Skip to content

कायोत्सर्ग-ध्यान


अचल शिथिलै बन्नु, सचेत भै सदा तिमी।
सुती बसी उठेरै नै, आँखा चिम्लीरहे तिमी ।

आत्माले हेर आत्मा नै, आफैँ भित्र पसी तिमी ।
आकाशतिर फर्केर, उत्तानै सुत है तिमी।

हत्केला माथि फर्काई, दीर्घ स्वास गरी तिमी ।
दुवै आँखा रहु चिम्ली, कायोत्सर्ग भरी तिमी।

देउ सुझाव सम्पूर्ण, बिन्दु शरीरको सवै।
शिथिल भै बसुन् शान्त, नरहुन् दुखमा कुनै।

अचल शिथिलै बन्नु, सचेत भै सदा तिमी।
सुती बसी उठेरै नै, आफै भित्र पसी तिमी ।

आँखा चिम्ली दुईटै नै, सुत आनन्द पूर्वक ।
बनाऊ तन छिट्टै नै, सवै शिथिल भर्सक ।

पाउबाट शिरैसम्म, गराउ शिथिलै सवै ।
गुब्बारा हलुका जस्तै, जीउ गराउ है सवै ।

मूलाधार सहस्रार, अविराम घुमी रहु ।
सुषुम्ना मार्गमा श्वास,तलमाथि गरी रहु।

भित्रै यात्रा गरी कत्ती, नचली सुत भूमिमा।
सुती सुती गरी यात्रा, सक्दछौ पुग्न स्वर्गमा ।

अन्तर्दृष्टि लगाएर, विश्व यात्रा त हुन्छ नि ।
निहारिका नक्षत्रै नै, पुगी डुल्न त मिल्छ नि ।

प्रफुल्ल हुन्छ आत्मा, शशि तारासितै घुमी ।
टलक्क टल्किने तारा, गजक्क गम्किने शशि ।

बादलुले मुखै छोपी, पछि लाग्ने तिनी पनि।
शशि तारा मिली सारा, आनन्द छर्दछन् पनि।

दुईटै नाकका छिद्र, नजरमा रही रहुन्।
आवागमन श्वासको, अविराम बगी रहुन् ।

लगातार गरी यात्रा, मूलबाट शिरै तक ।
सुसुम्ना मार्ग नै हुन्छ , साध्य पुग्ने छिटो पथ ।

तिमी त आफु भित्रै नै, सक्दछौ पस्न ध्यानमा ।
आफुले आफुलाई नै, सक्दछ हेर्न ज्ञानमा ।

कुन तत्व छ आत्मा नै, कहाँ होला भनी कन ।
सात्क्षात्कार गरी राखौँ , ओँकार नै बुझी कन ।

योग निद्रा बगी आयो, वैदिक कालबाट नै ।
कायोत्सर्ग त जैनको, सत्तरी सनबाट नै ।

लक्ष हो यिनको एकै, साक्षात्कार भई रहोस् ।
साक्षात्कार भनेको त, आत्मा साथै रही रहोस् ।

आत्मा राख्न तिमी सक्छौ ,शरीरबाट पृथक ।
जीर्ण जीउ गरी होम ,भष्म नै गर्छ पावक।

आत्माको घर हो देह, उसले फेर्न सक्दछ ।
जीर्ण भए तुरून्तै नै, नूतन खोज्न सक्दछ ।

मरम्मत गरी राखौँ, घरबास सदै भरी ।
योगासन सदा गर्नु , प्राणायाम सदै भरी।

2016-09-23 17:41:06 +0900

2 thoughts on “कायोत्सर्ग-ध्यान”

  1. कायोत्सर्ग योग निद्रा , ध्यानको तत्व समान
    कायोत्सर्ग योग निद्रा , ध्यानको तत्व समान .
    आत्मशात्क्षात्कारको यो, सोझो पथ भनि जान ।

    1. आत्मा साक्षी बनी रहोस्
      योग निद्रा बगी आयो, वैदिक कालबाट नै ।
      कायोत्सर्ग त जैनको, सत्तरी सनबाट नै ।
      लक्ष हो यिनको एकै, साक्षात्कार भई रहोस् ।
      साक्षात्कार भनेको त, आत्मा साक्षी बनी रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *