Skip to content

हर्के आफैं एउटा कथा


“आज पनि कान्छी गोरु लिएर खेतमा गएकी छे । हिजो दुईगरा जोतें भन्थी । बिहे गर्नु पर्छभन्दा पनि आमाबाबु पालेर बस्छु भन्छे ” – यो भनाई थियो हर्कबादुर लामाको । हर्कबहादुर लामा उमेरले सात दशक पारगरिसकेको छ । बुढी भने अलि भर्खरकी जस्ती देखिन्थी । बुढीलाई चैं सबैले पुतली दिदी भन्थे भने बुढालाई भेना भन्ने गर्थे । उनीहरूका सन्तानका रुपमा दुईवटी छोरी मात्र हुन् । छोरा पाउने रहर हुदाहुदै पनि भगवानले पत्याएनन् । जेठी छोरीको बिहे भयो दुईवटी नातिनी पनि भैसके । ऊ आफ्नै व्यवसाय गरेर बसेकीछे । ज्वाईं भने धनकमाउन खाडी मुलुक पसेको दुईवर्ष भयो कुनै खुटखबर छैन ।

जे जस्तो भए पनि बुढाको मनमा सधैं एउटै चिन्ता छ, जो ऊ छोरीहरूलाई चैं कहिल्यै पनि नपरोस भन्ने सोचिरहन्छ । आफ्नु त भागमा छोरा रैनछ तर छोरीहरूको भागमा भने भगवान्ले पक्कै पनि हेर्नु पर्ने हो भन्दा पनि जेठी छोरीका कोखबाट दुईवटी पैदा भैसके । नातिको मुख पनि देख्न पाइएला जस्तो छैन । कान्छी त झन् बिहेनै नगर्ने बाउआमा पालेर बस्छु भन्छे । अबत हलो पनि जोत्न थालेकी छे ।

बुढो आफ्नु बाल्यकालतिर फर्किन्छ । आफू सानो छदा बाबुसँग नेपाल खाल्डो आएको । बाबु बाजेहरू साहुको भारी बोक्न काठमाण्डू आउने जाने गर्दा ऊ पनि सानु डोको बोकेर सातुसामलको भारी बोक्थ्यो । नौ वर्षको उमेरमै उसले मनग्गे भारी बोक्न सिकिसकेको थियो । उसले त्यतिखेर काठमाण्डूको धरहरा, घण्टाघर, रानीपोखरी आदि ठाउँहरू राम्ररी देखेको थियो । एक दिन त्यसै गरी बाबु र बाजेसँग काठमाण्डू झरेको बेला एकजना आफन्तले लामा पढाइ दिन्छु, भनेर हर्के लगायत अरु पनि केही केटाहरूलाई लिएर गयो । हर्के लामा पढ्ने ठाउँमा पुग्यो उसले एक दुई वर्ष लामा विद्या पढेपछि लामाले ती विद्यार्थीहरूलाई गाउँतिर माग्न पठायो । माग्न हिडेको बेला हर्के बिपत्ताभयो उसलाई वनझाँक्रीले लग्यो ।

हर्के माग्दै खाँदै हिड्दै जाँदा तराईकोसम्म फाँटतिर आइपुगेको थियो । हर्केको उमेर लगभग १२ वर्षको हुदो हो, मुलबाटामा धेरैजना मान्छे हिडिरहेका थिए ऊ पनि त्यही हुलमा मिसिन पुग्यो । तराईको फाँट भए पनि त्यो बेला मोटर गाडीको सुबिधा थिएन सबैतिर पैदलै हिड्नु पर्थ्यो । सबैको आ–आफ्नै भारी थियो खाने समान देखि रातमा ओढ्ने ओछ्याउने सारा सामान अफैले बोकेर हिड्नु पर्थ्यो । त्यो हुलमा एकजना मान्छे बिरामी परेको रहेछ, उसको भारी बोक्न सकने लुर नभएकोले हिड्न सकिरहेको थिएन । सबैजनाले त्यो केटालाई बिरामी साथीको भारी बोक्न अह्राए ।

साँझमा एउटा ठुलो सिमलको रुख मुनि बास बसे । बास बसेको ठाउँमा बेलुका हर्केले त्यो बिरामी साथीलाई अक्षता मन्सायो, फुकफाक गर्यो लागो सागो सबै मन्साइदियो नभन्दै बिरामीलाई पनि आराम हुन थाल्यो । भोलि पल्ट बिहान सबैजना आ–आफ्नो कुम्लो कुटुरो बोकेर हिडे बिरामी साथी पनि तगडा भैसकेको थियो । हर्के पनि उनीहरूको साथमै थियो ।

यसरी हर्के भारतको आसाम पुग्यो । जहाँ धेरै नेपालीहरू धन कमाउन जाने गर्थे । अब हर्के कहिले कुएरबारीमा हरायो त कहिले भैंसी गोठमा हरायो । धेरै वर्ष बितिसक्यो सबै नेपालीहरू आफ्नो नेपाल आउँदै फर्किदै गर्थे भने बीचरा हर्केले भने आफ्नो गावैं बिर्सिसकेको थियो । उसले आसाममा धेरै काम गर्यो हली भयो गोठालो भयो मजदुर काम गर्यो, ठ्यांग्रो ठोकेर धामी बस्यो कति कतिको जोखना हेर्दै भूत तथा भविष्य देख्यो तर कहिले पनि आफ्नो जन्म थलो अनि घर परिवार देखेन र पत्तो लगाउँन सकेन ।

समयले हर्केलाई पनि तन्नेरी बनायो सबै नेपालीहरू आफ्नो जन्मभूमि आउथे तर हर्के कहिल्यै पनि नेपाल आउने कुरै गर्दैनथ्यो । एक दिन एकजना पूर्वतिरको साथीले हर्केलाई हिड् म तँलाई पनि घर पु र्या दिन्छु । भन्यो र ऊ पनि खुसी हुदै त्यो साथीको साथ लागेर नेपाल आयो । नेपाल त आयो तर उसले कतै पनि आफ्नो गाउँघर भेट्टाएन । ऊसँग आएको लिम्बू साथीको आफन्तको घर झापामा रहेछ कुनै जमिनदारको जग्गा कमाएर बसेको आफन्तकोमा गएर ती दुवैजाना बसे । हर्केको कम्मरमा केही रुपयाँ थियो त्यो रुपयाँले जग्गा किन्नुपर्छ र यहीँ खेतीपाती गरेर बस्नु पर्छ अनि तेरो बिहे पनि गरोँला अब यतै राम्रो घरजम गरेर बस्नु पर्छ भनेर, त्यहीँ हर्केको पैसाले जग्गा किने । जग्गा थुप्रै थियो त्यही जग्गामा तीनवटा छुट्टा छुट्टै घर बनाए एउटाघर हर्कैलाई र अरु दुइटा घर उनीहरूलाई भयो । हर्केले त्यही साथीको आफन्तकी छोरीसँग बिहे गर्यो । हर्के सारै परिश्रमी थियो ऊ काम गरेर कहिल्यै पनि गल्दैनथ्यो । केटी पनि उस्तै थिई हर्केलाई सुहाउने हर्केका बुढाबुढी मिलेर त्योसबै जग्गामा खेती गर्थे अन्तमा तीन भाग लगाएर बाँडेर खानु पर्ने, हर्के चैं उनीहरूको नोकर र अरु चैं मालिक भए । जे जसो भए पनि हर्केको जीवन आनन्दैसँग चलेको थियो । अरुकोभन्दा हर्केसँग नै बढ्ता सम्पत्ति भयो, हुनु पनि स्वभाविकै हो किनभने उनीहरू दुवैजना धेरै परिश्रम गर्थे ।

हर्केको पारिवारिक जीवन राम्रैसित चलेको थियो त्यसको साथसाथै उसको घरमा अर्को खुसीयाली थपियो किनकि हर्केको छोरो जन्मियो । छोरो जन्मिए पछि हर्के धेरै रमायो । घरमा सधैं हाँसो र खुसीमा रहेको हर्केको छोरो पनि हेर्दा हेर्दै ठुलो भयो । हर्के आफूले स्कुल पढ्न पाएको थिएन उसले छोरालाई त्यहीं गाउँको स्कुलमा भर्ना गरिदियो । छोरो पनि सधैं स्कुल जान्थ्यो । एक दिन स्कुलबाट आउँदा छोरालाई निस्लोट सँगले जोरो आएको रहेछ । हर्केले आफ्नो विद्याले जानेसम्मको उपचार गर्यो । अलिकति पनि घटेन अरु बिजुवा, फेदाङ्मा पनि लायो कति अक्षेता मन्सायो कति कुखुरा काट्यो छोरालाई झनझन सारो पर्दै लग्यो कति गर्दा पनि बीसको उन्नाइस भएन आखिर खर्च पनि धेरै भयो छोरो पनि रहेन ।

हर्केको परिवारमा फेरि पनि अर्को बज्रपात पर्यो । बअ छोराको काज किरिया गर्नु पर्ने हर्केले लामा लगाउने विचार गरेको थियो । ससुरालीहरूले लामा लगाउन हुदैन हम्रो जातबाट हम्रीचेलीलाई तिम्रो जातमा सारेकै छैन यसको काम त फेदाङ्माबाट हुन्छ भनेर त्यहाँ पनि ठुलै खर्च गराएर काज किरिया सम्पन्न भयो । सोझो हर्केले हिसाब कितब गर्न नै भ्याएन । एक त छोराको पिर अर्कोतिर भएभरको पैसा पनि सकिएको । हर्केका बुढाबुढी अँध्यारो मुख लाएर बसिरहन्थे । यस्तैमा हर्केकी बुढी पनि जिङ्राउन थाली । पहिले पहिले त छोराको चिन्ताले होला भन्ने भयो पछित झन्झन् सारो पार्न थालेपछि उपचार गर्न थालियो हर्केले कति दिनसम्म ढ्याङ्ग्रो ठटायो जोखाना हेर्यो । जरीबुटी गर्यो केही नलागेपछि अरु धेरै जानपाहरू बटुल्यो बोका, पाठा काट्यो देवी देउराली सबै भाक्यो तैपनि आराम भएन आखिरमा उसले पनि यो संसार छाडेर गोई । हर्केको सम्पूर्ण जिन्दगी समाप्त भयो ।

त्यही अलिकति जग्गा बेचेर बुढीको काज किरिया गर्नु पर्ने भयो । फेरिपनि उसै गरी धेरै खर्चलाएर चोख्खिने काम भयो । हर्कै सधैं जसो रोइमात्र रहन्थ्यो अब उसको टेक्ने खुट्किलो न समाउने हाँगो भनेझैं हर्के पूर्ण रुपमा एक्लो भयो । ती ससुरालीहरूले अब हर्केलाई त्यो घरबाट निकालि नै दिए ।

हर्के अब आफ्नो जन्मथलाको खोजीमा लाग्यो ऊ पहाडी धरातलको खोजीमा थियो तर पनि त्यो मैदानमा ऊसले आफू जन्मेको पहाड कता हो भेउ पाउन सकेन, न त उसले नेपाल खाल्डो नै यता हो भनेर पत्तो लगाउन सक्यो । अब भने हर्के जुन बाटो आएको थियो त्यही बाटो आसाम तिरै फर्किने विचार गरेर दक्षिणको बाटो लाग्यो ।

मोटर स्टेसनमा बसिरहेको हर्के; उसकासामु अरु ४ जना केटाहरू देखा परे । उसले ती केटाहरूका छेउमा गएर बोलायो । सोध्यो, कहाँ जने हो भाइहरू ?

हामी बोइ भर्तीमा हिडेका हौं, के तिमी पनि जान्छौ ? केटाहरू मध्येबाट एउटाले जवाफ दियो । हर्के छक्क पार्यो, के हो यो बोइ भर्ती भनेको ? आ ! जेसुकै होस् जान्छु म पनि । हर्के उनीहरूको साथ लाग्यो ।

हर्के भारतीय सेनाको भर्तिकेन्द्रमा पुग्यो । साथमा भएका केटाहरू चारैजना भर्ती लागे हर्केलाई चैं नानीको बाउ पो र छ भनेर फर्काइ दियो । हर्केको मन अमिलो हुदै गेटबाट बाहिर निस्किदै गर्दा उसलाई कसैले ए भाइ, भनेर बोलायो, उसले आवाज आएतिर हेर्दा एकजना मान्छे उसैलाई बोलाउँदै थियो । किन बोलाको दाइ ? हर्केले छेउमा गएर सोध्यो । उसले त्यहाँ पनि नेपाली साथी भेट्टायो । त्यो साथीले उसलाई किमिनमा काम गर्न जाऊँ भन्यो । हर्के अब नयाँ साथीसँग किमिनतिर लाग्यो ।

हर्के मस्त जवान थियो काम पनि निकै फुर्ती साथ गर्थ्यो, उसको काम गराई देखेर उसलाई अरुकोभन्दा अलिक धेरै ज्याला पनि दिने भयो । पहिलो चोटी पैसा थाप्दा मात्र थाहा पायो हर्केले, आफू त बेचिएको पो रहेछु भनेर । उसले काम गरेको आधा पैसा त त्यहाँ पुर्याउने मान्छेले लगिसकेको हुदो रहेछ । जुनबेलासम्म मेरो पैसा अशुल भै सक्तैन त्यहीबेलासम्म तैंले आधा मात्र तलब पाउनेछस् भन्दै त्यहाँको मालिकले उसलाई भन्यो ।

कुरा सुन्दा हर्केलाई अलिकति रिस उठ्यो अनि अकिति अचम्म पनि लाग्यो । मैले काम गरेको पैसा उसले किन लग्यो ? उसको मनमा बारम्बार यही प्रश्न आइरहन थाल्यो । दिनभरि झक्पल र गैंती चलाउनु पर्ने बेलुका गलेर लखतरान भएर सुत्थ्यो । कहिले काहीँ त्यहाँ काम गर्ने साथीहरू बिरामी पर्दा हर्केले फुकफाक गरेर निको पार्ने पनि गर्थ्यो । कसैलाई अक्षेता फ्याँकेर निको हुन्थ्यो भने कसैलाई फुकेर मात्र पनि निको हुन्थ्यो । निको भैसकेपछि सबैले आफू खुसीले केही पैसा दिन्थे । यसरी पनि उसको खर्च जुट्ने गरेको थियो ।

समयको चक्र घुम्ने क्रममा उसको बन्धक जस्तो जीवन व्यतीत भैसकेको थियो । हर्केलाई मुन्सीले बोलायो र भन्यो । अब देखि तेरो तलब पुरै आउने भयो । तँलाई माथिल्लो तहमा बढुवा गर्दिन्छु । अँझै धेरै पैसा हुन्छ सधैंको लागि ढुक्क हुन्छ । हर्केले सोच्यो यस्तो राम्रो कुरा गर्ने मान्छेको मनमा त अवश्य पनि खोट हुन्छ योभन्दा अघि उसले राम्रो कुरा गर्ने, सहयोग गर्नेले के के गरे अँझै बिर्सेको छैन । म यहाँ फस्ने रहेछु भन्ने सोचेर त्यहाँबाट भाग्ने बीचर गरेर बाटो लाग्यो ।

आसाम जाने उसको चाहना अँझै पुरा भएको छैन । हर्के त्यो किमिनबाट सबैसँग बिदा भएर बटो लाग्यो । ऊ निकै पर पुगिसकेको थियो । उसले रोडमा गाडी कुदेको देख्यो; त्यै गाडीले मलाई आसाम पुर्याउँछ, त्यसैमा चड्छु भनेर दौडिन थाल्यो । गाडी आफ्नै तालमा कुदिरहेको थियो बीचरा हर्के आफ्नै तालमा; गडीले डाँडो काटिसक्ता पनि हर्के दौडि नै रह्यो । कुद्दै कुद्दै हर्के जंगलको मुखमा पुग्यो । त्यहाँ दुईजना मान्छे बसिरहेका थिए ।

“कहाँ कुदेको भाइ रात पर्न आट्यो, यहाँभन्दा उता गएर त बास बस्न पनि पाइन्दैन जंगलै जंगल पो छ त” । ती मान्छेको कुरा सुनेर हर्के पनि त्यही अडियो । अनि भन्यो “ गाडी चड्न कुदेको खै कहाँ पुग्यो कहाँ ।”

हर्केको कुरा सुनेर ती दुवैजना मज्जाले हाँसे ।

“यसरी कुदेर पनि गाडी चढिन्छ र ? अघाडिबाट हात पो उठाउनु पर्छ त । ”

भन्दै हर्केलाई त्यहीं बस्ने इसारा गरे । उनीहरूको छेउमा हर्के पनि थुचुक्क बस्यो । केही बेर बितेपछि त्यहीबाटो भएर एउटा गाडी आयो एकजनाले हात उठायो । गाडी पनि रोकियो, तीनै जना गाडीमा चढेर आसामको बाटो लागे ।

बाटामा भेटिएका मान्छेमा एकजना तामाङ र एकजना राई जो पूर्वी नेपाल तिरका थिए । उनीहरूकै साथ लागेर हर्के फेरि आसाम पुग्यो । आसाममा नै घर भएको तामाङ जसले हर्केलाई सरासर आफ्नै घरमा लग्यो । त्यहीँ बस्तै जाँदा हर्केको काम र जाँगर देखेर आफ्नी बहिनीसँग बिहे गरिदिने भयो । हर्केको फेरि पनि घरजम हुने भयो । ऊ खुसी साथ नै त्यही घरमा बस्ने भयो । कर्मशिल हर्के जहाँ गए पनि सबैको हाइहाइ नै हुथ्यो । ऊ जे सुकै र जस्तो सुकै काम गर्न पछि पर्दैन थ्यो ।,धामी झाक्री देखि लिएर अन्य बलको काम पनि ऊ सबैको गरिदिन्थ्यो । हर्केको यही बहुमुखी प्रतिभा देखेर नै आफू बसेकै घरकी आमाले आफ्नी छोरी दिने निधो गरेकी हुन् ।

फेरि पनि हर्के विवाह बन्धनमा पार्यो । उसले आफ्नै घर सम्झेर सबै काम गर्यो । गर्दै बस्तै जाँदा एक दिन हर्कैकी सासू बिरामी परिन् । हर्केले सकेसम्म उपचार गर्यो तर पनि केही लागेन । आफूले गरेर भएन भनेर अन्य अँझै जान्ने जान्ने जानपाहरू खाजेर लगायो । कसैले गर्दा पनि बीसको उन्नाइससम्म पनि भएन । अखिरमा बुढी आमै यो लोक छाडेर परलाक को बाटो लागिन् ।

आमाको शेष पछि हर्केको जेठु आसामबाट नेपाल तिरै फर्किने विचार गरेर हर्के र पुतलीलाई त्यही घरमा बसेर गरीखानु म चैं नेपाल फर्किन्छु भन्यो । हर्केलाई त ठिकै लागेको थियो तर पुतलीले पटक्कै मानिन । आमा त मरिगइन् दाजु पनि नेपाल जाने कुरा गर्छ, पुतलीको मन किन अडिन्थ्यो त ? ऊ पनि दाजुसँगै नेपाल फर्किने भई । बीचरा हर्के पुतलीले जे भनो त्यही मान्नै पर्ने भयो । अब आफ्नो जेठु र स्वास्नीको साथ लागेर फेरि पनि हर्के नेपाल फर्किने भयो । हर्केसित भएको जेजति रकम थियो एउटा गाम्चामा बाँधेर कम्मरमा कस्यो । घरमा भएका झिटि झामटी सबै बोक्न सक्ने सामान जेजति छन् सबै कुम्लो बनाएर भारी तयार भयो । गाउँ छिमेकका सबैसँग बिदा भएर उनीहरू एउटा एउटा कुम्लो बोकेर बाटो लागे ।

दुई तीन दिनसम्मको रेलको यात्रा गरेर उनीहरू नेपालको सीमाना आइपुगे । आ—आफ्नो कुम्लो बोकेर आफ्नो जन्म भूमि प्रवेश गर्दा हर्केको जेठु जन्म दिने आमलाई बिरानो देशमा छाडेर आएको बिर्सिएर जन्म भूमि प्रवेश गरेकोमा एक छिन उफ्रियो यसै बेला हर्केले आफ्नो कम्मरमा बाँधेको गाम्चा छाम्न पुगेछ । हर्केको गाम्चा त कहिले कहिले काटेर प्वालै प्वाल परेको भएभरको सबै पैसा डाकाले छिनाइ दिएछ । हर्के त त्यहीँ बसेर क्वाँ क्वाँ गरेर रुन थाल्यो । जस्तो सुकै अवस्थामा पनि हर्के रोएको थिएन, आज भने ऊ बेस्सरी रोयो ।

हर्के बाटैमा थुचुक्क बस्यो । उसलाई हिड्न मन लागेन, पुतलीलाई भन्यो, “यत्रो पैसा डाकाले काट्यो अब गएर कहाँ बस्ने, के खाने फर्किउँ फेरि आसाम तिरै”—हर्केलाई अब नेपालमा बस्न पटक्कै मन लागेन, ऊ, पुतलीलाई यहीँबाट आसामतिर फर्किने कुरा राख्तै थियो । हर्केको त्यस्तो दुखलाग्दो कुराले उसको जेठु पनि एक भन्नु न दुई भन्नुभयो । ज्वाईँको त्यत्रो पैसा हरायो । कता कता उसलाई पनि मनमा नराम्रो लाग्यो । बीचरा आफू कतिचोटी ओहोर दोहोर गर्दा पनि त्यस्तो घटना नघटेको, आज ज्वाईंको त्यस्तो अवस्थामा उसले केही बोल्न नै सक्ने अवस्था भएन ऊ चुपचाप उभिइरह्यो । कतिभन्दा पनि पुतली आसाम फर्किन मानिन, हर्के पनि एक्लै कसरी फिरोस् ? पुतलीले हर्केलाई सम्झाउँन थाली । धेरैबेरसम्म ती दुई बुडाबुडी गन्थन गरिरहे ।

पुतलीले भनी “अब आसामको कुरा नगर, बल्ल बल्ल नेपाल भूमि टेक्न पाइएको छ । जे जसरी हुन्छ यतै दुख जीलो गरेर खानु पर्छ । मेरो माइती पनि राम्रै छन् कसो अलिअलि सहयोग नगर्लान् त” ? हर्केलाई पुतलीले फकाई । बीचरा हर्के सोझो मोरो आसामलाई पुरै उसको मनबाट हटायो । अब भने हर्के पुतलीले जे भन्छे त्यही कुरा मान्ने भयो । तीनचार दिनको बाटो, कहिले उकालो, कहिले ओरालो त कहिले पच्याङ् र खोंच हुदै हर्के पुलीको माइती गाउँ आइपुग्यो ।

नयाँ ठाउँ नयाँ मान्छे, हर्के आफै नयाँ । सबै गाउँले हर्केलाई ज्वाइँ भन्थे । सुरु सुरुमा त हर्केलाई रमाइलो नै लाग्यो । “नयाँ हुन्जेल नौ पुला घाँस …….” भने झैं उसले महसुस गर्यो । पुतलीकी सौतेनी आमा थिई । ज्वाइँ प्रति सासूको व्यवहार केही विभेद पूर्ण हुदै जान थालेको थियो । त्यस पछि हर्केलाई आफ्नु घरको सम्झना आउँन थाल्यो । हर्केले आफ्ना आमा बाउ सम्झियो । बाल्यकालमा हिडेको डुलेको ठाउँ कता कता झल्याक झुलुक मनमा आउँदै हराउँदै गर्नथाले । ऊ त्यही भए पनि मन भने बसिरहेको थिएन । एकदिन पुतलीसँग भन्यो – “जऊ कान्छी अब उतै आसाम तिरै ” – तर पुतलीले मान्दै मानिन । ऊ आफू मात्र भए पनि आसाम जाने विचार गर्यो, पुतलीले जान दिइन । माइती गाउँ न हो आमाले नराम्रो गरे पनि एकजना दाजु पर्नेले –“बरु मेरा कटेरामा बसेर खेतीपाती गरेर खा कतै पनि नजा” – भनेर बस्ने ठाउँको व्यवस्था मिलाइदियो ।

हर्के र पुतली कटेरामा बस्नथाले । हर्के ढाकर बोकेर साहुको सामान लिन धरानतिर लाग्यो । हर्केलाई अलिकति पैसा जम्मा गर्नु थियो, एक हप्तामा मात्र धरानबाट सामान लिएर घरमा आइपुग्यो । रात बास बसेर अर्को दिन उसले साहुको सामन जिम्मा लगाएर ज्याला लिएर आयो । सबै पैसा पुतलीको हातमा हालििएर ऊ त्यसै गरी धरानको सामान खेप्न थाल्यो । साहुको समान नपाएको बेला नून किनेर ल्याउँथ्यो र सबै गाउँलेहरूलाई बाँडिदिन्थ्यो । नूनको बदलामा उसलाई सबैले चामल दिन्थे । हर्केको व्यवाहार यसै गरी चल्दै थियो । कटेराको बसाई अलिक एकान्तको थियो । हर्के पनि घरमा नहुने प्राय जसो बाहिर बाहिरै पुतलीलाई अलिक डर डर लाग्न थाल्यो र उनीहरू अर्कै एउटा आफन्त धरमा सरे । भारी बाकेरै भए पनि हर्कैले अलिअलि पैसा कामयो । दुई मुखको लागि त खान लाउनको दुखै भएन । दुईचार आना पैसा पुतलीको पोल्टामा हुन के थालेको थियो, उसकी सौतिनी आमा पनि नजिकिन थाली । आमासँग दिन प्रतिदिन घनिष्टता बढ्न थालेछ । उसको पनि मन पलाएछ र एउटा गरो बारी दिन्छु घर बनाएर बस भनी ।

हर्के र पुतलीले तुरुन्तै घर बनाई हाले । आफू त कहिले भारी बोक्न त कहिले धामी बस्न जाने गर्न थाल्यो । पुतलीले त्यही बारीको पाटामा खनी खोस्री गरेर कोदो मकै फलाई । खानको लागि पनि समस्या भएन । हर्केले भारी बोक्ने काम गरिनै रह्यो । हर्केले भरी कति बोक्यो कति । कहिले ताप्लेजुङ्ग पुग्यो कहिले तेह्रथुम पुग्यो भने कहिले भोजपुर पनि पुग्ने गर्थ्यो । हर्केले फेरि पनि अलिकति पैसा जमायो । पुतली खेतीपाती गरेरै ज्यान पाल्थी । हर्के कहिले पन्ध्र बीस दिनमा कहिले महिना दिनमा मात्र घर आइपुग्थ्यो । दुख सुखका कुरा गरेर बस्ने फुर्सद पनि ती दूईलाई प्राय जुर्दैनथ्यो । जीवन चलिरहेकै थियो । एकदिन पुतलीले हर्केलाई कोट्याउँदै भनी –“बुडा ! मेरो भुडीमा त बच्चा…..” – पुरा वाक्या बोल्न नपाउँदै हर्कैले कुरा बुझिहाल्यो । ऊ एक चोटी खुसीले बुरुक्क उफ्रियो । हर्केको खुसीको सीमा नै रहेन । उसले पहिलाको घरबार पनि सम्झियो । छोरालाई पनि सम्झिन पुग्यो ।

समय अघि बढ्दै गयो, पुतलीले छोरी पाई । हर्केको मन केही खिन्न भयो तैपनि उसले चित्त बुझायो नै । छोराको रहर त कस्लाई हुदैन र ? मनमा खिन्नता उत्पन्न भए पनि उसले छोरी र आमाको राम्रै स्याहार सुसार गर्यो । मनमा केही हिनता बोध भएको कारण उसले धरानको भारी बोक्न भने छाडी नै दियो । गाउँघरमा धामी झाँक्रीको कामभन्दा अरुकाम उसले त्यति गरेन । धामी काम गरेरै पनि आनासुकी भै हाल्थ्यो । बारीमा खनी खोस्री गर्दा केही कोदो मकै फलिहाल्थ्यो । छोरी खेलाउने घरैमा बस्ने गर्न थाल्यो । हर्केले एक दिन सोच्यो अब खेती गर्ने । अधिया खेत राप्ने विचार गरेर ऊ मुखियाको घरमा पुग्यो ।

एक हल बहर गोरु जेडेर खेती गर्न थालेको । आधि गेडो त हो नि भनेर कहिल्यै पनि हेलचक्क्रेईं गरेन । मुखियालाई अरुलेभन्दा धेरै धान दिन सफल भयो । यसरी हर्केको जीवन चल्दै गयो, केही वर्षको अन्तरमा पुतलीले अर्की पनि छोरी नै जन्माई ।

छोरीहरू दुवैजना हुर्किन केही गाह्रो भएन । चारजनाको परिवार सामान्य तरिकाको व्यवहार ठिकै सँगले जीवन चल्दै गयो । छोरीहरू स्कुल जान थाले । बुढा बुढी घरको काम गर्थे । चार पाँच कक्षासम्म पढेपछि ठुली छोरीले पढ्न छाडी दिई । घरमा गाई बाख्रा पालेको थियो एकजना त ढुक्कै गोठालो हिड्नु पर्ने । अब चैं ठुलीले त्यो काम ढुक्कै समाल्ने पनि भैसकेकी हुनाले पनि उसले पढ्न छाडेकी हो । कान्छी छोरीले मरीतरी एसएलसी सपास गरेर छाडी । ठुली छोरीको बिहे भैसकेको थियो कान्छी चैं बाउ अमालाई पाल्छु भनेर बसेकी । बाबुको मनमा चैं कान्छीको पनि बिहे गर्न पाए हून्थ्यो भन्ने थियो । यसरी नै छोरीको बिहे को कुरालाई लिएर सधैं जसो घरमा झगडा चल्न थाल्यो । हर्केलाई दिन प्रतिदिन आमा छोरी भएर टोकसो गरिरहने गर्थे । कति केटा आए तर पनि आमा छोरी भएर टिप्पा उडाउँथे । हर्के पनि बुढो हुँदै गएको अवस्थामा उसलाई छोरीको बिहे गरेरै मात्र मर्ने धोको छँदै थियो । यही विषयलाई लिएर घरमा निकै ठुलो झगडा चल्यो । हर्के भित्रको स्वभिमानमा ठुलै चोट पर्न गयो उसले घरै छाडेर हिड्ने विचार गर्यो ।

तीन दिन पछि हर्के काठमाण्डु पुग्यो । त्यहाँ पुगेपछि उसले धरहरा देख्यो, घण्टाघर र रानीपोखरी पनि देख्यो । कताकता उसले आफ्नो बाल्यकाल सम्झिन पुग्यो । आफ्नो गाउँघर सम्झियो । नेपाल खाल्डो पहिलाकोभन्दा धेरै फेरिइसकेकोले उसलाई आफ्नो गाउँ जाने बाटो पत्तोलगाउँन निक्कै मुस्किल भयो । पहिले पैदल हिडेको बाटो यतिबेला गाडी कुदरिहेका थिए । उसलाई गाडी चढ्न मन लागेन हिडेरै मात्र ऊ आफ्नो गाउँसम्म जान सक्थ्यो ।

हर्केलाई चिन्ने मान्छे त्याहाँ कोही पनि थिएन न त हर्केले नै कसैलाई चिन्थ्यो । बाउ बाजेको नाउँ बताउँदै हर्के गाउँ पस्यो । एउटा ठुलो घर जुन घर हेर्दा कुनै सम्पन्न मान्छेको घर जस्तो लाग्थ्यो, हर्के त्यही घरमा पस्यो । घरको आँगनमा एकजना बुढी मान्छे बिस्कुन उठाउँदै थिइन् । हर्केले अघिल्तिर गएर नमस्कार आमा भन्यो । ती आमा त हर्केलाई हेरेर झसङ्ग भएर तर्सिइन् । उसलाई देखेर झस्केकी आमै जुरुक्क उठेर घर भित्र पसिन्, भित्र गएर खै के के गरिन् बाहिर आइनन् ।

हर्के सानो छँदा उसको एकजना काका थियो, जो हर्केकै दौंतरी थियो । उनीहरूसँगै खेल्नेसँगै हिड्ने गर्थे । प्राय जसो नयाँ नौला माान्छेहरू त यी जुम्ल्यहा रछन् भन्ने गर्थे । पछिसम्म पनि गाउँमा हर्केको कुरा चलिरहन्थ्यो । हर्के हराए पछि गाउँमा निक्कै खैलाबैला भयो । वर्षौंसम्म पनि हर्के घर नआए पछि उसको काज किरिया पनि गरियो । अब भने सबैको मन मस्तिष्कबाट हर्के हराइसकेको थियो । हर्केलाई देख्ने जान्ने मान्छे पनि सब मरिसके ।

अब त त्यो मान्छे हिडिसक्यो होला भन्दै आमै बाहिर निस्किन् । त्यतिबेलासम्म पनि हर्के त्यहीँ बसिरहेको थियो । हर्केले बोजुलाई निहालेर हेर्यो, उनका आँखामा आँशु बगेका डोबहरू प्रष्टसँग देख्न्थिे । उसले सोध्नै परेन बोजु घरभित्र पसेर बेस्सरी रोइछिन् । बोजु त अँझै पनि बोल्न चाहेकी छैनन् उनको आँखामा ठ्रयाक्कै आफ्नै स्वर्गीय पतिको प्रतिरुप आएर बसिरहेको छ । उही हो भन्न पनि आफ्नै अघिल्तिर मरेको हो, हैन भनुभने दुरुस्तै त्यही मान्छे कसरी आयो ? बोजु त फेरि पनि बोल्दै नबोली घर भित्र पसिन् ।

हर्केले केही पनि बुझ्न सकेन, ऊ पनि जुरुक्क उठेर त्यहाँबाट बाटो लाग्यो र अर्को घरमा पस्यो । त्यो घर चैं उसको आफ्नै दाजुको घर थियो । दाजु भाउजू दुवै जना मरिसकेका, दाजुको एउटामात्र छोरो त्यो घरमा बस्थ्यो । हर्केको आफ्नै भतिजो जसले हर्केलाई देखेको थिएन । हर्केलाई देख्ने बित्तिकै एक आश्चर्य चकित भएर हेरिरहे जस्तो लाग्यो । भतिजाले हर्केलाई वाल्ल परेर हेर्न लाग्दा हर्के बोलो–“के ट्वाल्ल परेर हेरेको नि; बास बस्न पाइन्छ कि पाइन्दैन ? ”

“हैन ! मैले यहाँलाई कहाँ देखेको हुँ ?” – उसको भतिजाले सोध्यो ।

“खै ! के देखेको होला र ? म त पैलो चोटी यहाँ आउँदै छु ”– पिढीमा बस्तै हर्केले भन्यो । भतिजाको मनमा झ्वास्स सम्झना आयो । हम्रो काकाको र कान्छबाजेको अनुहार ठ्याक्कै मिल्ने थियो, गाउँका बुढापाकाहरू भन्थे । त्यस्तै दश एघार वर्षको हुदा हाम्रो काका हराएका थिए अरे, पछि मरो भनेर घेवा पनि गरिसकेको भन्थे । काका त जिउँदै पो रछन् कि के हो ? त्यो नयाँ पाहुनाको अनुहारमा उसले आफ्नै कान्छाबाजेको अनुहार देख्यो । ऊ मेरै काका हो भनेर खुसी भयो । यो खुसीको कुरा कन्छी बोजुलाई सुनाउन भनेर बोजुको घरतिर दौडियो । ऊ पुग्दा खेरि बोजु रोइरहेकी थिइन् ।

२०७० साल, इटहरी – ५

Leave a Reply

Your email address will not be published. Required fields are marked *