Skip to content


तिम्रो साहसको अदम्य बलमा नौलो बिहानी फुट्यो
थोत्रा जर्जर काल सर्प सरिका जंजीर सारा टुट्यो ।
दप्क्यो नेल र जेल नाल खुकुरी हुँकार तिम्रो सुनी
थर्क्यो लोक र त्यो डग्यो जब फुट्यौ ज्वालामुखी भै तिमी ।।

लप्को अग्नि सरी बल्यौ हुरुरुरू अन्यायका पत्कर
ढोंगी जाल कपट् कुकर्म युगका भष्मै गरी आखिर ।
कालो क्रूर र आततायि नरको संसार साम्राज्यको
माटोमा मिसदै धुयौ रगतले टाटाहरू देशको ।।

आफ्ना ती घरका पियार मनका त्यागेर मायाहरू
बिर्सी भोग विलासका रहरका उन्मादि छायाँहरू ।
रातारात घुम्यौ निरीह जनका खोपा अनी झोपडी
सारालाइ दिलाइ चेतन नयाँ एक्लो सहासै गरी ।।

गोली थापि ढल्यौ उठाइ जननी भागे ति काला दिन
जालो च्यातिन गो कुकृत्य पनको झुल्के सुनौला दिन।
पैह्री ताज स्वतन्त्रता शिर भरी तिम्रो बलीदानको
खूशी छिन् धरणी र छौं सब यहाँ, युग्लाइ मूक्ती मिल्यो।

(शार्दूलविक्रिडित छन्द)
_बासुदेव कोइराला, चुलाचुली 5, इलाम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *