टुप
मिति – २०७३ \ ४ \ २२
इटहरी – ५ पचरुखी, सुनसरी