Skip to content


उसले ङिच्च दाँत देखायो । दुई हातले दुईतिरको एक एकवटा कान समायो । त्यसपछि एकपटक थ्याच्च बस्यो अनि उठ्यो फेरि बस्यो फेरि उठ्यो ।

वाल, टु, थीली, फोल…….।

उसको लरबरिएको स्वर तिव्र तिव्र गतिमा त्यो उठ्बस्सँगै गुन्जियो कक्षाकोठाभरि ।

यो क्रम निरन्तर चलिरहयो जबसम्म मैले —“साम्देन् ! तिमी दिनप्रतिदिन बद्मास हुदैं गइरहेका छौ । अब अति भो । म हेडसरलाई भनिदिन्छु । उहाँले अब कारवाही गर्नुहुन्छ । तिमी अब देखि यो स्कुलमा पढ्न पाउने छैनौ ।” भनिन ।

त्यसपछि भने साम्देन टक्क अडियो स्टेचु झै र आँखाबाट मोटा मोटा आँशुका ढिक्का बररर खसाल्न शुरु गर्यो ।

यो त उसले गर्ने नै छ भन्ने मलाई पहिल्यै थाहा थियो । त्यसको लागि म पहिले नै तयार थिएँ । उसको यो तिव्र प्रतिक्रियाको लागि मैले ऊ प्रति पहिले त वेवास्ता देखाएँ त्यसपछि ओठ गोल गोल घुमाएर चुच्चो पार्दै दायाँ हातको चोरी औंला ठड्याएर चेतावनीको संकेत गरेँ ।

त्यसपछि भने ऊ हिक्क हिक्क गर्दै थामियो । आँखाबाट आँशु बग्न छाडेपनि ओठबाट भने लामो लामो र्याल लररर परेर चुहियो । त्यस क्षण उसको अनुहार हेर्न लायक थियो ।

छेउमै भर्खरै साम्देनले घाँटी अठ्याएर छोडेको सोनाम पनि हिक्क हिक्क गर्दै उभियो । उसको सर्टको बाँया कुमनेर थोरै उधृएको थियो । ऊ आतंकित देखियो । साम्देन बडो जब्बर हुन्छ जब कसैलाई त्यसरी झम्टन्छ । दश वर्ष पुग नपुगको साम्देन यति जब्बर हुनु एक हिसाबले असामान्य लाग्छ । उसलाई मन नपरेको स सानो कुरामा पनि झम्टिहाल्छ । कहिलेकाहीँ त थप्पड पनि लाइदिन्छ । उस्तै परे रिस उठेको मान्छेको घाँटी निचोर्न पुग्छ । जसरी भर्खरै सोनामको घाँटी बलपूर्वक थिच्यो । तर ऊ एकदम छिटो आफ्नो गल्ती महशुस गर्छ र कसैले नअह्राए पनि हतार हतार कान समाएर उठ्बस् गर्न थालिहाल्छ । यो भनेको उसको मस्तिष्क क्षणमै सम्हालिने र क्षणमै असरल्ल हुनुको प्रमाण हो । पहिले पहिले त हामी शिक्षकहरू साम्देनबाट अत्यन्त चिन्तित भयौं । पछि बिस्तारै बुझ्दै जाँदा पो उसमा समस्या रहेछ भन्ने थाहा पायौं ।

नाम दर्ता

यसै शैक्षिक सत्रको शुरुवातमा आएको थियो ऊ आफ्नो आपासँग विद्यालयमा । खरानी रङको सादा टिसर्ट र त्यस्तै रङको कटनको पाइन्ट लाएको थियो उसले त्यसदिन । प्रधानाध्यापकको कोठामा उसको आपा उसको बारेमा कुरा गरिरहदाँ ऊ निकै भलाद्मी रुपमा आपाको छेवैको कुर्सीमा कुनै हलचल नगरी बसिरहको थियो । त्यतिखेर उसको आधा मुख खुल्लै थियो जहाँबाट तररर परेर र्याल खसिरहेको थियो । उसले हतार हतार पाइन्टको खल्तीबाट कटनको रुमाल झिक्यो अनि पुछ्यो । उसको अगाडिको माथ्लो दुईवटा दाँतहरू भने अहिल्यै उछिटिहाल्ला जस्ता देखिन्थे । सामान्यतया उमेर अनुसारको हाईट वेट पुगेकै थियो । गहुँगोरो वर्णको साम्देन देख्दै विछटै माया लाग्दो देखियो ।
—कति कक्षा पढेको छ साम्देनले ?

प्रधानाध्यपकको प्रश्नमा उसको आपा एकछिन त अलमलियो तर तत्कालै सम्हालिएर भन्यो,

—यु.के.जी. पास गरेको छ । अब एक कक्षामा भर्ना गर्ने हो ।

—कुन स्कुलबाट ?

—आर्दश बोर्डिङ हाइस्कुल ।

—ए ए अनि किन निकाल्नुभो त त्यहाँबाट ?

प्रधानाध्यापकको जिज्ञासा नाजायज पनि थिएन । सामान्यतया त्यसरी स्कुल परिवर्तन गर्नु भनेको कि त विद्यार्थीमा समस्या छ कि त स्कुलमा छ भन्ने बुझिन्छ । अथवा बसाँइसराँई अर्को कारण हुन सक्छ । यी यावत कुराहरू थाहा पाईराखेमा पछि विद्यार्थीसँग शिक्षकले कसरी ट्रिट गर्ने ? भन्नेमा सघाउ पुग्दछ । वाल मनोविज्ञान बुझ्न उसको पारिवारिक वातावरण र उसले पाईराखेको परिवेशको अध्ययन गर्नु जरुरी हुन्छ । त्यसैको निम्ति पनि प्रधानाध्यापक अलि अलि चिन्तित देखिएका थिए ।

—आर्थिक अवस्था खस्कदै गएकोले साम्देनलाई हामीले अब बोर्डिङा राखिराख्न सकेनौं । त्यसैले यता सरकारी स्कुलमा राख्ने निर्णय गर्यौं ।

यसो भनिरहदाँ साम्देनको आपाको आँखाहरू उस्तो खुसी देखिएन । एउटा अभिभावकको हुनुको पीडा छरपष्ट भयो उनको आँखाहरूमा ।

—साम्देन के तिमी यस स्कुलमा पढ्न तयार छौ ?

प्रश्न प्रभा मिसले गरेकी थिइन् ।

स्वीकारोक्तिमा अगाडिका पुरै दाँत उघारेर साम्देनले उन्मुक्त हाँसो प्रदर्शन गर्यो अनि आफ्नो चिउडोले छाती भेट्नेगरी तलमाथि गर्यो ।

त्यसपछि प्रधानाध्यापकको अनुमतिमा प्रभा मिसले साम्देनको नाम कक्षा एकको रजिष्टरमा चढाइन् ।

त्यसदिन साम्देन र उसको आपा घनघोर वर्षापछिको छ्याङ्ग परेको आकाश जस्तै देखिएका थिए ।

ऊ केही विशेष थियो ।

साम्देन हिड्दा अलिक अगाडि हुत्तिएर हिड्थ्यो । त्यसो हुनाले उसको शरीर नियन्त्रणमा नभए जस्तो देखिन्थ्यो । कहिलेकाहीँ त लडि पनि हाल्थ्यो ।

—साम्देन हिड्दा अगाडिको पन्जाले मात्र टेकि हिड्छ । त्यसैले ऊ हुत्तिएको हो । यदि उसलाई नियमित पुरै पैताला टेक्न लगाएर हिड्न अभ्यास गराउने हो भने सुधार आउँछ ।

प्रभा मिस प्राय यसै भन्थिन् । समय अनुकुल परेको खण्डमा साम्देनलाई अभ्यास पनि गराउँथिन् । उसको बोली भने लर्बरिएको जस्तो सुनिन्थ्यो । साम्देन पढ्नमा उस्तो तेज त थिएन तर लेख्न दिएको जति पुरा गर्थ्यो । कुनै दिन गृहकार्य नपाए खुब झगडा गर्थ्यो । ऊ एक्लैको लागि भएपनि गृहकार्य दिनैपर्थ्यो नत्र रोइदिन्थ्यो । एकहोरो ढिपी गर्थ्यो । उसलाई सबैभन्दा रिस चै कसैले उसलाई लाटा भनिदियो भने उठ्थ्यो ।

गुनासो

प्रथम त्रैमासिक परीक्षा सकिदोँ थियो । श्रावणको दोस्रो हप्ता हुनुपर्छ नतिजा प्रकाशनको तयारीमा हामी शिक्षकहरू अफिसमा तल्लिन थियौं । अचानक विनयको आमा अफिसकोठामा आइपुगिन् । सामान्य भलाकुसारीपश्चात उनले गुनासो पोखिन् ।

—विनयको स्कुल आउने क्रम पहिलेभन्दा कम भइरहेको छ । अचेल ऊ प्राय स्कुलको लागि तयार हुन गाह्रो मान्छ । मैले धेरै केरकार गरेपछि मात्र भन्यो कि साम्देन भन्ने नयाँ विद्यार्थीले दैनिक जसो कुट्छ रे । साम्देनको कारण विनयको पढाईमा दख्खल परिरहेको छ । साम्देन भन्नेलाई कारबाही गर्नुपर्यो ।

हामी शिक्षकहरूले एक अर्काको अनुहार हेर्यौ एकदम सपाटसँग ।

त्यसो त यो साम्देनको लागि आएको पहिलो गुनासो भने थिएन । यस अघि पनि धेरै गुनासाहरू आइसकेको थियो र हामीले पटक पटक साम्देनलाई चेतावनी पनि दिएका थियौं । कान उखेल्ने, उठ्बस् गराउने देखि चेतावनीको हद भनेको अब स्कुलबाट निकालिदिने भन्नेसम्म रहन्थ्यो । तर साम्देनलाई यस प्रकारको चेतावनीले खासै असर गर्दैन थियो । स्कुलबाट निकाल्ने भन्ने चेतावनीमा भने ऊ बररर आँशुको ढिक्का खसाल्न थाल्थ्यो र चुपचाप हामीले भनेको मान्थ्यो तर त्यो केही समयको लागि मात्र रहन्थ्यो । केही समयपछि उसले अघिका सबै घटनाहरू विर्सिसक्थ्यो । पुनः पुनः त्यस्तै बद्मासी गरिरहन्थ्यो । उसको बद्मासीमा साथीहरूलाई आँखा झिम्झि म पारेर जिस्काउने, कलम खोसिदिने, खाजा झिकेर खाइदिने साथै कसैले प्रतिवाद गरिहाल्यो भने उसमाथि झम्टिहाल्ने थियो ।

अचम्म त यो थियो कि उसले गरेका हरेक गल्ती ऊ झट्टै महशुस गर्थ्यो र त्यसको प्रायश्चित पनि तत्काल कान समाएर उठ्बस् गरेर गर्थ्यो । उसको त्यो तिव्र प्रतिक्रियाकै कारण हामी उसमाथि निर्म म रुपमा प्रस्तुत हुन सक्दैन थियौं ।

हामीले यतिको समयमा यति त पत्ता लगाइसकेका थियौं कि साम्देन एवनर्मल बालक हो । उसको लागि यो स्कुल उपयुक्त छैन । साम्देन जस्ता बालबालिकाहरूको लागि विशेष स्कुलको आवश्यकत्ता पर्छ । उसको समयसमयको अराजक जस्तो देखिने हर्कतका कारण अन्य विद्यार्थीहरू आतंकित जस्तो देखिन थालेका थिए ।

पहिलो त्रैमासिक परीक्षापश्चात बसेको हाम्रो शिक्षक बैठकले साम्देनलाई अब उपारन्त पनि राखिरहने हो भने निश्चय नै अभिभावकहरूले आफ्ना नानीहरू अन्यत्र लानेछ । त्यस्तो अवस्था नआओस् भन्ने चाहने हो भने साम्देनलाई स्कुलबाट बिदा गर्नुपर्छ । यसको लागि साम्देनको अभिभावकलाई बोलाएर जानकारी गराउने निर्णय गर्यौं ।

हाम्रो यस निर्णयले अन्य सामान्य अवस्थाका केटाकेटीहरूप्रति न्याय हुने कुरामा हामी ढुक्क पनि भयौं तर प्रभा मिस उत्ति खुसी देखिनन् ।

—हो साम्देन एबनर्मल बालक हो । तर उसलाई प्रसस्त माया दिने हो भने उसको बदमासीहरू कम हुदै जानेछ । मेरो यतिका समयको अनुभव हो यो । हामी ऊ प्रति जति कठोर हुदै जान्छौं उति नै ऊ अराजक हुदै जान्छ । समस्या साम्देनमा पनि छ तर त्योभन्दा ज्यादा हामीमा छ सायद् । यो अन्याय हो । एउटा बालकले पढ्न पाउने अधिकार हनन गर्नु कत्तिको जायज छ ?

प्रभा मिस बात्सल्यताले लप्रक्क्रै भइन् । उनी साम्देन स्कुल प्रवेश गरेकै दिन देखि नै साम्देनप्रति उदार भएकी थिइन् । खै कस्तो आशक्ति पलाएको थियो प्रभा मिसमा साम्देनको हरेक हर्कतलाई केटाकेटीपन भन्दै ढाकछोप गर्थिन् । एककिसिमको लगाव बढेको थियो साम्देनप्रति उनको ।

—मिस यो भावुकताले लिने निर्णय हैन । टेक्निकल कुरामा समयमै ध्यान नदिने हो भने भएका अलिअलि विद्यार्थीहरू पनि भड्किनेछ । साम्देनलाई राख्नाले हामीले अरु सामान्य बालबालिकाहरूप्रति अन्याय गरिरहेछौं । उसको लागि विशेष स्कुल चाहिन्छ ।

हाम्रो आग्रह थियो प्रभा मिसलाई ।

निर्णय

नतिजा प्रकाशनको दिन ।

साम्देनकी आमा आएकी थिइन् । हामीले साम्देनको समस्याको बारेमा बताएर अब स्कुलमा नराख्ने निर्णय सुनायौं । साम्देनकी आमाले निकै अनूनय विनय गरिन् । हामी भावुक भयौं तर निर्णय फेर्न नसक्ने बतायौं । पहिले त उनी निकै दुखी देखिइन् । हामी टसमस नभएपछि भने उनी फुत्त बाहिरिइन् । हामी अफिसियल काममा व्यस्त भयौं ।

—ल खा.. ल..

—हुँ..हुँ..

अचानक कोलाहल सुनियो । कौतुहलताबस हामी प्राङ्गढमा पुग्यौं ।

—ल.. खा.. तँ त जन्मिने बेलामै मरेको भए बेस हुन्थ्यो । सधैको सास्ती, हैरानी । चकचक नगर भन्छु । केही न केही उपद्रो गरिराख्छ । यसैको कारण मलाई त घरबाट बाहिर निस्कन समेत मन लाग्दैन । घरबाट निस्केदेखि नै गुनासो सुनिन्छ । आज साम्देनले झ्यालको सिसा फुटायो, साम्देनले विरुवा उखेल्यो । यो बिगार्यो त्यो बिगार्यो । कति सुन्नु । बिगारेको सामान भर्ताल गर्दैमा पैसा सकिन्छ । पढ्न मन गर्छ । कुनै स्कुल राख्न चाहदैन । कहाँ राखुँ तलाँई । के चल्छ तेरो दिमागभित्र ? न घरमा बाँधेर राख्न सक्छु न कुनै स्कुलमा टिक्छ । जिन्दगीभरी यसरी तेरो पछिपछि लागेर साध्य रहला ? हे भगवान् यस्तो सुस्त दिमागको बच्चा दिनुभन्दा बरु मेरो कोख नै खाली राखिदिएको भए हुन्थ्यो ।

एक किसिमको आक्रोशले सीमा नाघेको थियो साम्देनकी आमामा । उनी निकै रौद्र देखिइन् । रौद्रताको पराकाष्ठा साम्देनको शरीरले भोग्दै थियो । साम्देन आतंकित देखियो ।

सायद हाम्रो निर्णयप्रतिको रोष उनी साम्देनमाथि त्यति निर्मम भएर प्रकट गर्दै थिइन् ।

हामी साम्देनलाई त्यो प्रताडनबाट जोगाउन दौडियौं । हामीभन्दा पहिले प्रभा मिस पुगिन् । आमाको हातबाट साम्देनलाई छुटाएर लपक्क छातीमा टाँसिन् ।

के गर्नुभएको यस्तो ? हाम्रो सोधाई थियो ।

अब मसँग केही उपाय पनि त छैन । जुन स्कुलमा लगे पनि निकालिदिन्छ । म कसरी सम्हालुँ यसलाई ? वास्तवमै यो जन्मिएदेखि मैले एकदिन आनन्दको श्वास फेरेकी छुइन । मन्दिर त कति लगें । बुटी कति बँधाएँ । अपाङ्ग राख्ने संस्थामा लग्यो । साम्देन अपाङ्ग हैन । यहाँ राख्न मिल्दैन भन्छ । घरमा राखे बद्मासी गर्छ । एकहोरो छ । दिमाग सुस्त छ ।

साम्देनको हुँक्क हुँक्क थामिन सकेन अँझै ।

साम्देनकी आमाले प्रभा मिसको अंगालोबाट साम्देनलाई खोस्न बल गरिन् । उनको रिस अँझै मरेको थिएन सायद् ।

—यसमा यस नादानको के दोष छ ? उसले चाहेर गरेको हो र ? असामान्य अवस्थाका केटाकेटीहरू यस्तै हुन्छन् । तपाँईले यसरी निर्मम व्यवहार गर्नुभो भने झन् अवस्था बिग्रन्छ । माया दिनुस् । सम्झाउनुस ।

प्रभा मिस पनि आवेशमा आइन् ।

—साम्देन, मेरो बाबु । म कसरी बताउँ ? तँ मेरो हृदयको टुक्रा होस् । तँ जन्मिएको दिन मैले संसारकै सबैभन्दा सुन्दर उपहार प्राप्त गरेकी थिएँ । तर के थाहा थियो ? यो दैव यति निष्ठुर छ भन्ने । मलाई पनिरहर लाग्छ मेरो छोरो खुब पढोस्, फुटबल खेलोस् । अरु केटाकेटी जस्तै खुसी होओस् । मलाई अंगालो मारेर आमा भनोस् । तर तर … उफ् । मेरो बाबु..

अचानक साम्देनकी आमा लल्याक लुलुक भइन् । घोप्टो परेर भक्कानिइन् । फतक्क गलिन् । त्यतिखेर उनी संसारकै सबैभन्दा दुखी आत्मा जस्तो देखिइन् । उफ् यो बात्सल्यता ।

यतिखेरसम्म साम्देन चुप भइसकेको थियो । उसका आँखाहरू राता राता देखिए । नाक र मुख माडिएर झन् राता देखिए । आमाको हालत उस्तै । कपाल असरल्ल परेको थियो । पसिनाले उस्तै लफ्रक्क ।

साम्देनकी आमा अब बिस्तारै सम्हालिन् । उठेर छोराको हात बिस्तारै पक्डिइन् ।

—जाउँ बाबु । अब घरै बसेर पढ्ने । आमाले सिकाउँछु पढ्न । आपाले पनि सिकाउनुहुन्छ ।

साम्देन अलमलमा पर्यो । भर्खरै बेस्मारी भर्कुदै गरेकी आमाको दोस्रो स्वरुप स्वीकार्न सहज भइरहेको थिएन सायद् उसलाई् । त्यसैले प्रभा मिसको हात बेस्सरी पक्ड्यो ।

पुनः साम्देनकी आमालेसँगै हिड्न अनुरोध गरिन् । यस पटक भने ऊ बिस्तारै आमाभएतिर बढ्यो ।

केहीबेरमा साम्देन र साम्देनकी आमा दुवै विद्यालय प्राङ्गढबाट बाहिरिए ।

त्यसपछि हाम्रो आकस्मिक बैठक डाकियो ।

प्रधानाध्यापकले साम्देनको बारेमा पुनः अर्को बैठकले छलफल चलाएर निर्णय गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *