हामी प्राय:जसो सबैजना सबैभन्दा पहिले र बढी शिक्षालाईभन्दा ती अन्य विभिन्न खाले कुरालाई प्राथमिकता दिन्छौं । अर्थात् हामी किताब पढ्नभन्दा अन्य बाहिरी कुरामा बढी मात्रामा जोड दिन्छौं जस्तै : खेल्न, टिभि हेर्न, साथीभाइसँग गफ गरी फजुलमा घुम्न मन पराउँछौं । यदि अभिभावक र शिक्षकले राम्ररी यसो गर उसो गर भनी सम्झाउँदा हामीलाई त्यो प्रवचन झैँ लाग्छ अनि एक कानले सुनी अर्को कानले उडाउने गर्दछौं । बरू लाग्छौं गेम खेल्न, फेसबुक चलाउन र गीत सुन्नतिर । कसैले करै लगाएर पढ् भनेमा पाँच मिनेट पढ्न बस्दा पाँचश घन्टाझैँ लाग्छ ।
मानिसहरू निद्रा नलागेर स्लिपिङ् ट्याब्लेट जस्ता औषधी खान्छन् तर हामीलाई एक मिनेट जति किताब हेर्दा पनि आँखा लोलाएर युद्धमा घायल भएको योद्धा जसरी नै हाम्रो आँखा बिस्तारै ढल्दै जान्छ अर्थात् बन्द हुँदै जान्छ । तर त्यसको ठिक विपरित टिभि बन्द गर्न भनेर कसैले भन्यो भने फेरि त्यही आँखा सिकार नपाएर रिसाएको भोको बाघझैँ तनक्क तन्कन्छ । झन् आफूलाई मन पर्ने कार्यक्रम हेर्न पायो भने निद्रा नै भाग्छ । साथै त्यो आँखा कतिसम्म तन्कन्छ भन्ने कुराको अनुमान नासामा बसेका वैज्ञानिकले समेत लगाउन सक्दैनन् । फलस्वरूप हामी शिक्षा तथा किताबी ज्ञानभन्दा अन्य कुरालाई नै प्राथमिकतामा राख्दछौं ।
मानिस स्वभावैले जटिल कार्य गर्नभन्दा सरल कार्य गर्नेतर्फ नै अग्रसर हुन्छन् । अँझ राम्रो बानीभन्दा नराम्रो बानी मान्छेले छिटो सिक्ने गर्दछ । विद्यार्थी उमेर जीवनको प्राथमिक आधारशीला हो । यस अवस्थामा जति राम्रो आदतको विकास गर्न सक्यो पछिका उमेरहरूमा त्यति नै राम्रो हुन्छ । अहिले किताबी ज्ञानलाई मान्छेले अन्धो र बुर्जवा शिक्षाको उपमा दिएर पढाइलाई वास्ता नगरेको देखिन्छ ।
हुन त किताबी ज्ञान मात्र पनि सर्वस्व त होइन तर पनि यो आवश्यक तत्वअन्तर्गत नै रहेको छ । हामीले यस्तो पढ्ने सुनौलो अवसर पाएको बेलामा पनि विभिन्न कारण देखाई नपढ्ने गर्दछौं । जस्तै : शिक्षा व्यावहारिक नै छैन । यस्तो शिक्षा पढेर केही पाउने होइनौं भन्ने धरणा राख्दछौं । न कुनै अरू टेक्निकल विषयमा नै पढ्न जान्छौ न त पढिरहेको विषय नै राम्रोसँग पढ्छौं । यस्तो सङ्क्रमणकालीन अवस्थामा गुज्रिरहँदा भविष्यमा घाटा लाग्न सक्छ । जीवनको पहिल्लो अवस्थामा आफूसँगै राम्रो पढ्ने साथी हिँड्दा आफूचाहिँ नपढेकै कारण खस्कँदो अवस्थामा लाजले टाउको निहुराई टेन्सनको पोको बोकी हिँड्नु पर्ने अवस्था नआउला भन्न सकिन्न ।
हुन त आजभोलि ज्ञानको भण्डार बढाउन चाहनेका लागि किताबका अलावा विभिन्न वस्तुहरू पनिरहेका छन् जसमध्ये इन्टरनेट प्रमुख रहेको मानिन्छ तर यसको सही सदुपयोग गर्न नसक्दा यसले मानिसलाई अँझ अधोगतितर्फ धकेलिरहेको झैँ भान हुन्छ । अहिलेको परिस्थितिलाई नियाल्ने हो भने प्राय: हाम्रो लेभलका मानिसहरू समाजिक सञ्जालमा यति व्यस्त देखिन्छन् कि हरसमय ऊ त्यही नै झुण्डिरहेको हुन्छ तर त्यसको प्रयोगले विभिन्न विकृतिहरू देखापरेको पाइन्छ । जस्तै : फेसबुकमा धेरै साथी बनाउने अपरिचित व्यक्तिहरूसँगको सम्बन्धलाई निकट राख्ने गर्दछन् । तर त्यहाँ सबै राम्रा मान्छे मात्र नहुने हुँदा अन्त्यमा उनीहरूको जालमा फँस्ने गर्दछन् र जिन्दगीभर नमेटिने दु:ख भोगिरहेका पनि हुन्छन् ।
हामी दुनियाँको बारेमा यति धेरै सोच्छौं कि को आफ्नो को पराई नै भूल्छौं । कसैको एकैछिनको मिठो बोलीमा लट्ठी हाल्छौं तर आफ्ना अभिभावक र शिक्षकहरूका बारेमा भने सधैं नकारात्मक नै हुन्छौं । आमाबाबुले भनेका जुनसुकै कुरा पनि नमिठो लाग्छ र भन्छौं जेनेरेसन ग्याप छ । कुरै मिल्दैन मेरो त घरका मनिसहरूसँग । तर एकपटक सोचौं र कुन चाहिँ बाबुआमाले आफ्नो सन्तानको कुभलो चिताउन सक्छन् र !
हुन त आमाबाबु पनि आफ्ना सन्तानले आफूले भनेकोझैँ मात्र काम गरोस् भन्ने चाहन्छन् । जस्तै : उसको खुसीको विषयभन्दा पनि आफ्नै खुसीको विषय पढोस् । साथीसँग नघुमोस् । खेल्न नजाओस् भन्ने चाहन्छन् तर त्यसो ठिक उल्टो छोराछोरी चाहन्छ । यसले गर्दा उनीहरू किताबलाई आफ्नो दुस्मनझैँ ठान्छन् र अलि परै राख्छन् । फलत: परीक्षामा अनुत्तीर्ण हुनेपर्ने अवस्था आउँछ ।
हुन त विभिन्न विशेषणहरूले देखाएको छ कि नेपालको पाठ्यक्रम समय सुहाउँदो छैन । किताबमा मात्र पनि आजका विद्यार्थी सीमित हुनु हुँदैन । विश्व निकै अगाडि बढिसकेको छ । नयाँनयाँ सूचना प्रविधि र टेक्नोलजीको विकास तीव्र गतिमा भइरहेको छ । विश्व परिवेशसँगै मानिस हिँड्न सक्नुपर्छ ।
सधैं किताबमा मात्र घोटिरहने, किताबी ज्ञान मात्र सर्वैसर्वा हो भन्ने धारणा पनि सही मान्न सकिन्न तर यसको मतलब किताब अब काम छैन भन्ने पनि होइन । हामीले किताबी ज्ञानका साथै अन्य बाहिरी नयाँनयाँ प्रविधिसँग पनि घुलमिल हुन र सही सदुपयोग गरी बाटो अप्नाउन सक्नु पर्दछ । त्यसैले के काम गर्ने वा नगर्नेभन्दा पनि कुन काम कुन समयमा गर्ने अर्थात् सही समयमा सही काम गर्न सकियो भने मात्र सफलता हात लाग्न सक्छ । यो तत्व खासगरी विद्र्याजनमा लागेका हामी तताम युवायुवतीहरूले गढेर बुझ्ने कुरा हो । यसैमा सबैको भलाइ निहित रहेको छ ।
लक्ष्मी तामाङ
बिएड तृतीय वर्ष, गणित समूह
मन्थली क्याम्पस, मन्थली, रामेछाप ।