Skip to content

ओशो छहारीमा पुग्दाको एक अनुभूति


रजनिस (ओशो) ‘संसार’ हो र तपाईं ‘स्व’ हो । ‘स्व’मा समाधान नभएसम्म संसारमा समाधान हुन्न भनेर योगी डा. विकाशानन्दको कथन सुनेपछि रजनिस को रहेछन् भन्ने खोजी गर्न थालेँ । वास्तवमा हाम्रो जीवनको मूल समस्या बाहिरबाटभन्दा हामीभित्रैबाट पैदा भएको हुन्छ । समस्या जहाँबाट जन्म्यो समाधान पनि त्यहींभित्र रहेको हुन्छ । त्यसैले आफूलाई, आफ्नो स्वभावलाई, आफ्नो क्षमता र प्रवृत्तिलाई सही ढंगले बुझ्न सकियो भने मात्र समस्याबाट पार पाउन सकिने रहेछ । त्यसैले मूल वस्तु नै हामी मनुष्य रहेछौँ । रजनिस त माध्यम मात्र हुनुहुँदो रहेछ । रजनिसले जीवनमा हामीलाई बाटो दिनुहुँदो रहेछ, हिंड्ने काम त हामी जीवनयात्राका यात्रुहरूको नै हो ।

स्वामी ज्ञानभेदको ‘फक्कड मसिहा ओशो’ भन्ने किताबको खण्ड ८ पढ्दा जो कोही पनि ओशोप्रति नतमस्तक हुने रहेछ । त्यस्तो अद्भूत चमत्कार गरेर मानव जीवनलाई धन्य तुल्याउने सद्गुरुलाई सबैले मुखले नभए पनि मनले नमन गर्छन्, गर्छन् भन्ने मेरो लेखाजोखा रह्यो । उहाँले अमेरिकाको ओरेगन भन्ने ठाउँको अर्ध बाँझो विशाल भू–भागलाई चार वर्ष भित्रमा स्वर्गतुल्य ठाउँ बनाउनुभएछ । त्यहाँ पाँच हजार मान्छे एउटै घरमा बसेर खाने, सबै मिलेर परिस्थिति अनुरूप काम गर्ने गर्थे रे । हरेक व्यक्तिलाई आ–आफ्नै किसिमको काम सुम्पेको थियो रे । त्यहाँ भएका कुनै घरमा पनि ताल्चा मारेको पाइन्नथ्यो रे । अमेरिकामा यस्तो चमत्कारिक काम गरेर धन्य तुल्याइदिँदा पनि उहाँले विदुर नियति भोग्नु परेछ । आखिरमा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्डरेगनले ओशोलाई गिरफ्तार गरेर उहाँले सिर्जना गरेको कम्युनलाई ध्वस्त पारेर देश निकाला गरेछन् । माक्र्स, लेलिन र माओले पनि कम्युन (सामुहिक जीवनयापन)लाई सही ढङ्गले प्रयोग गर्न नसकेको परिप्रेक्ष्यमा संसारको सबभन्दा गहन साम्यवादी (कम्युनिष्ट) सिद्धान्तलाई व्यवहारमै कम्युनको रूपमा प्रयोग गर्ने सफल व्यक्ति चाहिँ ओशो मात्र हुनभएको थाहा पाएर म अँझ भावविभोर भएँ । यी घटनालाई एक–एक गरेर सूक्ष्म रूपमा बुझ्ने कार्यमा सरिक रहँदा अमेरिकाले थेलिएम नामको स्लो प्वाइजन खुवाएर उहाँको भौतिक शरीरलाई नाश गरेको बुझ्न भेट्टाएँ । ओशो साहित्य/दर्शन/रूपान्तरणको विज्ञानलाई समेत कुल्चने प्रयास गरेको कुरा मेरो जानकारीमा आयो । ओशोले कम्युन प्रणालीलाई अमेरिकाभरि फैलाउनुभयो, यो कम्युनिष्टहरूको एजेन्ट हो भन्ने डर अमेरिकालाइरहेछ । तत्कालीन रुसमा कम्युनिष्ट शासन थियो । त्यत्तिखेर रुस र सोभियत संघबीच कोल्ड वार चलेको थियो । त्यसकारणले अमेरिकाले रुसी कम्युनिष्टको एजेन्ट (रुसी गुप्तचर संस्थाको एजेण्ट) हो भनेर ओशोलाई नष्ट गरेको रहेछ ।

मैले इनलाइटमेण्ट अर्थात् संबोधि प्राप्त, बोधिसत्व प्राप्त वा बुद्धत्व प्राप्त व्यक्ति भनेर बुद्ध, लाउत्सु, महावीर, कृष्ण, कविर, ईशु, महोम्मद, गुरु नानकहरूलाई बुझ्दै आएको थिएँ । पछि ओशो समेत संबोधि प्राप्त, बोधिसत्व प्राप्त वा बुद्धत्व प्राप्त व्यक्ति हुनुभएको थाहा पाएर समेत म बढी आकर्षित भएको हुँ । अर्कातिर अमेरिकाजस्तो शक्तिसम्पन्न मुलुकको अमनचयन हरण गर्ने व्यक्ति सानोतिनो हुन सक्दैन, पाँच हजार परिवारलाई एउटै परिवार बनाउने क्षमता सबैमा रहँदैन भन्ने विश्लेषण समेत गर्न पुगेँ ।

राजनेता र देश नै ओशोमाथि खनिनुको कारण के हो ? ओशो र ओशो दर्शनको कुन पक्ष उनीहरूका लागि घातक थियो ? प्रश्नमा घोत्लिँदा केही कुराहरू फेला पारेँ– धर्म र धर्मग्रन्थहरूका विविध खाले पाखण्ड प्रवृतिको भण्डाफोर गर्दिएकाले उनीहरू ओशोदेखि रुष्ट भए । अमेरिका, वेलायत, स्वीस, ग्रीस लगायतका प्रजातन्त्रवादी देशहरूले ओशोलाई दुत्कारेछन् । ओशोले धर्मभिरु पाखण्डको मात्र पर्दाफास गर्नुभएनछ । राजनीतिको नाममा, धर्मको नाममा, जात र सम्प्रदायको नाममा ढोंग, आडम्बर, पाखण्ड, शोषण, उत्पीडन र विभेदको विरुद्ध अग्निवर्षा गर्नुभएको रहेछ । उहाँले ‘जोर्बा दी बुद्ध’ नामाकरण गरिएको नयाँ मनुष्यको कल्पना गर्नुभएको रहेछ । त्यसकारण रुढीविचारमा चलेका धार्मिक जनदेखि राजनेता समेत रुष्ट भएछन् । उहाँले आफ्नो विचारलाई राजनीति, धर्म, सम्प्रदाय सिद्धान्त, दर्शन वादको आदिको रूपमा अस्वीकार गरेर रूपान्तरणको विज्ञान मात्र भन्नुभएको प्रसङ्ग समेतले उहाँ विश्वकै अनुपम चिन्तक हुनुभएको प्रष्ट हुन्छ ।

म सानैदेखि एकाङ्गीपनमा रमाउने गर्थें । साथीभाइ साथमा हुन्थे र पनि म एक्लै हराउन चाहन्थेँ । गोठालो गर्दा होस् कि स्कुल आउँदा जाँदा होस् एक्लै हराउन चाहन्थेँ । जहिले पनि खुल्ला आकाशमुनि खुल्लै मनका साथ विचरण गर्न रुचाउँथेँ । मेरो रुचि सहकर्मीलाई मन पर्दैनन्थ्यो । त्यसैले सबैजसोले मलाई ‘गाँडु’ भनेर गिज्याउँथे ।

मुखले कसैलाई मार्न जानेको थिइनँ । कसैले अति नै दमनको रणनीति अपनाएमा आँखा चिम्लेर जाई लाग्ने मेरो बानी थियो । म कसैको सिको गर्न जान्दिनथेँ । कुनै पनि वस्तुमा गहिरिएर हेर्दा चित्रविचित्र किसिमका क्षमता भेट्थेँ । संसारमा वस्तुहरू एकै किसिमका कामका लागि अस्तित्वमा रहेका होइनन् भन्ठान्थेँ । एकदिन ढुङ्गामा देउता हुन्छन् भनेर मानिसहरूले ढुङ्गो पुजेको थाहा पाएँ । कहिल्यै नदेखिने र नभेटिने यी देवता कस्ता रहेछन्, हेर्नै पर्यो भनेर एक रात मन्दिर छिरेँ । निर्जीव ढुङ्गो अचल भएर ठडिएको थियो, जति बोलाए पनि, जति पुकारे पनि त्यसले आवाज निकालेन । ‘बोल, बोल ! बोल, देउता, बोल’ भन्दै अर्को ढुङ्गाले हान्न थालेँ । हान्दाहान्दै ढुङ्गो फुट्यो तर देवता बोलेनन् । ‘ला, देवता त मरेछन्’ भनेर म आत्तिएँ । हत्त न पत्त लुक्दैलुक्दै घर पुगेँ र बुबाको सिरकमा गुट्मुटिएँ ।

भोलिपल्ट म ब्यूँझिनुपूर्व नै चारैतिर हल्लाखल्ला मच्चिसकेको थियो । गाउँमा नास्तिकहरूको धर्मविरोधी कार्य बढ्दै गएको कुरा चल्दै थियो । कतिपयले त देवतालाई टुक्रा पार्न सक्ने तागत कुनै मनुष्यमा नरहेको दाबी गर्दै थिए । लगतै जोखाना हेरियो, धामीझाँक्रीले ढ्याङ्ग्रो ठोक्न थाले । वनकाली रिसाएर यो उपद्रो गरेकी हुन् भन्दै सात दिनभित्र कालो बोको बली दिने कबुल गरियो । सुरुमा म भने थुरथुरी थिएँ । मेरो उपद्रव वनकालीमा सरेकोमा प्रशन्न भएँ । मेरो मनबाट धामीझाँक्रीप्रतिको विश्वास पनि उठेर गयो ।

अहिले आएर मलाई कविर बारे ओशोले भन्नुभएको यो कवितांश याद आउँछ– दुनियाँ ऐसी बाबरी पत्थर पुजन जाय/घरकी चकिया कोही न पुजे जिसका पिसा खाय । (संसार कस्तो पागल छ, ढुंगालाई पुज्न कहाँकहाँ पुग्छन् तर आफ्नो घरको जाँतोलाई पुज्दैनन् जसबाट पिसेको खान्छन् । (कविर)

अर्को एक घटना याद आइरहेछ– बाँसले तामा हाल्ने समय थियो । दिउँसो तरकारी खान तामा दिनुस् भनेर माग्न आउने मान्छेलाई बुबाले रित्तो हात फर्काउनुभएको थियो । त्यस साँझ बाँस झाँङमा बच्चा रोयो । कस्को बच्चा भन्दै म त्यता दौडन लागेको थिएँ, आमाले रोक्नुभयो र मरेको बच्चा रोएको हो, जान हुँदैन भनेर घरभित्र लगेर झ्यालढोका बन्द गर्नुभयो । त्यस दिनदेखि तामा चोरिन थाल्यो । बुबा चाहिँ दुम्सीले तामा खाँदो रहेछ कि क्या हो भन्न थाल्नुभयो । बच्चा रुन सुरु गर्दा हामी सबै कोठाभित्र पसेर झ्याल ढोका लगाइहाल्थ्यौ । केही दिनसम्म यही क्रम दोहोरीरह्यो । तामाहरू चोरिँदा भए । दुम्सी मार्न बाँस झाँङ नजिक ठूलो खाल्डो खनियो । र, त्यसलाई टाँड पारेर हरिया झारपातले छोपियो । दुम्सी त्यसलाई सामान्य जमिन ठानेर भ्रममा पर्छ र खाल्डोमा खस्छ भन्ने ठानिएको थियो । साँझमा बुबा गाई दुहनुहुँदैथ्यो । बच्चा रुन थाल्यो । आमाले मलाई घरभित्र पसाउनुभयो । बुबा पनि हत्त न पत्त घरभित्र छिरिहाल्ने दाउमा हुनुहुन्थ्यो । त्यत्तिकैमा बाँसघारीबाट आवाज आयो– ‘मरेँ, मरेँ, बचाऊ, बचाऊ ! ए बासुदेवका बाउ ! मलाई बचाऊ ! गुहार बचाऊ ….!’ के भएछ भनेर आगोको अगुल्टो हातमा लिएर बुबा दौडिनुभयो । पहिले तामा माग्ने मान्छे पो खाल्डोमा खसेको रहेछ । मानिसहरू जम्मा भए । हायलकायल पारे । उसले सबै कर्तुत बतायो । बच्चा रोएको आवाज निकालेर दुनियाँलाई ठगेको रहस्य खोल्यो । त्यस घटनापछि मैले अर्को ज्ञान पाएँ ।

यस्तो पृष्ठभूमिमा रहिरहेको म बबुरोलाई धेरै कुरा कसरी थाहा हुनु र ! पछि गल्फडिया गाउँमा एस.एल.सी. सकेर म राजविराज सहर भित्रिएँ । साहित्यमा रुचि थियो । कथा, कवितामाभन्दा निबन्धमा बढी रुचि राख्थेँ । निबन्धमा जीवनवादी भाव खोजिरहन्थेँ । यसै क्रममा दार्शनिक ओशोका पुस्तकहरू पढ्ने अवसर प्राप्त भयो । उत्तिसारो अङ्ग्रेजी छिचोल्न नजान्ने, कनिकुथी हिन्दी बुझ्न सक्ने अवस्थामा थिएँ । उहाँको कथनको सार टिप्न सके पनि लय र शैली साथै शब्दप्रयोगको भुमरीमा म त्यसै–त्यसै हराउँथेँ । रस बस्यो, कोसिस गर्दागर्दै निक्कै कुरा जान्न थालेँ । स्वामी ध्यानबोध, स्वामी ध्याननिर्दोष र स्वामी देवदर्शनहरूले ओशोका प्रवचन उपलब्ध गराएर र हिन्दी भाषामा आएका जटिलताहरू फुकाएर ओशोको दार्शनिक पाटो बुझ्न सहज तुल्याइदिनुभयो । अँझ ओशो मौलश्री ध्यान केन्द्र, राजविराजमा हरेक शनिबार हुने डाइनामिक ध्यान गर्न पाउँदा र ओशो–प्रवचन सुन्न पाउँदा आफूमा भएका विकारपन हटाउन मद्दत मिल्न थाल्यो ।

म विल्कुलै अबुझ संसारमा हराइरहेको मान्छेलाई जीवनको सत्य बोध गराउने काममा ओशो चिन्तनले ठूलो भूमिका खेलेको छ । मेरो ओशोसँगको सान्निध्यताका बारेमा भन्नुपर्दा सन् २००८ को शिवरात्री तिथितिर फर्कनुपर्छ । नेपालबाट ओशो मन्दाकिनी ध्यान केन्द्र, वाराणसी, भारत जानेहरूमा २०/२२ जनाको टोली थियो । त्यस टोलीको नेतृत्व लहानका स्वामी राजुको काँधमा गए पनि अर्का अघोषित नेतृत्वकर्ता थिए– स्वामी देवदर्शन । उहाँले लामो समयदेखि ध्यान, योग, प्रणायाममा लागेर अनेकन पटक स्वदेश र विदेशका ध्यान केन्द्रहरूमा ध्यान शिविरहरू भ्याइसक्नुभएको रहेछ । उहाँकै सल्लाह र सहयोगले मैले सन् १२।११।२००८मा बनारसमा दीक्षा लिएर सन्यास जीवनमा पाइलो राखेको हुँ । अर्धाङ्गिनी माँ देव अनुपम समेतले साथै दीक्षा लिएकी हुनाले मलाई कुनै किसिमको पारिवारिक समस्या आइ लागेन । बरू हाम्रो पारिवारिक किचलोका केही प्रसङ्गहरू स्वतः अनुकूल बन्दै–बन्दै गए ।

स्वामी ज्ञानसाहिलको सञ्चालनमा आयोजित उक्त मौन शिविरले मेरो जीवनमा कायापलट गर्ने काम गर्यो । मैले योगका प्रथम प्रणेता प्राचीनकालीन संबोधी प्राप्त ऋषि पतञ्जली भए पनि आजको वैज्ञानिक युग सुहाउँदो परिष्कार ल्याउने काम चाहिँ सद्गुरु ओशोले गर्नुभएको थाहा पाएँ । उहाँका पतञ्जली योग सूत्र भाग १ देखि ४मा अष्टाङ्ग योग ग्रन्थ र पतञ्जली योग सूत्रमा भएका सबै आठ ओटा सिँढीको र पद्धतिहरूको वर्णन गरिएको रहेछ । (१) यम (२) नियम (३) आसन (४) प्रणायाम (५) प्रत्याहार (६) धारणा (७) ध्यान र (८) समाधी जस्ता आठै वटा अंगहरूका बेग्लाबेग्लै साधना पद्धतिहरू रहेछन् ।

ध्यान भनेको निर्विचार मनोदशा हो अर्थात् शून्य विचारसहित आनन्दमा लिन हुनु ध्यान हो । होसपूर्ण जीवन र होसपूर्ण कृत्य नै ध्यान हो । प्रणायाम शब्द प्राण+आयाम मिलेर बनेको छ । प्राण अर्थात् जीवन तत्वको विस्तार प्रणायाम हो । यो श्वास प्रश्वास क्रियासँग सम्बन्धित छ । योगको अर्थ जोडिनु वा जोड्नु हो । आत्मालाई अस्तित्वको परम सत्तासँग जोड्नु नै योग हो भन्ने जस्ता कुराहरू बुझेर उपयोगमा ल्याई जीवन रूपान्तरण गर्न सद्गुरु ओशोले मार्ग प्रशस्त गर्दिनुभएको पाएँ ।

उत्कृष्ट स्रष्टा हुन चाहने व्यक्तिको लागि ध्यान उर्जा, उत्प्रेरणा, स्फुरण र ऊर्वरताको खानी नै हो । ध्यानी, ज्ञानी र काव्य चेतनालेयुक्त स्रष्टा बन्छु भन्ने सङ्कल्प लिएर साधना पथमा डुबुल्की लगाउँदा सफलता पाइने रहेछ । ध्यानमा बस्दा कुनै कुरा नसोच्ने, कुनै विचार नगर्ने, कुनै कुराको चाहना/कामना नगर्ने, सिर्फ श्वासप्रश्वासको आउने–जाने प्रकृयाको साक्षी भएर हेर्दै जाने, हेर्दै जाने, हेर्दै जाने र आखिर एउटा क्षणमा पुगेपछि निर्विचार साक्षीभावलाई समात्न सकिने रहेछ । अनि, भिन्नै किसिमको असीमताको अनुभूति हुन थाल्ने र त्यसपछि घट्ने घटनाहरू विचित्र–विचित्र किसिमका हुनेरहेछन् । ध्यान र ओशो साहित्यलाई साथसाथै अघि बढाएमा लेखनकला ओजपूर्ण, प्रसादपूर्ण र माधुर्यपूर्ण हुँदै जाने रहेछ ।

‘संसारका विरोध सन्यास नही हैं, संसारकी शुद्धी सन्यास हैं’ भनेर ओशोले भन्नुभएको रहेछ । सन्यास लिन र सन्यास जीवन धारण गर्न त्यस्तो कुनै कठोर नियम अबलम्बन गर्नुपर्ने रहेनछ । अपनाउनुबाट मुक्त मनोदशाको नाम नै सन्यास हो भनेर बुझ्दा हुने रहेछ ।

‘सुरज ढल गया । एक दिवस और बित गया । सन्यासी अगर सच में सन्यासी है तो मौत करिव आ गई । उसे और सजग होना चाहिए । एक दिन हाथ से और जा चुका और अभी तक ध्यान नहीं हुआ । समाधि नहीं लगी । अभी तक करुणाका दीया नही जला । कौन जाने कल सुबह हो, ना हो । सन्यासी अगर सच में ही सन्यासी है तो ये घडीयाँ व्यर्थकी बातों में गवाने कि नही ।’ भनेबाट पनि ओशो सन्यासीको क्षेत्र, दायरा र महत्व झल्कन्छ । उहाँको यस लय र शिल्पपक्षको प्रभावले मैले लेखन क्षेत्रमा आफूलाई खार्न सकेको छु । समाज रूपान्तरणको पक्षमा आफूलाई उभ्याउने हिम्मत भेट्टाएको छु । फलस्वरूप वि.सं. २०६७ सालमा ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नामक नाट्य कृति प्रकाशन गर्न सकेको छु ।

‘मनुष्य कें सभी प्रश्नोका एक मात्र उत्तर है– ध्यान । चाहे वह विषाद हो, चाहे वह हताशा हो, चाहे वह उदासी हो, चाहे वह अर्थहीनता हो, चाहे वह सन्ताप हो, समस्याएँ कई हो सकति है, लेकिन उत्तर एक है– ध्यान ।’ भनेर गुरुले ध्यानलाई सफल जीवनको लागि अचुक अस्त्रको रूपमा चिनाउनुभएको छ । जीवनमा नाच्न नजान्नेहरूलाई नाच्न सिकाउने मात्र होइन, बाँच्ने कला समेत ओशो ध्यान शिविरहरूमा सिकिने रहेछ । ध्यानले मान्छेको कठोर दिललाई अत्यन्त नाजुक, कोमल र तरल बनाउँदो रहेछ । आँखाबाट आँसु खसेपछि प्राप्त अपूर्व अनुभूतिझैं कठोर मन पग्लेपछि हुने आनन्दानुभूतिको वर्णन गर्न शब्दमा नसकिँने रहेछ । गुरुले अघि सारेका ११५ वटा ध्यानविधिरहेछन् । ‘ध्यान विज्ञान’ नामक उहाँको पुस्तकमा ध्यानमा प्रवेशका लागि भनेर सहज विधिहरू वर्णित छन् । यान्त्रिक जीवनबाट छुटकारा नपाइरहेको आजको मनुष्यले ११५ विधि मध्ये पनि शरीर स्वस्थ राख्न विहान सक्रिय ध्यान (डाइनामिक मेडिटेशन) र बेलुकी कुण्डलिनी ध्यान गर्नु उत्तम हुनेरहेछ ।

सद्गुरु ओशोले होस नै पुण्य र बेहोसी नै पाप भन्नुभएको कुराले मेरो होस फर्काएको छ । होस भनेकै ध्यानको अर्को नाम रहेछ । झुक्किएर पनि अरूलाई दुःख पुग्ने, चोट पुग्ने काम गर्नुहुन्न । होस वा ध्यानमा रहने मान्छेका हरेक कर्महरू पुण्यसँग गाँसिएका हुन्छन् । जो व्यक्ति वेहोसमा रहन्छ, वेहोसमा रहनेले जानअन्जानबस् अरूलाई पीडा पुग्ने काम गरिरहेको हुन्छ । यसले गर्दा ऊ पापपूर्ण कृत्यमा संलग्न भएको हुन्छ । यसरी मैले होसपूर्ण जीवन जिउनेकला राम्ररी सिकेँ । वास्तवमा धर्म पनि त्यहिरहेछ ।

गुरुभक्तिको उत्कृष्ट नमुना ओशो ध्यान शिविरमा अनुभूति गर्न पाइँदो रहेछ । आजको यस भड्किलो र अहम्ताले गाँजेको युगमा पनि गुरुको पाउमा परी श्रद्धा प्रकट गर्ने सहभागी साधकहरूको आचरणलाई नियाल्दा मान्छेको नैतिकता र आदर्शलाई शिविरले जगाउने र ज्यूँदै राख्ने काम गर्दो रहेछ । जीवनको सारतत्व पहिल्याउन शिष्यले गुरुभक्ति दर्शाउनु हिजो पनि आवश्यक थियो, आज पनि छ र भोलि पनि हुनेछ । गुरुप्रति आस्था र श्रद्धाभाव जाग्यो भने मात्र साधनाले त्वरित गति हाँसिल गर्छ । त्यसैले शङ्का, सन्देह, अविश्वासले गरेको कुरा तलमा परिणाममुखी हुँदैन । ध्यानले सुखद परिणाम दिएपछि गुरुप्रति श्रद्धा झन बढ्ने रहेछ । सबै योगी, ऋषिमुनि गण र बुद्ध पुरुषले दिएको देशना र साधना पद्धतिको सार तत्व एकै किसिमको रहेछ । नाभिकेन्द्रमा आत्माको वासस्थान रहन्छ । त्यसैलाई उद्दिप्त पार्ने अर्थात् निष्कृय उर्जालाई जगाएर आरोग्य, आनन्द र अमृतमय जीवन पथमा मानिसलाई हिँडाउने काम त्यस्ता देशना र साधनाले गर्दछ भन्ने ठहरमा पुगेँ ।

निर्विचार अवस्था अर्थात् अकम्प चैतन्य साक्षित्वमा नै चीर नूतन अलौकिक तथा असीम विचारहरूको प्रष्फुटन हुँदा रहेछन् । पुरानो मनमा खेल्ने र त्यसबाट पैदा हुने विचार मौलिक नहुने र ती पुनरावृति भएर आएका घैलामैला स्वरूपका हुने हुँदा साहित्य–सिर्जनाको संसारमा निरन्तर सक्रिय रहने चाहना बोकेका मजस्ता बामेशरीरहेका लेखकले मौलिक चिन्तन पैदा गर्ने अवसरको खोजी नगरी हुन्न । त्यसमा ध्यानले ठूलो मद्दत दिइरहेको भेट्टाएँ ।

ध्यानको गहनता सघन हुँदै गएपछि आन्तरिक जगत्मा निकै आश्चर्यजनक र अद्भूत रमाइला घटनाहरू घट्दा रहेछन् । कसैलाई रोदन भाव त कसैलाई हाँस्य भावले समात्ने गर्दो रहेछ । ध्यानमा त्यस्तो घटना घट्नुलाई शुभसङ्केत पनि मानिदो रहेछ । कसैमा तीव्र अनुग्रहको भाव आउने, कसैमा तरल संवेदना चढ्ने, कसैमा सिर्जन–तरङ्गले छोप्ने, कसैमा भने प्रेम–भाव उदय हुने हुँदा जुन बेला जस्तो भाव घटित हुन्छ त्यसलाई निर्वाधरूपमा बग्न दिएमा त्यसले मान्छेभित्रको तीव्र संवेदनालाई उकास्ने रहेछ ।

ध्यानले हामीभित्रको संवेदनालाई, कोमलतालाई र सृजनात्मकतालाई समेत विकास गर्न सहयोग पुर्याउँछ । ध्यानले विवेक र प्रज्ञा, समझ र संवेदना बढाउने काम गर्छ । ज्ञानको लागि, सूचनाका लागि, शैली र शब्द ज्ञानको लागि गहन अध्ययन गर्नैपर्दो रहेछ । नियमित ध्यान गर्ने र लेख्दै जानेहरूको लेखनको गुणवक्तामा निश्चय नै फरक आउँने रहेछ । ध्यानले स्मरण शक्ति समेत बढाउने रहेछ । पश्चिमी मुलुकमा त बच्चाहरूको स्मरण शक्ति बढाउनको लागि केटाकेटीलाई योगध्यान गराउने परिपाटीको विकास हुन थालेको छ रे । ध्यानको स्मरण शक्तिसँग सिधासिधा अन्योन्याश्रित सम्बन्ध रहेछ । ध्यानले गर्ने चमत्कारका बारेमा वैज्ञानिकहरूले पनि प्रमाणित गरिसकेका रहेछन् । स्मरणशक्ति बढाउने साधनासूत्रहरू थाहा पाउन सद्गुरु ओशोका भैरबविज्ञान तन्त्र सूत्र भागः १ देखि ५ सम्मका ग्रन्थहरूको अध्ययन, मनन र चिन्तन गर्नु पर्ने रहेछ ।

ध्यानबाट त अतीतका कुरा पूरै स्मरण गर्दै गर्दै गर्भावस्थाका घटना पनि बताउन सक्ने समझको विकास हुन्छ रे । बुद्धले आफ्नो ५० औं जुनीको वारेमा बताएका कुराहरू र ओशोले आफ्नो अघिल्लो जुनीको वारेमा गरेको वर्णनले मानिसले आफ्नो अतीतका कुराहरू थाहा पाउन सक्छ भन्ने कुराहरूको ज्ञात हुन्छ । पढेका, जानेका र अनुभूत गरिएका कुराहरू बिर्सनु भनेको चेतन खण्डमा रहेका कुरा अचेतन खण्डमा गएर छोपिनु हो । ध्यानले त्यही अचेतन मस्तिष्कलाई साधनाबाट उदाङ्गो बनाइदिँदो रहेछ । यसले गर्दा विस्मृतिमा पुरिएका कुराहरू बाहिर आउँछन् र ध्यानी लाभान्वित हुँदो रहेछ ।

‘मैं तुम्हे जगानेके लिए पुकार दे रहा हुँ, लेकिन तुम्हारी निंद में पहुँचते–पहुँचते पुकारका क्या अर्थ होगा, यह तुम पर निर्भर है, तुम्हारी निंद पर निर्भर है । जो जागना चाहाता है, वही केवल पुकार सुन पाएँगे । जो नही जागना चाहते, वे नही सुन पाएँगे ।’ भनेर ओशोले संसार जगाउने प्रण गरी जीवन समर्पण गर्नुभयो । म पनि सिको गर्दै शिक्षक बनेर जगाउने अभियानमा समर्पित छु । गुरु कृपाको अभिलाषिरहिरहन्छु । मेरो जीवनले समेत काँचुली फेरिरहेको महसुस गरिरहेछु । –स्वामी प्रेम निर्वाण (सन्यास नाम)

नन्दलाल आचार्य
अगस्त ८, २०१२

3 thoughts on “ओशो छहारीमा पुग्दाको एक अनुभूति”

  1. अरू ता तेस्तै हाे बाँसकाे
    अरू ता तेस्तै हाे बाँसकाे तामा चाेर खाल्टाेमा परेकाे प्रसङ्ग राेचक लाग्यो । धन्यवाद नन्दलालजी ।

    1. धन्यवाद होम सर
      यत्ति लामा झ्याउरे गफ पढिदिनु भएकोमा खुशी लाग्यो ।
      अबुझ संसारका अनुभूति अहिले हाँसोको विषय बन्दो रहेछ ।

      अहिले सम्झँदा अनौठो लाग्छ । सरलाई फेरि पनि धन्यवाद ।।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *