Skip to content

कविलाई प्रकाशको सल्लाह


प्रकाशककोबाट आज उनलाई अचानक फोन आयो । उनी हतार हतार खानपिन गरेर प्रकाशनगृहमा नै पुगे ।

“हजुर मलाई बोलाउनु भएको थियो अनि आएको ।” पुगेर भलाकुसारीको सुरुमा कविले भने ।

“हजुर मैले बोलाएको थिएँ । यहाँले जुन पुस्तकको हस्तलिखित प्रति प्रकाशन गर्नका लागि हाम्रो प्रकाशनलाई दिनु भा थ्यो मैले आद्योपान्त पढें । त्यहीबारे बोलाएको हो यहाँलाई ।”

“ए सरि राम्रो कुरा भो । अनि कस्तो लाग्यो यहाँलाई ?”

“मलाई ता अत्यन्त स्तरीय, उच्च र निकै आकर्षक रचना लाग्यो । देवकोटा र समको छाप देखिन्छ । बधाइ छ यहाँको कलमलाई ।”

कविजीले बडो आनन्दको अनुभव गरे । अनि भने— “अब यसको प्रकाशन हुने भयो भन्ने बुझें मैले । पक्कै पनि यहाँले यस कृतिलाई प्रकाशन गर्नुहुन्छ ।”

“फेरि प्रकाशनको कुरा चाहिं नगर्नुहोला कविजी । आजभोलि यस खालका कृति कसले पढ्छ ? लु भन्नुहोस् त ?”

“लु किन त फेरि आफैं उच्च रचना भन्दै हुनुहुन्थ्यो । फेरि प्रकाशन भने गर्ने अनकनाउनु भो । कारण के होला केही भन्न मिल्थ्यो कि ?”

“हो, रचनाको उच्चताका बारेमा कुनै दुविधा छैन । तर म ता प्रकाशक हुँ । मेले नाफा हेर्नुपर्छ । यस्ता सामग्री सय ओटा पनि बिक्तेनन् । कसैले पढ्दै पढ्दैनन् । अनि म कसरी छापुँ र लगानी गरुँ ? लौ आफैं भन्नु त ?”

“हो हुन ता नबिक्ने पुस्तकलाई कसले लगानी गरोस् ? अनि कस्ता किताबहरू बिक्री हुन्छन् त ?” कविले सोधे ।

“अहिले ता अलिक अश्लील कुराहरू लेखिएका अर्थात् तपाईंलाई सोझै भनुँ न सेक्सको बारेमा खुला रुपमा वर्णन गरिएका, छाडा शब्दहरू मजाले लगाएर लेखिएका, कलेज लाइफको नग्न वर्णन भएका, वेश्यावृत्तिको धुमधामसँग चर्चा गरिएका, अन्य रसिला कुराहरूको वर्णन गरिएका, रसिला सम्वाद, प्रेम नै प्रेमका कुराहरू भएका कथा उपन्यासहरू खुब चल्छन् । यहलिे कुरा बुझ्नु भो होला नि । हामीहरूलाई त्यसैमा फाइदा पनि छ हाताहाती बिकी पनि भैहाल्छन् । बरु यस खालको लेखनमा हात हाल्नुहोस् न है । यो लानुहोस् । आफैं छपाएर बाँड्नुहोला ।”

प्रकाशको सुझावसहित कविले पाण्डुलिपिको पुस्तक हातमा लिएर कवि प्रकाशको प्रकाशनगृहबाट अमिलो मुख लाएर निस्किए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *