Skip to content
BimalSitoula


कोठा फर्कने क्रममा शेखर बीचैमा ट्रेनबाट ओर्लिएपछि ट्रेनभित्र म एक्लो थिएँ । मैलै अँझै केही मिनेट ट्रेनबाटै सफर गर्नु थियो । भर्खरसम्मसँगै सिटमा नारिँदै र गफिँदै आएको म शेखर झरेसँगै उदासिन हुन पुगेँ ।

ट्रेन आईतबार जस्तो खचाखच थिएन । ट्रेनभित्र सबै आ- आफ्नै बाजा बजाउनैमा व्यस्त देखिन्थे । यात्रीको यही व्यस्तताले ट्रेन भित्रको वातावरण कोलाहलरहित र भद्र थियो । कानमा ईयरफोन ठोसेर म नेपाली सदाबाहार गीतहरू सुन्दै र शब्दहरूमा डुब्दै बेचैनलाई तह लगाइरहेको थिए ।

यतिकैमा अचानक आमाको फोन आयो, “बाबु,सन्चै छौ ? यता पनि दशैँलै छपक्कै छोप्यो?” आमाले शुरुमै भन्नुभयो ।

ट्रेनभित्र अरुलाई झर्को लाग्ने गरी बोल्न चाहिँन र छोटो उत्तर दिएँ “सन्चै छु आमा, अहिले ट्रेनभित्र छु, भरे साँझमा म जरुर फोन गर्छु ।”

आमाहरू हरेक चाडपर्वमा आफ्ना सन्तान साथैमा रहुन भन्ने चाहन्छन । त्यस्तै पनि जब-जब दशैँ र तिहार नजिकिन्छ, तबतब म मेरो मनलाई सम्हाल्ने चेष्टा गर्छु । तैपनि वर्षनि म फसादमा पर्छु । आमालाई मैले धेरै चोटि “आउँछु”, “आउँछु” भनेकाले यसपालाको दशैँमा चै परदेशिएको छोरो पक्कै आउछ भन्नेमा ढुक्क हुनुहुन्छ । तर आमाले दशैँमै घर नआउने भनेर आजसम्म कहिल्यै सोध्नुभएको छैन । यसको एउटा कारण छ ।

म सानो छँदा दाजु विदेशिनु भाथ्यो र आमाले दाजुलाई प्रश्न गर्नुभाथ्यो, “यो दशैँमा त आउँछौ नि छोरा ?”

शायद दाजुले जहिल्यै आउँछु नै भन्नुहुन्थ्यो । तर दशैँताकामा दाजुको कहिल्यै बिदा मिलेन र आउन सक्नु भएन । दाजु दशैँमा नआएपछि आमा उदास उदाश देखिनुहुन्थ्यो । फलस्वरुप पुरै दशै खल्लो लाग्थ्यो । तर पनि दाजु आउँछ कि भन्ने आशाले दशमीसम्म बाटो हेर्नुहुन्थ्यो । आमाको मन नदुखाउन पनि मैले हरेक बितेका वर्षहरूमा दशैँमा घर जान चाहे । तर कम्पनीले बिदा दिएन या मिलेन अथवा जे होस, आमाको भित्री अभिलाशालाई पुरा गर्न सकिन ।

ठिक तीन वर्ष पहिले दशैँको मुखमै घर छाड्दा मैले आमालाई भनेको थिएँ , “आमा, तीन वर्षको भिसा छ, छुट्टी मिले त आइहाल्छु, नत्र तीन वर्ष पछि । यदि आउँन पाइँन भने चैँ पहिले पहिलेको जस्तै गरी नपिरोलिनु है । परदेश हो, बिदा मिल्न पनि सक्छ नमिल्न पनि सक्छ, कुनै ठेगान हुदैन ।”

आमाले आँखाबाट टिप्लिक्क आँशुका ढिक्का खसाएर गाला मुसार्दै एकै शब्दमा भन्नु भाथ्यो “बुझेँ” ।

शायद आज त्यही तीन वर्ष अगाडिको कुराले आमालाई झस्काएको हुनुपर्छ र हतार हतार शुरुमै “दशैँ” को कुरा खोताल्नुभएको हुनुपर्छ । आमालाई सन्तानले बोलेको बोलिको हेक्का ताजै रहेछ, र त आमा यसपालि परदेशिएको सन्तानले आगान टेक्ने कुरामा कुरामा ढुक्क हुनुहुँदो हो । म ट्रेनभित्र मनमनै सोचिरहेछु, यसपाली पनि कम्पनीले घर जान बिदा नदिएको खण्डमा आमालाई के भनेर उत्तर दिने ? मसँग हर पश्नहरूको उतर भए पनि यो पश्नको भने उत्तर छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *