Skip to content

जूनलाई चुम्बन गर्ने कवि ली पो


महान् वुद्धपुरुष लाउत्सुको जन्मभूमि चीनमा जन्मिएर संसारलाई प्रेम, आनन्द, उल्लासको माध्यमबाट मानवआत्माका टाँसिएको युगयुग पुरानो दुःख पखाल्न आह्वान गर्ने, अनि ताओको मर्म बुझेको स्वीकार गर्ने कवि हुन् ली पो । लियोका यी काव्यपक्तिहरू मुटुको भित्री तारलाई छोइदिन्छ–

यस जगतमा हाम्रो जीवन
एक महान् स्वप्त मात्रै हो
म किन दुःख खेप्दै जीवन बिताऊँ ?
मलाई दिनभरि नै पिएर लट्ठिन देऊ ।

मानिसहरू भन्छन् सफा रक्सी सन्त हो
जाँडले ज्ञानीहरूको पथको अनुशरण गर्दछ
मैले सन्त तथा ज्ञानीहरूलाई पिएको छु
त्यसो भए प्रेतहरू र परीहरूको अध्ययन किन ?
तीन बटुकोले म महान् ताओको मर्म बुझ्छु ।

एउटा सिङ्गै सुराहीलाई रित्याएपछि
म र यस संसारमा कुनै भेद रहँदैन
मैले रक्सी लाग्दा जस्ता चिजहरूको स्वप्न देखेको छु ।
त्यस्ता कुरा संयमीको मगजमा कहिल्यै पनि चढ्दैनन् ।

मेरो कलमको एउटै तरिकाले
म पहाडपर्वत थर्काउँछु ।
कविता पूरा गरेपछि म रमाउँदै हाँस्दछु
मेरो मुखको सीमा हुँदैन
यदि धनदौलत र मानप्रतिष्ठा
सदा स्थायीरहँदा हुन त
नदीहरू आफ्ना उद्गमस्थलतिर
फर्किदै उल्टो बग्ने थिए ।

धन, पद, पैसा, मानप्रतिष्ठालाई कौडीको मूल्य नदिई संसारका सांसारिक क्रियाकलापहरूलाई सपना हान्ने लि पो आफ्नै मनमौजी आन्तरिक आनन्दमा चुर्लुम्म डुबेका थिए । चौवीसै घण्टा शरानी मधुशालामा मस्त भैरहनु उनका विशेषता थिए । ईशाको सातौँ शताब्दीमा चीनमा जन्मिएका यी कवि वाङ्ग वंशको स्वर्णिम काव्ययुगलाई भेटेका थिए । त्यतिखेरका राजाहरू नै यति काव्ययुगलाई भेटेका थिए । त्यतिखेरका राजाहरू नै यति काव्यप्रेमी थिए कि सरकारी नोकरीमा छिर्न पनि कवि हुनु जरुरी थियो । कविता लेख्न सिपालु मान्छेले मात्र त्यो अवसर पाउँथे ।

स्वयं लि पो पनि शाही राजघरानामा जन्मेर काव्यसंसारका चम्किला तारा बनेका थिए । उनलाई उनको वृद्धि र प्रतिभाको कदर गरेर सरकारी पदधारण गर्न भनिएको थियो । तर आत्मिक स्वतन्त्रताका गायकले यो बन्धनकारी नोकरीलाई स्वीकार गरेनन् । आजीवन यायावर कविको रूपमा पक्कड यात्रीको रूपमा देशका कुनाकाप्चा चाहार्ने काम गरे । घुमफिर, काव्यसिर्जन र मधुशालामा झुम्न उनका असीम तथा अप्रीतम आनन्दका विषयहरू थिए । उनले सक्कली कविहरूको काव्मय जीवन बिताए । कुनै पनि प्रकारको बन्धन उनी रुचाउँदैनथे ।

उनी जन्मदै उनकी आमाले आकाशको चम्किलो शुक्र ग्रहलाई सपनामा देखेकी थिइन् । त्यसले प्रभावले उनको ना ली पो राखिन् । पो को अर्थ चम्किलो, टल्किने प्रकाश हुन्छ । वास्तवमा विश्व साहित्यमा नै एक उज्जवल ताराको रूपमा उनका काव्यहरू अध्ययन गरिन्छ । उनका ३०भन्दा बढी काव्यहरूले आजपनि संसारलाई प्रेम, आनन्द र असीम अनुभूतिको संसारमा डुबाइदिन्छ ।

प्रेम र रोमान्सका कविका कविताहरूमा प्रकृतिको विम्ब यसरी आएको छ, शब्दमा जादूले भावको असीम अनुभूतिलाई जीवन्त ढंगले प्रतिविम्बन गरेको छ । शरावका शौखिन ली पोले त्यतिखेरका वादशाहसँग देशाटनको अनुमति माग्दा भट्टीहरूमा विनामूल्य रक्सी खान पाउने गरी लालमोहर लाइदिएका थिए अरे ।

प्रकृतिको शब्दचित्रणका अनुपम शिल्पी थिए । नदी, फूल, आकाश, पहाड, जंगल, हरियाली घाँसे मैदानहरू, लहलह वालीमा झुलेका खेतवारी, मैदान, मरुभूमि, सन्ध्या, प्रभात जूनतारा, आकाश, यौवन, आँशु, वर्षात् आदिको संसारमा डुबेर कविता लेख्थे । चन्द्रमालाई आफूसँगै रक्सी पिउन आमन्त्रण गर्थे । फूलहरूसँग कुरा गर्थे, ताराहरूसँग आँखा झिम्याउँथे, नदीहरूसँगै यात्रा गर्थे ।

कुनै पनि बन्धन र प्रायोजित जीवन बाँच्न मन नपराउने यी फक्कड पुकीर कविको आखिरी जीवन कष्टप्रद पनि भयो । यौवनका दिनहरू घुमेर बिताएका यी कविलाई विद्रोहमा सामेल भएको आरोपमा जेल पनि हालियो । उनका दुस्मनहरू उनलाई मार्न चाहन्थे तर पागलको अभिनय गरी जेलबाट उम्किन सफल भए । एउटा अनाकष्टर दुर्गम गाउँमा पुगेर शान्ति र एकान्तमा रहन थाले । रोग र बुढ्यौलीले गाँज्दै लगेको शान्ति र एकान्तमा रहन थाले । रोग र बुढ्यौलीले गाँज्दै लगेकोले स्याहार गर्ने मान्छे थिएनन् । उनको एकमात्र सहारा रक्सी थियो ।

एकदिन रक्सीको सुराही बोकेर साँझको बखतमा डुङ्गामा चढेर हेलिन थाले । सन्ध्याको मनोरम क्षणमा क्षितिजबाट पिलिक्क जूनले चिहायो । जूनको प्रतिविम्ब उनी तैरिरहेको तलाउमा यति स्फटिक जस्तो फिँजियो । उनले सोचे– कठै ! जून यो टलपल टलपल पानीमा मलाई भेट्न आइपुगेछ भनेर उसलाई अङ्गालो हाल्न र चुम्बन गर्न तलाउमा मुख जोडे । त्यहीबेला डुङ्गा पल्टिएर जूनसँगै जलसमाधि लिए । वास्तवमा उनको मृत्यु पनि एक सुन्दर कविताजस्तै भएर घटिदियो । आजपनि चिनियाँहरूले उनलाई अत्यन्त आदर गरेर देवताजस्ता कविको रूपमा मनमनै पूजा गर्छन् अरे । सघन काव्य अनुभूति र काव्यमयी जीवन झल्काबाट आखिर विश्वलाई मानवीय जीवनको गरिमाबोध गराउनु, आनन्दको असीम लोकमा परिभ्रमण यी कविप्रति शतशः नमनः ।

पुन्य कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *