Skip to content


मैले बजारबाट तिमीलाई बारम्बार
हावाहरुले भरिएको
पानको पत्तावाला रङ्गिन बेलुनहरू किनेर
उपहार दिएँ,
पत्थरहरुमा रगटेर लगातार
तर तिमीले त्यसलाई
बम वा बन्दुकको गोलि झै गरेर
यो सिङ्गो संसार नै थर्किने गरी
बुडुङ्ग पट्काइदियौ,
र एकसाथ मलाई भनिदियौ कि
“ह्याप्पी विजयदशमी
ह्याप्पी बुद्धजयन्ती
वा
शुभ दीपावली ”

त्यो त ठिकै छ
सेम टु यु तिमीलाई पनि
त्यो त म पनि भनौला
तर
मैले आफ्ना सासहरुले भरेर
अन्तिम पटक तिमीलाई
फेरि पनि
मनमा सजाउछ्यौ होला भनेर
आइ लब यु वाला बिशेष बेलुन दिए,
एउटा प्राकृतिक बेलुन
सायदै विश्वास लाग्दैन होला?
सुनभन्दा पनि महङ्गो
बेलुन

जीवनभन्दा पनि महङ्गो
बेलुन…….
तर त्यसलाई पनि तिमीले
कैले घासे मैदानहरुमा गएर खेल्यौ
त कैले ढुङ्गै ढुङ्गाहरुको आगनमा खेल्यौ
कैले फुलबारिमा लगेर खेल्यौ
अनि अन्तिममा काँडाघारीहरुमा अड्काएर
अनि
फेरि पनि उसैगरी पड्काइदियौ ।

मैले सोचेथें कि त्यसलाई तिमीले त्यो बखत
आफ्नो सहरको ठुलो घरमा लगेर सजाउछ्यौ होला
नभए रहरहरुमा सजाउछ्यौ होला’
मानौ कि
आफ्नै बाबुले किनिदिएको
खेलौना जस्तै सञ्झिएर
कुनै नाबालक बच्चाले झै गरेर
हिंड्दाहिंड्दै बीच बाटोमै
तिमीले त्यसलाई फुटाइदियौ
र मलाई भन्यौ कि
“Happy Velerntine-Day”

मलाई फेरि फेरि पनि तिम्रो माया लागेर
मैले मेरा फोक्सोले फेरि पनि त्यसलाई फुक्न खोजिरह्ये
निरन्तर…….
तर अह सकिन फुलाएर दिन
थहा छ किन ?
सायद तिमीले त्यो कैले पनि बुझिनौ कि?
सायद तिमीले त्यो कैले पनि सोचिनौ,
या यस्तै यस्तै कि भनौ तिमीले त्यो कैले पनि सम्झिन सकिनौ?
कि त्यसपटकको त्यो बेलुन
जुन तिमीले गगनमाथि माथि
चङ्गाहरू जस्तै गरेर हावाहरुमा उढाइदियौ
अनि आकाशमुन्तिर कठोर जमिनहरुमा गिराएर
सिसा जस्तै टुटाइदियौ
जुन तिमीले सस्तो बेलुन जस्तै सम्झिएर
कुनै अबोध शिशुले झै फुटाइदियौ
त्यो यो छातीभित्रको
स्वयम आफ्नै प्राणहरुले भरिएको
मेरो मुटु थियो
जुन तिमीले फगट एउटा बेलुन जस्तै सम्जिएर
फुटाइदियौ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *